४० सालसम्म पनि असन–इन्द्रचोकलाई नै मूल सहर भनिन्थ्यो । भक्तपुरबाट आउँदा धेरैपछिसम्म पनि सहर जाने भन्थे ।
म म ०२४ सालमा काठमाडौं आएको हुँ । त्यतिवेला २० वर्षको थिएँ । मैले आफ्नो प्रारम्भिक शिक्षा खोटाङ र जनकपुरमा बाँकी अध्ययन सकेपछि यहाँ कलेज पढ्नका लागि आएको हुँ । पूर्वबाट जनकपुर आएर त्यसपछि त्यहाँबाट भारत हुँदै रेल चढेर रक्सोल आएँ । अनि, रक्सोलबाट वीरगन्ज हुँदै मोटरमा काठमाडौं आएको थिएँ । त्यतिवेला हिँडेर आउनेहरू खोटाङबाट नेपालथोक हुँदै आउँथे । पूर्व–पश्चिम राजमार्ग पनि निर्माण भइसकेको थिएन ।
म यहाँ आएर गैरीधारामा एउटा कोठा लिएर अन्य विद्यार्थीहरूसँग बस्न थालेँ । धोबीखोला निकै सफा थियो । २५–२६ सालतिर पुतलीसडकमा पढ्दा हामी चप्पल लगाएर टुकुचा तरेर जान्थ्यौँ । क्रमश: त्यो पुरिँदै गयो । नदी धेरैजसो ठाउँमा खुला थियो । अहिले फेरि महानगरले ती नदीहरूलाई खुला गर्ने अभियान चलायो । यो सकारात्मक छ ।
काठमाडौं पहिलोपटक आएको भए पनि विराटनगर, जनकपुरलगायत सहरमा म बसेको थिएँ । काठमाडौं सांस्कृतिक सहर हो । त्यतिवेला यहाँ भिडभाड निकै कम थियो । धेरैजसो जग्गामा खेती हुन्थ्यो ।
पर्व र जात्राहरूको रौनक बेग्लै थियो । लामो खडेरी लागेमा तान्त्रिकलाई बोलाएर विद्या पाठ गर्न लगाइन्थ्यो । हनुमानढोकामा एउटा तान्त्रिकले विद्या पाठ गरेपछि महिनौँ पानी नपरेको अवस्थामा पानी परेको थियो । अहिले त्यस्ता तान्त्रिकको अभाव छ ।
बानेश्वरमा बस्न अति सस्तो थियो । त्यता किनमेल नै हुँदैनथ्यो । त्यतिवेला डिल्लीबजार अलि महँगो थियो । त्यहाँ अलि सम्भ्रान्त परिवारका मानिस बस्थे । मैतीदेवी, सेतोपुल छेउछाउ खेतैखेत थिए ।
सहर आउँदा मानिसहरू रातोपुल हुँदै हिँडेर आउजाउ गर्थे । यहाँ केही पनि बाहिरबाट ल्याउनुपर्दैनथ्यो । चामल, तेल, फलफूल, तरकारीका लागि काठमाडौं आफैँमा सक्षम थियो । बरु यहाँबाट निकासी हुन्थ्यो । यहाँ ल्याउने भनेको मट्टितेल हो ।
काठमाडौंमा १५ रुपैयाँले महिनाको खर्च चल्थ्यो । २० रुपैयाँको कोठा भाडामा लिएर चारजना बस्ने गरेका थियौँ । असन, इन्द्रचोकका भित्री घर पाको इँटाले बनेका हुन्थे । डिल्लीबजार, बानेश्वरलगायत क्षेत्रमा काँचो इँटाले बनेका घर थिए । २८–३० सालसम्म पनि ३० रुपैयाँले महिनाको खर्च पुग्दथ्यो ।
