स्याउले मार्फालीको जीवनमा नसोचेको उतारचढाव ल्यायो
नीलगिरि र धौलागिरि हिमालको काखमा, सुसाउँदै वेगले बत्तिने कालीगण्डकीको छेउमा लमतन्न फैलिएको मुस्ताङको मार्फालाई स्याउको राजधानी भन्ने गरिन्छ । यहाँ उत्पादित स्याउको अलग पहिचान छ । मार्फाली स्याउको स्वाद जिब्रोमा सजिलै झुन्डिन्छ । अहिले यहाँको स्याउको अलग बजार र ‘ब्रान्ड’ स्थापित भइसकेको छ । यहाँ उत्पादित स्याउले नेपालका विभिन्न सहरबजार र त्यहाँका डिपार्टमेन्ट स्टोरहरूमा मात्र होइन, विदेशी बजारमा समेत आफ्नो पहुँच विस्तार गरिसकेको छ । त्यसैले, यसपटक मुस्ताङको मार्फा पुग्दा त्यहाँको स्याउको कथाव्यथा, सफलता, विफलता तथा आरोह अवरोहबारे बुझ्ने हुटहुटी मनमा जाग्यो ।
स्याउको कथा
तत्कालीन पञ्चायत सरकारको तेस्रो पञ्चवर्षीय योजनाकालमा भारतीय सहयोग नियोगसँगको सहकार्यमा १४ भदौ, २०२३ मा स्थापित अर्चाड कम नर्सरी (हालको शीतोष्ण बागबानी विकास केन्द्र, मार्फा)ले मार्फाको हावापानी सुहाउँदा विभिन्न प्रजातिका स्याउका बिरुवा तयार गरी सफल परीक्षणपश्चात् किसानलाई वितरण गरेसँगै यहाँको स्याउखेतीको कथा सुरु भयो । स्थानीय अन्नबाली मनग्गे फल्ने उर्वर खेतबारीमा स्याउका बिरुवा लगाउन मनाउँदै गर्दा मार्फाली किसानलाई स्याउ बेचेर छिट्टै धनी बन्न सकिने सपना देखाइएको थियो । तर, स्याउका बिरुवा हुर्केपछि जब बोटमा फल लाग्न सुरु गर्यो, तब सुरु भयो मार्फाली किसानको व्यथा । मार्फामा स्याउखेती सुरु हुनुअघि यहाँका किसान चामल, नुन, तेल, चिनी, लत्ताकपडाजस्ता वस्तुमा बाहेक आत्मनिर्भर थिए । आफूभन्दा अग्ला काठका मदुसमा उवा, आलु, फापर, जौ, गहुँ, सिमी आदि स्थानीय उत्पादन टनाटन हुन्थे । मदुसमा उवा, जौ, गहुँलगायत अन्न प्रशस्त भएपछि उनीहरू नुन, तेल, चामल आदि आवश्यक वस्तु त्यसैसँग साटफेर गर्थे । खेतबारीमा काम गर्ने खेतालालाई तिनै अन्न ज्याला दिन्थे । गाउँले किसानको आत्मनिर्भर जीवन मज्जाले चलेको थियो ।
तर, स्याउ नफलुन्जेल स्याउ बेचेर धनी बन्ने सपना देखेका मार्फाली किसान आफ्ना बगानका बोटमा लटरम्म स्याउ फलेपछि मात्र सपनाबाट झल्याँस्स बिउँझिए । बगानमा स्याउ त लटरम्मै फल्यो, तर किसानलाई स्याउखेती गर्न सिकाउने र स्याउ बेचेर धनी बन्ने सपना देखाउने तत्कालीन सरकारले मार्फालाई राष्ट्रिय सडक सञ्जालसित जोड्न आवश्यक ठानेकै थिएन । उल्टै कृषि सडकको नाममा सदरमुकाम जोमसोमआसपास मात्र ‘सडक’ नामको बाटो खोस्रेर हेलिकोप्टर चढाएर लगेको गाडी गुडाएर तमासा देखाउँदै थियो । पोखरा–बेनी–बागलुङ राजमार्गसित जोडेर तलबाट माथितिर खन्दै जानुपर्ने सडक माथि जोमसोमबाट खनेर सरकार उल्टो बाटो हिँड्दै थियो । सडक अभावमा मार्फाली स्याउले बजार पाएन । बेनीदेखि कैयौँ दिन लगाएर मुस्किलले हिँडेर मुक्तिनाथ जाने यात्रीले फर्किँदा बाटामा खान भनी प्रतिकिलो एक–दुई रुपैयाँमा किनेर लाने केही किलोबाहेक मार्फाली स्याउ बिकेन ।
ती दिन सम्झिँदै स्थानीय चन्द्रमान लालचन भन्छन्–
