• वि.सं २०८१ पौष ११ बिहीबार
  • Thursday, 26 December, 2024
२०८१ मङ्सिर ८ शनिबार ०८:१६:००
सम्झना

सन्तुलित दमननाथ

पूर्वसभामुख दमननाथ ढुंगानासँग रटिरटाउ रुटिनभन्दा संसद् जीवन्त बनाउने चेत थियो

२०८१ मङ्सिर ८ शनिबार ०८:१६:००

 

मैले दमननाथ ढुंगानाको नाम नेपाल ल क्याम्पसमा पढ्दा सुनेको हो । कानुन पृष्ठभूमि, त्यो वेला सर्वाेच्च बारको नेतृत्वमा रहेका वरिष्ठ अधिवक्ता दमनजी र ल क्याम्पसमा हामीलाई पढाउने साहित्यकारसमेत रहनुभएका भुवन कोइराला उहाँको श्रीमती भएको नाताले चासो भयो । अध्ययनका क्रममा केही राम्रा वकिलमध्ये दमनजी पनि एकजना हो भन्ने उदाहरण आउँथ्यो ।

 

हामी अखिलमार्फत विद्यार्थी आन्दोलनमा रहेको अवस्थामा ढुंगाना वकालतका साथै कांग्रेसको राजनीतिमा सक्रिय हुनुहुन्छ भन्ने थाहा पाउँदै गइयो । अध्ययन सकिँदासम्म सिनियारिटीको नाताले नमस्कार गर्ने तहको भेटघाट भयो । पछि बाबुराम भट्टराई, पद्मरत्न तुलाधार, मेरा पिता भूषण खतिवडा (मानव अधिकार संरक्षण मञ्चको संस्थापक अध्यक्ष) र दमननाथ ढुंगाना मिलेर मानव अधिकारवादी आन्दोलनमा सक्रिय हुँदा नजिकबाट चिन्न पाएँ । उहाँ मलाई ‘विरोध बाबु’ भन्नुहुन्थ्यो ।

 

कानुनको अध्ययन सकेर म जिल्ला फर्किएँ । मकवानपुरबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएर आएँ । उहाँ पनि काठमाडौं २ बाट निर्वाचित भएर आउनुभयो । सभामुख बन्नुभयो । संसद्बाहिरै कानुन पृष्ठभूमिबाट भएको चिनजान संसद्भित्र पनि काम लाग्यो । २०५ सांसदमध्ये उहाँले चिन्ने १०–२० जनाभित्रै परेँ । यसैकारण संसद्भित्रको समय र अवसर पनि बढी पाउँथेँ । सदनमा सभामुखको कार्यकक्षमा जाने, चियागफ गर्ने, अझै बुझ्ने क्रम चलिरह्यो ।

दमननाथले कांग्रेस–कम्युनिस्ट द्वन्द्वको समयमा सदनलाई सन्तुलित ढंगले अगाडि बढाएर एउटा मानक स्थापित गर्नुभयो । उहाँको योगदान संसदीय इतिहासमा बिर्सन सकिँदैन । सुरुवाती कालमा संसदीय व्यवस्थालाई ठिक ट्र्याकमा लैजान उहाँले गरेको योगदानको स्मरणमा संसद्ले वर्षको कुनै दिन केही कार्यक्रम गरेर मनाउनुपर्छ ।

मानव अधिकारवादी संघसंस्थामा जोडिएको र कानुनको समेत जानकार भएकाले दमननाथ ढुंगानाजीको व्यवहारमै परिपक्व लोकतान्त्रिक संस्कार, मूल्य–मान्यता प्रतीत हुन्थ्यो । सबै पार्टीले अवसर पाउनुपर्छ, कसैप्रति आग्रह–पूर्वाग्रही हुनुहुँदैन, द्वेष वा घृणा कसैप्रति गर्नुहुन्न, आ–आफ्नो राजनीति गर्ने हो भन्ने भावना उहाँको आचरण र व्यवहारमा देखिन्थ्यो । उहाँको व्यवहारले ०४८ देखि ०५१ सम्मको संसदीय अभ्यासलाई उन्नत बनाउन मद्दत ग¥यो ।

 

