• वि.सं २०८१ पौष ११ बिहीबार
  • Thursday, 26 December, 2024
अन्वेषण अधिकारी
२०८१ मङ्सिर ८ शनिबार ०८:०५:००
सम्झना

विद्रोह गर्दा अंक घट्ने रहेछ

२०८१ मङ्सिर ८ शनिबार ०८:०५:००
अन्वेषण अधिकारी

अहिले त केही पनि छैन । रित्तै भएको अनुभव हुन्छ । शक्तिमा नभएपछि कसैले कसैलाई वास्ता पनि नगर्ने रहेछ । पढ्ने, लेख्ने काम चलिरहेको छ । कम्युनिस्ट पार्टीमा संगठित हुन चाहेर पनि अलपत्र परेका युवाहरूलाई खोज्दै छु । संगठन कमजोर भएका पार्टीहरूलाई कसरी बलियो हुने भनेर सुझाव पनि दिने गरेको छु । अहिले जीवित भएका कम्युनिस्टहरूमध्ये मोहनविक्रम सिंह, चित्रबहादुर केसी र मोहन वैद्यपछि म सिनियर हुँ । त्यहीकारण म जसलाई पनि सुझाव दिन सक्छु ।

 

कम्युनिस्टहरूलाई एकजुट बनाउने प्रयास गरिरहेको छु । तर, ठोस आकार लिन सकिरहेको छैन । नेपालका कम्युनिस्ट पार्टीको नेतृत्वमा रहनुभएकाहरूसँग स्पष्ट दृष्टिकोण नै भएन । त्यहीकारण, नेकपा फुटेर चार टुक्रा भयो । एमाले र माओवादीलाई जुटाएर नेकपा बनाउनका लागि जति खटेको थिएँ, त्यसलाई टिकाउन चुकेँ भन्ने लाग्छ । पार्टीमा त्यतिवेला जे भइरहेको थियो, त्यसलाई अन्त्य नगर्दा विभाजनको अवस्थासम्म पुग्छ भन्ने निष्कर्ष निकाल्न ढिला भयो ।

 

म झुटो बोल्दिनँ । एकताबद्ध बनाउन सकेजति गरेकै हुँ । एमाले र माओवादीबिच एकता हुँदा दुईजना अध्यक्ष रहने, सरकार पनि आलापालो चलाउने, पार्टीको नेतृत्व पनि आलोपालो गर्ने सहमति भएको थियो । दुईजना अध्यक्ष बसेर सम्झौता गर्नुभयो । तर, कालान्तरमा प्रचण्डले दबिएजस्तो महसुस गर्नुभयो । कुनै पनि कुरामा उहाँले केपी ओलीको प्रतिवाद गर्न नसक्ने । यस्तो अवस्थाले एकता लामो समय नटिक्ला भन्ने लाग्यो । मैले र विष्णु पौडेलले सल्लाह ग¥यौँ । प्रचण्डलाई कार्यकारी अध्यक्ष बनाउँदा दुवैले बराबरी महसुस गर्नुहोला भन्ने भयो । विष्णुले गएर केपीलाई भन्नुभयो । केपीलाई चित्त बुझ्यो । उहाँ अध्यक्ष र प्रधानमन्त्री नै हुनुहुुन्थ्यो । कार्यकारी अध्यक्ष प्रचण्डलाई दिने प्रस्ताव मान्नुभयो । यसपछि प्रचण्ड निकै खुसी हुनुभयो । भावनामा बगेर उहाँले पार्टी सञ्चालन गर्न पाएपछि मलाई केही चाहिँदैन, कार्यकारी भएर पार्टी सञ्चालन गर्न पाए यतै खुसी हुन्छु भन्नुभयो । केपीलाई पाँच वर्ष तपाईं नै सरकार चलाउनुस् भन्नुभयो । तर, पछि माओवादीबाट विरोध भएपछि उहाँले मलाई भेटेर ‘गल्ती गरिएछ’ भन्नुभयो । अन्य नेतालाई पनि त्यस्तै भन्नुभयो । तर, त्यही कुरा बैठकमा राख्नुभएन । सायद, बैठकमा राखिएको भए, आधा–आधा गरौँ भनेको भए हुन्थ्यो होला । तर, उहाँको मनमा एउटा र बाहिर अर्को कुरा आयो । फ्याट्ट बोल्ने र भनिसकेपछि गल्ती गरिएछ भन्ने भयो । उहाँको यो स्वभाव धेरै ठाउँमा छ ।