क्वाँटी खाने दिनमा विशेष रौनक हुन्थ्यो । काठमाडौं चिसो ठाउँ भएकाले पनि धान रोपाइँ सकिएपछि क्वाँटी खाने चलन थियो । यसले सर्दी हटाउने, विभिन्न एलर्जी कम गर्ने गर्छ । किसान रोपाइँका क्रममा हिलोमा चोपलिएका हुन्थे । लुतोस्ता विभिन्न एलर्जी देखिन्थे । लुतो फाल्ने चलन पनि थियो ।
असन, इन्द्रचोकमा त्यतिवेला पनि थोरै क्षेत्रफलमा घर बनेका हुन्थे । तर, डिल्लीबजारमा चार–पाँच रोपनीको कम्पाउन्डमा घर हुन्थ्यो । मूल सहरबाहिर एक रोपनीभन्दा कम जग्गामा घर बनाउने कल्पना पनि गरिँदैनथ्यो । कम्तीमा यहाँ गाई पनि पाल्नुपर्ने, इनार पनि खन्नुपर्ने, दाउरामा भात पकाउने गरिन्थ्यो ।
असन, इन्द्रचोकमा त्यतिवेला पनि थोरै क्षेत्रफलमा घर बनेका हुन्थे । तर, डिल्लीबजारमा चार–पाँच रोपनीको कम्पाउन्डमा घर हुन्थ्यो । मूल सहरबाहिर एक रोपनीभन्दा कम जग्गामा घर बनाउने कल्पना पनि गरिँदैनथ्यो । कम्तीमा यहाँ गाई पनि पाल्नुपर्ने, इनार पनि खन्नुपर्ने, दाउरामा भात पकाउने गरिन्थ्यो । सहरभित्र प्रत्येक चोकमा इनार थिए । ढुंगेधारा पनि धेरै थिए । हामी इनारकै पानी खान्थ्यौँ । शीतकालमा बिहान तातो हुने, गर्मीमा चिसो हुने भएकाले पनि इनारको पानीको विशेष महत्व छ । काँचो इँटाका घर जाडोमा न्यानो हुन्थ्यो ।
डिल्लीबजार, बानेश्वरलगायत मूल सहरबाहिर र काँठ क्षेत्रका प्रायः सबै घरमा गाई हुन्थे । अब त ढुंगेधारा पनि सुकिसके । सुन्धाराको ढुंगेधारा पनि सुक्यो । कालिकास्थानमै जहाँ बरको रुख छ, त्यहाँबाट उत्तरपट्टि बिचको बाटो हिँड्ने गरिन्थ्यो । त्यहाँ पोखरी थियो । तर, बिस्तारै सुक्दै गयो । अहिले हरायो । त्यहाँ घर मात्रै छन् । पोखरी थियो भनेर कसैले पनि पत्याउँदैनन् ।
रामनवमीपछि सुरु हुने (चैत शुक्ल अष्टमी) सेतो मत्स्येन्द्रनाथको जात्रा पनि काठमाडौंमा विशेष मानिन्छ । काठमाडौंमा तीनधारा छात्रावासबाट सुरु हुन्छ । मस्येन्द्रबहालमा लगेर त्यसलाई राखिन्छ । वैशाख–जेठमा रातो मत्स्येन्द्रनाथको जात्रा हुन्छ । सहकालका देवतालाई खुसी पार्न यो जात्रा मनाइन्छ ।
पोखरीमा नाग भेटिन्थे । पोखरी सुकेपछि ती पनि भागे । रानीपोखरी अहिलेसम्म उस्तै छ । तर, धेरै पोखरी हराए । खेततिर जाँदा सर्पका काँचुली भेटिन्थे । खेतको गह्रा हिँड्न पनि डर लाग्थ्यो । त्यतिवेला अध्यात्म र अदृश्य शक्तिमा मानिसहरूको विश्वास थियोे । नागपूजा विशेष हुन्थ्यो ।
