• वि.सं २०८१ मङ्सिर २१ शुक्रबार
  • Friday, 06 December, 2024
अन्वेषण अधिकारी
२०८१ कार्तिक २४ शनिबार ०७:४२:००
फिल्म

...त्यसपछि चुनौती मोल्न तयार भएँ

रंगमञ्चले मिहिनेत गर्न सिकाउँछ, सिनेमाले धेरै दर्शकसम्म पुर्‍याउँछ

२०८१ कार्तिक २४ शनिबार ०७:४२:००
अन्वेषण अधिकारी

 

१२ वर्षदेखि फिल्म क्षेत्रमा काम गरिरहेको छु । ‘छड्के’, ‘कबड्डी’का चार शृंखला र ‘जारी’मा गरेको अभिनय दर्शकले विशेष रुचाइदिनुभयो । त्यसमा पनि ‘कबड्डी’को ‘बिके’ पात्र मेरो ट्रेडमार्कजस्तै बन्यो । दयाहाङ राईसँगै काम गर्दा उहाँको लोकप्रियताको लाभ पनि मैले उठाउन पाएको थिएँ । उहाँ सकारात्मक सोच्नुहुन्छ र त्यसको नतिजा पनि सधैँ राम्रो नै हुने रहेछ । 

 

अभिनयमा लागेपछि फरक–फरक चरित्र बाँच्न पाइन्छ । हरेक सिनेमाको कथा र सेटअप फरक हुन्छ । पात्रको ब्याक स्टोरी पहिले बुझ्नुपर्छ । भौगोलिक संरचना, पात्रको सोच्ने तरिका, उसको चरित्र, लवाइ, हिँड्ने तरिकालगायत विभिन्न कुरा ख्याल गर्नुपर्ने हुन्छ ।  यस अर्थमा हाम्रा लागि प्रत्येक सिनेमा एउटा नयाँ सुरुवातजस्तो हुन्छ । एउटा नयाँ चुनौती बोकेर आएको हुन्छ । 

 

मुख्य भूमिका गर्न समय लाग्यो 

 

प्लस टु सकेर काठमाडौं आएपछि मैले आफैँ संघर्ष गरेर यो क्षेत्रमा स्थान बनाएको हुँ । ‘छड्के’ मेरो पहिलो सिनेमा थियो । तर, सबैसामु मलाई कबड्डीले चिनायो । यसको चरित्र निर्माणका लागि पनि धेरै मिहिनेत गरेको थिएँ । कबड्डीमा आफ्नो चरित्रलाई कसरी फरक देखाउन सकिन्छ भनेर बुद्धि तामाङ दाइ र म घण्टौँ छलफल गरिरहन्थ्यौँ । त्यसयता १२ वर्षको अवधिमा २० भन्दा धेरै सिनेमामा काम गरिसकेको छु । दर्शकले केही पात्र निकै मन पराइदिनुभयो । तर, मुख्य भूमिकामा आउन मैले धेरै वर्ष कुरेँ ।  त्यसका लागि माझिनुपर्ने रहेछ । रामबाबु गुरुङ, निश्चल बस्नेत, उपेन्द्र सुब्बाजस्ता निर्देशकसँग संगत र काम गर्न पाइयो । उहाँहरूसँग काम गर्दा सिनेमाका धेरै आयाम सिकिने रहेछ ।

 

‘पूर्णबहादुरको सारङ्गी’ फिल्ममा मैले त्यस्तो एक गन्धर्वको भूमिका निर्वाह गरेँ, जसले आफ्नो छोरालाई ठुलो मानिस बनाउने सपना देखेको हुन्छ । ऊ निकै दुःखी जीवन बाँच्छ, धेरै कष्ट सहन्छ । तर, दुःख सहेर पनि छोरालाई पढाउनुपर्छ र ठुलो बनाउनुपर्छ भन्ने सोच्छ । उसले सधैँ आफूभन्दा आफ्नो सन्तानलाई माथि राख्छ । काँधमा बोकेर हिँड्छ । ताकि, छोरा आफूभन्दा माथि होस्, उसले धेरै टाढासम्म देख्न सकोस् ।

 

