• वि.सं २०८१ पौष ११ बिहीबार
  • Thursday, 26 December, 2024
२०८१ मङ्सिर ८ शनिबार १०:१४:००
फिल्म

असफलताले सिकाउँदो रहेछ

‘दर्पणछाया २’ मा मेरो मिस्टेक थियो, दर्शकको फिल्म हेर्ने शैली परिवर्तन भइसकेको रहेछ

२०८१ मङ्सिर ८ शनिबार १०:१४:००

समय परिवर्तनशील छ । हामीभन्दा अघि बिएस थापा, प्रकाश थापा दाइहरू हुनुहुन्थ्यो । त्यसपछि हाम्रो एउटा पुस्ता आयो । अहिले नयाँ भाइ–बहिनीहरू बाहिरबाट पढेर, टे«निङ लिएर आए । नयाँ फिल्ममेकरहरूको यो पुस्ताले नेपाली सिनेमामा नयाँ टेस्ट दिइरहेको छ । एउटा नयाँ कलर दिएको छ ।

 

मेरो अनुभवमा मसँगै काम गर्ने धेरैले अहिले फिल्म क्षेत्र छाडिसक्नुभयो । यादव खरेल दाइ, निर शाह पछिसम्म सक्रिय हुनुहुन्थ्यो । मेरो हकमा ‘दर्पणछाया’, ‘लहाना’, ‘देश’, ‘दर्पणछाया–२’ गरिरहेकै थिएँ । नयाँसँग सिक्दै पुरानो अनुभव उपयोग गर्दै अघि बढिरहेको छु ।

 

कुनै समय लगातार फिल्महरू राम्रै चलिरहेका पनि थिए । तर, सधैँ समय एकनास रहँदैन । सफलता र असफलताका बाबजुद पनि यही क्षेत्रलाई निरन्तरता दिन पाइरहकै छु । यसैमा खुसी छु । नयाँ स्क्रिप्टमा काम भइरहेको छ । ‘पहाड’ चाँडै नै फ्लोरमा जानेछ । यो फिल्मले नेपालका पहाडहरू रित्तँदै गएको अवस्था र त्यसले निम्त्याएका परिघटना उजागर गर्छ । अहिले धेरैवटा गाउँमा महिलाले लास उठाउनुपर्ने अवस्था निम्तिएको छ । पुरुषहरू सबै विदेश जान थालिसके । पहिले मानिसहरू बाहिर गए पनि फर्किएर नेपालमै जग्गा जोड्थे । अहिले पलायन हुने गरी गइरहेका छन् । कुनै दिन यस गाउँमा वृद्ध मात्रै हुनेछन् । काम गर्ने उमेर समूहको अभाव हुनेछ । कतिपय गाउँमा यस्तो अवस्था निम्तिएको छ ।

 

दुई–तीन दशकअघिसम्म हामी सुटिङ गर्न दुर्गम गाउँमा पुग्दा त्यहाँ युवाहरूको बाक्लो उपस्थिति थियो । जमघट र मेलाहरू चल्थ्यो । गाउँमा विकास भएन भन्ने गुनासो सुनिन्थ्यो, अहिले सडक र बिजुली पुगेका छन् । तर, मानिस छैनन् । त्यो गाउँ र अहिलेको गाउँमा धेरै फरक छ । त्यो रिक्तताले मानिसको जीवनमा ल्याउने व्यावहारिक र भावनात्मक उतार–चढावलाई ‘पहाड’मा देखाउँदै छौँ । मेरो पुरानो अनुभवलाई नयाँ प्रस्तुतिमा ढाल्ने प्रयास गरेको छु । नयाँ पुस्ताका साथीसँग काम गरिरहेको छु । 

 

