• वि.सं २०८१ मङ्सिर ६ बिहीबार
  • Thursday, 21 November, 2024
नयाँ पत्रिका
२०८१ मङ्सिर १ शनिबार ०९:५३:००
इतिहास

प्रा.डा. प्रेम खत्रीको नजरमा इतिहासका विद्यार्थीले पढ्नैपर्ने पुस्तक

२०८१ मङ्सिर १ शनिबार ०९:५३:००
नयाँ पत्रिका

 

लिच्छवि संस्कृति : प्रा.डा. जगदीशचन्द्र रेग्मीको यो पुस्तक लिच्छवि इतिहास र संस्कृति बुझ्न निकै उपयोगी छ । नेपालमा हिन्दु परम्परा र संस्कृतिको जग लिच्छविकालमा बसेको हुनाले यो पुस्तकको अध्ययन निकै महत्वपूर्ण छ । लिच्छविकालीन समाज, भूगोल, राजनीति, इतिहास, जातीय स्थिति, धार्मिक अवस्था, अर्थव्यवस्थाको यसमा चित्रण छ । आधिकारिक अभिलेखहरूको विश्लेषण गरिएको छ । 

 

इतिहासअघिको इतिहास : यस पुस्तकमा सुरेश ढकालले मानवशास्त्रीको नजरबाट इतिहासको व्याख्या गर्नुभएको छ । हाम्रो इतिहासका कमजोरी र बलियो पक्षबारे लेख्नुभएको छ । पुस्तकमा प्रागऐतिहासिककालको समय र त्यतिवेलाका मान्छेको कथा छ । यसले पाठकमा कैयन जिज्ञासा पैदा गर्छ । 

 

हिस्ट्री अफ नेपाल : विदेशीले नेपाली इतिहासलाई कसरी हेरेका छन् भन्ने बुझ्न पनि जोन ह्यामल्टनको यो पुस्तक निकै उपयोगी हुन्छ । यसमा नेपाल एकीकरण, यहाँका राजनीतिक–सामाजिक घटनाक्रम, अर्थ–व्यवस्थालगायतको चित्रण छ । नेपाल एकीकरणदेखि, राणाशासनको उदय र पतन, प्रजातन्त्रको सुरुवात र त्यसपछिका राजनीतिक गतिविधि पनि पुस्तकमा समेटिएको छ ।

 

नेपालको सांस्कृतिक इतिहास : यो पुस्तक साढे आठ सयभन्दा बढी पेजको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले निकालेको यस पुस्तकमा मैले आफैँ मुख्य लेखक र शोधकर्ता भएर लेखेँ । किरातकाल, लिच्छविकाल, मध्यकाल, मल्लकाल, शाहकाल हुँदै देशमा भएका सांस्कृतिक परिवर्तनबारे लेखिएको छ । नेपाली संस्कृतिको इतिवृत्तमा पनि मैले हाम्रो इतिहासको चर्चा गरेको छु । 

 

द टेम्पल्स अफ नेपाल : रोनाल्ड बर्नियरको काठमाडौं उपत्यकाकोे कला–वास्तुकला बुझ्नका लागि यो पुस्तक निकै महत्वपूर्ण छ । उनले नेपालका मन्दिरका विषयमा निकै विस्तृत रूपमा चर्चा गरेका छन् । 

 

टेम्पल्स अफ द नेपाल भ्याली : काठमाडौं उपत्यकाका मन्दिरका विषयमा सुदर्शनराज त्रिपाठीले यसमा चर्चा गर्नुभएको छ । विभिन्न तला भएका मन्दिर, ती मन्दिरको संरचना, जग र किन त्यस्तो बनाइयो भन्ने विषयमा पनि विस्तृत रूपमा पुस्तकमा लेखिएको छ । यस पुस्तकले नेपालका मन्दिरलाई विदेशमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको छ । 

 

लिच्छविकालका अभिलेख : ०३० सालमा यो पुस्तक ‘सिनास’ले प्रकाशित गरेको हो । धनबज्र बज्राचार्यको यस पुस्तकमा लिच्छविकालको प्रामाणिक इतिहास छ । उहाँले लिच्छविकालका अभिलेख संकलन गरेर त्यसलाई व्याख्या गर्नुभएको छ । यी अभिलेखहरूले लिच्छविकालमा नेपाल कति सम्पन्न थियो, नेपालको अर्थव्यवस्था कस्तो थियो, जनता र राजाबिच कस्तो सम्बन्ध थियो लगायत प्रश्नहरूको जवाफ दिन्छ । त्यतिवेलाका भव्य दरबारको वर्णन यसमा छ । 

 

त्यस बखतको नेपाल : यो पुस्तक संस्मरण हो । व्याख्यात्मक छ । तर, नेपाली इतिहासबारे बुझ्न यसले सघाउँछ । सरदार भीमबहादुर पाँडेले आफ्ना अनुभवलाई निकै उत्कृष्ट रूपमा प्रस्तुत गर्नुभएको छ । राणाकालीन शासन व्यवस्थाबाट नेपाल कसरी आधुनिकताको दिशामा गयो भन्ने विषयमा उहाँले विश्लेषण गर्नुभएको छ ।

 

अन्य पुस्तकहरू : पुरुषोत्तमलोचन श्रेष्ठको ‘अन्तरंगका तरंगहरू’ पुस्तक पनि उपत्यकाको कला र संस्कृति बुझ्न महत्वपूर्ण छ । गोविन्द टन्डनको ‘इतिहासका थप पृष्ठहरू’ मलाई मन परेका पुस्तकमध्ये एक हो । जितसिंह भण्डारीको ‘डोटी क्षेत्रको प्राचीन इतिहास र धार्मिकस्थल’ पुस्तकमा डोटी, दार्चुला क्षेत्रको इतिहास छ । व्यास उपत्यका, मानसरोवरको इतिहास छ । त्यहाँका प्राचीन दरबारको चर्चा छ । यज्ञराज उपाध्यायको ‘काली–कर्णालीको लोकसाहित्य तथा संस्कृति’ मध्यपश्चिम र सुदूरपश्चिमको संगीत र संस्कृतिको वर्णन छ । पश्चिम नेपालका लोकगीत, लोककथा, लोकगाथा, उखानटुक्कालगायतले सुदूर र कर्णालीको सांस्कृतिक महिमा दर्साउँछ । माधव चौलागाईंले कर्णाली क्षेत्रको राजनीतिक र सांस्कृतिक विरासतलाई ‘सपादलक्ष कर्णाली’मा उजागर गर्नुभएको छ । यस पुस्तकमा प्रचुर स्रोत र सम्भावना हुँदाहुँदै पनि कर्णाली क्षेत्र किन पछाडि पर्‍यो भन्ने विषयमा विश्लेषणसमेत गरिएको छ । कर्णाली कसरी अघि बढ्नुपर्छ भन्ने विषयमा लेखकले आफ्ना धारणा राख्नुभएको छ ।