• वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
बिनु सुवेदी काठमाडाैं
२०७६ जेठ ११ शनिबार १०:४४:००
साहित्य

थरमा के छ, घरमा के छ ?

२०७६ जेठ ११ शनिबार १०:४४:००
बिनु सुवेदी काठमाडाैं

भर्खरै २० वर्ष पार गरेकी एउटी केटीको शरीरमा दुईवटा मुटुु धड्किन थालेको नौ महिना सुरु भएको छ । दुई जिउको खानपानले शरीर रातोपिरो हुनुपर्ने हो । तर, औषधिसमेत पेटमा नअडिने गरी बान्ता भइरहेपछि बान्ता रोक्ने सुई हान्नुपरिरहेको छ । पाखुरा हेर्छु र सुईको डाम गन्छु । पेट जतिजति चिल्लो र पुट्ट हुँदै गइरहेको छ, अनुहार उस्तै फुस्रो देखिन्छ ।

शरीरको आकार बदलिएको छ, तौल बढेको छैन । चलिरहेको एक मुठी सास पनि तागतभन्दा बेसी त भरोसाको नै हो । भरोसा सँगै हुने मान्छेको भन्दा, सँगै हुन आउने मान्छेको बेसी लाग्दो रैछ कहिलेकाहीँ । यस्तोमा बारम्बार सुनिरहनुपर्छ ‘तेरो पेटमा हुर्किरहेको बच्चा मेरो होइन’ भन्ने आवाज ।

कान अभ्यस्त भइसकेको छ, ‘डिएनए टेस्ट गरेपछि मात्रै तेरो कोखमा हुर्किरहेको बच्चालाई मेरो काखमा लिन्छुुु’ भनेको सुन्न । मनमनै गम्छु, के भ्रूणको पनि कान हुन्छ ? मनको जवाफ मनैले दिन्छ– हुँदो हो, भित्ताको त कान हुन्छ, ऊ त प्राण हो नि ! कतिपय कचकच त सुने नसुनेझैँ गर्छु, कति कचकचमा दोब्बर उग्रता देखाउँछु । यस्तै त हो नि, लोग्नेस्वास्नीको कलह, परालको आगो ! त्यही हो कि परालको आगो कस्तो वेलामा सल्कियो भन्ने मात्रै हो । 

हतार छ, अफिस पुग्न र देश दुनियाँका खबर स्रोतालाई सुनाउन । त्यसरी सुनाउनेमध्ये केही न केही खबर महिला हिंसाका पनि हुन्छन् । घरदेखि सरकारसम्मका विद्रोहका समाचार हुन्छन् । संविधानसभाले बनाउनै लागेको नयाँ संविधानले महिलाका अधिकार कति प्रत्याभूत गर्ने र कति कुण्ठित गर्ने भन्ने छलफल र घोचपेच बेस्सरी चलेको छ । क्षमता र पहिचानको बहस छ ।

नवजात छोरीको अनुहार हेर्छु– काटीकुटी बाउजस्तै छे । एकाएक कानमा घुनुनुन्न भयो– डिएनए टेस्ट नगरेसम्म छोरीलाई काखमा लिन्नँ भन्ने बाउको आवाज । खोइ ! मेरो कुरुवा खोज्दै बाहिर निस्केका नर्सहरूले कसको हातमा थमाइदिए छोरी, कहिल्यै सोध्ने आँट गरिनँ ।

आरक्षण र कोटाका कुरा छन् । यस्ता खबर पढ्दा अलि धेरै सोच्छु म, त्यसैले धेरैचोटि समाचार पढ्दापढ्दै सास फुलेको छ । कुन्नि ! दुईवटा मुटु सँगसँगै धड्किँदा सासको आवाज झन् ठूलो हुने पो हो कि ! टक्क रोकिन्छु, ब्रिज ट्युन बज्छ, सहकर्मीले समाचार पढ्छन्, म सास तान्छु । थाहा छ समाचारबाट बिदा माग्दा मेरो नामको पछाडि उसको ‘थर’ भनिनँ भने भरे घरमा केही न केही त सुन्नैपर्छ– हिजोजस्तै, अस्तिजस्तै ! त्यसैले सहकर्मीलाई नै इसारा गर्छु, समाचारबाट बिदा माग्नुस् भनेर । साँच्चै हो, यही बहानामा मैले मेरा प्रिय स्रोतालाई सम्बोधन नगरेको लामो समय भइसक्यो । 

