पुस्तक पढ्न मन पराउँछु । विद्यार्थी जीवनमा धेरै समय पुस्तकालयमा बिताएँ । किताब मेरा लागि अर्को संसार र जीवन हो, अर्को संस्कृति र सभ्यता हो । अर्को अनुभव र ज्ञान हो । मान्छेका जीवन र संघर्षलाई फराकिलो रूपमा बुझ्न सकिने एउटा सशक्त माध्यम किताब हो ।
१. शिरीषको फूल : सन् १९६४ मा लेखिएको पारिजातको ‘शिरीषको फूल’ नेपाली आख्यान लेखनको इतिहासमा एउटा मानक कृति हो भन्ने मलाई लाग्छ । एउटा निवृत्त सेना सुयोगवीर भन्ने पात्रबाट भनिएको ‘शिरीषको फूल’को कथा पहाडको झर्नाझैँ निरन्तर एउटै गतिमा बगिरहन्छ । भाषाका हिसाबमा यति गजबको नेपाली आख्यान बिरलै पाइन्छ । मूल पात्र सकम्बरीको आगमनले कथानक बेजोडले अघि बढ्छ । हुन त धेरै वर्ष पहिला स्कुले विद्यार्थी हुँदा पढेको हुँ । तर, मेरो मस्तिष्कमा सकम्बरी भनेकै पारिजात हुन् भन्ने परेको थियो । यद्यपि त्यो अहिले पनि कायम छ । सकम्बरीको पात्र निर्माण गर्दा पारिजातले जुन परिवेशको निर्माण गरेकी छिन् । म त्यसको मुक्तकण्ठले प्रशंसा गर्छु । हुन त पारिजातका अरू पनि किताब पढेको छु । तर, ‘शिरीषको फूल’को प्रभाव यति रह्यो कि म आज पनि पारिजातलाई भेट्न चाहन्छु । सायद, पारिजातलाई मैले भेटेको भए म उनीसँग धेरै साहित्यिक समय बिताउने थिएँ । एकोहोरो नै भए पनि सायद प्रेम गर्थें हुँला, जुन आज पनि गर्छु ।
२. द एल्क्किमिस्ट : सन् १९८८ मा पहिलोपटक पोर्तुगिज भाषामा ब्रजेलीयन आख्यानकार पाउलो कोएल्होले लेखेको यो उपन्यास मलाई मनपर्ने उपन्यास हो । एकजना युवा स्पेनिस भेडा गोठालो सान्टियागोको मनोविज्ञान, महत्वाकांक्षा र उसले बाँचिरहेको गोठाले जीवनका माध्यमबाट लेखकले धेरै महत्वपूर्ण उपकथा निर्माण गरेका छन् । हरेक मानिसको जीवनमा उसको आफ्नै यात्रा हुन्छ । हामी सबैले हाम्रो आफ्नै यात्रालाई स्विकार्ने हो भन्ने निचोडका साथ लेखिएको यस उपन्यासले संसारभरिका धेरै युवायुवतीको जीवनमा परिवर्तन ल्याउन सफल भएको छ । असफलतामा पनि स्थिर बन र अप्ठ्यारोको सामना गर । प्रेमको शक्ति पत्ता लगाऊ र महसुस गर । वर्तमानमा बाँच । जीवनमा तिमीले गर्न चाहेको कुराले तिमीलाई पर्खिरहनेछ भन्नेजस्ता महत्वपूर्ण सन्देश दिने यो उपन्याससँगै लेखकले अन्य धेरै उपन्यास पनि लेखेका छन् । अझै पनि लेखिरहेका मेरा प्रिय उपन्यासकार पाउलो कोएल्होको मैले अन्य उपन्यास पनि पढेको छु ।
३. एन्हिलेसन अफ कास्ट : भारतका संविधानसभाका अध्यक्ष बाबासाहेब भिमराव अम्बेडकरले सन् १९३६ मा लेखेको यो पुस्तक वास्तवमा पुस्तक थिएन, जातपात तोडक मण्डल भन्ने एउटा गैरदलितहरूको प्रगतिशील संस्थाले बाबासाहेबलाई मुख्य वक्ताका रूपमा बोलाएको थियो । तर, जब बाबासहेबले गर्ने भाषणको विषयवस्तु उनीहरूले अग्रिम थाहा पाए, त्यसपछि त्यो हिन्दु धर्मविरोधी भयो भनेर बाबासाहेब अम्बेडकरको उक्त् भाषण नै हटाइयो । अम्बेडकरले गर्न नपाएको उक्त भाषण नै आज हामी ‘एन्हिलेसन अफ कास्ट’ नामक पुस्तकका रूपमा पढ्छौँ । यस पुस्तकमा अम्बेडकरको मुख्य तर्क दक्षिण एसियाली समाजको मुख्य धर्म हिन्दु धर्मको गर्भमा नै जात–व्यवस्था र जातीय विभेद छ भन्ने थियो । हिन्दु धर्मका धार्मिक ग्रन्थहरूको गहन अध्ययन गरेका अम्बेडकरको भनाइमा हिन्दु धर्ममा व्यवस्था भएअनुरूप नै समाज पनि तहगत भयो र विभिन्न समुदायलाई विभेद र छुवाछुतजस्तो निकृष्ट व्यवहार