• वि.सं २०८१ मङ्सिर २१ शुक्रबार
  • Friday, 06 December, 2024
राजेश विद्रोही
२०८१ कार्तिक २४ शनिबार ०८:०३:००
समाज

लाखौँ ‘प्रकाश’को खोजी कसले गर्ने ?

२०८१ कार्तिक २४ शनिबार ०८:०३:००
राजेश विद्रोही

 

युट्युबमा प्रसारित भिडियो सामग्री ‘हेर्ने कथा’बाट प्रकाश तामाङ एकाएक सबैको चासोको विषय बने । १० वर्षको उमेरमा काठमाडौंमा गलैँचा बुन्न जाँदा उनी हराएका थिए । हिमालमा चौँरी चराउँदै उनले ३५ वर्ष बिताए । अन्ततः एउटा भिडियो रिपोर्टका कारण उनको परिवारसँग पुनर्मिलन भयो । 

 

यो विषयले सामाजिक सञ्चाल मात्रै तात्तिएन, सरकार र नेताहरूसमेत तातिए । सबैजना रातरात लोकप्रियताको फसल काट्न तँछाडमछाड गर्दै दौडिए । प्रधानमन्त्री केपी शर्मा ओलीदेखि मुख्यमन्त्रीसम्म, मेयरदेखि वडाध्यक्षसम्म अनि अनेक राजनीतिक दलका संगठनले समेत उनलाई भेटे । तस्बिर खिचाएर सञ्जालमा पोस्ट गरे । प्रकाशको बसोवासदेखि व्यवसाय र विवाहसम्मको जिम्मेवारी लिन तँछाडमछाड जारी नै छ ।

 

अनपेक्षित दुःख भोग्न बाध्य प्रकाशले क्षतिपूर्तिस्वरूप योभन्दा अझै धेरै पाउनुपर्छ । उनको जीवन सहज ढंगले चल्नुपर्छ । उनीप्रति सहानुभूति छ । सँगसँगै हराएका हजारौँ प्रकाशबारे पनि सबैजना उत्तिकै जिम्मेवार बन्नुपर्छ । 

 

देहातबाट हेर्दा विचित्रको तस्बिर देखिन्छ । जस्तै, हिमालदेखि तराईसम्मका लाखौँ मानिस पुस्तौँदेखि नागरिकताविहीन छन् । लाखौँ मानिसलाई अनागरिक राखिराख्ने राज्य संयन्त्रका जिम्मेवार मानिस नै एकाएक प्रकाश तामाङलाई नागरिकता दिन उनकै आँगनमा पुग्छन् ।

 

मैथिली एउटा भनाइ छ, ‘हलुक माइट बिलाई कोरै’ अर्थात् खुकुलो माटो बिरालोले पनि खन्छ । यिनै राजनीतिक दल र तिनका नेता–कार्यकर्ता तथा जनप्रतिनिधि र समाजसेवी भनाउँदाहरू नै हुन्, जो सहिद, सहिद परिवार, घाइते, अपांग तथा अनेक हिसाबले सीमान्तकृत, अनागरिकहरूका पीडामा बोल्नु त परको कुरा उल्टै घाउमा नुनचुक छर्कन्छिन् । सीमान्त मानिसका दुःखमा उपेक्षाभाव राख्छन् । आफूले गर्न नसक्ने, अरूले गरेको काममा जस लिने, काम गर्नेलाई निरुत्साहित गर्ने प्रवृत्तिका मानिसले प्रकाशको दुःखमा साथ दिए जस्तो गरी आफू जनतासामु उदार छु भन्ने ढोङ देखाउन सफल भइरहेका छन् ।

 