उधुमसँग बिहे गर्दा दान हुनुपर्छ र गोत्र फेर्नुपर्छ भन्ने भयले मन्दिरमा हुने बिहे पनि गर्न नमानेकी म स्वघोषित क्रान्तिकारी, बिहेपछि थर परिवर्तन गर्न कसरी तयार हुन्थेँ र ? अझ समाचारमै भन्नु ? रेडियोमै करिब ७ वर्षको लगानीमा कमाएको त्यो नाम, नामसँगै जोडिएको थर ! अहँ, हुँदै हुन्न, जे पर्ला सहन्छु भन्ने लाग्छ । एकले अर्कालाई अपनाएको पो हो त ? पूरै विलय हुन खोजेको त हैन नि ! अनेक तर्कना चल्छन् मनमा, घचक्क रोकिन्छ स्कुटर र क्रमभंग हुन्छ अघिको तर्कनामा । तर, जब नजिक पर्छु, नौनाडी गल्छन् मेरा । आफ्नैको भयमा कतिन्जेल बाँच्छ हँ मान्छे ? डरैडर बोकेर कसरी छिरिन्छ बिस्तरामा र कसरी फेरिन्छ चैनको सास ?

...पछाडिबाट भुक्क लात्ती बज्रियो । म पर उछिट्टिएँ, मभन्दा पहिले पेट अघि स-यो । चोट पेटलाई नै लाग्यो । पेटभन्दा पहिला मुटुलाई पो लाग्यो कि ! खैर, चोट जता लागे पनि फुट्ने आँसुकै मूल रैछ, भिज्ने परेली नै रैछ । शरीर कमजोर भएका वेला मन पनि कमजोर हुन्छ कि के हो ? आँसु अरू वेलाभन्दा झन् दोब्बर झर्छ । कुन्नि पेटभित्रको बच्चोले पनि आँसु पो बगाइराछ कि ! तर, पेटको बच्चा रोएको नसुनिँदो रैछ । सुन्न त ऊ हाँसेको पनि सुनिँदैन । बस्, महसुस हुन्छ बाँचेको । फेरि पुक्क लात्तीले हान्छ, चसक्क दुख्छ, तर बच्चाको बाउले हैन, बच्चाले । पिठ्युँमा होइन, पेटमा । झर्दाझर्दैको आँसु रोकिन्छ, मुसुक्क मुस्काउँछु । हिर्काइका पनि प्रकार हुँदा रैछन् ! खैर, थरको दन्तबझान सकिएको छैन । 

दसैँको टीका सकियो, एकादशी लाग्यो, छुट्टीमा गएका सहकर्मी फर्किसकेका छैनन् । काठमाण्डुमै घर हुनेलाई पनि अनेक बन्दोबस्ती मिलाउन भ्याइनभ्याई छ । यस्तोमा रेडियोको ड्युटी दोब्बर नै पर्छ । बेलुका साढे सात बजेको ‘साझा खबर’ पढेपछि लखतरान परेर घर फिर्छु म । कताकता मन उद्वेलित हुन थाल्छ । पेटभित्रको धक्कामुक्का अलि बेसी नै छ । पाठेघरको मुख पनि खुकुलो भएझैँ लाग्छ । थाम्न खोज्दाखोज्दै निस्किएको पानी सलल बग्छ, कुर्कुच्चासम्मै चिसो भएपछि सम्झिन्छु म पहिलो महिनावारी, यसैगरी बगेको थियो रगत पनि ।

यसैगरी कुर्कुच्चासम्मै, यसैगरी चिसो भएर । आमाले भनेकी थिइन्– पानी बग्यो भने व्यथा लाग्यो भन्ने सम्झिनु, मैले आमालाई सम्झेँ । लामो–लामो सास फेर्छु, घरी टिभी हेर्छु घरी झ्यालबाट बाहिर हेर्छु । घरी पेट छाम्छु घरी निधार । रात छटपटीमै बित्यो । घरी दुख्छ, घरी निको हुन्छ । रात हुटहुटीमै बित्यो । जसरी १९ वर्षको हाराहारीमा मलाई माइतीको आँगन साँघुरो लागेको थियो, सायद ठ्याक्कै त्यसैगरी हो नौ महिनाको हाराहारीमा बच्चालाई पाठेघर साँघुरो लागेको । तर, खेलेको आँगन छोड्नु र हुर्केको पाठेघरबाट निस्किनु उस्तै–उस्तै हो र ?

