अमेरिकी जीवन निकै व्याकुल छ । हामी कता जाँदै छौँ ? स्थिति कति खराब होला ? आखिर हामी हौँ को ? विशेष रूपले डरलाग्दो त के भने सबै भयातुर छन् । जसका उम्मेदवार भर्खरै विजयी भएका छन् तीसमेत आप्रवासी र आफ्नो भविष्यसँग मात्र होइन, बाँकी हामीबाट पनि डराएका छन् । चुनावअघिको एउटा स्तम्भमा मैले मेरो गल्लीमा टाँगिएको एउटा तुलको वर्णन गरेको थिएँ, जसमा लेखिएको छ,‘डेमोक्र्याटहरू कम्युनिस्ट र आतंककारी हुन् । के तपाईं पनि कम्युनिस्ट/आतंककारी हो ?’
निर्वाचन सकिएको छ, तर त्यो तुल अझै त्यहीँ छ । त्यस्तै केही परको अर्काे तुलमा ट्रम्पले एआर–१५ राइफल चलाएको छविचित्र छ । सम्पन्न साना सहरका गल्लीमा टाँगिएका यी पोस्टरहरूले हाम्रो देशमा डरले कुन हदसम्म कब्जा जमाएको छ भन्ने कुरा उजागर गर्छन् ।
भयाक्रान्त समयमा मानिस आफूलाई आशावादी वा निराशावादीका रूपमा लिन्छन् । निराशावादी हुनु सहज हुन सक्छ । निराशावादी हुनुहुन्छ भने तपाईंलाई भविष्यबारेका कुनै पनि कुराले आश्चर्यचकित पार्न सक्दैन । किनकि तपाईंलाई यो खराब हुँदै छ भन्ने पहिले नै थाहा हुन्छ । तर, निराशावादको समस्या के भने यसले परिसीमित गरिदिन्छ र सुखद भविष्यको कल्पना गर्नै कठिन बनाइदिन्छ ।
आशावादीहरूले कहिलेकाहीँ भविष्यको तस्बिर परिकल्पना गर्न सक्छन् जस्तो कि हालैको ब्लग पोस्टमा अर्थशास्त्री एलेक्स तबारोक ‘ट्रम्प प्रेसिडेन्सीको बेस्ट–केस सिनारियो (उत्तम परिदृश्य)’को रूपरेखा प्रस्तुत गर्छन् । तबारोक ट्रम्पले यी काम गर्ने भविष्यवाणी गरिरहेका छैनन्, अन्य चिजको सट्टामा यी काम गरे भने त्यो नै राम्रो हुनेछ मात्र भनिरहेका छन् । आशावादका तह छन्– आशावादी दृष्टिकोण राख्नु एउटा कुरा हो भने ती साकार हुन्छन् भनी विश्वासै गर्नु अर्काे कुरा । ‘विश्वासी आशावादी’ हुनुको समस्या के हुन्छ भने तपाईं राम्रो र नराम्रोको हिसाब–किताबमा एकदमै चयनात्मक हुन सक्नुहुन्छ । यदि स्थिति विकराल छ भने आशावादितामा विश्वास गर्नु एकप्रकारको अस्वीकारोक्तिजस्तो हुन जान्छ ।
यो विन्दुमा अमेरिकी राजनीतिप्रति आशावादी दृष्टिकोण राख्नुको अर्थ के हुन्छ होला ? त्यो आशावादिता कुन कुरामा आधारित हुनेछ ? समग्र तस्बिर अँध्यारो रहेकोमा हामी सहमत रहँदै उज्याला पक्ष औँल्याउन सक्छौँ । रिपब्लिकन पार्टी मखलेल छ, डेमोक्र्याटहरू मूलतः स्तब्ध छन् । सर्वाेच्च अदालत सम्झौतापरस्त र भ्रष्ट छ; आधारभूत सुधारको छाँट छैन भने ट्रम्पले वृद्ध हुँदै गएका न्यायाधीशहरूलाई प्रतिस्थापन गर्ने कुरा असम्भव देखिन्छ । मिडियाप्रति व्यापक अविश्वास छ र हामी चाँडै ‘अल्टरनेटिभ फ्याक्ट्स (भ्रामक तथ्य)’को संसारमा थप डुब्नेछौँ । जनवरी–६ का विद्रोहीहरूले सम्भवतः क्षमा पाउनेछन् र तिनलाई हाम्रा सन्ततिले प्रशंसा गर्ने गरी देशभक्तको रूपमा स्थापित गरिनेछ । स्वतीव्रता हासिल गरिरहेका खराब राजनीतिक प्रवृत्तिलाई प्रविधिगत विकासले थप चर्काइरहेको छ भने सम्पूर्ण पृथ्वी जलवायु संकटतर्फ दौडिरहेको छ जसले सम्पूर्ण मानवतालाई खतरामा पार्नेछ ।
