भारती लिम्बुनी (८१)को पुर्खा विश्वयुद्धको दौरान नेपालबाट बर्मा पुगेको थियो । भारती बर्मामै जन्मिइन्, हुर्किइन् । अध्यापनका क्रममा उनी थाइल्यान्ड पुगिन् । जहाँजहाँ पुगे पनि नेपाली भाषा, संस्कृतिप्रतिको प्रेम टुटेन । प्राध्यापन पेसाबाट अवकाश लिएर हाल उनी नेपाली भाषा, संस्कृति, जोगाउन सक्रिय छिन् । एक साताअघि नेपाल आइपुगेकी भारतीसँग पवन बराइली र कमलराज भट्टले गरेको कुराकानीको सम्पादित अंश:
मेरो बाजे पुस्ता पहिलो र दोस्रो विश्वयुद्धमा सहभागी हुँदै बर्मा पुगे । युद्ध सकिएपछि बर्माको मलिलो माटोमा लोभिएर उतै बसे । म उतै जन्मिएँ, हुर्किएँ । बर्मामा मेरो घरको पाँच पुस्ता पुगेको छ । कसैको पाँच पुस्ता पनि नागेको छ ।
मेरो स्कुल र युनिर्भसिटीको पढाइ बर्मामा नै भयो । त्यसपछि मैले बर्माको ६ वटाभन्दा बढी सरकारी युनिर्भसिटीमा १७ वर्ष पढाएँ । पढाउने दौरानमा बर्माको धेरै ठाउँ घुम्न पाएँ ।
म सानो हुँदा नेपालसँग सम्पर्क नै थिएन । नेपाल भन्नेबित्तिकै स्वर्गजस्तो संग्रहित भई मनमा बसेको थियो । हामीले नेपाललाई ‘मुलुक’ भन्थ्यौँ । घरमा बाजेबोजु, बुबा आमाले मुलुकको कुरा गर्नुहुन्थ्यो । टोलछिमेकमा पनि मुलुकका बारेमा कुरा गरेको सुन्थेँ । त्यो सुन्दा नेपाल जान मन लाग्थ्यो ।
मेरी आमा तेह्रथुमको हुनुहुन्थ्यो । बर्मामा जन्मिए पनि बाजेले आमालाई तेह्रथुम ल्याउनुभएछ । घरघरी आमाले तेह्रथुमको कुरा गर्नुहुन्थ्यो । मुलुकमा ढिँडो, च्याख्लाको भात, गुन्द्रुक, साग खाएको कुरा गर्नुहुन्थ्यो । घरमा बुबाआमा लिम्बू कुरा पनि गर्नुहुन्थ्यो । मेरो बुबाको थर ओख्राबो र आमाको योङहाङ हो । सानैदेखि लिम्बू गीत गाउँथे । त्यसरी नै नेपाली भाषा–संस्कृति बुझ्दै हुर्किएँ ।
मन्दिरमा नेपाली पढाइ
त्यसवेला रेडियोमा बलिउड फिल्मका गीत मात्रै बज्थे । हिन्दी गीतलाई नेपालीकरण गरेर गाइन्थ्यो । धेरैपछि ‘लाउरेको रेलीमाई फेसन नै राम्रो...’ भन्ने गीत बज्न थाल्यो । यो गीत बर्मामा रहेको नेपाली बस्तीमा निकै चर्चित भयो । म सानैदेखि गीत गाउँन रुचि राख्थेँ । त्यसैले नातिकाजी, प्रेमध्वज प्रधान, नारायणगोपाल, अरुणा लामा, तारादेवीहरूको गीत सुन्थेँ । त्यसवेला गीत सुन्ने सजिलो माध्यम थिएन । राजदूतावासलाई नेपालबाट नेपाली गीतको क्यासेट ल्याइँदिन आग्रह गर्थें । नेपालमा आफन्तहरू थिएनन् । नेपाली गीत सुन्न महिनौँ कुर्नुपर्थ्यो ।
त्यसवेला हिन्दी सिनेमाको प्रभाव धेरै थियो । नेपाली सिनेमा हेर्न गीत सुन्न मन लाग्थ्यो । तर, सजिलो थिएन । मैले नेपाली ‘आमा’ सिनेमा राजदूतावासमा हेरेको हुँ । ‘माइतीघर’ पनि राजदूतावासमै हेरेँ । यी दुवै सिनेमा हेरेपछि नेपाली भाषा, संस्कृतिबारे थाहा भयो ।