अस्पताल पुगेँ, नर्सलाई कागज देखाएँ र व्यथा लागेको जानकारी गराएँ । ती नर्स पहेंलो कागजमा मेरो नाम लेख्दै छिन् । नाम सोधिन्, भनेँ । श्रीमान्को नाम सोधिन्, भनेँ । त्यसपछि उनको जवाफ थियो, ‘उसो भए तपाईँको थर सुवेदी हैन !’ किन ? यो मेरो स्वाभाविक प्रश्नमा उनको जवाफ आयो पछि अप्ठ्यारो पर्छ । अहो यो वेला पनि ! घरमा मात्रै हैन, थरको दन्तबझान अब अस्पतालसम्म पुग्यो । 

म प्रसूति कक्षमा छिर्दै छु । त्यहाँको कहाली देखेर अतालिन्छु । त्यति ठूलो संख्यामा ठूला मान्छेहरू चिच्याएर रोएको मैले पहिलोपटक घाटमा देखेको थिएँ । जब हजुरआमाले हामीलाई छाडेर जानुभो, बुबा त्यसैगरी रुनुभाथ्यो, डाँको छाडेर । अहिले वार्डबाटै सम्झिन्छु बुबालाई स्वागत गर्दा हजुरआमा पनि उसैगरी रुनुभएको रैछ, डाँको छाडेर, चिच्याएर, छटपटिएर । सोच्छु, सन्तानलाई स्वागत गर्दा कोख दुखेर झर्ने आमाको आँसु र आमालाई बिदाइ गर्दा मुटु दुखेर झर्ने सन्तानको आँसुको स्वाद किन उस्तै–उस्तै ? सोच्दा–सोच्दै पेट दुख्न थाल्छ ।

पेट मात्रै हैन, नदुखेको शरीरको कुनै अंग छैन । बाहिर मेरो जति संघर्ष चलिराछ, उति नै संघर्ष भित्रको बच्चालाई पनि छ । प्रसूति गृहका नर्स भन्छन्– अझै बल लगाउनुस् । म बल लगाउँछु, उनीहरू भन्छन्, ‘अझै थप्नुस् ।’ फत्रक्कै गल्छु म, तर हार्दिनँ । थाक्नु र हार्नुमा धेरै फरक रैछ । त्यो थकान सम्भवतः जिन्दगीको सबैभन्दा सुनौलो थकान हो । त्यो बल, त्यही थकानले त हो एउटा सुन्दर जीवन यो धर्तीमा निकालेको । देखाउँछन् नर्सहरूले, अनुहारभन्दा पहिले योनी... अनि... अनि आवाज निस्किन्छ मुखबाट छो...री ! सम्भवतः यही अनुभूतिका लागि हो हर महिला आमा बन्न चाहने । अनुहार हेर्छु काटीकुटी बाउजस्तै । एकाएक कानमा घुनुनुन्न भयो, डिएनए टेस्ट नगरेसम्म छोरीलाई काखमा लिन्न भन्ने आवाज । खोइ !

मेरो कुरुवा खोज्दै बाहिर निस्केका नर्सहरूले कसको हातमा थमाइदिए छोरी, कहिल्यै सोध्ने आँट गरिनँ । त्यसपछि उसले बाउको माया जम्माजम्मी दुई वर्ष मात्रै पाई । तर, जति समय माया पाई, पूरापूर पाई । त्यसपछि उसलाई भाग्यले ठग्यो, मलाई नियतिले । खुसी एउटै कुराको छ– हामी आमा–छोरी सँगसँगै जिन्दगीको लम्बे सफरमा हिँडेका छौँ, एकले अर्काको हात समाएर । कहिलेकाहीँ सताउँछे, गाली गर्छु र रुन्छे ।

ऊ रोएको देखेर म रुन्छु, फकाउन आउँछे र आँँसु पुछिदिन्छे । लाग्छ, मैले हाँसे पो उसको संसार खुसी हुन्छ । अनि फेरि अँगालो हाल्छौँ, तलतल सर्दै जान्छे छातीमा निदाउँछे अनि चल्छ मेरो मनको हुन्डरी । बारम्बार सम्झिन्छु उसको प्रश्न– मेरो एक कक्षाको रिजल्ट कार्ड खोइ मम्मी ? जब रिजल्ट लिन जाँदा मेरो समेत थर परिवर्तन गरेर उसका लागि मैले लेखिदिएको थर नै राखिएको थियो, मैले सच्याएर ल्याउनुस् भन्दै स्कुलमै फिर्ता गरिदिएँ । बच्चाको बिल पठाउँदा जसले जिम्मेवारी लिएको छ, उसैको नाम र थर दुरुस्तै लेख्न सक्ने स्कुलले रिजल्ट पठाउँदाचाहिँ किन हेलचेक्र्याइँ गरेको होला ? थरको दन्तबझान स्कुलमा पनि ! 