बलिउडको प्रभाव 
बलिउड फिल्मबाट प्रभावित भनेर कतिपयले मेरो टिप्पणी गरेको पनि सुन्छु । सुनेकै भरमा उहाँहरूले यो आरोप लगाउनुभएको भन्ने लाग्छ । हामीलाई हिन्दी फिल्म हेर्ने बानी परेको साँचो हो । नेपालको पहिलो निर्देशक डिबी परियार, हिरासिंह खत्री, बिएस थापा, प्रकाश थापा, चेतन कार्की सबैले बलिउडकै फर्मुलालाई पछ्याएर फिल्म बनाउनुभएको हो । हाम्रा दर्शकलाई पनि यही फर्मुलाको फिल्म मनपरेको साँचो हो । किनकि, चिनियाँ प्रविधि वा कोरियन प्रविधिमा हामी फिल्म बनाउन सक्ने अवस्थामा थिएनौँ । बनाएर पनि चल्नेवाला थिएन । फर्मुला मिल्यो होला, तर मैले बनाएका फिल्म मौलिक थिएनन् भन्ने आरोप साँचो होइन । मैले घमन्ड गरेको होइन । तर, मैले बनाएका फिल्म फरक–फरक स्वादका छन् । ‘बाँसुरी’ अलग्गै फ्लेबरको थियो । ‘कुसुमे रुमाल’मा आउँदा रोमान्टिक फ्लेबर लिएर आएँ । त्यसपछि ‘लाहुरे’मा गोर्खा सैनिकका व्यथा देखाएँ । कतिपयले ‘चिनो’लाई हिन्दी फ्लेबरको भनेको सुन्छु । कहिलेकाहीँ यस्ता टिप्पणी बकवास पनि लाग्छ । ‘चिनो’को प्याट्रन र तरिका फरक थियो । ‘कुसुमे रुमाल’मा नेपाली संस्कृतिलाई उजागर गरेको छु ।

 

मोदनाथ प्रश्रितको कृतिमै आधारित रहेर मैले ‘बलिदान’को स्क्रिन प्ले र डायलग बनाएँ । राजनीतिक रूपमा मसँग धेरै गहिरो ज्ञान नभएकाले मदनकृष्णजी र हरिवंशजीसँग लामै छलफल भएको थियो । यसले पनि फिल्मलाई बलियो बनाउन भूमिका खेल्यो । यी सिनेमा नेपाली मौलिक कथामा आधारित हुन् । त्यहीकारण नै धेरै दर्शकले रुचाउनुभएको थियो ।

 

मेरो १०औँ चलचित्र ‘दक्षिणा’ आफ्नो गुरु कमलाकार कर्खानिशमा समर्पित थियो । शिक्षकहरूले समाजमा गरेको योगदान झल्काउन ‘दक्षिणा’ बनाएको हुँ । जीवनमा शिक्षा र गुरुको सधैँ विशेष महŒव हुन्छ । त्यहीकारण यो फिल्म मैले गुरुलाई समर्पित गरेँ । त्यतिवेलै, भारतमा राम्रो शैक्षिक स्तर रहेका राज्यहरूमा दुर्गम क्षेत्रलाई विशेष प्राथमिकता दिइन्थ्यो । अहिले धेरै राज्यले यो नीति पछ्याएका छन् । त्यहाँ दुर्गममा शिक्षक जानका लागि ६–७ वटा अन्तर्वार्ता पास गर्नुपर्छ । त्यहाँ धेरै योग्य शिक्षक पठाइन्छ । सेवा–सुविधा र सहुलित पनि राम्रो हुन्छ । तर, नेपालमा बदमासी गरेका, घुस खाएका शिक्षकलाई दुर्गममा पठाउने चलन थियो । सजाय पाएर गएका शिक्षकले शिक्षाको अन्धकार रहेको ठाउँमा गएर कस्तो शिक्षा देला ? त्यही विषयमा ‘दक्षिणा’ बनाएँ । मलाई अझै पनि नेपाली शिक्षामा केही न केही ग्याप छ भन्ने लाग्छ । हाम्रा बच्चाहरूले के सिक्न चाहन्छन् भन्ने कुरामा पर्याप्त अनुसन्धान नै नगरी हामीले कतै जबर्जस्ती आफ्ना कुरा लादिरहेका त छैनौँ ? ती बच्चाले यस्तो शिक्षा भनेर अभिव्यक्त गर्न पक्कै नसक्लान् । यस विषयमा पर्याप्त अनुसन्धान भएको त छ ? अनुसन्धान गरेर त्यसअनुसार शैक्षिक प्रणाली विकास गर्नुपर्ने कुरामा हामी कत्तिको सचेत छौँ ? यी कुरा अहिले पनि लागिरहन्छ ।

 

‘दक्षिणा’ रिलिज भएपछि शिक्षकहरूबाट धेरै राम्रो प्रतिक्रिया आएको थियो । एकपल्ट त चितवनबाट एक बसमै शिक्षकहरू मलाई भेट्न आउनुभएको थियो । उहाँहरूसँग लामो अन्तक्र्रिया भयो । शिक्षा प्रणालीका समस्या उजागर गरिदिएको भन्दै उहाँहरू खुसी हुनुभएको थियो ।

 

