• वि.सं २०८२ श्रावण १ मंगलबार
  • Tuesday, 15 July, 2025
आनन्दमोहन भट्टराई
२०८१ मङ्सिर १ शनिबार ०८:४२:००
साहित्य

‘आनन्द संहिता’सँगै बहकिन खोज्दा

२०८१ मङ्सिर १ शनिबार ०८:४२:००
आनन्दमोहन भट्टराई

 

घनश्याम खड्कालाई मैले पत्रकारको रूपमा चिनेको हुँ । पहिला लेखनमार्फत र त्यसपछि सशरीर अदालतको परिसरमा । यो चिनजान दशकौँ पुरानो छ । कानुनको स्नातक मात्र नभई उहाँले वेलायतमा उच्च अध्ययनसमेत गर्नुभएको छ । उहाँको पत्रकारिता बेजोडको छ, त्यस्तै छ उहाँको लेखनशैली पनि । यी वाक्य रेलका बग्गीहरूजस्तै एकअर्कालाई धकेल्दै विचारको लिकमा बाइपंखी वेगले कुद्छन् । उहाँ आख्यान तथा गैरआख्यान दुवै क्षेत्रमा पोख्त हुनुहुन्छ । उहाँद्वारा लिखित गैरआख्यानको वर्गमा हालसालै ‘आनन्द संहिता’ थपिएको छ । लेखकका अनुसार यो लेखिएको मात्र कृति होइन, उहाँको ‘हृदय खन्याइएको’ उत्पादन हो ।

 

लेखकले ‘आनन्द संहिता’को सुरुवात मानिस के चाहन्छ भन्ने प्रश्नबाट गर्नुभएको छ । स्पष्ट नै छ, मानिसलाई दुनियाँमा भएको सबैथोक चाहिन्छ । पैसा, प्रेम, शक्ति, प्रसिद्धि आदि सबै कुरा उसलाई चाहिन्छ, तर ती सबैकुरा प्राप्त भएपछि पनि चाहनाको उडान वा त्यसका लागि गर्ने अविश्राम धपेडी रोकिन्छ ? अहम् रोकिँदैन । सबै कुरा पाउने मानिस पनि किन केही नपाएजस्तो दुःखी र सबै कुरा नपाउने अझ भनौँ पैसा, प्रेम, शक्ति, प्रसिद्धि आदि केही कुरा नपाउने व्यक्ति पनि कसरी खुसी र आनन्दित रहन सक्छ ? के गर्दा दुःख हटाउन र आनन्द प्राप्त गर्न सकिन्छ, के यसको कुनै उपाय छ ? पुस्तक यिनै प्रश्नहरूको वरिपरि घुम्छ ।

 

अध्ययनको सुरुमै, आनन्द के हो त ? एउटा स्वाभाविक प्रश्न उठ्छ । लेखकका अनुसार यो ‘चित्तको दिव्य स्थितिको अनुबोध हो ।’ यो दुःख निख्रिएको मात्र नभई सामान्य सुख–दुःखभन्दा माथिल्लो अवस्था हो जुन मिलेपछि फेरि गुम्दैन, त्यो आनन्द हो । गुम्छ भने त्यो आनन्द होइन, आनन्दको भ्रान्ति मात्र हो, लेखक भन्नुहुन्छ । जसरी सुखको दुःख र दुःखको सुखले विपरीत अर्थ दिन्छन् आनन्दको विपरीतार्थी शब्द छैन । आनन्द सदा कल्याणकारी हुन्छ– आफ्नो र लोकको । लेखकका अनुसार आनन्दपूर्वक बाँच्नु भनेको जीवनका चुनौतीलाई बेवास्ता गर्नु वा कठिनाइ छँदैछैन भन्ने ढोङ रच्नु होइन । आनन्दपूर्वक बाँच्नु भनेको जीवनका हरेक रंगलाई स्विकार्नु हो, हरेक घुम्तीलाई एक शान्त चालसँग पार गर्नु हो ।

 