यसपालि थरको जेहाद म छेडूँ त ? सोचेँ, छोरीले नै बिर्सिसकेकोे इतिहासको नाम–थर उसलाई किन बोकाइदिऊँ ? आफ्नै थर दिन सकिनँ केही छैन, साझा बिन्दु खोज्न त सक्छु नि ! समस्या र समाधानको उपाय पहिल्याउन सकेकोमा आफैँलाई धाप मार्छु म । निदाउँछु मीठो निद्रा । सपनै पो के देखेँ भन्ने पनि नसम्झिने गरी ।

 बिहान उसैगरी मुस्काउँछ, घाम उसैगरी झुल्किन्छ । मन उसैगरी चंगा बनेर माथिमाथि उडेको छ । धन्न लट्टाई हातमा हुन्छ र पो त जीवन लयमा चल्छ । स्कुलको फाइनान्स शाखामा फिस तिर्ने अभिभावकको लाइन लस्करै बसेको छ । म आफ्नो पालोको व्यग्र प्रतीक्षामा छु । अभिभावकले स्याट्–स्याट् पैसा गन्दा निस्किएको पसिना खिटखिट आवाज निकाल्दै चलिरहेको पंखाले सुकाउन सक्दैन । फिस तिर्नुअघि म छोरीको थर फेर्न चाहेको बताउँछु । फाइनान्सका सर भन्छन्– प्रमाण ल्याउनुस् । म भन्छु, अहिले नै थर फेर्नका लागि कुनै पनि प्रमाण चाहिँदैन । सर अझै कड्किए ‘प्रमाणविना केही पनि हुँदैन, तपाईं जानुस् ।’ 

के भ्रूणको पनि कान हुन्छ ? मनको जवाफ मनैले दिन्छ– हुँदो हो, भित्ताको त कान हुन्छ, ऊ त प्राण हो नि ! कतिपय कचकच त सुनेको नसुनेझैँ गर्छु, कति कचकचमा दोब्बर उग्रता देखाउँछु । यस्तै त हो नि, लोग्नेस्वास्नीको कलह, परालको आगो !

तत्काल केही प्रमाण ल्याउन सक्दिनँ, निश्चित समयपछि जे ल्याउनुपर्छ ल्याम्ला भन्ने मेरो बाचा सरको कड्काइका अगाडि निरीह भयो । उनले नै थप कुरा गर्नु छ भने एड्मिन जानुस् भनेर बाटो देखाइदिए । मलाई फाइनान्सदेखि एड्मिनसम्मको २५ पाइलाको बाटो २५ सै घन्टाबराबर हुन्छ । एड्मिनमा पुगेँ र चाहना बताएँ । एडमिनकै सर पनि फेरि प्रमाण माग्छन् । म सात वर्षअघिको त्यो प्रसव पीडा सम्झिन्छु र भन्छु, ‘म आमा हुँ, यहाँभन्दा ठूलो प्रमाण के चाहिन्छ ?’ सर भन्छन्, ‘तपाईँजस्ता धेरै मान्छे आउँछन् यहाँ, जसलाई जे मन लाग्छ त्यो गर्न सकिँदैन ।’ 

म उभिइरहन सकिनँ, पिरले तातेको निधार छाम्छु । तातो निधारले निकालेको पसिना पुस्छु । सोच्छु– मजस्ता धेरै महिलासँग डिल गरेको लिटिल एन्जल्स् स्कुलले पिरमा परेका एकल आमासँग कसरी बोल्नुपर्छ भनेर आफ्ना कर्मचारीलाई कहिल्यै सिकाएन ? एड्मिनका ती सर सबै विद्यार्थीको रेकर्ड जिल्लामा बुझाउनुपर्ने भएकाले आधिकारिक कागज नभएसम्म केही पनि गर्न नसक्ने अडानमा छन् । म २ कक्षामा पढ्ने बच्चीको कागज जिल्लामा जाँदैन, ८ कक्षा पढुन्जेल समाधान निकालुँला भन्छु । तर, अहँ सर टसको मस भएनन् । बरु स्कुलको रिजल्ट कार्ड प्रिन्ट गर्न लागे । हेरेँ, पहिलेजस्तै नै छ, विद्यार्थीको नाम छ र बाको नाम छ । त्यहाँ ‘फादर्स नेम’ भन्ने ठाउँमा प्यारेन्ट्स नेम लेखे पनि हुन्छ नि सर भनेर सुझाब दिन मन थियो । तर, बोली फुटेन । 