कांग्रेस–कम्युनिस्ट टकराव
पञ्चायतबाट बहुदलमा आउँदा राजनीतिमा तीनवटा शक्ति थिए, कांग्रेस, कम्युनिस्ट र दरबार । तीनै शक्तिबिच एक–अर्कामा अविश्वास र अस्वस्थ प्रतिस्पर्धी भावना थियो । कांग्रेसले कम्युनिस्ट देख्नै नसक्ने, कम्युनिस्टले कांग्रेस नरुचाउने र दुवैलाई जुधाएर आफ्नो गुमेको शक्ति फर्काउने दरबारको ध्याउन्न । द्वन्द्व र झगडाको यो प्रतिकूल परिवेशमा पहिलो जननिर्वाचित सभामुख बनेका दमननाथ ढुंगानासामु सदनलाई उदाहरणीय नजिरसहित असल अभ्यासतर्फ डो¥याउनुपर्ने चुनौती थियो । कम्युनिस्टप्रति अनुदार कांग्रेसको नेतृत्व (गिरिजाप्रसाद कोइराला) थियो । प्रदीप गिरि, दमननाथ ढुंगानालगायत सफ्टलाइनर भए पनि पार्टीका नेतृत्वदायी भूमिकामा थिएन । त्यो वेला कांग्रेस–कम्युनिस्टको सडकमा जे द्वन्द्व थियो, सदनमा त्यही नै प्रतिबिम्बित हुन्थ्यो । 

 

बहस प्राथमिकतामा
कांग्रेस र कम्युनिस्टका सांसदबिच हार्दिकतापूर्ण सम्बन्ध विकसित भइसकेको थिएन । हामी कम्युनिस्टहरूमा अझ थिएन । कांग्रेसका सांसदसँग सँगै नहिँड्ने, क्यान्टिनमा सामूहिक नबस्ने, चौरमा अलग्गै बस्ने खालको पानी बाराबारको द्वन्द्व थियो । सदनभित्रको बहसमा पनि एकले अर्काेलाई जित्नैपर्ने, प्रतिक्रियात्मक हुने, वाद–प्रतिवादमा उत्रिने अवस्था थियो । यो स्थितिलाई दमननाथजीले सभामुखको कुर्सीबाट धैर्यतापूर्वक सम्हाल्नुभयो । सदनको वादविवाद र बहस लामो समय चल्न दिने र त्यसपछि अझै कति समय चाहिन्छ भनेर बहसलाई प्रोत्साहन गर्ने ढुंगानाको स्वभाव थियो । जोरजबर्जस्ती गरेर कुनै पनि विषयलाई रोक्न नखोज्ने सकारात्मक पक्ष थियो । 

 

दमननाथजी सभामुख हुँदा कर्मचारी र शिक्षकको आन्दोलनमा कांग्रेस–कम्युनिस्टबिच सदनमा कडा द्वन्द्व भयो । सत्तारुढ कांग्रेसले पेल्न खोजेपछि कर्मचारी, शिक्षक, मजदुरको पक्षमा हामी कम्युनिस्टहरू बोल्नुपर्ने हुन्थ्यो । कहिले तँतँ–मम, कहिले हात हालाहाल, कहिले कुर्सी उचाल्ने, कहिले माइक थुताथुत हुन्थ्यो । तर, उहाँ सभामुखको कुर्सीमा धैर्यतापूर्वक बसेर सहजीकरण गर्नुहुन्थ्यो । माहोल हेरेर कांग्रेसलाई नै घुमाउरो भाषामा गाली गरेर हुन्छ कि वा अन्य कौशल देखाएर स्थिति शान्त पार्नुहुन्थ्यो ।

 