गाउँलेले स्याउ किन्ने कुरै भएन, सबैको आआफ्नै बगानमा लटरम्मै फलेको हुन्थ्यो । मुक्तिनाथ आउने यात्रीले आक्कलझुक्कल लाने केही किलोबाहेक स्याउ बिक्दै बिकेन ।
‘गाउँलेले स्याउ किन्ने कुरै भएन, सबैको आ–आफ्नै बगानमा लटरम्मै फलेको हुन्थ्यो,’ ८२ वर्षीय स्थानीय चन्द्रमान लालचनले ती दिन सम्झिँदै भने,‘मुक्तिनाथ आउने यात्रीले आक्कल–झुक्कल लाने केही किलोबाहेक स्याउ बिक्दैबिकेन ।’ लालचनका अनुसार त्यतिखेर सडक यातायातको विकल्पमा खच्चड या भरियाको प्रयोग त हुन्थ्यो । तर, मार्फाबाट नजिकको बजारसम्म स्याउ पुर्याउन खच्चडधनीले प्रतिकिलो २५ रुपैयाँसम्म ढुवानी ज्याला लिन्थे भने भरियाले प्रतिकिलो ४० रुपैयाँ । ०६२/६३ तिर मुस्ताङको लेतेमा निजी घर निर्माण गर्दा मुस्ताङका पूर्वसांसद तथा निर्माण व्यवसायी प्रेम तुलाचनले पनि प्रतिकिलो ४० रुपैयाँ ज्याला तिरेर बेनीबाट निर्माण सामग्री ढुवानी गराउनुपरेको पीडा सुनाए । चर्को ढुवानी ज्याला तिरेर पनि बजारमा स्याउ भने प्रतिकिलो पाँच रुपैयाँमा बिक्नसमेत मुस्किल पथ्र्यो । सडक अभावकै कारण मार्फाली स्याउले बजार पाउन सकेन । किसानका स्याउ बोटबाट झरेर बारीमै कुहिए । कतिपयले वस्तुभाउलाई खुवाए । वस्तुभाउले पनि खाएर नसकिएपछि कुलोमै पनि बगाए ।
मार्फालीका दुःखका दिन
यहीँबाट सुरु भए मार्फाली किसानका दुःखका दिन । एकातिर घरका स्थानीय अन्नले भरिभराउ मदुस रित्तिँदै थिए भने अर्कातिर मदुसमा थपिने अन्न फलाउने खेतबारी स्याउका बोटले ढाकिसकेका थिए । स्थानीय लालचन हाँस्दै भन्छन्,‘पहिले अन्नले भरिभराउ हुने मदुस रित्तिएपछि मुसा खेल्ने ठाउँ बने, फेरि ती कहिल्यै भरिएनन् ।’ स्याउखेती सुरु हुनुअघिसम्म लगभग आत्मनिर्भर मार्फाली किसान अब पूरै परनिर्भर भइसकेका थिए । उनीहरूसित अब चामल, नुन, तेल, लत्ताकपडा मात्र होइन, उवा, फापर, जौ, गहुँ, आलु आदिको पनि अभाव हुन थाल्यो । उनीहरूलाई अन्न अभावले भोकभोकै मरिने त होइन भन्ने अत्याससमेत लाग्न थाल्यो । अनि मार्फालीहरूले भन्न थाले— ‘स्याउ भयो झ्याउ’ । हुन पनि मार्फालीका लागि स्याउ साँच्चिकै झ्याउ साबित भयो । उनीहरूलाई नदुखेको कपाललाई बित्थामा डोरी लगाएर दुखाएजस्तो लाग्न थाल्यो । अब उनीहरूसित परम्परागत खेती लगाउने खेतबारी बाँकी थिएन । उनीहरू न स्याउखेती मासेर परम्परागत स्थानीय खेतीपातीमै फर्किन सक्थे, न बोटभरि लटरम्मै फलेका स्याउ बजारमा बेचेर आर्थिक उपार्जन नै गर्न सक्थे । उनीहरूसँग स्याउको वैकल्पिक प्रयोगको ज्ञानसमेत भएन । त्यसैले, करोडौँको स्याउ हरेक वर्ष खेर गयो ।
उज्याला दिनहरूको संकेत