मैले नेकपाको टुटफुट मिलाउन सकिनँ । तर, त्यसपछि पनि एमालेमै बसिरहनुपर्ने रहेछ । राजीनामा गर्नु नहुने रहेछ । त्यहीँ बसिरहेको भए केही न केही भूमिका हुने थियो होला । त्यो महसुस भएपछि तीनपटक केपी ओलीसँग भेट भयो । ‘मलाई जिम्मेवारी दिनुस्, नमर्दासम्म काम गर्छु,’ भनेँ । तर, उहाँहरूले निर्णय गर्नुभएन । केही साथीले किन वामदेवलाई ल्याउने, उहाँको आवश्यकता नै छैन भनेर पनि भन्नुभएछ ।

 

प्रचण्ड, माधव नेपाल, झलनाथ खनालले मिलेर ओलीविरुद्ध अविश्वासको प्रस्ताव नै पेस गर्ने तयारी गर्नुभयो । त्यसमा म संलग्न छैन । यसपछि ओलीले संसद् विघटन गर्नुभयो । यसमा पनि मेरो रिजर्भेसन छ । ओलीले भन्नुभएको थियो,‘पार्टी काँक्रो चिरा परेजस्तो परिरहेको छ । यस्तो वेलामा बिचमा बस्दा फालिनुहुन्छ । बिचमा बस्ने कोसिस नगर्नुस्, आउनुस्् भन्नुभएको थियो । म आउँदिनँ भनेँ ।’

 

प्रचण्डतिर जाँदा ओलीलाई गाली गर्नुपर्ने, ओलीतिर जाँदा प्रचण्डलाई गाली गर्नुपर्ने । उहाँहरूले गाली मात्रै गर्नुभयो । म पनि गाली गर्नेमै पर्थेँ होला । उहाँहरूले पार्टी फुटाउनुभयो, तर पार्टी फुटाएको भन्न सक्नुहुन्न । म शिर ठाडो बनाएर हिँड्छु : मैले पार्टी फुटाएको होइन भन्न सक्छु ।

 

०५४ सालमा एमाले फुटाएको मान्न तयार छु । त्यतिवेला साधारण सदस्यसमेत नरहने गरी निस्कासन गरिएपछि हामीले पार्टी फुटाएका हौँ । कोअर्डिनेसन केन्द्र, जसको जगमा एमाले बनेको थियो, त्यसका मुख्य नेताहरू सबैलाई निष्कासन गरिएको थियो । त्यसपछि हामीले पार्टी फुटाएका हौं । स्विकार्छु । मैले एमालेमा फर्कँदा आत्मालोचना पनि गरेको छु । तर, नेकपा फुटाउन मेरो कुनै पनि भूमिका छैन । जुटाउनका लागि जे गर्नुपर्ने थियो, त्यसमा ढिला भयो ।

 

एउटै निष्कर्ष निकाल्छु, ओलीजी र प्रचण्डजी दुवैको दृष्टिकोण त्रुटिपूर्ण छ । उहाँहरूले कुनै पनि विषयमा छलफल गरेर त्यसबाट आउने निष्कर्षको आधारमा केही पनि गर्नुभएन । आज बोल्नै नसक्ने, भोलि अंकमाल गरिहाल्ने त हुँदैन । त्यसमा आत्मालोचना पनि नगर्ने । हिजो हामी के भन्यौँ र के गर्यौँ, त्यसको समीक्षा हुनुपर्छ कि पर्दैन ? 

