हेमन्तको एउटै उद्देश्य थियो– गाउँमा दमित भएका कलालाई स्थान दिनु ! गाउँ फर्किने उनको कदमले ‘कदम’ जन्मायो । ‘कदम’ अर्थात् कदम थिएटर ! हेमन्तको सपनाको ‘कदम’ले अहिले सफलताको उडान भरिरहेको छ ।
४० को दशकतिर दमकमा नाटकको परिकल्पना नै थिएन । ठुला सहरबाट आएका कलाकारले फाट्टफुट्ट गीतिनाटक देखाउँथे, जान्थे । सिनेमा हेर्न मेची तरेर सीमापारि नै जानुपर्थ्यो ।
हिउँदको समयमा त्रिपाल टाँगेर सिनेमा घरको स्वरूप बनाइन्थ्यो । बर्खा लागेपछि झिटीगुन्टा उठाएर हिँड्नुपर्ने बाध्यता । कहिलेकाहीँ गाउँमा देखाइने नाटक, त्रिपाल टाँगेर बनाएको सिनेमाघरमा हेरिएका चलचित्र र भारतमा पुगेर हेरेका चलचित्रले दमकका हेमन्त बुढाथोकीलाई कलाकार बन्ने ‘भूत’ सवार भइसकेको थियो । ‘दमक त्यसवेला गाउँ नै थियो । पहिलोपटक यहाँ मुनामदन गीतिनाटक देखाइयो । गाउँमा आदिवासी धिमाल समुदायको नाटक हुन्थ्यो । त्यसले मलाई निकै प्रभाव पारेको थियो । अभिनयमा मेरो रस भिज्न थालेको थियो,’ उवेलाको सम्झना सुनाउँदै हेमन्त भन्छन्, ‘हिमालय माध्यमिक विद्यालय पढ्दा सिनियर दाइहरूले कहिलेकाहीँ नाटक देखाउँथे । त्यसको प्रभाव पनि ममा परिसकेको थियो ।’
‘एकपटक नाटकमा अभिनय गर्न पाए त ?’ उनी सधैँ मनभित्रै मनको लड्डु फुटाउँथे । बिए पढ्ने बहानामा उनी ०४५ सालमा काठमाडौं खाल्डो उक्लिए । २२ वर्षे लक्का तन्नेरी हेमन्तको मूल उद्देश्य पढाइ थिएन । नाटक गर्ने, चलचित्रमा अभिनय गर्ने थियो । त्यही भएर पढाइलाई उनले महत्वमा राखेनन् कहिल्यै ।
बरु नाटक गर्ने समूहसँग नजिकिँदै गए । जसरी बकुलाको बथानले आफ्नो समूह पहिल्याउँछ त्यस्तै हेमन्तले पनि आफ्नो रुचिको क्षेत्र पहिल्याए । सुरुमा नवप्रतिभा नाट्य समूहमा जोडिए । ‘सुरुका केही नाटकमा चरित्र पाइएन । युगको प्रतिबिम्ब नाटकमा सहयोगीका रूपमा काम गरेँ । नाटकको टिकट काउन्टरमा पनि बसेँ,’ धमिलिँदै गएका सम्झनालाई उनी सङ्ल्याउन खोज्छन् ।
यसरी नाट्य समूहसँग नजिक भएका हेमन्तले लगत्तै मञ्चन भएको नाटक ‘झुटो रहेछ गीता पनि’मा खेल्ने मौका पाए । त्यसवेला नाटक घरै थिएनन् । राष्ट्रिय नाचघरमा नाटक देखाइन्थ्यो । हेमन्तले पहिलो नाटकबाट नै तारिफ पाए । ‘कहीँ सिकेको पनि थिएन । सुरुमा त रिहर्सल गर्दा मबाट एक्टिङ नै भएन । मबाट हुँदैन कि भन्ने भएर अप्ठ्यारो लाग्यो,’ हेमन्त भन्छन्, ‘तर, पाँच–सात दिनपछि राम्रो हुँदै गयो । म लयमा आएँ । निर्देशक पनि सन्तुष्ट भए ।’
हेमन्तले केही नाटक गरेपछि टेलिचलचित्रमा भूमिका पाए । ‘सिन्दुर’, ‘दुई दिनको जिन्दगी’, ‘अपराजित’जस्ता त्यसवेलाका दर्जनौँ ‘हिट’ टेलिसिरियलमा काम गरेको अनुभव उनले संगाले । यसवेलासम्म कुशल कलाकारको रूपमा उनको नाम पत्रिकामा छापिसकेको थियो । ‘त्यो वेला पत्रिका भनेको गोरखापत्र मात्र थियो । पहिलो नाटकको समाचारमा राम्रो गर्नेमध्ये एक–दुईजनाको नाम लेखिएको थियो । त्यसमा मेरो पनि नाम थियो । मेरो चरित्रको र मेरो कलाकारिताको प्रशंसा गरेर समाचार छापेको थियो । यसले मलाई थप हौसला दियो,’ हेमन्त भन्छन्, ‘त्यो वेला पत्रिकामा नाम आउनु ठुलो कुरा थियो । नाम आएपछि चर्चा भइहाल्यो । नाटकको चर्चाले टेलिचलचित्रमा पनि भूमिका पाएँ ।’