देशमा माओवादी द्वन्द्व समाप्तिसँगै ०६२/६३ पछि नेपाली सेनाको पहलमा बेनी–जोमसोम सडकमार्फत जब मार्फा राष्ट्रिय सडक सञ्जालसित जोडियो तब भने मार्फाली किसानको जीवनमा आशाका किरणहरू देखिन थाले । सडक सम्पर्कसँगै मुक्तिनाथ जाने यात्रुको चाप बढ्न थाल्यो । यात्रुहरू मार्फामै वास बस्न पनि थाले । उनीहरूले फर्किँदा कोसेलीका रूपमा मार्फाली स्याउ लान थाले । मार्फाली स्याउको स्वादको प्रचार–प्रसार तिनै यात्रुले गर्न थाले । खासै भरपर्दो र नियमित नभए पनि कच्ची सडक पुगेसँगै स्याउका व्यापारीहरू बगानमै पुग्न थाले । बिस्तारै तिनले पूरै बगान ठेक्कामा समेत लिन थाले । स्याउको मूल्य पनि बिस्तारै उकालिन थाल्यो । यतिखेरसम्म मार्फाली किसानले ‘मार्फा’ ब्रान्डको स्याउको मदिरा उत्पादन गर्न थालिसकेका थिए । हाल मार्फामै रहेका पाँचवटा डिस्टिलरीले स्याउबाट विभिन्न प्रकारका मदिरा उत्पादन गरेर देश–विदेशमा बिक्री–वितरण गरिरहेका छन् । यतिखेरसम्ममा मार्फालीले नबिकेका स्याउ काटेर सुकुटी, अचार, जाम, जुस आदि बनाएर पनि त्यसको सदुपयोग गर्न जानिसकेका थिए । अब मार्फाको स्याउ खेर जान छाड्यो । अब भने मार्फाली किसानलाई स्याउ झ्याउ लाग्न छाड्यो । केही वर्षभित्रै मार्फाली स्याउले स्थानीय किसानको आर्थिक जीवनमा ठुलो परिवर्तन ल्याइदियो । स्याउका कारण स्थानीय अन्नबाली हराउँदै गए पनि मार्फालीका भान्छामा बजारिया अन्न र अन्य उपभोग्य सामग्री पुग्न थाले । दाउराका ठाउँमा ग्यास बल्न थाल्यो । बिस्तारै बिजुली पनि पुग्यो । मार्फामा होम स्टे चल्न थाले । होटेलहरू पनि प्रशस्त खुले । स्वदेशी तथा विदेशी पर्यटकको बाक्लो चहलपहल हुन थाल्यो । ‘जेरी’, ‘कबड्डी’लगायत चलचित्रहरू यहीँ सुटिङ भएपछि मार्फा गाउँको चिनारी थप विस्तार भयो । मार्फामा ‘जेरी गल्ली’, ‘कबड्डी गल्ली’का बोर्डहरू झुन्डिए । मानिसहरू झुम्मिएर तिनै बोर्डमुनि फोटो खिच्न, टिकटक बनाउन तँछाडमछाड गर्न थाले । यसपछि भने मार्फाले आर्थिक अभावका दिन देख्नुपरेन, पछाडि फर्केर हेर्नुपरेन ।
मार्फाली संस्कृतिमा असर
कुनै दिन ‘झ्याउ’ साबित भएको स्याउकै कारण मार्फालीको आर्थिक जीवनमा कायापलट भयो । मार्फाली किसानले बेनी, पोखरा, काठमाडौंलगायत सानाठुला सहरमा घरघडेरीको जोहो गरे । बालबालिकालाई सहरमा राखेर त्यहाँका ठुल्ठुला बोर्डिङ स्कुलमा पढाउन थाले । केटाकेटीलाई सहरमा राखेपछि उनीहरूसँगै तिनका अभिभावकसमेत उतै बस्न थाले । कतिपय त उच्च शिक्षा र रोजगारीका लागि विदेशसमेत पलायन भए । लालचनका अनुसार जो मार्फा छाडेर गए, तिनीहरू आक्कलझुक्कलबाहेक गाउँ फर्केनन् । जसले गर्दा अहिले सबथोक भएर पनि मार्फामा उमेर छिप्पेका वृद्ध पुस्ताको हात समातेर डोर्याउने छोराछोरी र नातिनातिना पुस्ता घट्दै गएको छ । ‘मेरा त दुई भाइ छोरा यतै छन्, कान्छो काठमाडौंको गुम्बामा लामा छ,’ लालचनले भने, ‘अरू धेरै परिवारमा अब बुढाबुढी मात्र बाँकी छन् । नयाँ पुस्ता त कि सहरबजारमा छन् कि त विदेशमा ।’ कहिलेकाहीँ लालचनलाई आफूहरूको पुस्ताको शेषपछि यति सुन्दर मार्फाका घरहरू सुनसान हुने त होइनन् भन्ने चिन्ताले सताउँछ । ‘हाम्रो पुस्ता सकिएपछि त यहाँका घरमा बस्ने कोही पनि बाँकी हुँदैनन् कि जस्तो लाग्छ,’ लालचन भन्छन्, ‘सायद यहाँ घुम्न आउने मान्छेहरू खाली घर देखेर बस्छन् होला कि ?’
