• वि.सं २०८१ मङ्सिर २१ शुक्रबार
  • Friday, 06 December, 2024
‘इलेक्सन डे’ ५ नोभेम्बरका दिन एरिजोनामा एक ट्रम्प समर्थक । तस्बिर : रेबेका नोबल/एफपी/गेटी इमेजेज
रिचार्ड सेमोर
२०८१ मङ्सिर १ शनिबार ०७:३०:००
अनुवाद

चरम दक्षिणपन्थीहरूको सफलताको यात्रा

२०८१ मङ्सिर १ शनिबार ०७:३०:००
रिचार्ड सेमोर


दक्षिणपन्थीको उभार विश्वव्यापी बनेको छ । ‘अर्थव्यवस्था’ वा ‘विपन्न’लाई दोष दिँदैमा यसमा विराम लाग्दैन ।

 

डोनाल्ड ट्रम्पले पहिलोपटक बहुमत लोकप्रिय मत प्राप्त गरे । पहिलोपटक मतदान गर्ने मतदाता, युवा, अश्वेत तथा ल्याटिनो मतदाताको मतहिस्सा बढाएर ट्रम्पले अमेरिकी राष्ट्रपति पद हात पारे । धनाढ्य मतदाताले कमला ह्यारिसलाई मनपराउँदा ट्रम्पले भने अघिल्लो निर्वाचन २०२० को ट्रेन्ड उल्ट्याउँदै वार्षिक एक लाख डलरभन्दा कम कमाइ गर्ने मतदातामाझ बढोत्तरी गरे । अहिलेको मतदानको ढाँचा हेर्दा नतिजा रिपब्लिकनतर्फ ढल्किनुको मुख्य कारण मतदानमा डेमोक्य्राटका उल्लेख्य मतदाताको अनुपस्थिति रहेको देखिन्छ ।

 

यो मतपरिणामले विश्वव्यापी प्रवृत्तिलाई नै प्रतिबिम्बित गर्छ । ट्रम्प र उनको प्रशासनले अब भारतदेखि हंगेरी, इटली, फिलिपिन्स, अर्जेन्टिना, नेदरल्यान्ड्स र इजरायलसम्मका चरम दक्षिणपन्थी सरकारको खुकुलो गठबन्धनको नेतृत्व गर्नेछ । हंगेरीमा सन् २०१० को संसदीय निर्वाचनमा भिक्टर ओर्बानको भारी विजयसँगै चरम–दक्षिणपन्थी सफलताको यो यात्रा सुरु भएको थियो, जुन सन् २०१४ को भारतीय आमनिर्वाचनमा नरेन्द्र मोदीको विजययता सायदै थामिएको छ । त्यसपछि सन् २०१६ मा ह्वाइट हाउसमा ट्रम्पको पहिलो आरोहण, ब्रेक्जिटको मतदान र फिलिपिन्समा रोड्रिगो डुटेर्टेको आगमन भयो । त्यसको दुई वर्षपछि ब्राजिलमा जयर बोल्सोनारोले गोल गरे । इटलीको महामारीपछि सन् २०२२ को आमचुनाव ‘ब्रदर्स अफ इटली’ले जित्यो भने सन् २०२३ मा अर्जेन्टिनाको राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न जेभियर मिलेई आइपुगे । इजरायलमा यस अवधिको अधिकांश समय चरम दक्षिणपन्थी दलहरूसँग मिलेर बेन्यामिन नेतन्याहुको लिकुड पार्टीले शासन गरिरहेको छ । चरम दक्षिणपन्थी, जहाँ सत्तामा छैनन्, त्यहाँ पनि फ्रान्स र जर्मनीमा जस्तै बढोत्तरी प्राप्त गरिरहेका छन् । सन् २०२० मा ट्रम्प र सन् ०२२ मा बोल्सोनारोको पराजय पनि दक्षिणपन्थीहरूको विजय यात्राको ढाँचामा सामान्य बदलाव मात्र थियो ।