प्रदीप गिरिको भूमिका
कांग्रेसभित्र दमननाथ ढुंगाना र प्रदीप गिरि कम्युनिस्टप्रति सफ्टलाइनर हुनुहुन्थ्यो । एकपटक शेरबहादुर देउवा प्रधानमन्त्री भएका वेला पाटनमा कौसीमा बसेको बच्चालाई गोली लागेको विषयमा संसद्मा गर्मागर्मी भयो । हामी विपक्षीले यो विषय चर्कैसँग उठायौँ । कांग्रेसका माननीयले प्रतिवाद गरिरहेका थिए । सदनभित्र द्वन्द्व चर्किँदै गर्दा प्रदीप गिरिले हात उठाएर समय माग्दै माहोल साम्य पार्नुभयो । कांग्रेसको आलोचना गरेर बोल्न सुरु गरेका गिरिले ‘तपार्इंहरू शेरबहादुरको विरुद्धमा यसरी किन लागिरहनुभएको छ, लाग्न जरुरी नै छैन, यो बुद्धि भएको मान्छे नै होइन’ भनेर वनारसमा बिपीलाई भेट्न गएको प्रसंग सुनाउनुभयो । शेरबहादुर, आफू र अर्काे एकजना आन्दोलनको विषयमा सल्लाह गर्न वनारस जाँदा बिपीले अपरिपक्व र अल्लारे भनेको सुनाउँदै यस्ताको पछि लागेर हुन्छ, यसरी जाँदा भइहाल्यो नि भनेर यो विषय साम्य भयो । सभामुख ढुंगानाले विवाद साम्य पार्ने विषयलाई महŒव दिनुहुन्थ्यो । 

 

विषयको गाम्भीर्य छुट्याउने खुबी
उहाँ मुद्दा हेरेर अघोषित रूपमा प्रोत्साहन गर्नुहुन्थ्यो । सरकारले गलत गरेको छ र विपक्षीले ठिकै उठाएको छ, नियन्त्रण हुनुपर्छ भन्ने लागेमा उहाँले आफैँ सांसदलाई झकझक्याउनुहुन्थ्यो । सरकारले गर्न नहुने सन्धि–सम्झौता, असान्दर्भिक कानुनलगायत काम गर्न खोजेमा सक्रिय हुनुहुन्थ्यो । राष्ट्रिय–अन्तर्राष्ट्रिय गम्भीर विषय उठ्दा त्यत्तिकै सेलाउन नदिन ‘अँ माननीय तपाईंको केही भन्नु छ कि’ भनेर अपोजिट सांसदलाई माग्दै नमाग्दा पनि बोल्न समय दिनुहुन्थ्यो । विपक्षीले उठाएका मुद्दामा सत्ता पक्षलाई केही छ भनेर बहसको वातावरण बनाइदिनुहुन्थ्यो । ताकि, त्यसले जीवन्त छलफल भएर सरकारलाई दबाब पुगोस् भन्ने थियो । समयको सीमा विषयको गाम्भीर्यका आधारमा सभामुखले तय गर्छ भन्ने अभ्यास स्थापित गर्नुभयो । 

 

मदन भण्डारीलाई पर्खिंदा...
सभामुख ढुंगाना नेता, विषय र समयको महŒव बुझ्नुहुन्थ्यो । एकपटक शून्य समयमा बोल्न प्रतिपक्षी दलका नेता मदन भण्डारीले नाम टिपाउनुभयो । उहाँको क्रम संख्याअनुसार पालो आयो । सभामुख ढुंगानाले ‘माननीय मदन भण्डारी’ भनेर बोलाउनुभयो । तर, उहाँ आफ्नो सिटमा हुनुहुन्थेन । त्यो वेला मदन भण्डारीले के बोल्ने होला भनेर सभामुख स्वयंलाई जिज्ञासा थियो, सदनलाई पनि थियो । संसद्को अभ्यास तीनपटक नाम बोलाउने र त्यतिन्जेल उपस्थित भएन भने अर्काे माननीयको पालोमा जान्थ्यो । मदन भण्डारी विपक्षी रोहको अग्रपंक्तिमा बस्नुहुन्थ्यो । सिटमा नदेखेपछि सभामुख ढुंगानाले दुई–तीन मिनेट कुर्नुभयो । चुप लागेर बस्नुभयो । चार मिनेटपछि फेरि ‘माननीय मदन भण्डारी’ भन्नुभयो । त्यतिवेला पनि आइसक्नुभएको थिएन । त्यहीबिचमा पार्टीका माननीय उहाँ खोज्न दौडिए । सभामुखलाई पनि खोजेर उपस्थित गराउलान् भन्ने आस हुने भयो । त्यसपछि ८, ९, १० मिनेट गयो । दमननाथजी त्यत्तिकै बसेकोबस्यै, तेस्रोपटक नामै नलिने । जब मदन भण्डारी गेटबाट पसेर आफ्नो कुर्सीतिर जान थाल्नुभयो, तेस्रोपटक माननीय मदन भण्डारी भनेर समय दिनुभयो । मतलब विषय, महŒव र व्यक्तित्वलाई प्राथमिकता दिनुहुन्थ्यो । मदन भण्डारीले के बोल्छ, यो नेपाली नागरिकले जान्न पाउनुपर्छ भन्ने चेत थियो । उहाँसँग रटिरटाउ रुटिनभन्दा संसद् जीवन्त बनाउने चेत थियो । सबैलाई सन्तुलित ढंगले लैजान प्रयत्न गर्नुहुन्थ्यो । विषय र मुद्दाको गाम्भीर्य छुट्याउन सक्नुहुन्थ्यो । 