‘दक्षिणा’ बनाएपछि बम्बई फर्कन्छु भन्ने सोच थियो । तर, प्रकाश थापा, चेतन कार्की दाइहरूले रोक्नुभयो । मलाई पनि नेपाली फिल्ममै मज्जा आइरहेको थियो । मलाई रोक्नेहरू बित्नुभयो । म यतै काम गरिरहेको छु । अहिले सम्झिँदा लाग्छ, मुम्बईमा पैसा धेरै कमाइन्थ्यो होला । तर, यहाँ दर्शकको स्नेह धेरै कमाएँ ।

 

‘चिनो’, ‘लाहुरे’, ‘दक्षिणा’लाई अहिले पनि धेरैले सम्झन्छन् । मलाई तुलसी घिमिरे नभनेर कतिले ‘हरि सर’ भन्नुहुन्छ । साह्रै खुसी लाग्छ ।

 

मैले लाइट, मेकअप, क्यामेरा, एडिटिङ र निर्देशन विभिन्न गुरुसँग सिक्न पाएँ । उहाँहरूकै कारण आज यो क्षेत्रमा स्थापित हुन सकेँ । तर, अभिनय मैले आफैँ सिकेको हुँ । त्यहीकारण पनि अरूले राम्रो भनिदिँदा खुसी लाग्ने रहेछ ।

 

‘लाहुरे’मा एउटा सिपाहीको व्यथालाई उठाएको छु । ‘देश’मा नेपालबाट गएका गोर्खा सैनिक र भारतकै गोर्खा सैनिकबिचको फरक देखाएको थिएँ । मेरो बुबा र दाजुहरूले पनि गोर्खा पल्टनमा काम गर्नुभयो । त्यस्तो परिवारमा हुर्किएको हुनाले सैनिकको संघर्ष देखाउन पाउँदा मलाई बेग्लै सन्तुष्टि मिलेको थियो । मैले धेरैभन्दा धेरै भेरिएसनका फिल्म बनाएको छु । ‘दर्पणछाया’ सफल होला भनेर धेरैले सोचेका थिएनन् । एक्सन फिल्म चल्ने त्यो जमानामा एउटा पनि फाइट नराखी यो फिल्म बनाएको थिएँ । कतिपय वितरकले फिल्म नै लिन मान्नुभएन । स्टार भएनन् भन्ने वितरकको कुरा थियोे । त्यसपछि आफैँ रिलिज गरेँ र सफल भयो । सबै कलाकार स्टार बने ।

 

मसँगै काम गरेका दयाराम दाहाल, केशव भट्टराईहरू, ऋषि लामिछानेहरूले पनि फिल्म उद्योगमा राम्रो काम गर्नुभयो । तृप्ति, उत्तम प्रधान, निरुता सिंह, दिलिप रायमाझीलगायत धेरै कलाकारलाई आज पनि दर्शकले सम्झनुहुन्छ । अहिले त उहाँहरूले धेरै चेलाचेली जन्माइसक्नुभयो । उहाँहरू आफ्नै क्षमता र बलमा स्थापित हुनुभएको हो । आफूसँगै काम गरेकाहरूले पाएको सफलता र प्रशंसा देख्दा स्वाभाविक रूपमा मलाई खुसी लाग्छ ।

 

‘दर्पणछाया २’ मा मेरो मिस्टेक थियो । दर्शकको फिल्म हेर्ने शैली परिवर्तन भइसकेको रहेछ । मलाई त्यतिवेला धेरै कुराको आइडिया भएन । त्यसको असफलताले धेरै कुरा सिकायो । कलाकारको छनोटमा मिस्टेक भयो । मैले स्विकार्नुपर्ने हुन्छ, मुख्य कलाकारबाहेक आफ्नो कामलाई लिएर अन्य कलाकार त्यति सिरियस थिएनन् । ‘दर्पणछाया १’  पनि यस्तै कथामा थियो । तर, त्यसमा सबै कलाकारले अति प्रतिबद्ध भएर काम गरेका थिए । त्यहीकारण सफलता हात लाग्यो । ‘दर्पणछाया २’ असफल भयो, स्विकार्छु ।  यत्ति भन्न सक्छु, अब नयाँ फिल्ममा ती गल्ती दोहोरिनेछैनन् । 

 

मुम्बईको संघर्ष
राज कपुरजस्तै अभिनेता बन्छु भन्ने सोचेर बम्बई गएको थिएँ । त्यहाँ गएपछि फिल्ममा रोल पाउन सहज रहेनछ भन्ने थाहा भयो । मैले त्यहाँ झुपडपट्टीबाटै जिन्दगी सुरु गरेको हुँ । त्यहाँका फुटपाथमा काम खोज्दै भौँतारिएको थिएँ । कतिपयले हामीलाई काम लगाएको पैसा पनि दिँदैनथे । संघर्षमा साथी बनेका थिए, हनिफ सिफा (जो अहिले भारतमा स्थापित निर्देशक हुन्) । उनले नै मलाई सुझाव दिएका थिए, ‘तिमी प्राविधिक क्षेत्रमा किन लाग्दैनौ । क्यामेरा अगाडि आउनु मात्र ठुलो कुरा होइन । क्यामेरा पछाडि पनि त काम हुन्छन् ।’