गर्यो भन्ने थियो । हिन्दु धर्मले दलित र महिलालाई कहिले पनि न्याय गर्न नसक्ने भन्ने उनको ठम्याइ थियो । तसर्थ, जातको ध्वंस नै भारतीय हिन्दु समाजको रूपान्तरणको एउटै मात्र उपयुक्त बाटो हो भन्ने थियो । स्वतन्त्र भारतको संविधान निर्माणजस्तो जटिल र महत्वपूर्ण भूमिका खेलेर समग्र भारतको सेवा गरेका अम्बेडकरले जात–व्यवस्था र दलित समुदायको न्यायखातिर लेख्ने, पढ्ने, संगठित हुने र लड्ने काम गरे । दलित समुदायसम्बन्धी अथाह ज्ञान उत्पादन गरेका अम्बेडकर नपढी दक्षिण एसियाली हिन्दु समाजको अध्ययन र बुझाइ अपूरो हुने कुरामा दुईमत नहोला ।
४. डिस्कुलिङ सोसाइटी : अस्ट्रियन पादरी, इभान इल्लिचले सन् १९७१ मा लेखेको यस गैरआख्यान पुस्तकले १० वर्षअगाडि मेरो मथिंगल हल्लाएको थियो । आधुनिक संस्थागत शिक्षा र शिक्षण पद्धतिप्रतिको खरो आलोचना यस पुस्तकमा पाइन्छ । अहिले संसारमा अभ्यासमा रहेको औपचारिक शिक्षण पद्धतिको विकल्पमा खुला शिक्षण पद्धति र त्यसअनुसारको पढ्ने–पढाउने वातवरणको पक्षमा लेखिएको यस पुस्तकले संरचनागत ज्ञान निर्माण र संस्थागत वितरणका सीमितताको कुरा गर्छ । औपचारिक शिक्षा र शिक्षण पद्धतिले कसरी विपरीत अवधारणाको विकास गरिरहेको छ र फरक सत्यहरूको वकालत गरिरहेको छ भन्ने तर्क पुस्तकमा पाइन्छ । एउटै समय, स्थान र विधिले समग्र विद्यार्थीलाई उस्तै ज्ञान दिने यस आधुनिक विद्यालय शिक्षा प्रणालीले सिकाइको असीमिततालाई सीमिततामा परिणत गरिदिन्छ भन्ने इल्लिचको तर्क थियो । आधुनिक संस्थागत विद्यालय शिक्षा र शिक्षण पद्धतिले उद्योगका लागि श्रमिक र पुँजीवादी बजारका लागि उपभोक्ताबाहेक केही पनि उत्पादन नगर्ने भन्ने इल्लिचको बेजोड तर्क थियो । जतिवेला म विश्वविद्यालयमा पढाउँथेँ, तब यस किताबले मेरो पढाउने पद्धतिमा ठुलो भूमिका खेलेको थियो ।
५. द पेडगोजी अफ द अप्रेस्ड : सन् १९६७–१९६८ मा ब्रजेलियन शिक्षाविद् पाउलो फ्रेरेले पोर्तुगिज भाषामा लेखेको पुस्तक सन् १९७० मा अंग्रेजीमा अनुवाद भएको थियो । सामाजिक न्यायको क्षेत्रमा पाउलो फ्रेरे चिनाउनुपर्ने नाम होइन । उनको दर्शनमा आधारित शिक्षणपद्धतिले सन् १९६० को दक्षिणी–विश्वको सार्वजनिक शिक्षामा ठुलो योगदान पुर्याएको थियो । आलोचनात्मक शिक्षण पद्धतिमा यस पुस्तकलाई आधारभूत पुस्तक मानिन्छ । यसले विद्यार्थीलाई स्थापित मूल्य–मान्यतामाथि प्रश्न गर्न र नियन्त्रणकारी सामाजिक विश्वास र अवधारणामाथि प्राज्ञिक चुनौती दिन सिकाउँछ । ज्ञानको पुनः उत्पादनमा शिक्षक र विद्यार्थी, राजनीतिक नेतृत्व र नागरिकको सामूहिक प्रयत्न भनेको सत्यको उजागर गर्नु र त्यसको आलोचनात्मक समीक्षा गर्नु हो । यसरी सामूहिक अनुभव र प्रयत्नले उत्पादन गरेको ज्ञानले मात्र उत्पीडितको स्वतन्त्रताको प्रतिबद्धता गर्छ । अन्यथा, उत्पीडितहरूको वास्तविक सहभागिताविनाको संघर्षले उत्पीडितहरूलाई न्याय सम्पादन गर्नेछैन । शिक्षाले कसरी विभेदको भाष्य निर्माण गर्छ र शिक्षक–विद्यार्थीको भूमिका कति अहं हुन्छ भन्ने कुरा फ्रेरेले गरेका छन् । आलोचनात्मक ज्ञान निर्माण प्रक्रियामा पाउलो फ्रेरेको यो पुस्तक बिर्सनै नसकिने एउटा पुस्तक हो । आलोचनात्मक ज्ञानको निर्माणबाट नै समाज परिष्कृत हुँदै रूपान्तरणमा विश्वास गर्ने मजस्ता समाज–विज्ञानका विद्यार्थीका लागि यो पुस्तक अति उपयोगी छ ।