• वि.सं २०८१ मङ्सिर २१ शुक्रबार
  • Friday, 06 December, 2024
२०८१ मङ्सिर ८ शनिबार ०९:५१:००
साहित्य

के छ ‘पानी पतिया’मा ?

२०८१ मङ्सिर ८ शनिबार ०९:५१:००

इसापूर्व पाँचौँ शदीमा जब म्याराथन युद्ध चलिरहेको थियो, डरले लुगलुग कामिरहेको कालिमाकसलाई एथेनियन जनरल मिल्टिएड्सले भने, ‘कायर भएर एथेन्सको विनाश देख्नुभन्दा मर्नु राम्रो ।’ सम्भवतः ब्रेभनेस बहादुरी यहीँबाट सुरु भयो । इतिहासकार प्लुटार्क लेख्छन् ।

 

दुवै विश्वयुद्धमा ब्रान्ड बन्यो ब्रेभरी । तर, बहादुरहरूको अवस्था सुधार नहुँदा २०० वर्षपछि भारतमा चौकीदारमा झ¥यो, जो एक जमानामा युरोपको चोक–चोकमा द हिरोज भनिन्थ्यो र त्यहाँका जनता र साशकले सलामी अर्पण गर्थे । कैयौँपटक युद्धमा होमिसकेपछि एउटा भनाइ निर्माण भयो, ‘यदि कसैले मृत्युसँग डर लाग्दैन भन्छ भने कि ऊ ढाँटिरहेको छ कि ऊ गोर्खाली हो ।’ भारतीय सेनाको फिल्ड मार्सल मानेक्सले भनेका हुन् । तर, वास्तवमा गोर्खाहरू बहादुर भए पनि भयविहीन फलामका मान्छे होइनन् । आकस्मिक परिस्थितिमा निर्माण भएको बहादुरी हो, जो एउटा अव्यक्त तर पछ्याउनुपर्ने साहसको पर्याय नै बन्यो । गोर्खाली विश्वव्यापी ब्रान्डिङ भयो । जसका कारण एडोल्फ हिटलरले समेत यदि गोर्खा सेना भएको भए आफू संसारभरि हार्दिनथेँ भने । ओसामा बिन लादेनले आफूसँग गोर्खा सेना भएको भए अमेरिका जिउँदै खान्थेँ भने । डिएगो म्याराडोनाले १९८६ मा विश्वकप जित्दा इंग्ल्यान्डलाई यसरी हरायौँ, कारण त्यहाँ गोर्खाली खेलाडी थिएनन् भने । सेनामा विश्वासिलो गोर्खाली सेनाभन्दा अर्को नभएको कुरासमेत विश्वप्रसिद्ध छ । बेलायतले गोर्खालीको बफादारी, विश्वासिलोपन, सहनशीलता, ज्यानको पर्वाह नगर्ने इमानदार देखेरै सेनामा लिएको देखिन्छ । 

 

युद्ध साहित्यका प्रवर्तक काङमाङ नरेश राई ब्रिटिस लाहुरे हुन् । उनको मूल ध्येय गोर्खा सैनिकको इतिहास खोज अनुसन्धान गर्ने, लाहुरेको योगदान, दुःख र सकस लेख्ने हो । बेलायती सेनामा नेपाल सरकारले कसरी भर्ती ग¥यो, उनीहरूले कुन–कुन युद्ध लडे, बेलायतबाट कस्तो व्यवहार गरियो, हराएका बेलायती नेपाली सैनिकको परिवारले पेन्सन सुविधा नपाएकाले सात समुद्रपारि कारुणिक जीवन कसरी भोगिरहेका छन् र सैनिक संगठन गेसो र विभिन्न गोर्खा संगठनले सम्पूर्ण सुविधाविमुख भएका भूपू सैनिक र उनीहरूको परिवारका लागि के–के काम गरिरहेको छ जस्ता विषयमा खोजमूलक लेख प्रकाशन गरेका छन् । त्यसरी नै यो पुस्तक ‘पानीपतिया’ गोर्खा सैनिकको विषयमा लेखिएको एक महŒवपूर्ण अर्को दस्ताबेज हो ।