 

संसद्भित्रको पेन्टिङ हट्यो
संसद्भित्र अवस्था यस्तो थियो कि हरेक दिन नयाँ–नयाँ मुद्दा प्रवेश हुन्थ्यो । सभामुख ढुंगानाले प्राथमिकता दिनुहुन्थ्यो । संसद् भवनभित्र सिकारीले बाघको सिकार गरेको, हात्तीमा बसेर बन्दुक ताकेको, बाघको छाला सुकाएकोजस्ता पेन्टिङ थिए । यसबारे घन्टौँ बहस भयो । अन्तिममा जनावरलाई यस्तो हिंसा गरेको कुरो संसद् भवनमा राख्नुहुन्न, अन्तर्राष्ट्रिय बेइज्जतको कुरा हुन्छ भनेर हटाउने काम भयो । यस्ता विषय संसद्को नियमित कार्यसूचीमा आउने होइनन् । तर, सभामुख ढुंगानाले बहस गराइदिनुहुन्थ्यो । 

 

टनकपुर सन्धि सदनमा
प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला भारत भ्रमणमा गएर टनकपुर सन्धि गर्नुभयो । यो विषय हामीले सदनमा प्रवेश गरायौँ । सभामुख ढुंगानाले पर्याप्त स्थान दिनुभयो । सदनमा सरकारले नटेरेपछि सडक आन्दोलनमा पनि गयौँ । तर, सन्धिबारे सरकार बोल्दै बोलेन । धेरै समयपछि समझदारी गरेर आएको हो भन्यो । हामीले सन्धि सम्झौता नै हो भन्यौँ । सदनभित्र द्वन्द्व चर्किंदै थियो । सर्वाेच्चमा पनि मुद्दा प¥यो । अदालतले सन्धि सदनबाट पारित गर्नुपर्ने फैसला ग¥यो । हामीले राष्ट्रहितमा नरहेको भन्दै अस्वीकृत गर्नुपर्ने आवाज सदनमा बुलन्द ग¥यौँ । संसद् मतदानको प्रक्रियामा अगाडि बढ्यो । टनकपुर सन्धिको द्वन्द्व बढेर हाम्रो पार्टी विभाजन तहसम्म पुग्यो । सिपी मैनाली र वामदेव गौतमहरूले पार्टी विभाजन गर्नुभयो । मतदानमा पनि हाम्रो पार्टीमा धाँधली भयो । आठ घण्टाअगाडिको बैठकमा बहुमतले सन्धि इन्कार गर्ने कुरो भएको थियो । अल्पमतमा पर्नेले एक छिनपछि के–के घुमाएर फेरि बैठक राख्न लगाएर, मनमोहनजीलाई बिरामी बनाएर अस्पतालमा राख्न लगाएर वैकल्पिक सदस्य (अहिलेका सभामुख देवराज घिमिरे)लाई भोटर बनाएर केपी ओलीको जोडबलमा निर्णय उल्टियो । धाँधली गरेर सन्धिको पक्षमा मतदान गरियो । सभामुख ढुंगानाले यो विषय सदनमा प्रशस्त भेन्टिलेटर हुन दिनुभयो र अघोषित ढंगबाट यो संसद्बाट स्वीकृत वा अस्वीकृतको निर्णय हुनुपर्छ भन्ने स्थितिमा पु¥याउनुभयो । सन्धि भएपछि संसद्बाट पारित हुनुपर्छ, समझदारी हुँदा पर्दैन भन्ने थियो । गिरिजाबाबुले संसद् छल्नलाई सन्धि सम्झौता नभनेर समझदारी भन्नुभयो । त्यो स्थितिमा टनकपुरलाई भेन्टिलेट हुन दिएर यसरी सरकारले संसद्लाई छल्न, लुकाउन पाउँदैन भन्ने ढंगबाट सभामुख ढुंगानाले भूमिका खेल्नुभयो ।