 

गृहमन्त्री छँदा सम्भावित गृहयुद्ध रोकेँ 
०५४ सालमा गृहमन्त्री छँदा साँखुमा पुलिस बस्ने ठाउँमा घुम्न गएको थिएँ । सुत्ने ठाउँ पनि राम्रो छैन । खाने ठाउँ पनि राम्रो छैन । पानी पर्दा चुहिन्छ, घर व्यवस्थित छैन । ओड्ने कपडा पनि राम्रा छैनन् । म रोएर फर्किएँ । तत्कालै त्यहाँ राम्रो व्यवस्था गर्न लगायौँ । मैले प्रहरीलाई अपमानित हुन दिइनँ । जथाभावी गर्न पनि दिइनँ । राष्ट्रसेवक कर्मचारीको शिर उचो रहनुपर्छ भन्ने थियो । म छँदासम्म उनीहरूको शिर उचो थियो । अहिले त्यस्तो देख्दिनँ, भित्रभित्रै बेथिति भयो होला ।

 

मेरो तुरुन्तै निर्णय गरिहाल्ने बानी छ । ०५४ सालमा गृहमन्त्री छँदा स्थानीय तहको चुनाव गराएर देखाएँ । जनताको साथ पाइयो । चुनाव सफल भयो ।

 

पहिलो संविधानसभापछि बनेको सरकारमा गृहमन्त्री भए पनि त्यो सरकार लामो समय टिकेन । संविधान बनाउनै नसकेर सभा विघटन भयो । दोस्रो संविधानसभापछि फेरि गृहमन्त्री भएँ । यतिवेला दुई वर्षभित्रै संविधान बनाउँछौँ भनेर चुनाव जितेर आएका थियौँ । तर, भारतले संविधान जारी नगर्नका लागि निरन्तर दबाब दिइरहेको थियो । म गृहमन्त्री नभएको भए देशमा ठूलो बर्बादी हुने थियो । पूर्वदेखि पश्चिमसम्म मधेशलाई अलग राज्यका रूपमा खडा गर्ने षड्यन्त्र बनेको थियो । तराईका सरकारी कार्यालयमा मधेश सरकार भनेर लेख्न थालिएको थियो । आत्मनिर्णयको अधिकारसहित मधेश राज्य बनाउने कुरा थियो । त्यो सफल भएको भए गृहयुद्ध हुन्थ्यो । टीकापुरमा ठुलो दुर्घटना भयो । टीकापुरको घटना हुँदा भारतको एक पत्रिकाले ‘आज से नेपालमे गृहयुद्ध सुरु हो रहा है’ भनेर लेखेको थियो । त्यसलाई मैले रोकेँ ।

 

गृहयुद्ध हुन दिइएन । देशलाई बर्बादीबाट जोगाइयो । त्यसक्रममा प्रहरीले अत्यन्तै संयमित रूपमा काम गरेको थियो । शान्तिपूर्ण ढंगले आउने र प्रदर्शन गर्ने भनेका ठाउँमा, प्रहरीकै हत्या भयो । त्यति हुँदा पनि संयमता अपनाइएको हो ।

 