बर्मामा दसैँ, तिहार, रामनवमी, शिवरात्रि, होली पूर्णिमाजस्ता पर्व बडो उत्साहका साथ मनाउने गरिन्छ । दसैँ–तिहारजस्तो चाडपर्वमा नेपाली नाचगान हुन्छ । मलाई अझै याद छ, फूलपातीको दिन हरेक नेपाली टोलमा नाटक गरिन्थ्यो । म गीत गाउँथेँ, नाटकमा अभिनय पनि गर्थेँ । नाटक गर्दा नेपाली पहिरन र गहना पाइँदैनथ्यो । महिलाका लागि गलामा लगाउने माला लगाउनुपर्थ्यो । तर, हामीसँग हुँदैनथ्यो । तर, मकैको खोया टुक्रा पारेर सुनचाँदीजस्तो बनाएर लगाउँथ्यौँ । तिहारको वेला हाम्रो घरमा ताल्चा मारिन्थ्यो । सबैजना देउसी भैलो खेल्न जान्थ्यौँ ।
लिम्बु समुदायको शिरपूmल लगाउने चलन हुन्छ । तर, हामीसँग शिरफूल हुँदैनथ्यो । अहिलेजस्तो नेपालसँग सम्पर्कको पहुँच थिएन । चाडपर्वमा लगाउने पहिरन नेपालबाट लगिन्छ । अहिले नेपालबाट पुस्तक सिनेमाहरू लैजान सजिलो छ । अप्ठ्यारो हुँदाहुँदै पनि बर्मामा नेपाली भाषा र संस्कृतिको जगेर्ना गर्दै आयौँ ।
नेपाली किताबहरू पढ्न पाइँदैनथ्यो । महेन्द्रमालाजस्ता नेपाली पुस्तकहरू राजदूतावासबाट मगाइन्थ्यो । राजदूतावासमा पत्रिकाहरू पनि आउँथे । म जानी–नजानी पत्रिका पढ्थेँ । कहिल्यै नेपाली स्कुल पनि गइनँ । हिन्दी भाषामा दुई कक्षासम्म पढेको थिएँ । हिन्दी किताबहरू पढ्थेँ । बलिउडका गीतहरू धेरै सुन्थेँ र गाउँथेँ पनि । आफैँ पढ्दै, लेख्दै नेपाली सिकेँ ।
घाँस काटी गाई–बाछालाई दिउँला
विदेश छोडी दाजै स्वदेशमै जाउँला...
त्यसवेला बर्माको पदम थापाले कथेको गीत हो यो । त्यसवेला पदम थापा, रक्की थापाहरूले नेपाली गीत लेख्थे । बर्मामा यो गीत निकै चर्चित बन्यो । बर्माका नेपालीहरू छाती ठोकेर यो गीत गाउँथे ।
राजनीतिक उथलपुथले गर्दा एकताका यो गीत गाउँदै नेपाल फर्किने लहर चल्यो । नेपाल फर्किन सबैले झिटीझ्याम्टा कसे । आफूसँग भएका सारा सम्पत्ति बेचबिखन गरे । तर, नेपाल आउँन सोचेजस्तो सजिलो थिएन । धेरैले नेपाल फर्किने भन्दै आफ्नो सम्पत्ति सके । तर, धेरैजसो दलालको फन्दामा परे । नेपाल फर्किने भन्दै कस्सिएर जानेहरू महिनौँसम्म बर्माको पुरानो राजधानी यंगुनमा बसे । तर, नेपाल आउन सकेनन् । जीवन तहसनहस भयो । तर, कतिपय आफ्नो परिवार छोडेर नेपालमै आए । उनीहरू यतै बसे । कोही छुट्टिएर आए, कोही उतै अड्किए । कतिपय नेपालमा हन्डर खाएर फेरि बर्मा फर्किए ।
बर्मा सरकारले सबैलाई राष्ट्रिय दर्ता कार्ड दिने निर्णय गर्यो । तर, अधिकांश नेपालीले फरेन रजिस्ट्रेनस कार्ड (एफआरसी) नै लिएर बस्ने सोच बनाए । धेरैले नेपाल फर्किने सोचले राष्ट्रिय कार्ड लिन मानेनन् । तर, नेपाल आउँनै पाएनन् । पछि आफ्ना छोराछोरीको शिक्षामा अवरोध आयो । नेपाल आउने पागलपनले धेरैलाई अप्ठ्यारोमा पार्यो ।