१५ वटाभन्दा बढी नाटक र दर्जन टेलिचलचित्रमा अभिनय गरेपछि हेमन्तले ठुलो पर्दाको चलचित्रमा भूमिका पाए । उनको भूमिकाले दर्शकको मन जित्यो । त्यसपछि उनले पछाडि फर्किएर हेर्न परेन । ०५१ मा ‘सौता’ चलचित्रबाट उनले ठुलो पर्दाको सिनेमामा डेब्यु गरेका हुन् । त्यो पहिलो चलचित्रमा सहायक खलनायकको भूमिका थियो । ‘मसँगै नाटक गर्ने नारायण पुरीले निर्देशन गरेको चलचित्रबाट मैले ठुलो पर्दाको फिल्ममा अभिनयको मौका पाएँ,’ उनले भने, ‘पहिलो चलचित्र नै भुवन दाइ (भुवन केसी)सँग गर्न पाएँ । हामी भुवन दाइ, शिव दाइ (शिव श्रेष्ठ) कै फिल्म हेरेर आकर्षित भएका थियौँ । उहाँसँग खेल्न पाउँदाको अनुभूति त व्यक्त गर्न नै सक्दिनँ ।’
सयभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका हेमन्त ५० को दशकका चर्चित र व्यस्त कलाकार थिए । उनले पुराना पुस्ताका राजेश हमाल, भुवन केसी, करिष्मा मानन्धरदेखि नयाँ पुस्ताका दयाहाङ राई, समीर भट्ट, मिरुना मगरसम्मका कलाकारसँग अभिनय गरेका छन् । जति अभिनय गरे त्यसमध्ये अधिकांश चलचित्रमा ‘भिलेन’ अर्थात् नकारात्मक भूमिका पाए । तर, त्यही खलनायक भूमिकाले उनी चर्चाको शिखरमा छन् । ‘नकारात्मक भूमिकाले मान्छेमा पनि त्यस्तै प्रभाव पार्ने रहेछ । कतिपयले यो मान्छे नै खराब हो, पर्दामा देखिएजस्तै छ भन्ने सोच्थे । नेगेटिभ पात्रलाई सकारात्मक दृष्टिकोणले हेरिँदैनथ्यो,’ उनी भन्छन्, ‘केटाकेटी र छोरी मान्छे डराएर धेरैपटक भागेका छन् । एकपटक ताप्लेजुङको पाथीभरा मन्दिर जाँदा एकजना मान्छेले च्याप्पै पक्रिएर तपाईं गुन्डाहरू पनि मन्दिर जानुहुन्छ ? भनेर प्रश्न गरे । खलनायकले मन्दिर जाँदैन, धर्म मान्दैन, खराब मान्छे हुन् भन्ने उहाँहरूको बुझाइ थियो ।’
उनले नेपाली चलचित्रमा दुई दशक अभिनय गरिसक्दा पनि गाउँ बिर्सिएका थिएनन् । मनमनै सम्झन्थे– ‘मजस्तै कलाकार बन्ने सपना बोकेका तन्नेरीहरू गाउँमा त्यत्तिकै होलान्, म गाउँ फर्किएर उनीहरूलाई सहयोग गर्नुपर्छ,’ त्यसपछि गाउँ फर्किने निर्णयमा पुगे । ०७० पछि उनी चलचित्रमा भूमिका पाउँदा मात्र काठमाडौं जाने र अरू समय गाउँमै रहने अडानमा बसे ।
काठमाडौंमा व्यस्त एउटा चर्चित कलाकारलाई गाउँ फर्कन सहज थिएन । तर, गाउँ फर्कने उत्कट चाहले जित्यो । ‘लामो समय काठमाडौं बसेपछि पारिवारिक जिम्मेवारी निर्वाह गर्न गाउँ फर्कनुपर्ने बाध्यता त थियो नै ! गाउँमै कलाकार उत्पादन गर्नुपर्छ भन्ने हुटहुटी पनि मनमा थियो, त्यही हुटहुटीले गाउँ फर्काइछाड्यो,’ हेमन्त भन्छन् ।
