ढोकाबाट छिर्नेबित्तिकै कालो कपडा लगाएका केही युवायुवती स्वस्ति वाचन गरिरहेका छन् । एकैछिनपछि उनीहरू एक–एक गर्दै नवरस प्रस्तुत गर्छन् । यो वेलासम्म के भइरहेको छ पत्तै हुँदैन । एकैछिनपछि एक व्यक्ति मञ्चमा छिर्छन् । अनि बल्ल थाहा हुन्छ– ती त अभिनय सिकिरहेका विद्यार्थी रहेछन् । ती व्यक्ति अभिनय सिकाउने गुरु रहेछन् । उनले अभिनय सिकेका विद्यार्थीलाई नाटकका लागि कथा खोज्न पठाउँछन् । तर, अभिनय सिक्ने विद्यार्थीमा भ्रम छ– हामी हिरो बन्ने हो । कलाकार बन्ने हो । अभिनय गुरुको तर्क छ– ‘अभिनय मात्र गरेर हुँदैन, कथा पनि खोज्नुपर्छ, कथाविना नाटक बन्दैन ।’ त्यही क्रममा कथा भेटिन्छ । जसलाई नाम दिइन्छ, ‘प्रत्यन्चा (एकादेशको कथा)’ । त्यसपछि क्रमशः कथाका पात्रमा देखिन्छन्– तिनै विद्यार्थी ।
यो दृश्य हो, कदम थिएटर दमक, झापामा मञ्चन भइरहेको नाटक ‘प्रत्यन्चा’को । नाटकको कथा सुरु भएको छैन । यसले दर्शकलाई ‘वार्मअप’ मात्र गर्दैन, कथाप्रति उत्सुकता जगाउने काम पनि गरिसकेको हुन्छ ।
अब नाटक सुरु हुन्छ ।
एकादेशमा रत्नपुरी राज्य छ । त्यसका राजा हुन्– सत्यव्रत । चक्रवर्ती महाराज भएर पनि उनी सत्यवादी, शान्तिप्रेमी र अहिंसावादी छन् । उनी युद्ध चहँदैनन् । सीमा जोडिएको अर्को छ, सिलगढ राज्य । त्यसका राजा छन्, अनिरुद्ध । उनीचाहिँ लालसी, सनकी र निरंकुश छन् । एक दिन अनिरुद्धले युद्धको धम्की दिँदै रत्नपुरीको एउटा अथरगञ्ज किल्लासहितको भूभाग सिलगढलाई दिनुपर्ने पत्र पठाउँछन् । युद्धका लागि रत्नपुरीका महामन्त्री र सेनापति तयार नै छन् । तर, राजा सत्यव्रत युद्धले होइन, प्रेमले मात्रै कसैलाई हराउन र जित्न सकिने अडानमा छन् । उनको पिर छ– युद्धले जनधनको क्षति हुन्छ, दुवैतर्फका सेनाको ज्यान जान्छ । यही भयले उनी अथरगञ्जका आफ्ना प्रजालाई अन्यत्र स्थानान्तरण गराएर खाली भूभाग राजा अनिरुद्धको सिलगढलाई सुम्पन तयार हुन्छन् ।
अब दुई राज्यबिच सम्बन्ध स्थापित भयो । राजा अनिरुद्ध पनि जस्तोसुकै आक्रमण र संकटमा रत्नपुरीलाई साथ दिने वचनबद्धता व्यक्त गर्न पुग्छन् । त्यही क्रममा रत्नपुरीले राजा अनिरुद्धलाई आफ्नो राज्यमा निमन्त्रणा गर्छन् । रत्नपुरीका राजा सत्यव्रतकी एक्ली सन्तान हुन् राजकुमारी चन्द्रिका । रत्नपुरी भ्रमणका क्रममा अनिरुद्धको आँखा तिनै राजकुमारी चन्द्रिकामा पर्छ । राजा अनिरुद्ध ती राजकुमारीलाई जसरी पनि विवाह गर्ने योजनामा पुग्छन् । तर, सिलगढ राज्यका