मैले युनिर्भसिटी पढ्दा १०–१५ जना मात्रै विद्यार्थी हुन्थे । त्यसवेला पढ्ने चलन कम थियो । मैले पढ्ने वेलामा बर्मामा मास्टर्ससम्म पढ्ने महिला म एक्लो थिएँ । अहिले एकदम धेरै पढेलेखेकाहरू छन् ।
बर्मामा नेपालीभन्दा पनि गोर्खा भनेर परिचित छन्, नेपालीहरू । गोर्खा शब्द बहादुरीको रूपमा लोकप्रिय छ । त्यहाँ हामीलाई हेर्ने दृष्टिकोण राम्रो छ । तर, हामीले आफ्नो अस्तित्व खोज्यौँ । हाम्रो परिचय खोजिरह्यो ।
सन् १९८२ मा अखिल म्यान्मार देशीय गोर्खा हिन्दु धार्मिक संघ गठन भयो । त्यसवेला बर्मा सरकारले धार्मिकबाहेक सामाजिक काम गर्न दिँदैनथ्यो । धर्मसँग जोडेर मात्रै काम गर्न पाइन्थ्यो । यो संघको माध्यमबाट नेपाली पाठ्यशालाको विकास भयो । बर्मामा सुहाउँदो नेपाली पुस्तकको विकास गरियो । त्यसपछि मन्दिरमै नेपाली पढाउन थालियो । नेपाली समुदायको बैठक मन्दिरमै हुन्थ्यो । किनभने धर्मबाहेक अरू काम गर्न दिइँदैनथ्यो । स्कुल बिदाको समयमा विद्यार्थीहरूलाई नेपाली पढाउने काम हुन्थ्यो । स्कुल पनि खोल्न दिइँदैनथ्यो । अहिले ठुला भवनहरू भाडामा लिएर नेपाली पढाउने गरिन्छ । बर्मामा नेपाली भाषा सिक्नका लागि मन्दिरको भूमिका ठुलो छ ।
नेपाली भाषा संस्कृति
राजनीतिक उथलपुथलले गर्दा म सन् १९९४ मा थाइल्यान्डको बैंकक आएँ । त्यसपछि थाइल्यान्डलाई कर्मभूमि बनाएँ । थाइल्यान्डमा युनिर्भसिटी पढाउन थालेँ । झन्डै ११ वर्ष थाइल्यान्डमा युनिभर्सिटी पढाएँ । साथै, नेपाली भाषा संस्कृतिका लागि सामाजिक काममा सक्रिय रहेँ । सन् २००६ देखि थाइल्यान्ड किराँत संघ सक्रिय भयो । मेरो नेतृत्वमा रहेको यो संस्थाले धेरै काम गर्यो । बर्मा र थाइल्यान्डमा बुद्धिजम मानिन्छ । म आफू पनि बुद्धिजम मान्छु । तर, लिम्बू संस्कृति पनि मान्छु । पुर्खाले मान्दै आएको संस्कार मान्नेहरू पनि धेरै छन् । जन्मदेखि मुत्युसम्मका संस्कार किराँत लिम्बू संस्कृतिअनुसारै गरिरहेका छौँ ।
लामो समय प्राध्यापन गरेपछि अहिले किराँतीलाई पुर्ख्यौली धर्म, संस्कार, संस्कृति, वेशभूषाबारे जानकारी गराउने कार्य गरिरहेको छु । मुन्धुम, किराँत धर्म र कर्ममा आधारित किताबबाट किराँत मुन्धुम र मौलिकताबारे थाहा पाएँ । त्यसैका आधारमा त्यहाँका किराँतीलाई पुर्ख्यौली धर्म, संस्कार, संस्कृतिबारे जानकारी गराइरहेको छु । विवाहलगायत अन्य कर्महरू पनि गरिदिएको छु । अहिले हामीले कला, संस्कृति र संस्कारलाई बडो निष्ठाका साथ अँगालेका छौँ ।
