गोर्खाली सेनाले अरिंगाल र बछ्युँको गोला फुटाएर फालिदिए । राता लुगा लगाएका अंग्रेज सेनामाथि अरिंगालको गोलो नै खनियो ।
गोर्खालीको घेराबन्दीमा परेपछि राज्य गुमाउनुपर्ने अवस्था आउँछ भन्ने आकलन गरेका कान्तिपुरका तत्कालीन राजा जयप्रकाश मल्लले काठमाडौंमा रहेका पादरी जोसेपीको आग्रहमा अंग्रेजसँग सहायता मागे । अंग्रेजका लागि यो एकदमै राम्रो अवसर थियो भने पृथ्वीनारायण शाहको एकीकरण अभियानमा बाधा उत्पन्न हुन सक्थ्यो । तर, नुवाकोट विजयको ठिक २३ वर्षपछि वि.सं. १८२४ असोज १५ गतेका दिन पृथ्वीनारायण शाहलाई इतिहासमै सबैभन्दा ठुलो उपलब्धि हात लाग्यो । संसारभर साम्राज्य विस्तार गरेको अंग्रेजले इतिहासमै पहिलो सर्मनाक हार व्यहोर्नुपर्यो ।
नेपालको इतिहासकै एक महत्वपूर्ण यस घटनालाई स्मरण गर्दै वि.सं. २०६७ सालदेखि सिन्धुलीगढीमा विजयोत्सव मनाउने गरिएको छ । २०७३ देखि कार्यक्रम निकै भव्य रूपमा मनाउन थालिएको सिन्धुलीगढी विजयोत्सवचाहिँ कात्तिक २४ गते मनाइन्छ । सिन्धुलीगढीमा पृथ्वीनारायण शाहसँगै ती चारजना सेनानायकको सालिक र स्मारक स्थापना गरिएको छ भने युद्ध संग्रहालय पनि निर्माण गरिएको छ । हरेक वर्ष सिन्धुलीगढीमा कमलामाई नगरपालिका र नेपाली सेनाको सिन्धुलीगढीस्थित गणले संयुक्त रूपमा एक औपचारिक कार्यक्रम आयोजना गरेर २५७औँ विजयोत्सव मनाउँछ ।
जयप्रकाश मल्लले सहयोग याचना गर्दै पठाएको पत्र र काठमाडौंको परिस्थिति बुझेपछि इस्ट इन्डिया कम्पनी सरकारले धेरै लाभ हुने निष्कर्ष निकाल्यो । अन्ततः पट्नाका हाकिम रम्बोल्डले कप्तान जर्ज किनलकलाई सैनिक अभियानको नेतृत्वको जिम्मेवारी दिए । उनले गोर्खाली सेनाको संख्या, उनीहरूले प्रयोग गर्ने हातहतियार, रणकौशल, सैनिक अभियान दल जाने बाटो, त्यसको दूरी, वास आदिका बारेमा सूचनाहरू पनि संकलन गरे ।
जयप्रकाश मल्लको सहयोग याचना र अंग्रेज अधिकारीहरूको चलखेलबाट पृथ्वीनारायण शाह बेखबर थिएनन् । उनले एकातिर अंग्रेजबाट हुन सक्ने हमलाको प्रतिकार गर्न आवश्यक तयारी थालिसकेका थिए भने अर्कोतिर अंग्रेज अधिकारीको आँट बुझ्ने र उनीहरूलाई अलमल्याउने रणनीतिअनुसार रम्बोल्डलाई यदि आफ्नो सुरक्षा प्रबन्ध हुन्छ भने भेटघाटका लागि आफू पट्ना आउन तयार रहेको पत्रसमेत पठाए ।
पृथ्वीनारायण शाहले कीर्तिपुरमा रहेका सात सयजति सैनिकका साथ काजी वंशराज पाण्डे र काजी श्रीहर्ष पन्तलाई निकै अगाडि नै सिन्धुलीगढी पठाइसकेका थिए । यो युद्धमा काजी वंशराज पाण्डे र वीरभद्र उपाध्यायले शत्रुमाथि ढुंग्रेवासबाट तथा सिकारी सरदार वंशु गुरुङले ढुंग्रे भञ्ज्याङमा ढाड हान्ने (सेना र आवश्यक गोलीगठ्ठा तथा रसदपानी बोकेका भरियाको लाम तोड्ने) प्रबन्ध मिलाइएको थियो । त्यस्तै हरिहरपुरगढीतिरबाट पनि आक्रमण हुने सम्भावना देखेर तीन सयजति सैनिक पठाइएको थियो । पृथ्वीनारायण शाह आफैँ पनि खनियाँखर्कमा पुगेर आवश्यक निर्देशन दिइरहेका थिए ।
