ओपन वाटर (कालेव अजुमा नेल्सन)
घानामा जन्मेका नेल्सन बेलायतको लन्डनमा संघर्षरत छन् अहिले । २६ वर्षको उमेरमै ओपन वाटरमार्फत आख्यानमा डेब्यु गरे उनले, दुनियाँको नजरमा प¥यो उनको किताब । फोटोग्राफर केटा र नर्तकी केटीको प्रेमको परिवृत्तमा बेलायती रंगभेदको जेलिएको जालो सतहमा आउँछ । कथावाचन कौतुहलमय छ यसमा । संगीत, सिनेमा तथा अन्य अन्तरविधाको मीठो संयोजन छ यसमा । पुनरावृत्ति अक्सर झिँझो लाग्छ, तर नेल्सनले यही शैलीलाई आकर्षक पाराले प्रयोग गरेका छन्, अझ पानीको बहावको सन्दर्भमा । उपन्यासको शीर्षकले सुझाएझैँ यो जमेको पानी होइन, प्रवाहमान पानी हो । यसको केन्द्रीय स्वर दमदार छ–हेपिएको वर्ग, समुदाय आफूलाई समर्पण नगरी संघर्षरत छ आफ्नो अस्तित्व रक्षामा ।
बिटर फ्रुट्स : मन्टोका अब्बल कथाहरू (सआदत हसन मन्टो)
कथामार्फत मानवीयताको पैरवी गर्ने अग्रणी लेखक हुन् सआदत हसन मन्टो, दक्षिण एसियाका गौरव । कमजोर, आवाजविहीन, असहजतामा फसेका पात्रहरू उनका कथाका सामथ्र्य हुन् । अझ समाजले नैतिकताको सीमारेखा कोरेर कलंकित ठानिएका साहसी महिला पात्रहरूलाई उनले सम्मानित स्थान दिएका छन् आफ्ना आख्यानमा । भारत पाकिस्तान विभाजनपछिका कैयौँ अगोचर आघात र घाउलाई उनले अभिलेखीकरण गरेका छन् । टौवा टेक सिं, खोल दो, ठन्डा गोस्त, काली सलवारजस्ता धेरै कथा संलग्न यो संकलनले मन्टोको तत्कालीन समाजलाई परख गर्ने अनेक आयाम देखाउँछ । आफ्ना कथामा अश्लीलताको आरोपमा कोर्टकचहरी धाउन बाध्य पारिएका मन्टो आजको विद्रुप समाजलाई बेनकाव पार्नका लागि अरू पढिनु जरुरी छ । उनका कथाकहाँनी हिन्दी अनुवादमा समेत हामीकहाँ सजिलै उपलब्ध भएकाले उनलाई पढौँ, मनन गरौँ र समाज÷सत्तालाई आ–आफ्नै माध्यमबाट खबरदारी गरौँ ।
खतोँका सफरनामा (अमृता प्रितम र इमरोज)
पत्राचार सँगालोको पनि आफ्नै महŒव हुनेरहेछ । पारिजात र सुकन्याको पत्राचारले हामीलाई पारिजातका थुप्रै पक्षबारे बुझ्न मद्दत पुगेको छ । सिमोन दी बुभ्वा र उनका प्रेमी नेल्सनबिचका पत्राचारले बुभ्वाका अनुद्घाटित रहस्यको पटाक्षेप भयो । अमेरिकी लेखक पल अस्टर र दक्षिण अफ्रिकी लेखक जे एम कुट्सीबिचको पत्राचारको सँगालो हियर एन्ड नाउ त्यस्तै महŒवपूर्ण दस्तावेज बन्यो । अमृता प्रितमका कविता, आख्यान तथा प्रेमजीवनबारे त धेरैलाई जानकारी छ । साहिर लुधिवान्वीसँगको अमृताको पहिलो प्रेम इनिङ्स जति चर्चामा छ, कलाकार इमरोजसँगको उनको अलग प्रेमजीवन र सहवासका सन्दर्भमा पाठक नजर कम परेको हुन सक्छ । यस अपूरोपनालाई मेटाउँछ अमृता र इमरोजबिचका चिठी–चपेटाको आदानप्रदानबाट । खतोँका सफरनामा उनीहरू विभिन्न समयमा विभिन्न कारणले टाढिँदाको समयमा एकअर्कालाई लेखेका पत्रहरूको सँगालो