फाइनान्सका सरले एड्मिनमा पठाएझैँ, एड्मिनका सरले प्रिन्सिपल सरलाई भेट्न पठाए । आमालाई एकल आमा भएकैमा हीनताबोध हुने गरी अपमान हुँदा रिसको आगो र दुःखको आँसु एकैपटक आउँदो रैछ अनुहारमा । भाग्यले प्रिन्सिपलसँग भेट्न पाएँ । सात कक्षासम्म नाम थर जे लेखे पनि हुने तर ८ कक्षादेखि परिवर्तन गर्न नपाइने प्रिन्सिपलको तर्क मेरो तर्कसँगै मिल्यो । उनैले एड्मिनमा फोन गरिदिए र भने प्रस्तुतिको थर शर्मा बनाइदिनू । आप्mनो विवेकले चल्नुपर्ने ठाउँमा आदेश पर्खिएर बस्ने यो रोग यता पनि रहेछ । मन अमिलिन्छ । आफूले आमाका दुःख यति राम्रोसँग बुझ्ने प्रिन्सिपलले मातहतका कर्मचारीलाई केही सिकाएनन् ? कि सिकाउँदा पनि अटेरी भए ?

आज स्कुलले ‘प्रस्तुति शर्मा’को नाममा बनाइदिएको आइडी कार्ड पाएपछि छोरी दौडिँदै स्कुलको गेटमा आइपुगी र खुसी हुँदै कार्ड देखाई । भनी, ‘मम्मी म त शर्मा भएँ ।’ उसको त्यो खुसी मेरा लागि थियो । अहिले खाजा खाइवरी खेल्न गइसकेकी छोरीको कार्ड हेर्छु, नाम पढ्छु र म मुस्काउँछु । अल्पकालीन नै सही, अस्थायी नै सही हामी तितो विगत सम्झाइरहने थरबाट टाढा भएका छौँ । हामी अब हाम्रो मात्रै संसारमा छौँ । तर थाहा छैन, यो खुसीलाई स्थायी बनाउन कति ठाउँमा हन्डर–ठक्कर खानुपर्ने हो । कति ठाउँमा वचन खेप्नुपर्ने हो । दह्रो बनाउन खोज्छु भन्दाभन्दै पग्लिन्छ मन । यस्तोमा नारीभन्दा पहिले आमाको भूमिका अघि सर्दाे रैछ । 

हुन त नागरिकता ऐनसम्बन्धी संशोधन विधेयक संसद्को राज्यव्यवस्था समितिमा विचाराधीन छ । त्यही समितिको छलफलले थर नलेखेर नागरिकतामा उपनाम मात्रै राख्न पाउने प्रस्तावमा सहमति पनि जनाएको छ । सन्तानले आफ्नो नागरिकतामा आमा या बाउको थर रोजेर राख्न पाउने अधिकार देशको कानुनले नै दिएको छ ।

मेरी सन्तान १६ वर्ष पुगेपछि उसको विवेकले गर्ने निर्णय मेरा लागि मन्जुर नै छ । तर, अहिले नै उसको बालमस्तिष्कमा खेलेर बाहिर निस्किने जटिल प्रश्न सामना गर्ने हुती मसँग छैन । त्यसैले सकेसम्म उसको अबोध मनले जटिल प्रश्न नजन्माओस् भन्ने मेरो आफ्नै स्वार्थ छ । तर, दुखेको मनमा शब्दैशब्दका तीर हानेर बाम्बार घाइते बनाइरहने ‘अधिकारी’हरूको नियत सुधार्ने दबाई र दस्ताबेज कतै पनि तयार भएको छैन । यस्तोमा हामी आमा–छोरीको खुसी दीर्घकालीन होला ? कि घरबेगरको थर नमरुन्जेल बोकिरहनुपर्ला मेरी छोरीले ? साँच्चै थरमा के छ ? घरमा के छ ?