‘पूर्णबहादुरको सारङ्गी’ फिल्म उत्कृष्ट बनेको छ । सानातिना कमजोरी होलान्, जसको टिप्पणी गर्ने काम कला र साहित्यका पारखीले गरिरहेकै छन् । दुई घण्टा २५ मिनेटको फिल्मले संसारको ध्यान तान्न सक्नु आफैँमा सफल हुनु हो । लेखक, निर्देशक र कलाकारको मिहिनेतले नै दर्शकको मन जितेको छ । भावुक बनाउने र मन छुने लाइन फिल्ममा धेरै छन् । फिल्मको कथावस्तु कुनै पुरानो समयको काल्पनिकी भने होइन । यो त अहिले पनि नेपाली समाजको एउटा वर्ग (दलित) को साझा कथा हो ।
गरिबी, पीडा, अभाव र अनि संघर्षको कथाले दर्शकको मन छोएको हुनुपर्छ । अझ बढी त फिल्मको मुख्य कथावस्तु बाबुछोराको सम्बन्ध, माया र संवाद अत्यन्तै मौलिक खालको भएकाले दर्शकको मनमुटु छोएको हुनुपर्छ । मेरो भने उक्त फिल्मको कथासँग जोडिएका पात्रको दुःख, संघर्षका व्यथा, गरिबी, भूमि÷जमिन नहुँदा पीडा र उनीहरूको जीविकोपार्जनमा परेको प्रभाव र असर, धन सम्पत्ति नहुँदा गरिब (दलित) समुदायले आफ्नो सन्तानलाई दिन नसकेको शिक्षादीक्षा अनि पूर्णबहादुरसँग उनकी श्रीमती बाटुलीसँग भएको विछोड यी पक्षले ध्यान उद्वेलित ग¥यो ।
सारङ्गी जस्तै दमाईँको कपडा सिलाउने र पञ्जेबाजा बजाउने पेसा लोप हुँदै गएको छ । कामी (विश्वकर्मा) को तामा, फलाम, पित्तल र सिलभरको भाँडा बनाउने पेसा लोप हुँदै गएको छ । सुनचाँदीकर्मीको पेसा पनि परिवर्तन भएको छ । सार्कीले सिलाउने जुत्ताको पेसा पनि फेरिएको छ । धोबीको लुगा धुने पेसा पनि लुगा धुने मेसिनले खोसिदिएका छन् । र, यी समुदायको नयाँ पुस्ताले नयाँ परिवेशमा आफ्नो जीवन गुजार्न ज्यादै संघर्ष गर्नुपरिरहेको छ । यसभित्रका पत्र–पत्र केलाउन जरुरी छ ।
फिल्म करिब ५० को दशकको कथावस्तुलाई लिएर छायांकन गरिएको भनिए पनि उही वेलाको जस्तै राग, रङ, सुर, कला र प्रस्तुति दिन सक्नु ज्यादै राम्रो पक्ष छ । यद्यपि ‘पूर्णबहादुरको सारङ्गी’भित्र लुकेका कथा र व्यथा धेरै छन् । नेपाली समाजमा यसका अन्तरकथा पनि प्रशस्तै छन् । गन्धर्व समुदायको जीवन संघर्षशील छ भन्ने कुरा यस फिल्म हेर्नेले सहजै बुझ्न सक्छन् । यो फिल्मले देखाएकोजस्तो कथा र व्यथा नेपाली समाजभित्र अझै पनि जीवन्त छ । ८० को दशकमा आइपुग्दा पनि हाम्रो समाज बदलिन सकेको छैन । तर, बाँकी कथा कसले लेख्ने ? र, कसरी प्रस्तुति हुने थाहा छैन ।
फिल्मको केन्द्रमा गन्धर्व समुदाय छ । गरिबीमा बाँचेको गन्धर्व समुदायको जीवन कठिन छ । यो फिल्मले भूमिहीनहरू कसरी कष्टकर जीवन बाँचिरहेका छन् भन्ने चित्रण पनि गर्न खोजेको छ । गन्धर्व समुदायलाई पुस्तौँपुस्ता सारङ्गी नै बजाउने र छोरा–नातिले पनि त्यही पेसा सिक्नुपर्छ भन्ने बाध्यात्मक स्थिति सिर्जना गरिँदै आएको यथार्थ हो । फिल्ममा धेरै ठाउँमा पूर्णबहादुरले छोरालाई सारङ्गी सिकाउँछन्, र काँधमा चढाएर विद्यालय पनि पठाउँछन् । बाटुली (पूर्णबहादुरकी श्रीमती) लाई सधैँ अभावमा बाँच्नुपर्ने र हेपाइ मात्र हात लाग्ने आफ्नो श्रीमान्को दुःख देखेर छोरालाई सारङ्गीसँग जोड्न मन लाग्दैन । त्यसैले उनलाई छोराको भविष्यको चिन्ताले अति नै सताउँछ । छोराको भविष्यका लागि पेसा नै फेर्न घरै त्यागेर ‘विद्रोहको बिगुल’ फुकेकी बाटुली यसपछि फिल्ममा देखा पर्दिनन् । अर्थात्, कहाँ के गर्दै होलिन् भन्ने अनुमान दर्शककै जिम्मामा छाडेर बिलाउँछिन् । यसरी नियाल्दा यो फिल्म ‘बाबुछोराको माया र सम्बन्ध’को कथा हो भन्दा फरक पर्दैन । तर, यसो भन्दै गर्दा आमाको भूमिका, त्याग, यथास्थितिको क्रमभंगताका लागि गरेको विद्रोह र सोही विद्रोहलाई बुझेर परिवर्तनका लागि बाबुले गरेको संघर्ष हो भन्ने पनि बिर्सनुहँुदैन ।