१८ कम्पनीमा बाँडिएर आएका २४ सय कम्पनी सेना बेलुकी खुर्कोट बास बस्ने निधोसहित अगाडि बढ्यो । सहायक बाहिनीपति लेफ्टिनेन्ट हार्डी एड्भान्स गार्डसँग हिँडेका थिए भने कप्तान किनलक रियर गार्डसँग हिँडेका थिए । रसदपानी र भरिया लिएर हिँडेका हार्डी देखापर्नेबित्तिकै गोर्खाली सैनिकले हतियार प्रहार गर्यो । टाउकोमा चोट लागेका उनी फर्कन बाध्य भए । अंग्रेज सेनाको तुलनामा गोर्खाली सेनासँग भएको हतियार निकै कमजोर थियो । तर, युद्ध हतियारले मात्र जितिँदैन । युद्ध जित्न युद्धको राणनीति, रणकौशल, आत्मबल अत्यन्तै महत्वपूर्ण हुन्छ ।
वंशु गुरुङ खासमा सैनिकभन्दा पनि बढी सिकारी थिए । सिकार गर्दा अरिंगाल, बछ्युँ आदि प्रयोग गर्ने उनको कलाले सिन्धुलीगढीको युद्धमा अत्यन्तै महत्वपूर्ण भूमिका खेलेको स्पष्ट हुन्छ । उकालोमा अचानक आक्रमण खेप्नुपरेको कम्पनी सेना तितरबितर भएर जङ्गलमा छरिए । गोर्खाली सेनाले अरिंगाल र बछ्युँको गोला फुटाएर फालिदिए । राता लुगा लगाएका अंग्रेज सेनामाथि अरिंगालको गोलो नै खनियो । अंग्रेज सेना भाग्न सक्ने सम्भावित बाटोमा जंगलभर गोर्खाली सेनाले सिस्नो राखेको थियो । अंग्रेज सेनालाई सिस्नोले पनि पोल्यो । अन्ततः अंग्रेज सेना सिन्धुलीगढीबाट पराजय भोग्दै ठुलो क्षति व्यहोरेर फर्कन बाध्य भयो । उक्त युद्धको स्मरण गर्दै किनलकले आफ्नो डायरीमा ‘किरै वैरी, झारै वैरी’ भनेर लेखेका छन् ।
सिन्धुलीगढी युद्धको महत्वबारे इतिहासकार दिनेशराज पन्त लेख्छन्, ‘त्यस दिन कम्पनी सेना पराजित भएर फर्कनुको सट्टा उपत्यका पस्न पाएको भए जयप्रकाश मल्ल नै पनि वि.सं. १८२५ असोज १३ सम्म कान्तिपुरका राजा हुन पाउने थिएनन् होला । नेपालको अहिलेको रूप रहने त कल्पनै गर्न सकिँदैनथ्यो ।’ हुन पनि सिन्धुलीगढीमा पराजित भएपछि अंग्रेजले ४७ वर्षसम्म गोर्खालीसँग धाबा बोल्ने आँट गर्न सकेन । जसका कारण नेपाल एकीकरण निर्बाध रूपमा अघि बढ्यो ।
संस्कृति तथा इतिहासविद् डा. जगमान गुरुङका अनुसार पृथ्वीनारायण शाहको शेषपछि रणबहादुर शाहको राज्यकालमा तनहुँ र ढोर आदि राज्यहरू बृहत् नेपाल अधिराज्यमा समाहित भए । तनहुँ र ढोरको विजयमा सिकारी सरदार वंशु गुरुङका जेठा छोरा लक्ष्मण गुरुङको पनि ठुलो योगदान थियो ।
वंशु गुरुङका सन्तानहरूले सिकारी सरदार वंशु (वंश) गुरुङ स्मृति प्रतिष्ठान नै स्थापना गरेका छन् भने तनहुँको जसपुरमा वंशु गुरुङको सालिक निर्माण गरिएको छ । सालिक २०७६ कात्तिक ९ गते गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अनावरण गरेका थिए ।
हरेक वर्ष सिन्धुलीगढी विजयोत्सवमा सहभागी हुँदै आएका उनीहरूले असोज १५ मा औपचारिक कार्यक्रम गरी विजय दिवस पनि मनाउँदै आएका छन् भने वंशु गुरुङलाई राष्ट्रिय विभूति घोषणा गर्न माग पनि गर्दै आएका छन् ।