राजगुरुले विवाह असम्भव देखाउँछन् । कारण– अनिरुद्ध विवाहित हुन् । उनी विवाहित मात्र हैनन्, उनका उत्तराधिकारी छोरा राजकुमार पनि छन् । अब सिलगढ राज्यको परम्पराले उत्तराधिकारी भएका राजाले विवाह गर्न पाउँदैनन् । यहीवेला राजा अनिरुद्धले अनेक प्रपञ्च रच्छन् । उनले छोरालाई राज्य सञ्चालनको कौशल सिकाउन पठाउने बहानामा हत्या गरिदिन्छन् । फेरि सिलगढ राज्यलाई उत्तराधिकारी त चाहियो । जसका लागि महारानीको सल्लाहमै छिमेकी राज्य रत्नपुरीकी राजकुमारी चन्द्रिकालाई विवाहको प्रस्तावका लागि पत्र पठाइन्छ । पत्र यसअघि रत्नपुरीको भूभाग मागेजस्तै धम्कीपूर्ण र युद्धको चेतावनीसहितको हुन्छ । राजा सत्यव्रत फेरि पनि युद्धको पक्षमा छैनन् । उनी अर्को भयमा पनि छन् कि आफ्नो राज्य धान्ने उत्तराधिकारी नै छैनन् । अर्थात्, आजकाल सुनिने भाष्य वंश धान्न छोरो छैन । अब उनी त्यही वंश वा राज्यको उत्तराधिकारीका लागि भए पनि आफ्नी छोरी राजकुमारी चन्द्रिकाको विवाह सिलगढ राज्यका राजा अनिरुद्धसँग गराउने पक्षमा उभिन्छन् ।
नाटकको सुरुवातदेखि अन्तिमसम्म कहीँ पनि नयाँ कलाकार हुन् र उनीहरूले अभिनय गरिरहेका छन् भन्ने आभाष हुँदैन । रंगमञ्चमा पाइला चालिरहेका यी रंगकर्मीको सफलता हो । यो नाटक हेर्दा लाग्छ अब यी रंगकर्मीले ‘सफलताको उडान’ सुरु गरिसकेका छन् ।
बुबाका कुरालाई सधैँजसो मान्ने छोरी राजकुमारी चन्द्रिका अनिरुद्धसँग विवाहका लागि तयार छैनन् । बरू युद्धको मैदानमा आफैँ अग्रपंक्तिमा उभिएर राजा अनिरुद्धको पितृसत्तात्मक सोचलाई परास्त गर्ने उद्घोष गर्छिन् । अब रत्नपुरीले युद्ध हार्छ कि जित्छ ? यो थाहा पाउन कदम थिएटरले मञ्चन गरिरहेको नाटक ‘प्रत्यन्चा’ हेर्न पुग्नैपर्छ ।
तर, नाटकले देखाएको ‘एकादेशको कथा’ अहिले पनि उत्तिकै सान्दर्भिक छ । महिलालाई कमजोर ठान्ने र वंश धान्न छोरा नै चाहिन्छ भन्ने समाजलाई गतिलो झापड दिएको छ, नाटक ‘प्रत्यन्चा’ले । नाटकमा महिला पात्रलाई सशक्त देखाइएको छ । महिलाले नेतृत्व गर्न सक्छन्, परिवर्तनको सम्भाहक महिला हुन् भन्ने मान्यतालाई स्थापित गराएको छ । ‘प्रायः मैले हेरेको नाटकमा महिला पात्रलाई निरीह बनाएको देखेको थिएँ । तर, यो नाटक सशक्त छ,’ नाटक हेरेपछि प्राज्ञ सुमित्रा वाङ्देल चेली भन्छिन्, ‘यो नाटकमा महिला पात्र सशक्त छन् । महिला पनि परिवर्तनका लागि सक्षम छिन् भन्ने देखाएको छ । नाटकको राम्रो र सफल पक्ष यही हो ।’ नाटक ‘प्रत्यन्चा’ले एउटा बहुलठ्ठी शासकले ‘सनक’को भरमा राज्य चलाउँदा कसरी राज्य, परिवारलाई सखाप बनाउँछ भन्ने देखाएको छ ।