गन्धर्व समुदाय वा जातिलाई अर्काे शब्दमा ‘गाइने जाति’ पनि भनिँदो रहेछ । सदियौँदेखि यी जातिका मानिसलाई ‘गीत गाउने’ जिम्मेवारी दिइयो । कुनै समय यी जातिका मानिस सारङ्गी बजाउँदै गाउँघरमा गीतको माध्यमबाट सूचना दिने पनि गर्थे । गाइने अर्थात् गन्धर्व समुदायको सूचना दिने पेसा अहिले लोप हुँदै गएको छ । अव सूचना लिनेदिने माध्यम धेरै नै विकसित भइसकेका छन् । बदलिँदो पेसा र आवश्यकतालाई ध्यान दिँदै यी जातिका युवापुस्ता विभिन्न पेसा र व्यवसायमा विभाजित छन् । कतिपय रोजीरोटीका लागि अन्य समुदायका युवाजस्तै बिदेसिएका छन् । उहिलेका पुस्ता सारङ्गी बजाउँदै गाउँघर डुल्थे, मनोरञ्जन दिन्थे, मन पराउनेले पैसा–अन्नपात जे दिन्छन्, त्यही ल्याउँथे र गुजारा चलाउँथे । उतिवेला त्यही नै एक मात्र विकल्प थियो । उनीहरूसँग जग्गा पनि थिएन । अहिले समय बदलिएसँगै यो पेसामा पनि केही फेरबदल आएको छ ।
पोखराको बाटुलेचौरसहित हेम्जा, बडहरे, गगनगौँडा र रिठ्ठेपानीमा ‘गन्धर्व बस्ती’ छन् । तर, गन्धर्वहरू धेरथोर गरी ६९ जिल्लामा बसोवास गर्ने बताइन्छ । २०७८ को जनगणनाअनुसार यो समुदायको जनसंख्या ६ हजार ९७१ छ ।
खोज अनुसन्धानमा क्रियाशील मित्र डिबी नेपाली ‘दमु’ लेख्छन्– गन्धर्व जातिसँग पृथक् अस्तित्व, इतिहास, पहिचान तथा पुख्र्यौली ज्ञान परम्परामा आधारित विशिष्ट ज्ञान छ । अर्बाजो, सारङ्गीमा गाउने मौलिक गायनकला छ । यो अलिखित संस्कृति, ज्ञान, शिल्पकला र बुद्धि उनीहरूसँग मात्र पाइन्छ । मौलिक विभिन्न भाका बनाउन, गायनकला गन्धर्वबाटै पछि अरूले सिकेका हुन् । आदिमकालमा सबैभन्दा पहिला भाका, लय वा सुर, ताल गन्धर्वले सुरुवत गरेका हुन् । उनीहरूले लामो समय प्रकृतिसँगको सामीप्य र संघर्षबाट सिके, पछि अरूले सिर्जना गरे । यसपालि ‘पूर्णबहादुरको सारङ्गी’ले रेकर्ड ब्रेक गर्दै ठुलो पैसा जम्मा गरेको छ । स्वदेश तथा विदेश दुवैतर्फ फिल्म हिट बन्यो । यस फिल्मको कमाइले केही गन्धर्व समुदायका बालबालिकाले उच्च शिक्षामा सहयोग पाए कति धेरै न्याय हुन्थ्यो होला ? र, विलोपीकरणको धर्म¥याइँमा परेको गन्धर्व समुदायका सारङ्गी बजाउने पेसाको संरक्षणमा पनि मद्दत पुग्थ्यो होला ।
अर्काे पक्ष सारङ्गी रेट्ने गन्धर्वजस्तै नेपाली समाजभित्र यस्तै मौलिक पेसा र परम्परा भएका अरू थुप्रै दलित समुदाय छन् । जो पुस्तौँपुस्ता भूमिहीन छन् । शिक्षाबाट वञ्चित छन् । आर्थिक सहभागिताबाट वञ्चित छन् । राज्यका अवसर र सहभागिताबाट वञ्चित छन् । भएका नीति कार्यान्वयन फितलो हुँदा या भनौँ व्यावहारिक कार्यान्वयन नहुँदा यी समुदाय धेरै पीडामा छन् । अधिकारका लागि संघर्ष गरिरहेका छन् । मुलुकको विभिन्न व्यवस्था परिवर्तनको लडाइाको अग्रमोर्चामा रहेर सहयोग गर्ने यी समुदायको नयाँ पुस्ताको लागि केही छुट्याइएको आरक्षणको पनि खुबै विरोध भएको हामीले सुन्दै आएका छौँ । जुन बिल्कुलै गलत छ । अतः यी समुदायभित्र लुकेका कथा, व्यथा र पीडाहरू ‘पूर्णबहादुरको सारङ्गी’झैँ पर्दामा आउनु जरुरी छ । यसो भए मात्र पीडाले पनि निकास पाउने सम्भावना रहला । अनि समानताको अभ्यास गर्ने सपना बोकेका तमाम उत्पीडित समुदायले पनि न्याय पाउलान् ।