 

चरमपन्थीहरूले किन जितिरहेका छन् त ? सन् १९९२ मा बिल क्लिन्टनको राष्ट्रपतीय चुनावका दौरान जेम्स कार्भिलले भनेझैँ के यसको कारण ‘अर्थव्यवस्थाको खराबी’ हो ? चरम दक्षिणपन्थीतर्फको मतदानले आर्थिक रूपमा पछाडि पारिएकाहरूको असन्तुष्टिलाई प्रतिबिम्बित गर्छ भन्ने यो धारणा जबर्जस्त रूपले लोकप्रिय छ ।

 

यसमा एउटा सत्यता भने छ– सन् २०२४ को निर्वाचनमा ट्रम्पका मतदाताका लागि अर्थतन्त्रको अवस्था नै सबभन्दा ठुलो प्रेरक हुन पुग्यो । अर्थतन्त्र मन्दीमा छ भन्ने आमधारणालाई जिडिपी बढिरहेको र मुद्रास्फीति पनि २.४ प्रतिशतको सामान्य अवस्थामा रहेको भन्दै उदारवादीले नजरअन्दाज गर्ने काम गरे । तर, अर्थतन्त्रका आँकडाले अधिकांश मानिसका अनुभवलाई प्रतिबिम्बित गरेको छैन । मूल्यहरू महामारीअघिको तुलनामा २० प्रतिशतभन्दा माथि छन् । सबभन्दा महत्वपूर्ण कुरा खाद्यान्नजस्ता अत्यावश्यक वस्तुको मूल्य २८ प्रतिशतले बढेको छ । घरायसी ऋण भार आक्रोशको एउटा प्रमुख कारक हो । बाइडेनले महामारीको समयमा दिइएका लोकप्रिय सहुलियतहरू पनि कटौती गर्ने काम गरे । अधिकांश मानिसलाई आँकडामा विश्वास छैन ।

 

तथापि यो भाष्यले गुदी कुरा पहिल्याउँदैन । पहिलो, मतदानका लागि सधैँ मानिसलाई तिनको खल्तीले निर्देशित गर्दैन भन्ने कुरा प्रमाणले देखाउँछन् । २०औँ शताब्दीदेखि वर्तमानसम्मका अध्ययनले आर्थिक हितका सूचक ‘भोटिङ बिहेवियर’को असल द्योतक होइनन् भन्ने देखाएका छन् । अर्थव्यवस्थाले निःसन्देह अर्थ राख्छ । तर, समग्र भलाइको मेट्रिकका रूपमा भने होइन । यो एउटा यस्तो स्थान हो, जसमा मानिसले आफ्ना निजी अडानलाई जज गर्छन्, समाजको अवस्थाको सापेक्षतामा । व्यक्तिगत असफलतालाई सामान्यतया तबमात्र राजनीतीकरण गरिन्छ, जब तिनलाई व्यापक संकटकै हिस्साको रूपमा हेरिन्छ । दोस्रो, श्रमजीवी वर्गको समर्थन प्राप्त नगरी चरम दक्षिणपन्थीले जित्न नसक्ने हुँदा अमेरिका, ब्राजिल, भारत र फिलिपिन्समा दक्षिणपन्थीले मध्यमवर्गीय समर्थनको जगमा नै जित हासिल गरेका हुन् । दक्षिणपन्थमा नलाग्दा पनि लाखौँ मानिसको आर्थिक जीवन कष्टकरै हुन्छ । यसबाहेक, अधिकांश समाजका विपन्नहरू आमरूपमा उनीहरूका सन्देशप्रति उतिसारो ग्रहणशील पनि हुँदैनन् । तेस्रो, दक्षिणपन्थीका आर्थिक प्रस्ताव कुनै गतिला छैनन् त पनि सत्तासीन डेमोक्य्राटले उनीहरूको आगमन रोक्न सकेनन् ।