संविधान जारी गर्न नदिनका लागि भइरहेका षड्यन्त्रबारे बुझेकाले संविधान जारी गरेर मात्रै देशलाई बर्बादीबाट जोगाउन सकिन्छ भन्ने थियो । कुनै समय, हाम्रै पार्टीका धेरै नेताहरू दुई वर्ष होइन, चार वर्षमा संविधान बनाउने भनेर बस्नुभएको थियो । सुशील कोइरालाविरुद्ध अविश्वास प्रस्ताव ल्याएर एमालेको नेतृत्वमा सरकार बनाउने र त्यही सरकारले संविधान जारी गर्ने भन्ने योजना पनि थियो । माओवादी अध्यक्ष प्रचण्ड पनि यसमा सहमत हुनुहुन्थ्यो । मैले मानिनँ । यसरी त कहिल्यै पनि संविधानसभाबाट संविधान नबनाउने योजनामा हामी फस्छौँ भनेर पार्टीलाई सहमत गराएँ । केही कमरेडहरू तयार हुनुभएन । तर, पनि स्थायी कमिटीको बहुमतलाई कन्भिन्स गरेँ । 

 

राजनीतिमा कमजोरी
मेरो चरित्र अलि तुरुन्तै निर्णय गर्ने छ । म पुष्पलालको नेतृत्वमा संगठित भएर त्यहाँबाट राजनीति सुरु गरेको, ०३२ सालमा उहाँसँग विद्रोह गरेर मुक्ति मोर्चा बनाएर अघि बढियो । जेलभित्रै कोअर्डिनेसन केन्द्रको सदस्यता लिएँ । त्यसपछि विभिन्न पार्टीहरू मिलेर राजाको निरंकुशताविरुद्ध संघर्ष गरेर बहुदल ल्यायौँ । यसलाई संस्थागत गर्दै थियौँ । तर, ०५२ सालमा मदन भण्डारी र जीवराम आश्रितको हत्या देशको ठुलो दुर्भाग्य थियो ।

 

म दबिएर बस्ने मानिस होइन । मनमा आएका कुरा भन्छु । सिद्धान्तअनुसार चल्छु । मेरा सबै समकक्षी प्रधानमन्त्री हुनुभयो । पार्टी निर्माणमा मैलेजति भूमिका उहाँहरूले खेल्नुभएको छैन । मैलेजति प्रशिक्षण, पार्टी सदस्यता वितरण, मैलेजति आन्दोलन, उहाँहरूले गर्नुभएको छैन । मैले पनि जिम्मेवारी पाउँदा प्रधानमन्त्रीको भूमिका निर्वाह गर्न सक्छु भनेको थिएँ । त्यही भनेर बिगारेछु । म त त्यस्तो पात्र भएँ, जसलाई घर बना भन्यो घर बनाउँछ, यो गर् भन्यो त्यही गर्छ । मेरो मूल्यांकन त्यसरी नै भएछ । 


मसँग आधारभूत तहको अनुभव छ । पढ्न नजानेकालाई पढ्न लगाएर, लेख्न सिकाएर, नाम लेख्न जानेपछि मात्रै पार्टी सदस्यता दिएको छु । तर, विद्रोह गर्दै जाँदा पार्टीमा नम्बर थोरैथोरै आउने रहेछ ।

 

मैले नेकपाको टुटफुट मिलाउन सकिनँ । तर, त्यसपछि पनि एमालेमै बसिरहनुपर्ने रहेछ । राजीनामा गर्नु नहुनेरहेछ । त्यहीँ बसिरहेको भए केही न केही भूमिका हुने थियो होला । त्यो महसुस भएपछि तीनपटक केपी ओलीसँग भेट भयो । ‘मलाई जिम्मेवारी दिनुस्, नमर्दासम्म काम गर्छु,’ भनेँ । तर, उहाँहरूले निर्णय गर्नुभएन । केही साथीहरूले किन वामदेवलाई ल्याउने, उहाँको आवश्यकता नै छैन भनेर पनि भन्नुभएछ । यति निकृष्ट अभिव्यक्ति दिनुभयो । एकीकृत समाजवादीमा मलाई ल्याउनुपर्छ भनेको सुन्छु । ७० वर्षको उमेरहद पनि उहाँहरूले हटाउनुभएको छ । तर, मैले अहिल्यै कुनै निर्णय गरिसकेको छैन ।

 

प्रस्तुति : अन्वेषण अधिकारी