इन्द्रजात्रा समावेशिताको नमुना हो । यसको लिंगो नालाबाट ल्याइन्छ । भाद्र शुक्ल लाग्ने वेलातिर साइतमा यो जात्रा सुरु हुन्छ । तीन विधिको प्रयोग हुन्छ, वैदिक विधि, तान्त्रिक विधि, बौद्ध विधि । हाम्रा जात्रा यसरी समावेशी छन् । तिहारको अलग्गै महत्व थियो ।
फेरियो फेसन
काठमाडौंमा दौरा–सुरुवाल र टोपी लगाउनेको संख्या ठुलो थियो । अहिले फेसन फेरियो । टोपी लगाउने मानिस देख्दा पनि अनौँठो मान्नुपर्ने अवस्था आयो । महिलाहरूले धोती र सारी लगाउँथे ।
घाँघर लगाउने चलन थियो । स्कुल पढ्नेले मात्रै फ्रक लगाउने हो । समयले फेसन बदल्दै गयो ।
साना मन्दिर धेरै मासिए । कुमारी, भैरव, गणेशमन्दिर सहरका धेरै ठाउँमा थिए । अहिले पनि मूल सहरमा मन्दिरहरूको संरक्षण भइरहेकै छ । पशुपति क्षेत्रमा पनि मन्दिरहरू प्रशस्तै छन् । तर, मूल सहरबाहिरका धेरै मन्दिर मासिए । विशेष गरी, चक्रपथ बनाउँदा वरपरका धेरै मन्दिर सारियो । काठमाडौंमा पौवापाटी धेरै थिए । त्यसैका नामबाट ती स्थानको नामकरण गरिन्थ्यो । जोरपाटी, सोह्रखुट्टे, कुमारीपाटी आदिको नाम यहाँका चर्चित पाटीबाटै जुराइएको थियो । काठमाडाैँबाहिरबाट आएकाहरूले यस्ता पार्टी र चौतारामा विश्राम गर्दथे । तर, हामीले यसको महत्व बुझेनौँ र संरक्षण हुन सकेन ।
सिंहदरबार पछाडि नै खेतहरू थिए । काउली मज्जाले फल्थ्यो । भोगटे, हलुवाबेद, अम्बा, नास्पातीका रुखहरू धेरै घरमा हुन्थे । अहिले भारतबाट तरकारी र चीनबाट फलफूल आयात गर्नुपर्ने अवस्था आयो ।
भण्डारखालमा ठुलो जंगल थियो । त्यो क्रमशः मासिँदै गयो । सिंहदरबार पछाडि नै खेतहरू थिए । काउली मजाले फल्थे । भोगटे, हलुवाबेद, अम्बा, नास्पातीका रुख धेरै घरमा हुन्थे । अहिले भारतबाट तरकारी र चीनबाट फलफूल आयात गर्नुपर्ने अवस्था आयो ।
३० हजारमा घर
मेरो गुरु सोमनाथ पौडेलले ०२२ सालतिर ठमेलमा १४ हजारमा जग्गा किन्नुभएको रहेछ । त्यतिवेला ठमेल अहिलेजस्तो पर्यटकीय केन्द्र थिएन । मैले ०३२ सालमा बानेश्वरमा ३० हजारमा झिँगटीको दुईतले घरसहित आधा रोपनी जग्गा किनेँ । बिहेपछि पनि धेरै वर्ष त्यहाँ बसेँ । बानेश्वरमा जग्गा किन्ने क्रम यतिवेला भर्खरै बढ्दै थियो ।
०३६ सालको जनमतसंग्रहपछि काठमाडौं आए, अरू तराईतिर गए । यसपछि जग्गाको मूल्य बढ्न थाल्यो । मनाङका एकजना व्यापारीलाई १४ लाखमा मेरो गुरुले जग्गा बेचेर बालुवाटारमा घर किन्नुभएछ ।