मानव अधिकारवादी संघसंस्थामा जोडिएको र कानुनको समेत जानकार भएकाले दमननाथ ढुंगानाजीको व्यवहारमै परिपक्व लोकतान्त्रिक संस्कार, मूल्य–मान्यता प्रतीत हुन्थ्यो । सबै पार्टीले अवसर पाउनुपर्छ, कसैप्रति आग्रही–पूर्वाग्रही हुनुहुँदैन, द्वेष वा घृणा कसैप्रति गर्नुहुन्न, आ–आफ्नो राजनीति गर्ने हो भन्ने भावना उहाँको आचरण र व्यवहारमा देखिन्थ्यो । उहाँको व्यवहारले ०४८ देखि ०५१ सम्मको संसदीय अभ्यासलाई उन्नत बनाउन मद्दत ग¥यो ।

 

आफ्नै पार्टीबाट निसानामा
ढुंगाना कांग्रेसबाट सभामुख हुनुभएको थियो । कांग्रेसकै सरकार थियो । सदनमा पनि बहुमत कांग्रेसकै थियो । तर, उहाँले सदनमा अल्पमतमा रहेको विपक्षीले उठाएका मुद्दालाई महŒव दिनुभयो । सरकारका गलत कदमलाई सदनबाट असहयोगजस्तो भयो । सदनमै कांग्रेसका माननीयले प्रतिपक्षीलाई महŒव दियो, हामीलाई दिएन, यो एमाले भइसक्यो, कम्युनिस्ट भइसक्यो भन्ने ढंगबाट प्रश्न उठाउनुहुन्थ्यो । मिडियामा ‘दमनप्रति गिरिजाबाबु असन्तुष्ट’ भन्ने खबर छापिन्थ्यो । एकपटक उहाँको कार्यकक्षमा गफ हुँदा ‘कांग्रेसले गाली गरिरहेको छ, कसरी व्यवस्थापन गर्नुहुन्छ’ भनेर सोध्दा ‘कसले के भन्यो भन्ने कुरामा मलाई मतलब भएन, संसद्लाई सबै विषयमा भेन्टिलेट हुन दिइएन भने त्यो कुरा सडकमा जान्छ, सडक जाने भनेको आन्दोलन हुने हो । आन्दोलन भनेको मुठभेड हो । मुठभेड भनेको क्याजेल्टी अथवा तोडफोड अथवा मान्छेको जीवन–मरण हुने हो, त्यसले गर्दा हरेक समस्या संसद्बाटै समाधान गर्नुपर्छ र गर्न सकिन्छ’ भन्ने उहाँमा भित्रैदेखि दृढ विश्वास थियो । यो बुझेरै उहाँ योजनाबद्ध रूपमा लोकतन्त्रको दीर्घकालीन हित हुने गरी नेतृत्वदायी भूमिकामा अघि बढ्नुभयो । 

 

गिरिजाबाबुसँग टकराव
गिरिजाबाबु जिद्दी, एकोहोरो स्वभावको हुनुहुन्थ्यो । उहाँ कम्युनिस्टलाई भन्नुहुन्थ्यो, ‘भैँसी बाँड्छु, चार तोला सुन बाँड्छु भनेर जनतालाई झुक्याएर कम्युनिस्टहरू आए, अब चुनाव भयो भने यिनीहरू नामेट हुन्छन्, विश्वबाटै सिद्धिसकेको छ, यी संगत गर्न लायक छैनन्, कसले पत्याउँछ ।’ अर्काे ‘चुनावबाट कांग्रेसलाई बहुमत दिइसक्यो । पाँच वर्ष हामीले मन लागेको गर्छाैं, चुनाव आउँछ मुद्दा उठाऊ । पत्याए दिन्छन्, अनि अगाडि जाऊ । बिचमा मलाई काममा डिस्टर्ब गर्न पाइँदैन’ भन्ने । 