शासकहरूले जिम्मेवारीबोध गर्न सके धेरै हुन सक्ने रहेछ भन्ने उदाहरण पनि हो प्रकाश तामाङको घटनाक्रम । इच्छाशक्ति भए थोरै समयमा धेरै परिवर्तन र रूपान्तरणको काम पनि गर्न सकिन्छ । भलै प्रकाश तामाङले त्यो नियति कसका कारणले भोग्नुपर्‍यो भन्ने सवाल विद्या चापागाईंले उठाइनन्, तर विद्याकै कारण प्रकाश तामाङले आफ्नो आमाबुबा मात्र भेटेनन्, आफ्नो देश र समाज पनि भेटे । अपार जनचासो र सद्भाव देखिएपछि सिडिओले घरमै पुगेर उनलाई नागरिकता दिए । स्थानीय सरकारले जमिन उपलब्ध गराउने भयो । तर, पुस्तौँदेखि आफ्नो थातथलो, भूमि, नागरिकता, जन्मदर्ता, विवाहदर्ता, स्वास्थ्य, शिक्षा र रोजगारीबाट समेत वञ्चित तथा अपमानको जीवन बाँचिरहेका लाखौँ सीमान्तकृत र दलितलगायतले भने अनेक आन्दोलन गर्दासमेत केही पाउन सकेका छैनन् । बस्ने एक टुक्रा जमिन पाउन सकेका छैनन्, नागरिकतासमेत पाउन सकेका छैनन् । उनीहरू कहिलेसम्म, पहिचानविहीन, अनागरिक, भूमिहीन सुकुम्बासी भएर बाँच्नुपर्ने हो ? प्रकाशको जस्तै उनीहरूको दुर्दान्त जीवनकथा, अथाह दुःख एवं सास्ती राज्यले कहिले देख्ने र महसुस गर्ने हो ? 

 

केही महिनादेखि यिनै विषयलाई लिएर दलित अभियन्ता खगेन्द्र सुनार काठमाडौंको माइतीघर मण्डलामा ‘दलितलाई खै ?’ भनेर सांकेतिक र शान्तिपूर्ण रूपमा शरीरभरि नेल लगाएर विरोध प्रदर्शन गरिरहेका छन् ।

 

नश्लीय शासकले नागरिकसँग भोट लिएर राज्यलाई दोहन गर्ने अनि ‘हराएका मान्छेहरू’ खोज्ने जिम्माचाहिँ विधा चापागाईंजस्ता केही व्यक्तिको मात्रै हुने ? राज्यमा बस्नेले जसरी प्रकाशका बारेमा चिन्ता र चासो लिए, साठी लाख शोषित उत्पीडित समुदायका बारेमा चाहिँ कहिले लिने ? यो देश निर्माणमा महŒवपूर्ण योगदान दिने ती मानिसबारे राज्यले कहिले सोच्ने ? उनीहरूले न्याय कहिले पाउँने ? पुस्तौँदेखि बसोवास गरेको आफ्नो जमिनको लालपुर्जा कहिले पाउने ? प्रकाशले जस्तै उनीहरूले पनि घरमै जन्मदर्ता नागरिकता कहिले पाउने ?

 

राज्यका कारण आज वैदेशिक रोजगारीमा गएका हजारौँ युवा हराइरहेका छन् । कति बेचिएका छन् र कति गुमनाम छन् । उनीहरूको पनि खोजी गरिनुपर्छ । तर, कसले गर्ने ? प्रकाश तामाङ वर्षौं हराए पनि आफ्नै देशका मनकारी साहुको घरमा बस्न पाए । घरमा फर्किन सके । तर, साठी लाख दलितले प्रकाशले जसरी सहज जीवन पाएका छैनन् । उनीहरूको सारा जीवन मजदुरी र मिहिनेतमै बित्छ । गाउँ सहरमा अझै पनि पैसा तिरेर बास पाउनसमेत जात सोधिन्छ र ढोकाबाहिर राखिन्छ । एक धुर जग्गा किन्नुपर्‍यो भने पनि जात सोधिन्छ । यस्ता यावत् सामाजिक कलंकलाई ज्युँकात्युँ राख्ने, दलन, दमन र शोषणका अनेकन् संरचनालाई यथावतै राख्ने अनि एकाध घटनामा तत्परता र जागरुकता देखाएको जस्तो गरी सबैलाई अलमलमा राख्ने काम चलिनै रहेको छ । तहगत विभेदलाई कायम राख्न अनेक हत्कण्डा अपनाउने शासक वर्गको हातमा राज्यव्यवस्था रहँदासम्म लाखौँ दमित, शोषित, पीडित तथा बहिष्कृतको जीवनमा घाम लाग्ने दिन आउँदैन ।

 

आज लाखौँ ‘प्रकाशहरू’ विभिन्न नाममा हराएका छन्, गुमनाम अवस्थामा छन् । कोही देशमा छन्, कोही परदेशमा छन् । उनीहरूको खोजी राज्यले गर्नुपर्छ, उनीहरूको जिम्मेवारी राज्यले लिनुपर्छ ।