त्यसोभए, दुःख के हो त ? ‘सोझो अर्थमा, दुःख सहन गाह्रो पर्ने परिस्थितिको एक नाम हो, जे भोग्न सहज छैन त्यही दुःख हो,’ लेखकको यो भनाइ केही अमूर्त भयो भन्ने पनि लाग्न सक्छ । तर, यसको पनि थप स्पष्टीकरण उहाँसँग छ । बडो विनोदी पारामा उहाँ मन परेको कुरा नपाउनु, परेको गुमाउनु, मन नपरेको पाउनु, पाएको मन नपर्नु दुःख हो भन्नुहुन्छ । दुःख भनेकै सन्तुष्ट हुन नसक्दाको चित्तावस्था हो । लेखकका अनुसार दुःख आफैँलाई हराउँदाको बेचैन भावदशा हो । विचारको बादलमा चित्त हराउँदा हुने दुर्दान्त दशा नै दुःख हो (पृ. ५७) । दुःख दृष्टिकोणका कारण हुन्छ– जस्तो दृष्टि त्यस्तै सृष्टि, जो भनिन्छ । दृष्टिको कारण दुःख आउने हो, जब शरीर र मनको बिच दूरी बढ्छ, तब दुःख आउँछ । यसवारे अरू स्पष्ट गर्दै लेखक भन्नुहुन्छ, ‘शरीर मन टाढा हुनुको कारण छ– शरीर वर्तमानमा हुन्छ भने मन अतीत र भविष्यमा रुमल्लिरहन्छ । शरीरले हिजो वा भोलि सास फेर्न सक्दैन, त्यसैले यो यसै क्षणको फूल हो । मनचाहिँ अतीत र भविष्यमा रुमल्लिरहन्छ । अतीत भनेको सम्झना र अनुभव हो भविष्य भनेको कल्पना र तर्कना ।’

 

वस्तुतः दुःख दुर्जेय छैन, यसलाई रोक्न र शमन गर्न सकिन्छ भन्ने पुस्तकको अर्को महत्वपूर्ण पहलु हो । दुःख हटाउने र आनन्द प्राप्त गर्ने विधि छ । बस्, सो विधिको इमानदारपूर्वक अनुसरण गरिनुपर्छ, लेखक विश्वास दिलाउनुहुन्छ ।

 

‘आनन्द संहिता’ छोटाछोटा १८ परिच्छेदमा विभाजित छ र हरेक परिच्छेदमा आनन्द प्राप्तिको विधिबारे उल्लेख गरिएको छ । यीमध्ये केही घतलाग्दा छन्जस्तो विरेचन, दृष्टि परिशोधन, जागरण, आवर्तन–परावर्तन, सम्पदा, पूर्णता आदि । सारांशमा जीवन अनित्य छ, अपूर्ण भन्ने बोध हुनु र मृत्युचेत हुनु, ज्ञानीहरूको संगत गरिनु, करुणाभावको विकास गरिनु, चित्तलाई राग, द्वेष, लोभ, मोह, मद मात्सर्यबाट मुक्त राख्नु, मानवलाई मनको दास होइन मालिक बन्न प्रेरित गर्नु, चित्त परिशुद्ध गर्नु, समभावको विकास गर्नु आदि पुस्तकमा सिफारिस गरिएका केही विधि हुन् ।

 

पुस्तक पढ्दा, लेखक बुद्ध दर्शन, मनोविज्ञान, स्नायु विज्ञान, हिन्दू दर्शन, योगशास्त्रका सारभूत कुराबारे सुसूचित रहेको र लेखनको उद्देश्य वा मूल लक्ष्यसँग मिल्ने हदसम्म तिनको सार खिचेर प्रस्तुत गर्ने कोसिस गर्नुभएको स्पष्ट देखिन्छ । यी हरेक विषयमा ज्ञान राख्नु र तिनमा आधारित रही पुस्तकमार्फत आनन्द प्राप्तिको सन्देश दिन खोज्नु सहज कुरा होइन । ती सबै शास्त्रको गहिराइमा पुगेर उद्धृत कुरा कति आधिकारिक छन् भन्न सक्ने क्षमता मसँग छँदा पनि छैन । तर, पुस्तकमा जे कुरा लेखकले राख्नुभएको छ ती अत्यन्त सरल र सुपाच्य किसिमले राखिएको र यसमा लेखकले विशेष सीप देखाउनुभएको छ । पुस्तक कतै पनि बोझिलो लाग्दैन । 