 

तात्कालिक हिन्दुवादी सत्ताले बेलायती सेनामा भर्ती भएर गएको गोर्खाली सैनिकलाई स्वदेश फिर्ता हुँदा हिन्दु ब्राह्मण पण्डितले गौमुत्र, गोबर, दुध, दही र घिउले चोख्याउने काम नै पानीपतिया हो । विदेशमा गएर गौमांस खान सक्ने धार्मिक हिसाबले बिटुलो हुने भन्ने सोचबाट हप्तौँ पानीपतिया गरिन्थ्यो । शुद्ध बनाई जात फर्काइन्थ्यो ।

 

गोर्खा भर्तीको वास्तविकता प्रथम गोर्खाली सैनिकको रूपमा सन् १७९० मा जब्बरसिंह थापा अंग्रेज सेनामा भर्ती भई उनको पाँच पुस्ताले सेनामा काम गरेको इतिहास ३३४ वर्ष पुरानो हो । सन् १८१४ अक्टोबर २० मा नेपाल–अंग्रेज युद्ध भयो । सन १८१५ डिसेम्बरमा १४ महिनापछि नेपालीले इतिहासमा बहादुर भनेको अमरसिंह थापाले आत्मसमर्पण गरेपछि सन्धि भयो । यो नै सुगौली सन्धि हो । वास्तवमा अमरसिंह बहादुर होइनन् भन्ने यो घटनाले प्रमाणित गर्छ । तथ्यांक प्रस्ट नखुलाउँदा बुझ्न गाह्रो भएको देखिन्छ । युद्ध दुई वर्ष चल्यो भनिन्छ र युद्ध सुरु भएको एक महिनामा थापाले आत्मसमर्पण गरे पनि भनिएको छ । सन्धिमा हस्ताक्षर ४ मार्च १८१६ मा भयो । काजी रणवीरसिंह थापा र काजी अमरसिंह थापाको निजी सेनाबाहेकलाई त्यो वेलाको नेपाल सरकारले अंग्रेज सेनामा भर्ती हुन सहमति गरेकाले नेपालीहरू गोर्खा सैनिकको नाममा चार हजार ६५० नेपाली भगौडा सेनाहरू भर्ती भएका थिए । त्यही भगौडा सेनाबाट आजको बेलायती गोर्खा सेना बन्यो । जो विभिन्न अप्ठ्यारो पार गर्दै त्यो संस्कृति बन्न पुग्यो । जसले बेलायती साम्राज्यवादको पक्षपोषण गरेर बहादुर र भाडाको भन्ने दुई अर्थ बोकेको सिपाही बन्यो, त्यही बेलायतले असमान तलब सुविधाबाट नेपाली आदिवासीलाई हेप्यो । त्यसपछि भूपू लाहुरेहरूले संगठित भई आन्दोलन सुरु गरे ।

 

आधिकारिक रूपमा भने अक्टरलोनी र अमरसिंह थापाको सहमतिमा पहिलो गोर्खा पल्टन सिरमुर बटालियन १८१५ अप्रिलमा गठन भयो । असाध्य वीर भनेर कहलिएका बलभद्र कुँवरले दुई युद्धमा जित हासिल गरेर तेस्रोमा पराजय भोगेका थिए । अंग्रेजले वीर भनेर प्रशंसासमेत गरे । उनी किल्ला छाडेर भागी लाहोर गएर महाराजा रणजितसिंहको सेनामा कमान्डर भए । उनी अफगानिस्तानको पठान युद्धमा मारिए । सुरुमा वीर भनी प्रमाणित बलभद्र तेस्रो युद्धमा कायर भए । आखिरी मारिनु रहेछ । नेपाली युद्धमा मारिएको भए वा नभागेको भए साँच्चै वीर हुने थिए । नेपाली इतिहासमा वीर भनिएकाहरू प्रायः कायर प्रमाणित हुन्छन् । बलभद्र पनि अन्त्यमा कायर नै साबित भए । यो तथ्यले हाम्रो वीरताको इतिहासमै प्रश्न गरेको छ ।