 

भारतमा औसत उपभोक्ता खर्च घटेपछि मोदी ६ प्रतिशत मतान्तरले सन् २०१९ मा पुनः निर्वाचित भएका थिए । फिलिपिन्समा ‘विपन्न फिलिपिनी’को संख्या बढ्दै जाँदा दुतेर्तेका उत्तराधिकारी फर्डिनान्ड ‘बोंगबोङ’ मार्काेस जुनियरले ५८ प्रतिशत मतसहित सन् २०२२ मा जित हासिल गरेका थिए, जुन उनको करिब २० अंकको बढोत्तरी हो । हार्दा पनि उनीहरू आश्चर्यजनक रूपमा राम्रो गर्छन् । पूर्ववर्ती सरकारको तुलनामा ट्रम्पकालमा औसत आयको वृद्धि निकै सुस्त थियो, तथापि उनले २०२० को निर्वाचनमा आफ्नो मताधारमा एक करोडजति मत थपेका थिए । यदि मानिसले आफ्नो आर्थिक अवस्थाको आधारमा मात्रै मतदान गर्थे भने किन यतिविधि श्रमजीवी अमेरिकीले धनाढ्यहरूको कर कटौतीप्रति प्रतिबद्ध उम्मेदवारलाई समर्थन गरे त ?

 

आर्थिक कष्टका यी राजनीतिक प्रभावहरू जेम्स कार्भिलको ‘इट्स द इकोनोमी स्टुपिड’ले भन्न खोजेभन्दा अधिक अप्रत्यक्ष हुन्छन् । समाजमा विद्यमान प्रबल भावनाहरूले आर्थिक झट्कामाझ मध्यस्थताको काम गर्छन् । मध्यमवर्गीय र उच्च–मध्यमवर्गीय कामदाता धनी वर्गसँग मिल्न सक्छन् । तिनले आफ्नो जीवनशैलीका खतरा गरिब र अवसर खोस्न आइपुगेका आप्रवासीलाई घृणा गर्न सक्छन् । अक्सर असन्तोष निष्फल गुनासामा परिणत हुन्छ । आर्थिक झट्काको चपेटामा परेका अधिकांश मानिस आफ्नो आर्थिक दुरवस्थाका मूल कारणको सामना गर्न अक्षम हुन्छन् र उनीहरूमा राजनीतिबाट टाढिने प्रवृत्ति हुन्छ ।

 

आजको उग्र दक्षिणपन्थले फरक जवाफ पस्किन्छ, जसलाई राजनीतिक सिद्धान्तकार विलियम कोनोलीले ‘पोलिटिक्स अफ एक्जिसटेन्सियल रेभेन्ज’ भनेका छन् । यो राजनीतिले वास्तविक विपत्तिलाई काल्पनिक विपत्तिद्वारा प्रतिस्थापन गरिदिन्छ । ट्रम्पले ‘कम्युनिस्ट’हरूले सत्ता हत्याउने काल्पनिक भय देखाए अनि ‘ग्रेट रिप्लेसमेन्ट’को षड्यन्त्र सिद्धान्तलाई जोडतोडले उपयोग गरे । उनका समर्थक ‘ह्वाइट जेनोसाइड(आमआप्रवासन आदिबाट श्वेतहरूको नियोजित आमविस्थापन÷विनाशको भाष्य)’ र सैतानी बाल–उत्पीडन अभिजात वर्गको विरोधमा छन् । तर, अन्यायको विरोध गर्नुको साटो वर्ग, जाति र लिंगजस्ता सामाजिक पदानुक्रमविरुद्ध खडा हुनेहरूलाई तिनले निन्दा गर्छन् । प्रणालीहरूको विरोध गर्नुको सट्टा, उनी तपाईंका सामु शत्रुहरू खडा गरिदिन्छन् । यो विपत्तिकारी राष्ट्रवाद हो ।