गाउँ फर्किएपछि ४० को दशकमा आफूले जस्तै सपना देख्ने युवायुवतीको सपनामा एउटा इँटा थप्ने वाचा गरे । त्यसका लागि नाटक गर्ने ‘प्लेटफर्म’ तयार गर्न उनी तम्सिए । उनको एउटै उद्देश्य थियो– गाउँमा दमित भएका कलालाई स्थान दिनु ! गाउँ फर्किने उनको कदमले ‘कदम’ जन्मायो । ‘कदम’ अर्थात् कदम थिएटर ! उनकै अगुवाइमा कदम थिएटरको जन्म भयो । हेमन्तको सपनाको ‘कदम’ले अहिले सफलताको उडान भरिरहेको छ । कदम थिएटरले दर्जनौँ कलाकार उत्पादन गरिसकेको छ । ‘मेरो सपनाले बल्ल आकार लिँदै छ । कुनै समय नाटक गर्न र हेर्न काठमाडौं जानैपर्थ्यो,’ उनी भन्छन्, ‘अहिले दमकवासीलाई नाटकको बानी परेको छ । नाटक पनि नियमितजसो मञ्चन भइरहेको छ । नाटकमा दर्शकको माया पनि उस्तै छ । कलाकार उत्पादनमा पनि हामीले काम गरिरहेका छौँ । नाटक हेरेर राम्रो प्रतिक्रिया पाएका छौँ ।’
०७३ मा स्थापना भएको कदम थिएटरको अध्यक्ष छन्, हेमन्त । करिब एक दशकदेखि ‘कदम’मा खटिरहेका छन् । उनकै नेतृत्वमा कदम थिएटरले दमक–९ मा साढे चार कठ्ठा जग्गा जोहो गरेको छ । यो जग्गा दमक नगरपालिकाले उपलब्ध गराएको हो । यो जग्गामा कदम थिएटरको भव्य नाटक घर बनाउने लक्ष्य छ । काम पनि सुरु भएको छ । तर, राज्यको नजरमा कम प्राथमिकतामा पर्दा भवन अधुरै छ । नजिकै सानो नाटकघर बनाएर काम गरिरहेका छन्, कलाकारहरू । ‘सहरमा नाटक घर चाहिन्छ । हामीले नाटकघरसँगै यहाँको संस्कृतिको संरक्षण गर्ने र साहित्यिक कार्यक्रम गर्ने गरेको सेउपाखा बहुसांस्कृतिक नाटकघरको भवन बनाइरहेका छौँ,’ उनी भन्छन्, ‘तर, काम पूरा भएको छैन । आशा छ चाँडै पूरा हुनेछ । यो नाटकघरले सहरको सुन्दरतामा एउटा इँटा थप्नेछ ।’
कदमले नयाँ कलाकारलाई मात्रै स्टेजमा ल्याएको छैन । हेमन्तजस्ता भेट्रान कलाकारलाई पनि स्टेजमा फर्काएको छ । हेमन्त रंगमञ्चको स्टेजमा दुई दशकपछि फर्किए । उनी ०७९ मा मञ्चन भएको नाकट ‘१२ दुर्वासा’ मार्फत दुई दशकपछि रंगमञ्चमा फर्किए । ‘हाम्रो नवप्रतिभा नाट्य समूह तितरबितर भएपछि त रंगमञ्च नै छाडियो । चलचित्रमा व्यस्त पनि भइयो,’ उनी भन्छन्, ‘दुई वर्षअघि कदमकै स्टेजमा नाटक गरेँ । यो झन्डै दुई दशकपछि मैले गरेको नाटक थियो ।’
विगतको रंगमञ्चभन्दा दुई दशकपछिको रंगमञ्चमा हेमन्तले धेरै फरक पाए । नयाँ कलाकारसँग काम गर्दा केही सिकाए र धेरै सिक्ने मौका पाए । ‘रंगमञ्च धेरै फरक भएछ । हाम्रो पालामा अहिलेको जस्तो मिहिनेत गरिँदैनथ्यो । लाइट, ब्लकको काम हुँदैनथ्यो । तर, अहिले त फरक भएछ रंगमञ्च,’ उनी भन्छन्, ‘०७९ मा १२ दुर्वासामार्फत दुई दशकपछि थिएटरको मज्जा लिन पाएँ । धेरै वर्षपछि काम गर्दा के होला कसो होला जस्तो भएको थियो ।’
कुनै समय वर्षमा आठवटा चलचित्रमा समेत अभिनय गर्थे, हेमन्त । तर, पछिल्लो दशकमा उनले आधा दर्जन मात्र चलचित्रमा काम गरेका छन् । जसमध्ये भुटानी शरणार्थीको कथामा आधारित चलचित्र ‘देश खोज्दै जाँदा’ उनको मनपर्ने सिनेमा हो । लामो समय नकारात्मक चरित्र निभाएका हेमन्तले यो चलचित्रमा सकारात्मक पात्र पाएका थिए । अहिले उनी चलचित्र ‘बलिदान’को सुटिङमा व्यस्त छन् । चलचित्र छानेर खेल्न थालेकाले पनि उनको चलचित्र कम हुँदै गएको छ । ‘अब राम्रो भूमिका पाएँ भने मात्र नियमित काम गर्छु । देश खोज्दै जाँदा चलचित्रले यसको महत्व बुझायो,’ उनले भने, ‘यो चलचित्रले धेरै अवार्ड जित्यो । प्रशंसा पायो । अब जुन पायो, त्यही फिल्म खेल्दिनँ भन्ने लागेको छ ।’