 

अंग्रेजले सेनामा मगर गुरुङ सन् १८१५ मा प्रथमपटक भर्ती गरायो । ७९ वर्षपछि सन् १८९४ मा राई लिम्बू सन् १९०६ मा सुनुवार सन् १९१५ देखि नेवार र तामाङ भर्ना गरायो । पृथ्वीनारायण शाहले मामा उद्योत सेनको सल्लाहबमोजिम ब्राह्मण हत्याको पाप लाग्ने भएकाले बाहुनलाई सेनामा लिएनन् । बाहुन कायर हुन्छ र सेनामा नलिएको भन्ने आधार यहाँ देखिँदैन । झापा आन्दोलन र जनयुद्धले समेत यो धारणा गलत हो भनेको छ । गोर्खा शब्द गोरक्षा गाईको रक्षा भन्ने नै बुझिन्छ ।

 

सन् १८५४ को कृमियन युद्धका कारण अंग्रेजले गोर्खा भर्तीमा वृद्धि गरेकाले जंगबहादुरले भर्ना रोक्न इस्तिहार कानुन नै लागू गरे । जुन रणोदीपको पालामा फेरि खोलियो । अंग्रेज सेनामा कार्यरत अनुमानित दुई लाख पचास हजार ज्यादा सेनाले प्रथम र दोस्रो विश्व युद्ध फकल्यान्ड गल्फ बोस्निया इपर आदि युद्धमा भाग लिए । डेढ लाख घाइते भए, पैंतालीस हजार मारिए, ६ हजार पाँच सयले पदक पाए । इपर युद्धमा ३० हजार गोर्खा सबै मारिए । त्यो समय नेपालको जनसंख्या ६० लाख थियो । त्यसमध्ये ४.१ प्रतिशत अर्थात् अढाई लाख गोर्खा सेनामा कार्यरत भए । त्यसमध्ये ०.७५ प्रतिशत अर्थात् पैंतालीस हजार मारिए । डेढ लाख अर्थात् २.५ प्रतिशत घाइते भए ।

 

नेपालले बेलायतलाई सन् १९१४ देखि हातहतियार खरिद गर्न साथै उपहारस्वरूप नगद, सुन र चाँदी सिक्का जिन्सी गरी तीन खर्ब ३८ अर्ब ४२ करोड ज्यादा सहयोग गरेको देखिन्छ । जतिखेर नेपाली जनता रोगभोग अभावले ग्रस्त थिए । शासकले जनताको दुःखलाई भन्दा वैदेशिक सहयोगलाई बढी महŒव दिएको थियो ।

 

‘मोतीराम’ कथाले गोर्खाली सिपाहीले अफगानिस्तानबाट कसरी भागेर ज्यान बचाए भन्ने त्यो समयको युद्धको भयावह चित्रण गर्छ । कतै साधु भए । कतै उनलाई ताकेको बन्दुक पड्केन । कतै हली भए । भारतीय व्यापारीले उनको ९० कम्पनी पैसा लुट्यो । कतै मुसलमान बनेर बाँचे । साथै कथाले अफगानीहरूको गोर्खाली सेनाप्रतिको खराब सोचको पर्दाफास गरेको छ । त्यतिखेर सेनाको परिवारलाई समेत युद्धमा लाने चलनले सबै मारिएपछि महिला बालबच्चालाई दास बनाउने चलनले नेपालीहरू अफगानिस्तानमा दास बनाएको दुःखलाग्दो घटना उजागर छ । युद्धमोर्चाबाट पठाएको पत्रमा लासले भरिएर जमिनमा टेक्ने ठाउँ छैन भन्ने वाक्यले कति भयंकर त्रासदिको वर्णन गरेको छ ।

 