स्याउले मार्फाली किसानलाई समृद्धि त दियो । तर, समृद्धिसँगै यहाँका एक–आपसमा गुजुमुज्ज जोडिएका घरजस्तै थकाली परम्परामा आबद्ध बलियो र एकीकृत समाज एवं परिवार विखण्डित हुन थाले । यहाँको समृद्ध थकाली भाषा, संस्कृति, परम्परा र रहनसहनमा पनि समस्या देखिन थाल्यो । मार्फा छाडेर सहरबजार पुगेको नयाँ पुस्ताले बिस्तारै थकालीहरूको मौलिक भाषा भुल्दै गएको र संस्कृति मासिन थालेकामा चन्द्रमानहरू चिन्तित छन् । मार्फामा चारथरी थकालीको बसोवास छ– लालचन, जुहारचन, पन्नाचन र हिराचन । चारवटै ‘चन’ समुदायबाट एक–एकजना थकाली (मुखिया) चुन्ने चलनचाहिँ अझै जीवित छ । समाजका कसैलाई कुनै समस्या परेमा उसले सबैभन्दा पहिले आफ्नै समुदायका थकालीलाई गुहार्छ । निश्चित रकम तिरेर उजुरी गरिसकेपछि चारैजना थकाली र समाजका अगुवाहरू बसेर गरिने छलफलको निष्कर्षलाई सबैले मान्छन् । नमान्नेले अदालत जाने छुट पाउँछ । तर, यहाँका प्रायः मुद्दामामिला ‘थकाली’को ‘फैसला’ नाघेर अदालत पुग्दैनन् । मार्फाली थकालीको बिहेबारी यहीँका फरक थकाली समुदायभित्र मात्र हुन्छ । हिजोआज आक्कलझुक्कल हुने प्रेमविवाहचाहिँ अन्य समुदायसित पनि हुन थालेको छ ।
भाषा, संस्कृतिको चिन्ता
आधुनिकतासितको संसर्ग र नयाँ पुस्ताको बढ्दो पलायनले गर्दा आफ्नो मौलिक पहिचान बोकेको भाषा र संस्कृति लोप हुने चिन्ताले मार्फाली अगुवाहरूलाई सताउन थालेको छ । त्यसैले, उनीहरू आफ्नो थातथलोको मौलिक चिनारी मेटिन नदिन जुर्मुराएका छन् । उनीहरूले नयाँ पुस्तालाई आफ्नो मौलिक भाषा, संस्कृति र रहनसहन सिकाउने अभियान सुरु गरेका छन् । यसका लागि समाजका अगुवा र शिक्षित पुस्ताले आफ्नो भाषामा पुस्तकसमेत तयार गरेका छन् । यस अभियानले आफ्नो भाषा, संस्कृति र रहनसहनको संरक्षणमा टेवा पुग्नेमा आशावादी छन् चन्द्रमान लालचन र जेठो पुस्ताका मार्फालीहरू ।
‘ग्लोबल वार्मिङ’को असर
चन्द्रमानका अनुसार पहिलेपहिले मार्फामा पुसमा दुई–तीन फिटसम्म हिउँ पथ्र्यो । त्यो हिउँ लामो समयसम्म जमिरहन्थ्यो । यसले गर्दा खेतबारीमा चिसो भित्रैसम्म पुग्थ्यो । जति बाक्लो हिउँ पथ्र्यो, खेतीपाती त्यति नै सप्रिन्थ्यो । उब्जनी पनि बढी नै हुन्थ्यो । स्याउ पनि राम्रो फल्थ्यो । तर, अहिले बढ्दो ग्लोबल वार्मिङको असर मार्फामा पनि देखिन थालेको छ । पहिलेपहिले बाक्लै पर्ने हिउँ अहिले मार्फातिर झर्न मनै गर्दैन । झरिहाल्यो भने पनि एकैछिनमा बिलाउँछ । चिसो जमिनभित्र पस्नै पाउँदैन । बरु, पहिलेपहिले खासै पानी नपर्ने मार्फामा अहिले कहिलेकाहीँ पानी पर्न थालेको छ । तर, यसले बिगार मात्रै गर्छ, खेतीपातीलाई राम्रो गर्दैन । बाहिरबाहिर बगेर जान्छ । यसले मलिलो र खुकुलो लेकाली कालो माटो साथै लिएर जान्छ । यसबाट पनि मार्फालीमा चिन्ता थपिँदै गएको देखिन्छ ।