 

पुस्तकको विचार पक्षबारे विचार गर्दा केही स्थानमा अलमल हुन्छ, थप स्पष्टीकरण दिएहुन्थ्यो भन्ने लाग्छ । जस्तो एक ठाउँमा गीताको कथनसँग मिल्ने गरी भोक, आहार, मैथुन, भय, निद्रामा मानिस र अरू प्राणीबिच फरक छैन भन्दै ‘मुस्कुराहट मात्रै यस्तो चिज हो जो मानिसबाहेक अरू जनावरको अनुभवमा उत्रँदैन’ (पृ. १४६) भन्नुहुन्छ । तर, बाख्राका पाठाले उफ्रँदै बुर्कुसी मारेको, चराले चिरबिर गरेको र आकाशमा भिन्न तरिकाले उडेको, कुकुरले खुसी हुँदा पुच्छर हल्लाउँदै लुटुपुटु गरेको आदि सबै खुसीकै अभिव्यक्ति होइनन् र ? भन्ने प्रश्न मनमा उब्जन्छ । त्यसैगरी, अर्को ठाउँमा भगवान् श्री कृष्ण र बुद्धको विचारको तुलना गर्दै श्री कृष्णले आत्मालाई नित्य भनेको, तर बुद्धले आत्मालाई पनि अनित्य भनेको कुरा उल्लेख गर्नुभएको छ । मेरो विचारमा यी कुराले थप व्याख्या खोज्छन् । लेखकले पुनर्जन्मबारे जुन कुरा पुस्तकको अन्त्यतिर राख्नुभएको छ त्यो कुरा पुस्तकको मूल शीर्षकसँग कति सुसंगत हुन्छ सो प्रश्न पनि मनमा उब्जन्छ ।

 

पुस्तकमा कुनै पनि सन्दर्भ सामग्रीलाई पादटिप्पणी वा स्रोत सामग्रीको रूपमा राखिएको पाइँदैन । लेखकले सोचे–बुझेर नै पुस्तकलाई बोझिलो नबनाउनका लागि त्यसो गरेको पनि हुन सक्छ । तर, जब पुस्तक गम्भीर विषयमा प्रवेश गर्छजस्तो मनोविज्ञान वा स्नायु विज्ञानमा उल्लिखित कुराहरूलाई आधार गरी कुनै कुरा प्रतिस्थापन गर्न खोजिएको छ भने पादटिप्पणी र सन्दर्भ सामग्रीको उल्लेखले कथनको आधिकारिकतामा अभिवृद्धि गर्छ ।

 

यो पुस्तक जीवनको वास्तविक यात्रा सुरु गर्न लागेका, सत्कर्ममा जोडिएका, तर जीवनको लक्ष्यलाई पछ्याउन नसकेका, दुःख दुर्जेय छ भन्ने अलमलमा परेका वा भगवत् प्राप्तिको मार्ग वा पूर्णतातर्फको यात्रा सुरु गर्न लालायित मानव वा तनाव व्यवस्थापनको विशेष जरुरत भएका व्यावसायिक व्यक्तिहरू जस्तो न्यायाधीश, वकिल आदि सबैलाई उपयोगी हुने देख्दछु । यदि उच्च माध्यमिक तहको स्रोत सामग्रीमा यसलाई राख्न सकियो भने ‘आनन्द संहिता’ नयाँ पुस्ताका लागि जीवनोपयोगी कोसेली हुन्छ भन्ने मलाई लाग्छ । लेखकलाई धेरै धेरै बधाई । 

 

(समीक्षक सर्वोच्च अदालतका पूर्वन्यायाधीश हुन् ।)