दोस्रो विश्वयुद्ध लडेका ओखलढुंगाका इन्द्रबहादुर राईले इरानदेखि इटलीसम्म ६ वटा युद्ध लडेका थिए । घुँडामा गोली लागेपछि निको नहँुदै उनलाई चालीस रुपैयाँ थमाएर घर पठाइएको थियो । उनलाई फेरि बोलाएर दोस्रोपटक भर्ती गरियो । घँुडाको घाउसँगै पुनः अवकाश प्राप्त भएपछि पनि निको नभएर किरा परेर मरे । बेलायती राज्यको यो एउटा घृणित कार्य, जुन गोर्खा सैनिकप्रतिको बेवास्ताको क्रूर नमुना हो । अमेरिकाको हवाई दीप काण्डमा अमेरिकी रेन्जर फोर्सका आर्मी अफिसरले गोर्खाली सेनाको बहादुरीको तारिफ गरेपछि ब्रिटिस मेजर कोरिन पियर्सले गोर्खालीमाथि अपमानित शब्द बोलेकै कारण झगडा भयो । पियर्सले माफी मागे पनि नेपाली अफिसरले कुरा उरालेर १११ जना गोर्खा सैनिकलाई विनाकुनै सुविधा नेपाल पठाइयो ।

 

१९०६ साल माघ १ गते जंगबहादुरको बेलायत र फ्रान्सको एक वर्ष २२ दिनको यात्रापछि १९१० सालको मुलुकी ऐन लेखियो । यो हिन्दु धर्मशास्त्र, नीतिशास्त्र, मनुस्मृति, याज्ञवल्क्य स्मृतिशास्त्रको आधारमा निर्माण भयो । वर्ण व्यवस्थालाई पुनः स्थापित गर्दै आदिवासी जनजातिलाई मासिन्यामा तामाङ, भोटे र थारूलाई राखियो । नमासिन्या मतवालीमा राई, लिम्बू, गुरुङ, मगर र सुनुवारलाई राखियो । दलितलाई अछुत पानी नचल्ने भनियो । ब्राह्मण तागाधारीलाई उच्च जाति भनियो । तागाधारीले ऐनविपरीत गरे उजुर गरेमा पानीपतिया गरी धर्माधिकारीले चोख्याउन सक्ने भनिएको छ । जातिच्युत भएकाले प्रायश्चित गरेमा जातमा मिल्ने प्रावधान राखियो । म्लेच्छ अछुतको पानी खाई आफैँ जाहेरी भएमा प्रायश्चित दिनु भनिएको छ । तर, कुरा दबाएमा खुवाउनेले २० रुपैयाँ खानेले ४० रुपैयाँ जरिवाना तिर्नुपर्ने भनिएको छ ।

 

अब राणाले पनि बिर्ता बाँड्न पाउने भयो । तागाधारी खलकबाहेक अरूलाई राज्यसत्ता न्यायालय कर्मचारी सेना प्रशासन सबै क्षेत्रमा प्रवेश निषेध भयो । दलितले कहिल्यै बिर्ता पाएनन् । नमासिन्याले जमिन पाए । मासिन्या मतवालीले जमिन पनि पाएनन् । जमिनमा काम गर्ने रैती गनिए । कानुनले नै निश्चित जाति धनी र गरिब हुनुपर्ने भनेर विभेद गर्दै वर्ग जन्मायो । गोर्खा सेनामा भर्ती भइरहेका जातिहरूले पनि भर्ती हुन पाएनन् । सन् १८७७ मा जंगबहादुरको मृत्युपछि रणोदीपले झन् कडाइ गरे पनि अंग्रेजले दबाब दिएर भर्ती खुलायो । सन् १९१५ पछि भने मासिन्या र तागाधारीलाई समेत गोर्खा भर्तीको प्रथम अनुमति भयो । सबैलाई हिन्दु बनाइयो । हिन्दु लेखाइयो ।

 

जंगबहादुरले बेलायत यात्रामा छोइछिटो हुन्छ भनेर पानीजहाजमा फलफूल, तरकारी, सब्जी छुट्टै भण्डारण गरेका थिए । गाई आफैँ दुहुन्थे । बेलायतको होटेलमा पूरा रिजर्भ नपाइन्जेल गएनन् । रात्रिभोजमा केही नखाई समूह नै फक्र्याे । उनी धार्मिक कट्टरताको अतिवादी नै थिए ।