तत्कालीन राजा महेन्द्रले राष्ट्रिय विभूति सम्मान प्रदान गर्न सुझाव दिने गरी वि.सं. २०१३ सालमा बालकृष्ण समको अध्यक्षतामा एक समिति गठन गरेका थिए । उक्त समितिको सुझावका आधारमा गौतम बुद्ध, राजा जनक, सीता, अंशु बर्मा, अरनिको, राम शाह, पृथ्वीनारायण शाह, अमरसिंह थापा, भीमसेन थापा, भानुभक्त आचार्य, बलभद्र कुँवर, मोतीराम भट्ट र राजा त्रिभुवन गरी १३ जनालाई राष्ट्रिय विभूति घोषणा गरिएको थियो । यसका अतिरिक्त वि.सं. २०५६ मा शङ्खधर शाख्वा, २०५९ मा पासाङ ल्हामु शेर्पा, २०६६ मा महागुरु फाल्गुनन्द, २०७८ मा भक्ति थापा र २०७९ मा जयपुथ्वीबहादुर सिंह पनि राष्ट्रिय विभूति घोषित भएर राष्ट्रिय विभूतिको संख्या १८ पुगेको छ ।
यी १८ जना राष्ट्रिय विभूतिको कुुरा गर्दा जनक, अंशु बर्मा, राम शाह, पृथ्वीनारायण शाह र त्रिभुवन राजाहरू हुन् । राजा जनक पौराणिक कालका राजा हुन् भने अंशु बर्मा लिच्छविकालका तथा राम शाह, पृथ्वीनारायण शाह र त्रिभुवन शाहचाहिँ शाह वंशका राजाहरू हुन् । त्यस्तै सीता वर्तमान नेपाल सरहदभित्र पर्ने जनकपुरका तत्कालीन राजा जनककी छोरी हुन् । सीतालाई नेपाल र भारतबिचको धार्मिक–सांस्कृतिक सेतु मानिन्छ । त्यस्तै चीनमा गएर भवन निर्माणमा प्यागोडा शैली विकास गरेका अरनिकोलाई नेपाल–चीनबिचको सांस्कृतिक सेतु मानिन्छ ।
राष्ट्रिय विभूति घोषित बलभद्र कुँवर, अमरसिंह थापा र भक्ति थापाचाहिँ नेपाल–अंग्रेज युद्ध (१८७१–२०७२)का सेना नायकहरू हुन् भने भीमसेन थापा नेपाल–अंग्रेज युद्धकालमा नेपालका प्रधानमन्त्री थिए । वि.सं. १८७२ मा भएको सुगौली सन्धिसँगै नेपाल एकीकरण अभियान समाप्त भएको थियो । जुन सन्धिअनुसार नेपालले त्यसअघि जितेको करिब एकतिहाइ भूभाग गुमाउनुपरेको थियो ।
आदिकवि भानुभक्त आचार्य र मोतीराम भट्ट साहित्यका क्षेत्रमा विशिष्ट योगदान पुर्याएका पात्रहरू हुन् भने पासाङ ल्हामु शेर्पा सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला हुन् । त्यस्तै महागुरु फाल्गुनन्द किरात धर्म (सत्यहाङ्मा पन्थ)का प्रवर्तक हुन् भने मिथकीय पात्र शङ्खधर शाख्वाले बालुवालाई सुनमा परिणत गरेर गरिबहरूलाई ऋणमुक्त बनाएको बताइन्छ । जयपृथ्वीबहादुर सिंहचाहिँ मानवतावादी शैक्षिक अगुवा हुन् । राष्ट्रिय विभूति गौतम बुद्धबारे त विश्वलाई नै थाहा छ ।
२०१३ सालमा १३ जनालाई राष्ट्रिय विभूति घोषणा गर्दा देशको रक्षाका लागि बलिदानी दिने, बहादुरी प्रदर्शन गर्ने व्यक्तिका साथै आर्थिक, सामाजिक तथा साहित्यिक क्षेत्रमा प्रशंसनीय कार्य गर्ने, प्रजातन्त्र प्राप्तिका लागि संघर्ष गर्ने र विदेशमा नेपालको छवि उजिल्याउने व्यक्तित्वहरू समावेश गरिएको बताइएको थियो । यद्यपि राष्ट्रिय विभूति घोषणा गरिएका कतिपयको विषयमा विभिन्न तर्क उठ्ने गरेका छन् । तर, पहिलोपटक राष्ट्रिय विभूति घोषणा गर्दा लिइएको आधारलाई नै मान्ने हो भने वंशु गुरुङ मात्र होइन, सिन्धुलीगढी युद्धका चारैजना सेनानायकलाई राष्ट्रिय विभूति घोषणा गर्न सरकारले कुनै आनाकानी गर्नुपर्दैन ।