 

हामी ‘राष्ट्रिय अहितका मुद्दाहरू पाँच वर्ष कुरेर हुँदैन, अहिले नै बिग्रिसकेपछि त बिग्रियो नि’ भन्थ्यौँ । यो मामिलामा अधिकांश मुद्दा (पछि हामीले उठाएकै सही भयो)मा सरकारले नचाहँदा सदनमा विषय प्रवेश गराउने काम दमनजीले गर्नुभयो । उहाँलाई जायज लागेको, विपक्षीले उठाएको विषयमा मलजल गर्नुहुन्थ्यो । विवेक प्रयोग गर्नुहुन्थ्यो । त्यो कारणले सुरुदेखि नै गिरिजाबाबुसँग उहाँको द्वन्द्व रह्यो । द्वन्द्वकै कारण ढुंगाना कांग्रेसको राजनीतिबाट किनारामा पर्नुभएको पनि चर्चामा आएको थियो । 

 

दरबारियाको आरोप 
दमननाथ ढुंगानामाथि दरबारियाको आरोप पनि लाग्थ्यो । कांग्रेसले भनेको हिसाबले नहिँडेको हुनाले कांग्रेस पक्षले ‘यो दरबारिया हो’ भनेर लगाएको आरोप हो । दरबार भर्खर पराजित भएको, उसले ठाउँ खोजिरहेको छ, यस (ढुंगाना)लाई प्रयोग गरिरहेको छ, कम्युनिस्टलाई उचालिरहेको छ, सबै कांग्रेसलाई तह लगाउने ग्य्रान्ड डिजाइन हो भन्ने कांग्रेसका साथीहरूको बुझाइ थियो । तर, यसमा कुनै सत्यता थिएन । बरु दरबारका लोकतन्त्रविरोधी गतिविधिविरुद्ध ढुंगानाले सभामुखको आसनबाट सदनमा प्रशस्त बहस गराउनुहुन्थ्यो । यसमा दरबारबाट बरु दबाब आउँथ्यो । पछि माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन सरकारी पक्षका तर्फबाट पद्मरत्न तुलाधरसँगै वार्ता समितिमा बसेर सजीकरण गरेको भूमिकाले बेकारको आरोप हो भन्ने स्पष्ट नै भइसकेको थियो ।

 

सरकार सत्तापक्षको, सदन प्रतिपक्षको
सदनमा सत्तापक्षबाटै आफूमाथि पटक–पटक असहयोगको आक्षेप र पार्टीभित्र पनि आफ्नो भूमिकाको आलोचना हुन थालेपछि सभामुख ढुंगानाले सदनमा ‘सरकार सत्तापक्षको, संसद् प्रतिपक्षको’ भन्ने चर्चित शब्द प्रयोग गर्नुभयो । किनभने, प्रतिपक्षलाई बोल्ने ठाउँ हुँदैन । सरकार आफ्नै पार्टीको भएपछि सत्तापक्षका माननीयको पहुँच प्रतिपक्षभन्दा सजिलै हुन्छ, आफ्नो विषय सम्बोधन गराउन सक्छन् । सरकारमा रहेको पार्टीले सदनमा माग्ने, कराउनेभन्दा पनि गर्ने हो, यदि जरुरी छ भने सदनमा भएन भन्ने होइन, गर्ने हो । त्यसकारण सत्तापक्षले सदनमा धेरै बोल्ने होइन । प्रतिपक्षीले बढी यो अवसर पाउनुपर्छ भनेर सरकार सत्तापक्षको, सदन प्रतिपक्षको भन्ने एउटा गहन अर्थ राख्ने कोसेढुंगा उहाँले स्थापित गर्नुभयो । तर, यसको निरन्तरता भइरहेको देखिँदैन । प्रतिपक्षको आवाज उठाउने ठाउँ सदनबाहेक अरू हुँदैन, संसद्मा ठाउँ दिनुपर्छ, दिइएन, छेक्यो भने सडकमा पुग्छ, सडकमा जे पनि हुन सक्छ भन्ने ढंगबाट उहाँ प्रस्तुत भएपछि समाजका विभिन्न क्षेत्र उहाँको पक्षमा उभिए । उहाँमाथि पार्टीबाट लाग्ने आक्षेप मत्थर भयो । 