मलाई यकिन छ– तपाईंसँग यो सूचीमा थप्न तपाईंका आफ्नै कुरा छन् । राम्रा दिनमा, म थोरै आशावादी हुन सक्छु । खराब दिनमा म विपत्तिको पूर्वाभासको भावना महसुस गर्छु जसलाई म हटाउन सक्दिनँ । राजनीतिबाहेक पनि जीवनका अन्य थुप्रै पक्ष छन् भन्ने कुराबारे म सचेत छु । तर, म हाम्रो राजनीतिक भविष्यसँग सम्बन्धित त्यस्तो कुरा पाउन सकिरहेको छैन, जुन घोर निराशावादी वा साकार हुन असम्भव हिसाबले आशावादी नभएको होस् ।
आशावादीले चारैतिर हेर्छ र सम्भावित त्राण वा प्रगतिका केही संकेत खोज्छ र सुखद मोड लिन्छ भन्ने निष्कर्षमा पुग्छ । तर, निख्लो उम्मिद/अपेक्षा एकदमै अनौठो हुन्छ र एक हिसाबले अतिशयोक्तिपूर्ण हुन्छ ।
‘द स्पिरिट अफ होप’ नामक नयाँ पुस्तकमा दार्शनिक बायुङ–हुल हान ‘आशा र आशावादिता’ बिच भेद कोर्छन् । ‘आशामुखी सोच आशावादी सोच होइन,’ हान जोड दिँदै लेख्छन् । आशावादले ‘न आशंका जान्दछ, न हताशा नै । यसको सार केवल सकारात्मकता हुन्छ ।’ आशावादीले चारैतिर हेर्छ र सम्भावित त्राण वा प्रगतिका केही संकेत खोज्छ र चिजले सुखद मोड लिनेछ भन्ने निष्कर्षमा पुग्छ । तर, निख्लो उम्मिद÷अपेक्षा एकदमै अनौठो हुन्छ र एक हिसाबले अतिशयोक्तिपूर्ण हुन्छ । हान लेख्छन्, ‘यो पूर्ण निराशाको नकारात्मकतामा उत्पन्न हुन्छ र असम्भव लाग्ने समयमा सान्दर्भिक हुन्छ ।’ जब आशा गर्नका लागि कुनै कुरा बाँकी रहँदैन तब विरोधाभाषी रूपले प्रकट हुन्छ यो । यही मरूस्थलले अंकुरित हुने अवसर दिन्छ यसलाई ।
हान, जो दक्षिण कोरियामा जन्मिए, जर्मनीमा बस्छन् र ‘द बर्नआउट सोसाइटी’जस्ता पुस्तकका कारण उपभोक्तावादी ‘अनलाइन जीवन’को प्रखर आलोचकका रूपमा चिनिन्छन् । उनी हामी आशावादी हुन अभ्यस्त छैनौँ भन्नेमा विश्वस्त छन् । ‘हामी अक्सर उदासीमा होइन कि उपभोगको मुसे दौडमा बाँचिरहेका हुन्छौँ । तसर्थ, हामी आशावादितामाथि भरोसा गर्दैनौँ,’ उनी लेख्छन्, ‘उपभोक्तासँग कुनै आशा नै हुँदैन । उनीहरूसँग हुने भनेको चाहना वा आवश्यकता मात्र हुन् ।’ हामी क्रिसमसको उपहारको चाहना राख्छौँ अथवा ठुलो घरको वा नयाँ ल्यापटपको वा बाहिर डिनर जान चाहन्छौँ । हामी ‘आवश्यकता र तिनको सन्तुष्टि पूर्तिको गोलचक्करमा फस्छौँ । हामी आशा गर्दा सहजै प्राप्त गर्न सकिने कुरा गर्दैनौँ । हान तर्क गर्छन्– आशावादीहरूका लागि ‘समयको प्रकृति नै बितेर जान्छ भन्ने हो... कुनै कुरा हुनु होइन ।’ छक्क पर्नुपर्दा हामी आशामा भर पर्छौँ । आशावादी हुनुपर्ने कुनै कुरा नदेखेपछि आशा गर्न थाल्छौँ कि केही नयाँ कुरा आउनेछ भनेर, संसारलाई सुखद मार्गमा धकेल्ने शक्ति अवतरणको ।