 

चुनाव यसको एउटा पाटो मात्र हो । सन् २०१० यता साइबरफासिजमबाट उभ्रिएर आएका उदण्डहरूको आक्रमण बढेको छ । दिल्ली र वेस्ट बैंकमा अल्पसंख्यक समुदायको आमसंहारको दन्को दन्किएको छ । अमेरिकामा ‘ब्ल्याक लाइभ्स म्याटर’का प्रदर्शनकारीमाथि भिजिलान्तेहरूले आक्रमण गरे । बेलायत र आयरल्यान्ड जातिवादी दंगाले हल्लिएका छन् । सन् २०२१ को जनवरीमा ट्रम्पका समर्थकले क्यापिटल हिलमा गरेको आक्रमण र ब्राजिलमा लुलाको सत्तारोहण रोक्न ट्रक चालकले गरेजस्ता ‘विद्रोहहरू’ हालैका वर्षमा हुँदै आएका छन् ।

 

यो विश्वव्यापी सामाजिक संक्रमण नै हो । यस्ता सामूहिक हिंसाका कारण बदनाम हुनुको सट्टा नव चरम दक्षिणपन्थीहरू थप अभिप्रेरित हुन्छन् । मोदीको सत्तामा उदय उनको गृहराज्य गुजरातमा मुस्लिम नरसंहारबाट सुरु भएको थियो । ट्रम्पको सन् २०२० को चुनावी अभियानलाई पनि हिंसाले नै विद्युतीकरण गरेको थियो । बोल्सोनारो लगभग २० अंकको पृष्ठताबाट ग्रीष्मकालीन घातक हिंसाका प्रकरणपश्चात झन्डै विजय नै पुगे । 

 

आर्थिक मुद्दालाई सम्बोधन गर्नाले यसमध्ये केही कुरा कम भएर जानेछन् । डेभिड ब्रुक्स न्युयोर्क टाइम्समा ह्यारिसको केन्द्रवादले काम नगरेको र डेमोक्य्राटहरूले ‘बर्नी स्यान्डर्स शैलीलाई अँगाल्नुपर्ने’ बताउँछन् ।

 

तर सवाल ‘आर्थिक वा आजीविकाको’मात्रै होइन । मानिसलाई उत्साहित हुन ‘केही न केही’ चाहिन्छ । सन् २०२० मा स्यान्डर्सको अभियान र ‘ब्ल्याक लाइभ्स म्याटर’ले डेमोक्य्राटिक आधारलाई प्रेरित गरेको थियो र दक्षिणपन्थीको प्रतिशोध–राजनीतिको प्रतिवाद गरेको थियो । ह्यारिसको अभियानले अमूर्त रूपमा स्वीकार गरेको पनि हो । तर, आर्थिक लोकप्रियतावादलाई बिर्सिएर चरम दक्षिणपन्थीको एजेन्डालाई नै अंगीकार गर्दा र गाजामाथिको नेतन्याहुको आमनरसंहारकारी युद्धलाई हतियार प्रदान गरेको अवस्थामा त्यसको पनि सम्भावना निकै कम थियो ।

 

आफ्नै विषाक्त भावनात्मक गोलचक्करमा फस्दै जाँदा दक्षिणपन्थीमाझ पतन र हतोत्साहितीकरणको शैलीमा फुट मौलाउनेछ । तर, यो गतिरोधलाई तोड्न उदारवादीले आफैँलाई पुनर्संयोजन गर्नु आवश्यक छ ।

 

(रिचर्ड सेमुर साल्वेजका लेखक एवं संस्थापक सम्पादक हुन् । उनको पछिल्लो पुस्तक ‘डिजास्टर नेसनलिज्म : द डाउनफल अफ लिबरल सिविलाइजेसन’ प्रकाशित छ । गार्जियनबाट नारायण शिवाकोटीको अनुवाद)