हो । उनीहरू पत्रमा आत्मीय भाव र नितान्त निजी विषयमा प्रवेश गरिरहँदा पनि उत्तिखेरै त्यसलाई सार्वजनिक बहसको विषय बनाउँछन् । युरोपका विभिन्न देशमा साहित्यिक अनुष्ठानमा संलग्न रहेकी अमृता इमरोजलाई त्यहाँका महŒवपूर्ण गतिविधि पत्रमार्फत बताउँछिन् । पत्राचार पढिरहँदा घटनाको प्रत्यक्ष प्रसारण हेरेझैँ लाग्छ । अनुपस्थित व्यक्ति त्यहाँ हुन्थ्यो भने कति सार्थक चित्रण गथ्र्यो होला त्यो परिवेश– यो आशय निरन्तर व्यक्त भएका छन् दुवैका पत्रमा ।
दि रिटर्न : फादर्स, सन्स एन्ड दी ल्यान्ड इन बिटविन (हिसाम मातर)
लिबियाली मूलका मातरको दी रिटर्न कारुणिक, तर लयात्मक संस्मरण हो । गद्दाफी सरकारले अपहरणपछि बेपत्ता पारेको उनका बुबाको खोजीमा बेलायतबाट जन्मदेश लिबिया फर्केपछिका घटनाहरू समावेश छन् पूर्वाद्र्धमा । आफ्ना बुबाको खोजीका क्रममा लिबियालाई नजिकबाट नियाल्न पुग्छन् उनी । गद्दाफी सरकारको विरोधी दलमा सक्रिय थिए उनका बुबा, त्यसैकारण गायब पारिए । तर, मातरको यो खोजी बडो काव्यिक छ । मातर पीडालाई पनि यति आत्मीय पाराले कसरी व्यक्त गर्न सक्छन् ? साह्रै लोभ लाग्छ । यस संस्मरणको एक पृष्ठमा आफ्ना बेपत्ता बुबाको पीडालाई अनुभूत गर्न हिउँदको चिसो छिँडीमा कपडा खोलेर केही घण्टा सुत्छन्, एकान्तमा । त्यो त्यही जेलको छिँडी थियो जहाँ उनका बुबालाई अन्तिमपटक देखेको सुनाउँदै थिए उनका एक आफन्त । बदलाभावको राजनीतिक खिचातानीबिच पाउनु र गुमाउनु, सम्झनु र बिर्सनु, मौन र वाचाल यस्ता अनेक विपरीत भावलाई सतहमा ल्याएर मानवीय बन्न सिकाउँछ यो संस्मरणले । युद्वका घाउहरू बल्झिरहेको हाम्रो समाजका लागि मातरको यो संस्मरण केही सान्दर्भिक पठन हुन सक्छ ।
वाकिङ विथ कमरेड्स (अरुन्धती रोय)
भारतीय सत्ता र कर्पोरेट दुनियाँलाई एकसाथ निरन्तर प्रहार गरिरहन्छिन् अरुन्धती । त्यसैले त उनका गैरआख्यानहरूको प्रभाव दिगो छ । सानो आकारको उनको गैरआख्यान ‘वाकिङ विथ कमरेड्स’ विशेष यस अर्थमा छ कि यो उनले नक्सलवादी प्रभावित क्षेत्रमा आफैँ घुमेर लेखेको तथ्य र अनुभूतिको मिश्रण हो । यो दस्तावेजले देखाउँछ– भारतीय शासकले कसरी राजनीतिको आवरणमा नक्सलवादीलाई नामेट पार्ने निहुमा निःशस्त्र आदिवासीहरूको कत्लेआम गरिरहेछ ? अनि उनीहरूकै क्षेत्रका प्राकृतिक सम्पदा, खनिज आदिको दोहन गरी आदिवासीका पुस्तैनी पेसा र जीविकोपार्जनलाई कसरी धरापमा पारेको छ ? अहिले विश्वभरका सत्तासीनहरूले यसरी नै विस्थापन गरिरहेछन् रैथानेहरूलाई । यस अर्थमा यो किताब हामी सबैका लागि आफ्नै परिवेश बुझ्ने र आफैँलाई सचेत बनाउने माध्यम हुन सक्छ । अरुन्धतीको सूचना सामग्री संकलनप्रतिको निष्ठा र समर्पणका खातिर पनि पढ्नैपर्ने किताब हो यो ।