अहिले म थाइल्यान्डको ‘किराँत संघ’को संरक्षक छु । ‘थाई नेपाली संघ’को पनि संस्थापक हुँ । यी संस्थाले नेपाली भाषा संस्कृति संरक्षणमा ठुलो भूमिका खेलिरहेको छ । अहिले धेरै नेपाली संघसंस्थाहरू स्थापना भएका छन् । थाइल्यान्डमा तामाङ, मगर, गुरुङ, नेवारलगायत समुयदायको आ–आफ्नै समाज छन् । जसले गर्दा नेपाली भाषा संस्कृति जगेर्नामा सहयोग पुगिरहेको छ । ‘थाई नेपाली एसोसिएसन’ले नेपाली भाषा सिकाइरहेको छ । बर्मामा आधिकारिक रूपमा नेपाली स्कुल खोल्न पाइँदैन । त्यसैले, पहिले मन्दिरमा नेपाली पढाइन्थ्यो, हाल पहिलेभन्दा खुला भएको छ । सरकारले मन्दिरबाहेक भवनहरूमा पनि नेपाली गतिविधि गर्न दिन्छ । बर्मामा ठुला मन्दिरका हलहरूमा पठनपाठन गरिरहेका छौँ ।
बर्मामा नेपालीभाषी तीन लाखजति छन् । थाइल्यान्डमा पनि एक लाखकै हाराहारीमा छौँ । हाम्रो पुस्ताले वंशावली खोज्ने र संस्कार गर्ने काम गर्दै आयो । तर, अबका नयाँ पुस्ताले त्यस्तो गर्ने सम्भावना टुट्दै गएको देख्छु । बर्मा र थाइल्यान्डमा अहिलेका पुस्ताले नेपाली बुझे पनि बोल्न सक्दैनन् । उनीहरू बर्मेली र अंग्रेजी भाषा बोल्छन् । कतिपयचाहिँ नेपाल आफ्नो पुर्खा देश भएकाले त्यहाँ पुग्नैपर्छ भन्ने सोच राख्छन् । तर, नेपाल आउन विभिन्न तगारो छ । हामी, विदेशी बनेर नेपाल आउनुपर्छ । खर्चिलो पनि छ । भिसा लगाउन झन्झट छ । नेपाल आउन सहज भए नेपाल आएर नयाँ पुस्ताले नेपाली भाषा संस्कृति सिक्न पाउँथेँ ।
सन् २००० मा पहिलोपटक नेपाल घुम्न आएँ । त्यसवेला काठमाडौंका विभिन्न स्थान घुमेँ । त्यसवेला नेपाली भाषा र संस्कृतिबारे थप जानकारी पाएँ । त्यसवेला बाटोमा नेपाली कुरा बोलेको सुन्दा मलाई अचम्म लाग्यो । बर्मेली भाषा मात्रै बोलेको सुनेकी थिएँ ।
नयाँ पुस्ता हाम्रो जरासँग कसरी जोडिएला भन्नेतिर लागिरहेको छ । त्यसैले गर्दा पिपुल अफ नेपाली ओरिजिन (पिएनओ) संस्थामार्फत नेपाली मूलका नेपालीभाषीलाई मान्यता दिन नेपाल सरकारसँग पहल गरिरहेका छौँ । नयाँ पुस्ताहरू नेपाल आएर आफ्नो भाषा सिक्न पाउँथे । पढ्न पाउँथे । अनि बर्मामा नेपाली भाषा, संस्कृति बच्थ्यो । विदेशमा बसेर पनि भाषा र संस्कृति बाँच्थ्यो । त्यही कारणले निरन्तर लागिपरेका छौँ । अहिले यो विषयमा नेपाल सरकार सकारात्मक देखिएको छ । बर्मामा रहेका नेपाली पनि एनआरएन बनेर गर्वका साथ बाँच्न पाउने थियौँ । अहिले राजदूतावासले एनआरएनको कार्ड दिने भएको छ । नेपाली मूलको हामी नेपालीभाषी पितृ देशमा आउँदा अपहेलित हुन नपरोस् भन्ने हो । हामीलाई नागरिकता पनि आवश्यक छैन, मतदान अधिकार र राजनीति पनि गर्ने होइन । हामीलाई नेपाली मूलको नेपाली पहिचानको कार्ड भए पुग्छ । आफ्नो देशमा आउँदा पनि विदेशीलाईजस्तो कडाइ गरिन्छ । नेपाल आउन भिसाको झन्झट हटे नेपाल आएर धेरैले आफ्नो भाषा–संस्कृति सिक्न पाउँथे ।