निर्माता विनोद पौडेलले मलाई यसका लागि अफर गर्नुभएको थियो ।  निर्देशक सरोज पौडेलसँग कुराकानी भएपछि तत्कालै निर्णय दिन मलाई गाह्रो पनि भयो । किनकि, पूर्णबहादुर विशेष चरित्र थियो । ३५ वर्षदेखि ६५ वर्ष उमेरसम्मको भूमिका गर्नुपर्ने थियो । त्यसक्रममा उसको जीवनमा आउने रूपान्तरण र मनोभावलाई चित्रण कसरी गर्ने ? पूर्णबहादुरले के सोच्छ ? कस्तो जीवन बाँच्छ ? कस्ता सपना देख्छ ? कसरी गाउँदै हिँड्छ ? यी सबै कुरामा घोत्लिएपछि नयाँ चुनौती मोल्न तयार भएँ । 

 

लेखक महेश दवाडीसँग मेरो दैनिकजसो भेटघाट हुन्थ्यो । हामी घण्टौँ कुराकानी गथ्र्यौं । गन्धर्व संस्कृतिबारे अध्ययन गर्न थालेँ । ठमेलमा गएर गन्धर्व समुदायसँग सारङ्गी बजाउने कला सिकेँ । उहाँहरूको संगतले सारङ्गी रेट्ने कलासँगै पात्रको मनोभाव बुझ्न र त्यसमा खरो उत्रन सहयोग गर्‍यो ।

 

पूर्णबहादुरको चरित्र तीन फेजमा छ– लक्का जवान, अधबैंसे र वृद्ध । यस्तो रोल गर्दा सुटिङ सेटमा झुक्किन सक्ने जोखिम पनि हुन्छ । किनकि, अभिनय एउटा फ्लोमा गइरहेको हुन्छ, लगत्तै अर्को उमेरको मनोभाव देखाउनुपर्ने चुनौती हुन्छ । वेला–वेलामा झुक्किएँ पनि, म ३५ वर्षको जवान पूर्णबहादुर हुँ वा ६५ वर्षको हुँ । सहायक निर्देशक दिनेशबहादुर रावत र सुनिल निउरेलाई पहिल्यै भनेको थिएँ, केही गरी यसरी झुक्किएँ भने सम्झाउनु है । उनीहरूले नै सम्झाउँथे ।

 

पात्रको सोच, बडी ल्याङ्ग्वेज, उमेरअनुसार परिवर्तन हुँदै जाने मनोभाव, सारङ्गी बोक्ने तरिका, धेरै वर्ष चलाइसकेपछि उसमा आउने मनोवैज्ञानिक र शारीरिक रूपान्तरणका विषयमा ख्याल गर्नुपर्ने थियो । संगीतको पारखी भएकाले मलाई यस काममा निकै मज्जा लागेको थियो । गन्धर्व एउटा सर्जक हो, सामाजिक परिघटनालाई संगीतमा उन्ने भएकाले पनि उसको विशेष महत्व छ । गन्धर्व समुदायको जनसंख्या कम भए पनि नेपाली मौलिक संगीतमा उहाँहरूको योगदान अथाह छ । 

 

एउटा भित्री गाउँको अग्र्यानिक कथा भएकाले पनि दर्शकले अहिले मन पराउनु भएको होला । बाबु–छोराको सम्बन्ध भएकाले बालकदेखि वृद्धसम्मले यसलाई मनपराइदिनुभयो । त्यहीकारण, पहिलो सातामै फिल्मले तीन सय ८० भन्दा धेरै सो पायो । नेपाली फिल्मले यति धेरै सो पाएको यो नै पहिलोपटक हो । हाम्रो सम्पूर्ण टिमले यस चलचित्रका लागि निकै मिहिनेत गरेको थियो । राम्रो कथावस्तुमा राम्रो चरित्र निर्माण गरेर पनि फिल्म चलाउन सकिन्छ भन्ने सन्देश यसले दिएको छ ।

 

दर्शकले फिल्म हेरेर आफूलाई पात्रसँग रिलेट गर्न सके भने मात्रै हामी सफल हुने हो । यस अर्थमा अहिलेको सफलताले निकै खुसी छु । सिनेमामा आए पनि मैले रंगमञ्चलाई निरन्तरता दिइरहेको छु । भविष्यमा पनि दिनेछु । नयाँ नाटकमा अभिनय गर्ने योजना बनिरहेको छ । सम्भवतः यही मंसिरदेखि नै काम सुरु हुन्छ । सिनेमामा पहिलोपटक मुख्य भूमिकामा देखिएको भए पनि रंगमञ्चमा मैले पहिल्यैै मुख्य भूमिकामा अभिनय गरिसकेको छु । त्यहीकारण पनि नाटकलाई लिएर सधैँ उत्साहित हुन्छु । नाटकले हामीलाई रिचार्ज हुने अवसर दिन्छ । कुनै पात्रमा काम गरिसकेपछि फेरि रंगमञ्चमा आउँदा पुरानो पात्रलाई छाड्दै नयाँ पात्रमा घुस्दै गर्नुपर्ने हुन्छ । यसका लागि लामो रिहर्सल गरिन्छ । मेरो बुझाइमा रंगमञ्चले मिहिनेत गर्न सिकाउँछ, सिनेमाले धेरै दर्शकसम्म पुर्‍याउँछ । तसर्थ, मेरो करिअरमा दुवै माध्यमको उत्तिकै महत्व छ । 