नाटक ‘प्रत्यन्चा’ कदम थिएटरले हालै सञ्चालन गरेको कार्यशालाबाट उत्पादन भएका दोस्रो ब्याचका विद्यार्थी र केही पहिलो ब्याचका विद्यार्थीले तयार पारेका हुन् । उनीहरूले अभिनय सिकेपछि कला पस्कने माध्यमको रूपमा बनेको नाटक हो, ‘प्रत्यन्चा’ । तर, नाटकको सुरुवातदेखि अन्तिमसम्म कहीँ पनि नयाँ कलाकार हुन् र उनीहरूले अभिनय गरिरहेका छन् भन्ने आवास हुँदैन । रंगमञ्चमा पाइला चालिरहेका यी रंगकर्मीको सफलता हो । यो नाटक हेर्दा लाग्छ, अब यी रंगकर्मीले ‘सफलताको उडान’ सुरु गरिसकेका छन् । पुरानो कथालाई सान्दर्भिकता दिन लेखक सिजन दाहाल र प्रकाश शर्मा अधिकारीको मिहिनेतको प्रशंसा गर्नैपर्छ । त्योभन्दा धेरै प्रशंसाका हकदार त ती कलाकार हुन्, जसले पहिलो काम नै उत्कृष्ट गरेका छन् । नाटकमा निर्देशक सुमित्रा पेहिमको मिहिनेतलाई पनि प्रशंसा गर्नैपर्छ । नाटकको वेशभूषा र ‘प्रप्स’ले नाटकलाई वास्तविक र जीवन्त बनाउन उस्तै सहयोग पु¥याएको छ । प्रत्यक्ष दर्शकलाई देखाइने नाटकमा चलचित्रजस्तो चाहिँ हुँदैन । तर, नाटक ‘प्रत्यन्चा’लाई वास्तविकतामा ढाल्न कलाकारले गरेको मिहिनेत निकै उत्कृष्ट छ । नाटकमा प्रयोग भएका तीनवटा गीतले दर्शकलाई थप आनन्दित बनाउँछ । नाटकमा प्रयोग हुने संगीतमा पनि उस्तै मिहिनेत छ ।
नाटकमा केही कमजोरी त अवश्य छन् । कलाकारले कहिलेकाहीँ आफ्नो पात्र बिर्सेझैँ लाग्छ । भन्न खोजेको संवादको अर्थ फरक पनि सुनिन्छ । जसले नाटकलाई केही खल्लो बनाएको छ । कुनै–कुनै दृश्यमा कलाकार चुकेको देखिन्छ । यसमा थप मिहिनेत गर्न सके रंगकर्ममा पहिलो पाइला टेकेका यी नयाँ कलाकार रंगमञ्चमा स्थापित हुनेछन् ।
कदम थिएटरले दमकका दर्शकमा नाटक हेर्ने बानी बसाइसकेको छ । यसको परिणामस्वरूप हाल ‘हाउस फुल’मा नाटक मञ्चन गरिरहेको छ । कदमले नयाँ कलाकार उत्पादनका लागि दमकमा गरिरहेको अभ्यास प्रशंसनीय पनि छ ।
नाटकमा मनिक शंकर, नरेन्द्र लिम्बू, रश्मी उप्रेती, पारुमा राई, बुङ् छेङ, पूजन खरेल, बियल राई, हेमन्त पौडेल, प्रवीण भण्डारी, मानुषी कोइराला, अनिष्मा पौडेल र पुष्प राईले अभिनय गरेका छन् । नाटकमा प्रयोग हुने तीनवटा गीतको कम्पोज रंगकर्मी सागर खातीले गरेका हुन् । यो नाटक १२ मंसिरसम्म साँझ ५ बजे कदम थिएटर दमकमा मञ्चन भइरहेको छ । शनिबार भने दिउँसो १ बजे र साँझ ५ बजे नाटक मञ्चन भइरहेको छ ।