 

पानीपतिया गर्दा लाहुरेलाई घर फिर्दा गाईको गहुँत, गोबर, दुध, दही र घिउ पञ्चगव्यले दुई हप्तासम्म नुहाएर पानीपतिया गराइन्थ्यो । पण्डितलाई मोहोर चढाउनुपथ्र्याे । यद्यपि, सन् १९२५ मा ब्ल्याक सी काटेर जान पाउने इस्तिहार चन्द्रशमशेरले जारी गरी यो प्रथाको अन्त्य गरेका थिए । तर पनि सन् १९६० सम्म भैरहवा पक्लिहवा क्याम्पमा यो काम गराइन्थ्यो ।

 

सन् १९४७ नोभेम्बर ९ मा नेपाल–भारत–बेलायत त्रिदेशीय सन्धिपछि दश रेजिमेन्टमध्ये दोस्रो, छैटौँ, सातौँ र दसौँ चारवटा रेजिमेन्ट बेलायतले लग्यो । नेपाल गणतान्त्रिक मुलुक भइसकेपछि भने पण्डितबाहेक बुद्ध धर्मको दुई लामासमेत नियुक्त गरिएका छन् । तथापि, धेरै पूजाका काम हिन्दु धर्मको तौरतरिकाले मात्र गरिन्छ । अझैसम्म अन्य धर्मावलम्बीको पुजारीको नियुक्ति हुन सकेको छैन ।

 

गोर्खा सैनिकको रोयल्टीको कुरामा गोर्खा भर्तीका लागि तत्कालीन तालुकदार जिम्मावाल कटुवाल मुखियामार्फत सरकारले उर्दी जारी ग¥यो । आर्थिक प्रलोभन सबैमा थियो । राजा र राणाले सन् १९१९ बाट रोयल्टी लिन सुरु गरे । आदिवासी गोर्खा सेनाबापत एक मिलियन रुपैयाँ प्रथम विश्वयुद्धअघिबाटै लिएका थिए । यो दोस्रो विश्वयुद्धपछि दुई मिलियन पुग्यो । प्रतिसेना एक बन्दुकसमेत नेपालले प्राप्त गथ्र्यो । दोस्रो विश्वयुद्धमा जितपछि १७ लाख ५० हजार पाउन्ड थप सलामी रकम नेपालले पायो । त्यो सीधै राजा र राणाको व्यक्तिगत खातामा आउँथ्यो । त्यो रकम अझै आइरहेको होला ।

 

विश्वयुद्धमा छोडिएका आदिवासी गोर्खाहरू कोही बर्मा पुगे, कोही थाइल्यान्ड पुगे, कोही फिजीसम्म पुगे । उनीहरू त्यहाँ शरणार्थीका रूपमा समेत रहेको दुःखलाग्दो कथा छ । मृत्युपछि भिसी पाएकाहरूको समेत गरी आठ सय सैनिकको इटली मारिनोमा चिहान छ । इटलीको टाभोलेटो सहरमा गोर्खा सडक पनि छ ।

 

गोर्खालीले असमान तलब सुविधा र पेन्सन पाउन थालेको २०९ वर्ष पुग्यो । ‘विगेसो’ले गोर्खा भर्ती खारेज गर्न सर्वोच्च अदालतमा रिट दाएर गरेको भए पनि सर्वोच्च अदालतले रिट खारेज ग¥यो । गोर्खा सेना बहादुर मात्र नभएको, नेपाल चिनाउने एक कडीको रूपमा विश्व परिचित भएको साथै ब्रिटिस आर्मीहरू लेखक, कलाकार, सात सालको क्रान्ति योद्धा, उद्योग व्यवसायी, हिमाल आरोही, खेलाडी आदि भएकाले बहुआयामिक अर्थमा लिनुपर्ने राय लेखकको छ ।

 