 

त्यसवेला म सदनमा पटक–पटक जबर्जस्ती समय माग्थेँ । मलाई समय नदिने, अर्काेलाई दिने, पक्षपात गर्दै हुनुहुन्छ भनेँ । मैले समय माग्दा अर्काेले खण्डन ग¥यो, फेरि मैले खण्डन गरेँ, फेरि प्रतिवाद भयो । प्रतिवादको सिलसिला चलिरहँदा अति भयो भनेर उहाँले त्यसलाई मिलाएर सदनको वातावरण सहज बनाउन र हामीजस्ता जबर्जस्ती गर्ने माननीयलाई गलाउने गरी उहाँले एउटा शब्द बोल्नुभयो, ‘तपाईंको काम विरोध गर्ने हो विरोध गरिरहनुस् । मेरो नाम दमन हो, म दमन गरिरहन्छु ।’ एक्कासि माहोल नै रमाइलो भयो । नाम मिल्न जानु, उहाँ सभामुख हुनु, म माननीय हुनु, फेरि मैले कचकच गरिरहने, यो सबै संयोग मिल्दा सबैका लागि यो रोचक प्रसंग भयो ।

 

समिति खुला गर्न अनुमति
ढुंगानाले सभामुख हुँदा संसदीय समिति खुला गर्न पहल गर्नुभएको थियो । आर्थिक पक्षसँग गाँसिएका काण्ड लेखा समितिले हेथ्र्याे । सञ्चारकर्मीलाई प्रवेश थिएन । झ्यालबाट चिहाउनुपर्ने अवस्था थियो । म, हृदयेश त्रिपाठी, दीप उपाध्यायलगायतले सल्लाह गरेर ‘यसरी हुँदैन, सदन खुला छ भने सदनकै अंग समिति पनि खुला हुनुपर्छ’ भनेर दमनजीकहाँ गयौँ । सभामुखको रूपमा उहाँले मिडियालाई प्रवेश दिनुपर्छ भनेर लेखा समितिलाई अनुमति दिनुभयो । त्यसपछि अरू समिति पनि खुला गर्ने अभ्यास हुन थाल्यो । सुरुवातमा उहाँले ‘यसमा गोपनीयता केही पनि हुनुहुन्न, किन गोप्य राख्नुप¥यो, कसको दृष्टिकोण के छ, नागरिकले थाहा पाउनुपर्छ, पारदर्शी हुनुपर्छ’ भन्ने मान्यतासहित अनुमति दिनुभएको थियो ।

 

उहाँले पहिलो संसद्बाट गलत नजिर स्थापित हुन दिनुभएन । अहिलेका कतिपय सभामुखजस्तो सीधै पार्टीको पक्षमा देखिने, मुद्दा÷विषयमा ध्यान नदिने, राष्ट्रहितमा छ–छैन मतलब नगर्ने, देशको लागि बहसयोग्य छ कि छैन नहेरी पार्टीले के लाइन दिन्छ, त्यहीअनुसार अडिग भएर बसिराख्ने, सदन टारिदिने उहाँले गर्नुभएन । कांग्रेस र कम्युनिस्टको द्वन्द्वको समयमा सदनलाई सन्तुलित ढंगले अगाडि बढाएर एउटा मानक स्थापित गर्नुभयो । उहाँको योगदान संसदीय इतिहासमा बिर्सन सकिँदैन । सुरुवाती कालमा संसदीय व्यवस्थालाई ठिक ट्र्याकमा लैजान उहाँले गरेको योगदानको स्मरणमा संसद्ले वर्षको कुनै दिन केही कार्यक्रम गरेर मनाउनुपर्छ ।

 

प्रस्तुति : कमलराज भट्ट