४० सालसम्म पनि असन–इन्द्रचोकलाई नै मूल सहर भनिन्थ्यो । भक्तपुरबाट आउँदा धेरैपछिसम्म पनि सहर जाने भन्थे । उपत्यकाबाहिर त धेरै पछिसम्म पनि नेपाल जाने भन्ने चलन थियो । भक्तपुरवासी आफ्नै सहरमा रमाउँथे । त्यहाँ आफ्नै परम्परा छ । यहाँ बाहिरका मानिस कम आउँथे । काठमाडौं र ललितपुरको दाँजोमा यहाँ चिसो बढी भएकाले पनि कम मानिस जान्थे । हुस्सु त ४५–५० सालसम्म पनि झपक्कै लाग्थ्यो । बिहान शीत पर्थ्यो । धारामै पानी जम्थ्यो ।
काँठका मानिसको बेग्लै चलन थियो । उनीहरू कमै मात्र सहर आउँथे । भक्तपुरको कटुन्जेबाट काठमाडौंको सीतापाइला बिहे गर्नुपर्यो भने काँठको छेउछेउकै बाटो भएर जन्ती जान्थे । त्यही बाटो बेहुली भित्र्याउँथे । हामी बाहिरबाट आएकालाई उनीहरूले पाखे भन्थे । बिस्तारै पहाडीहरूको प्रशासनमा बाहुल्य बढ्यो । सहरमा पनि उनीहरू फैलन थाले ।
जंगबहादुरसँग सम्बन्ध
मेरो जिजुबुबा रंगलाल उपाध्याय मुखिया हुनुहुन्थ्यो । पाल्पादेखि पूर्व सबै कर्मचारी मूल्यांकन गर्ने अधिकार उहाँकै रहेछ । सिपाहीमा जंगबहादुर राणालाई उहाँले नै भर्ना गर्नुभएको थियो । जंगबहादुर निकै जाँगरिला, बलियो र बाठो पनि थिए । अरूले चार दिन लगाउने काम उनले एकै दिनमा गर्ने । जंगबहादुरले धनकुटामै कुस्ती र घोडा चढ्न सिक्यो । अरुण नदीमा पौडी खेल्न सिके ।
कालान्तरमा जंगबहादुर नेपाल (काठमाडौं) आए । उनले सत्ता हत्याएसँगैै पुरानो गुन सम्झेर जिजुबुबालाई खरदार बनाएर ल्याए । त्यतिवेलाको खरदारको अधिकार अहिलेको सचिवजति हुन्थ्यो होला । उहाँले ५३ वर्षमा तेस्रो विवाह गरेपछि मेरा हजुरबुबा जन्मनुभएछ । खरदार भएपछि सधैँ मासु खानुपर्ने उहाँको बानी रहेछ । त्यतिवेला तीन पैसामा एक केजी मासु आउने, भाउ बढेर चार पैसा पुगेपछि मासु नै छाड्नुभएछ । उहाँ काठमाडौंमा यसरी बसे पनि जमिन किन्ने सोच आएनछ ।
हजुरबुबाले काठमाडौंमै मुखियाको काम गर्नुभयो । हजुरबुबाका भाइहरू, ठुलोबुबा, बुबा, काकाहरू काठमाडौं आउने–जाने गरिरहनुहुन्थ्यो । परिवारको धेरै आवत–जावत हुने भएपछि उहाँले जमिन किन्न खोज्नुभएको रहेछ । १९८० ताका १८ रुपैयाँ तिरेर किलागलमा घर बैना पनि गर्नुभएछ । तर, गाउँ गएर आफ्ना दाइ र काकाहरूसँग सल्लाह माग्दा जग्गा नकिन्न सुझाव दिनुभएछ । गाई पाल्ने, भैँसी पाल्ने, खेती गर्ने जमिन नभएको ठाउँमा के घर किन्नु भनेछन् । यसरी काठमाडौंसँग हाम्रो परिवारको पुस्तौँदेखिको सम्बन्ध छ ।