चेक गणतन्त्रको राष्ट्रपति बन्नुअघि प्रजातान्त्रिक विचारधाराका कारण जेलनेल झेलेका साहसी लेखक, विद्रोही र राजनीतिक नेता भाक्लाभ हावेललाई हान उद्धृत गर्छन्, ‘आशा गर्नु भविष्यवाणी गर्नु होइन । यो संसारको कुनै विशेष अवलोकन वा परिस्थितिको आकलनमा निर्भर हुन्छ भन्ने पनि छैन । यो त ‘आत्माको अभिमुखीकरण’ हो, जुन ‘तत्काल अनुभव हुने जगत्लाई नाघेर पर पुग्छ र यसको क्षितिजभन्दा बाहिर कतै यसको अंकुश घुसिएको हुन्छ ।’ आशामा दूरीको भावना समावेश हुन्छ अर्थात् यो साकार नभएका सम्भावनाको भावना हो, जससित तपाईं कुनै न कुनै रूपमा जोडिएको महसुस गर्नुहुन्छ । जेल ‘विशेष रूपले निराशाजनक’ स्थान हो भन्छन् हावेल । यस्तै, निराशाजनक वा आशाहीन स्थानमा छ नै हो आशाको अमूर्त, अज्ञात अनि पारलौकिक प्रकृति सबैभन्दा बढी दृष्टिगत हुने ।
जब तपाईं कतै हलचल गर्न नसक्ने अवस्थामा पुग्नुहुन्छ, तब केही कुरा कहीँ कतै गतिमान छ भन्ने भावना समाविष्ट गरेर आउँछ आशा । फ्रान्क काफ्काको एक दृष्टान्त पेस गर्छन् हान, ‘कल्पना गर्नुस्, तपाईं साम्राज्यको केन्द्रबाट असीम दूरीमा अवस्थित कुनै प्रान्तीय गाउँमा बस्नुहुन्छ । तपाईंले कहिल्यै नभेटेको वा नदेखेको ईश्वरसमान तपाईंका सम्राट्ले कुनै अज्ञेय कारणवश तपाईंकै लागि भनेर मृत्युशड्ढयाबाट एउटा विशेष र गोप्य सन्देश पठाएका छन्, सन्देश वाहकमार्फत । त्यो हुलाकी बलियो छ र सम्राट्लाई घेरेर बसेको भिड पन्छाउँदै ऊ आफ्नो बाटो समात्छ । उसले ती भिडहरू पार ग¥यो नै भने पनि, अझै त्यस महलका भिडाम्भिड सिँढीहरू त्यसपछि भिडाम्मे दरबारहरू, त्यसपछि ‘बाहिरी महलहरू’, शाही राजधानीका हिलाम्मे सडकहरू र त्यहाँदेखि तपाईंसम्मको बाटो तय गर्नुपर्छ । संक्षेपमा भन्दा, खबरीले त्यो सन्देश तपाईंसम्म कहिल्यै पु¥याउनेछैन । तसर्थ, दिन ढलेपछि तपाईं आफ्नो झ्यालमा बस्नुहुन्छ र यसको सपना देख्न थाल्नुहुन्छ ।’
यसले आशालाई अलि निष्क्रिय, थोरै निस्याइलो देखाउन सक्छ । तर, हानलाई यो पूरै सही होइन भन्ने लाग्छ । उनी लेख्छन्, ‘हामीले कमजोर, निष्क्रिय किसिमको आशा र दृढ अनि सक्रिय आशाबिचको भिन्नता छुट्याउनुपर्छ । आशाको दृढतापूर्ण संस्करण सिकार गर्नुजस्तै हुन्छ । अर्थात् आशावादी व्यक्ति ‘अगाडि झुक्छ र ध्यान दिएर सुन्छ’ संसारमा नयाँ के भइरहेको छ भनेर पत्ता लगाउने प्रयास गर्छ । ऊ त्यसको भेउ पाउन चाहन्छ । उत्साह र उत्प्रेरणामा जरा गढेको यसप्रकारको आशाले ‘मानिसहरूलाई काम गर्न अभिप्रेरित गर्ने शक्तिको विकास गर्छ ।’ तपाईं कर्तव्यविमुढतामा अलमलिनु भएको छ र कुन बाटो जाने भनेर थाहा छैन भने आशाले तपाईंको इन्द्रियलाई तिखारिदिन सक्छ, अलिपरसम्म देख्न सकिने ढिस्कामाथि उकालिदिन सक्छ ।’ ‘आशाको विषयवस्तु पनि हामी नै हौ,’ हान लेख्छन् । हामीमा आफ्नै लागि चिजहरू खोज्ने प्रवृत्ति हुन्छ, तर हामी आशा भने अधिक समावेशी भविष्यको गर्छौँ। उक्त सम्राट्को सन्देश जेसुकै होस्, तर यो हामी को हौँ र हामी यसमा कहाँ फिट हुन्छौँ भन्नेसँग बढी सम्बन्धित छ । वास्तवमा, हामी सबै यस्तो सन्देश प्राप्त गर्ने सपना देखिरहेका हुन्छौँ ।
एक दार्शनिकको रूपमा हानमा आध्यात्मिक झुकाव हुन सक्छ । उनी आशा स्वभावतः पारलौकिक चिज भएको र यो परमेश्वरबाट आउने अवघारणाप्रति खुलेका देखिन्छन् । तर, उनको आशय पनि धार्मिक नै हो भन्ने पनि छैन । तात्पर्य यति मात्र हो कि यो संसारसँग अकथनीय क्षमता, असीम सम्भावना छन् र अहिले हामी आपूmअगाडि जे देखिरहेका छौँ ती सबै यहाँ पहिलेदेखि थिए भन्ने होइन । हावेलका अनुसार आशाले यो कुरा महसुस गराउन मद्दत गरेर हामीलाई जस्तोसुकै निराशाजनक परिस्थितिमा पनि बाँच्ने र निरन्तर नयाँ कुराहरू गर्ने बल दिन्छ ।
जब हान ‘आशाको विषयवस्तु हामी नै हौँ’ भनेर लेख्छन्, उनको तात्पर्य हामी हाम्रो परिवारसँग, छरछिमेकी वा सहजात मानिसहरूसँग अक्सर अझ राम्रो र अझ सुमुधुर जीवनको अपेक्षा गर्छाैँ भन्ने पनि हो । साथै, उनको आशय यो पनि हो कि अन्य मानिसहरू पनि हाम्रो आशाको स्रोत हुन सक्छन् । किनकि हामीले देख्न नसक्दा पनि उनीहरूले जीवनको त्यो बाटो देखेका हुन सक्छन् । आशा भनेको अर्काे व्यक्ति हो भन्ने अवधारणलाई स्विकार्न कठिन लाग्न सक्छ । विशेष गरी, जब ती अन्य व्यक्तिहरू एकदमै ‘पराय’का रूपमा देखिन्छन् अनि तपाईंलाई पनि उसरी नै चरम परायका रूपमा हेर्छन् ।
अमेरिकामा १६ करोडभन्दा बढी सूचीकृत मतदाता छन् र उनीहरू अहिले जसरी सोच्छन् तिनले भोलि सोच्ने तरिका पनि त्यही हुनेछ भन्ने कुनै कानुन पनि त छैन । राजनीतिज्ञहरूको हकमा पनि यही लागू हुन्छ । आशाको राजनीति गर्नु भनेको यो शब्दको उच्चारण गर्नु मात्र होइन । आशा एउटा अनुभूति मात्र पनि होइन, यो पुरानैमा टाँसिनुको सट्टा नयाँको ठोस खोजमा संलग्न विषय हो । यसर्थ, यो व्यावहारिक तवरमा मात्र होइन, भावनात्मकका साथै आध्यात्मिक तवरमा समेत जोखिमपूर्ण छ । आशावादी र निराशावादी दुवै अनिश्चिततालाई घटाउँदै भविष्यमा पुग्छन् । हान के लेख्छन् भने, हामी आशा राख्दा एउटा यस्तो सर्त राख्छौँ जसलाई हामी सही साबित गर्न सक्दैनौँ । आशाको लगानी गरेर ‘त्यो भविष्यको साहुकार’ बन्न पुग्छौँ हामी । तर, यसले हामीलाई त्यो फर्काउला वा हामीलाई ठग्ला ?
(रोथम्यान द न्युयोर्करका आइडिया इडिटर हुन् ।
द न्युयोर्करबाट नारायण शिवाकोटीको अनुवाद)