 

मौलिक कथा आउँदै छन् 

 

नेपाली सिनेमामा पछिल्लो दशक रंगमञ्चका कलाकारको  प्रभाव बढ्दो छ । रंगमञ्चबाट आएका कलाकारको अभिनय नेचुरल छ भन्ने दर्शकको प्रतिक्रिया हुन्छ । हामीलाई कुनै पनि चरित्र गरिसकेपछि त्यसैमा कुदिरहूँ, डुबिरहूँ भन्ने लाग्छ । तर, कलाकार भएकाले तुरुन्तै अर्को चरित्रका लागि तयार हुनुपर्ने बाध्यता पनि हुन्छ । ‘जारी’मा मंगलसिंहको चरित्र गर्दा पूर्वको लवज र लिम्बू भाषा सिकेको थिएँ । निर्देशक उपेन्द्र सुब्बा र कलाकार अनिल सुब्बाले यसमा सघाउनुभएको थियो । तराईमा हुर्किएको मानिस भएकाले मेरा लागि मैथली बोल्नु सहज हुन्छ, तर पूर्वको लवज टिप्नु र लिम्बू भाषा बोल्नु चुनौतीपूर्ण नै थियो । यद्यपि, फिल्म रिलिज भइसकेपछि लिम्बू समुदायका मानिसबाटै प्रशंसा पाइयो ।

 

दिमाग खराबमा मेरो नकारात्मक चरित्र थियो । यसमा अभिनय अलिकति लाउड गर्नुपर्ने थियो, त्यहीअनुसार तयारी गरे । पूर्णबहादुरमा बडी ल्यांग्वेज महत्वपूर्ण थियो । अहिले दर्शकबाट मिलेको प्रतिक्रियाले खुसी दिएको छ । उहाँहरूको मायालाई मैले कसैगरी पनि तिर्न सक्दिँन । यो समर्थन र ऊर्जाले भविष्यमा यसरी नै अभिनय गर्नुपर्ने एउटा किसिमको दबाब पनि छ ।

 

पछिल्ला वर्षमा नेपाली सिनेमामा दर्शकको आकर्षण बढिरहेको छ । मौलिक कथामा उहाँहरूको रुझान देखिएकै कारण हामी रंगमञ्चका कलाकार सिनेमाको पर्दामा फैलिएका, फक्रिएका छौँ । दर्शकले आफ्नो परिवेश र त्यससँग मिल्दाजुल्दा पात्र भेटेकाले आफूलाई कथामा रिलेट गर्न सकेको र त्यहीकारण नेपाली सिनेमा हेर्ने ट्रेन्ड बढेको भन्ने लाग्छ । कथा भन्ने शैली हरेक मेकरसँग फरक हुन्छ । तर, हामीले हाम्रा कथा भन्ने प्रयास गरिरहेका छौँ ।

 

पछिल्लो १० वर्षमा झन्डै १० वटाजति सिनेमाले निकै राम्रो व्यापार गरे । पाँचवटाभन्दा बढी सिनेमाले अन्तर्राष्ट्रिय महोत्सवमा नेपालको प्रतिनिधित्व गरे । यसले हामी कलात्मक र व्यापारिक रूपमा पनि परिवर्तित र परिस्कृत हुँदै गएको संकेत गर्छ । यसलाई उपलब्धि मान्नुपर्छ । हिजो विदेशी सिनेमाबारे बहस गर्ने दर्शकले आज नेपाली सिनेमा हेरेर बहस गर्न थालेका छन् । यसले उत्साहित बनाएको छ । कथावस्तु र चरित्र निर्माण बलियो हुँदा सिनेमा राम्ररी चल्न सक्छ भन्ने सन्देश पनि यसले दिएको छ ।