सर्वोच्च पदकहरूको कुरा गर्दा सन् १८४६ को पञ्जाब लुधियानाको आलिवाल युद्धमा एक्लै ३५ शिख विद्रोही सखाप गरेका बादल सिंहलाई अडर अफ मेरिट द्वितीय र तृतीय प्रदान गरियो । भिसी पदकभन्दा अघिको सन् १८३७ मा स्थापित आइओएम पदक सुबेदार कृष्णवीर नगरकोटीले चारपटक प्राप्त गरेका थिए । सन् १९१५ मा कुलवीर थापा मगरदेखि सन् १९६५ मा रामबहादुर बेघा लिम्बू गरी १३ जनाले पाएका छन् । त्यसमा ६ जना मगर, चारजना गुरुङ, लामा, राई र लिम्बू एक–एकजना रहेका छन् ।

 

सन् १९४८ देखि १९५६ सम्म मलेसियामा र सन् १९६० देखि १९६६ सम्म ब्रुनाईमा युद्ध भयो । त्यहाँ सहभागी गोर्खा सैनिकले अरूले पाउने तलबभन्दा ९५८ प्रतिशत कमले तलब पाए । सिंगापुर प्रहरीमा त्यसरी नै पाँच सय प्रतिशत असमान कम तलब गोर्खाले पाउँथ्यो । बेलायतले असमान तलब दियो तर गोर्खालीको दुःखी तस्बिर विश्वव्यापी प्रचार गरेर दान थाप्यो । जसले गोर्खालीको इमानलाई दाउमा राखेर गोर्खा वेलफेयर ट्रस्ट स्थापना ग¥यो ।

 

सन् २००७ सम्म पूर्ण रूपमा विभेद गरी असमान तलब र सेवा–सुविधा दिएको थियो । सैनिक ड्रेसबाहेक अन्य पहिरन लाउन गोर्खालाई प्रतिबन्ध थियो । बेलायतीले जे पनि लाउँथे, त्यसविरुद्ध पुरञ्जन राईले विद्रोहको नेतृत्व गरेका थिए । सन् १९९६ मा बु्रनाईमा गोर्खा र बेलायती कमान्डरहरूको ज्यादतीविरुद्ध प्रगतिशील कल्याणकारी संघको स्थापना गरी ११ गोर्खा सैनिकले विद्रोह गरेका थिए । विविध संघर्षमार्फत कसरी समान तलब–सुविधा पेन्सन प्राप्त गर्न कोसिस भयो भन्नेबारे ‘पानीपतिया’ पुस्तकले बोल्छ । बेलायती गोर्खा सैनिक सम्बन्धमा धेरै खोज गरी तयार पारिएको यो पुस्तक एक खोजमूलक दस्ताबेज हो । 

 

अधिकांश स्रोतले बेलायती राज्यको नेपाली गोर्खा सैनिकप्रति गर्ने असमान व्यवहारको खुलेर व्याख्या गरेको छ । संसारभरि नेपाली आदिवासीले बेलायतको पक्षमा ज्यान आहुती दिए । युद्धमा कति फर्केनन् । कतिले युद्धबन्दीको रूपमा जीवन जिउनुप¥यो । कति पत्नी र छोराछोरीले जिन्दगी पति र बुबालाई पर्खेर सिध्याए । संसारभरि प्रजातन्त्र र मानवता सिकाउने बेलायत आफ्नो देश र साम्राज्यवादका लागि ज्यान दिने गोर्खाली सेनाप्रति कति असंवेदनशील र अमानवीय व्यवहार ग¥यो, त्यसका लागि सुरुमा नेपाल सरकारले ध्यान नदिएको र कालान्तरमा विद्रोहको स्वर उच्च भएपछि मात्र सुनुवाइ भयो भन्ने बेलीविस्तार पुस्तकले गरेको छ । तथ्यांक प्रस्तुत गर्दा दोहोरिने, शीर्षकमा अलमल हुनेबाहेक लेखकले भरमग्दुर प्रयास गरेको देखिन्छ । अझै गहिरो गरी नयाँ पुस्तकमा नयाँ तथ्य आउने आशासहित शुभकामना !