 

त्यसपछि मैले मेकअप सिकेँ । लाइटम्यानको काम गरेँ । मलाई मुम्बईका गल्लीहरूले संघर्ष सिकाए । आत्मनिर्भर बनाए । त्यहाँ मैले जिजी पाटिल र कमलाकर कार्खानिशजस्ता अग्रज गुरुहरूसँग एडिटिङ सिक्न पाएँ । उहाँहरूले राम्रा–राम्रा फिल्म एडिटिङ गर्नुभयो । त्यसमा मैले सहायकको भूमिका गरेँ । अमर अकबर एन्थोनी, धुप छाव, चाचा–भतिजाजस्ता ठुल्ठुला फिल्ममा काम गर्ने अवसर उहाँहरूले दिनुभयो । मनमोहन देसाईं, अमिताभ बच्चन, विनोद खन्नाहरूसँग काम गर्न पाउनु अविस्मरणीय क्षण हो । मैले बम्बई छँदै क्यामेरा सिकेँ । त्यही आधारमा कालान्तरमा मैले ‘बलिदान’ र ‘रहर’ आफैँ खिचेको हुँ ।

 

त्यहीक्रममा गुरु कलाकार कार्खानिशले मलाई सोध्नुभयो, ‘तिमी आफ्नो भाषामा फिल्म किन बनाउँदैनौ ?’ यसपछि उहाँले मलाई १० वटा नेपाली फिल्म बनाउन चुनौती दिनुभयो । मैले त्यसपछि ‘बाँसुरी’ बनाएँ । ‘दक्षिणा’ मेरो १०औँ प्रोजेक्ट भएकाले उहाँकै नाममा समर्पित गरेको हुँ ।

 

यसपछि बम्बई फर्कन्छु भनेर सोचेको भए पनि अझै नेपाली फिल्ममै व्यस्त छु । मानिसको तिर्सना जति गरे पनि पूरा हुँदैन । हामी पहिले कसैले चिनोस् भन्ने ठान्छौँ । त्यसपछि ताली खोज्छौँ । तालीसँगै गाली आउँछ । परिपक्व हुँदै गएपछि यी सबै कुरा सामान्य नै लाग्छ । मैले ५० वर्षमा फिल्म क्षेत्रमा धेरै परिवर्तन भएको देखेको छु । १६ एमएमको क्यामेराले खिचेको छु, त्यसलाई एटिड गरेको छु, त्यसैमा फिल्म बनाएको छु । अहिले डिजिटल हुँदै फोर के र एट के भिडियो आइसक्यो । नयाँ–नयाँ कुरा अनुभव गर्दै छु । बम्बई फर्किएको भए पैसा कमाइन्थ्यो होला । तर, मलाई पश्चात्ताप छैन । यहाँ सानो संघर्ष छ । सानै कुरामा खुसी हुने बानी पनि छ । मानिसको आँखामा मेरा लागि सम्मान देख्छु । त्यतिले नै मलाई खुसी दिन्छ ।

 

स्वाभाविक हो मानिसबाट कमजोरी हुन्छन् । मेरा पनि कमजोरी होलान् । सुधार्दै छु । एउटा सानो टिममा बसेर काम गरिन्थ्यो । अहिले सम्झँदा नयाँ पुस्तासँग केही ग्याप भएजस्तो महसुस हुन्छ । पछिल्लो समय विपिन कार्की, रवीन्द्रसिंह बानियाँजस्ता भाइहरूले यो ग्याप कम गर्न सहयोग गरिरहनुभएको छ ।

 

नयाँ पुस्ताका भाइबहिनीसँग अथाह सम्भावना छ । तर, नेपालको मार्केट जस्तो हुनुपर्ने थियो, त्यस्तो छैन । पछिल्लो समय महाजात्रा हेरेको थिएँ । निकै राम्रो लाग्यो । मीन भाम भाइले अलग सोचबाट फिल्म बनाइराख्नुभएको छ । उहाँको प्रस्तुतिको स्टाइल मलाई निकै राम्रो लाग्छ ।

 

आर्थिक रूपमा पनि अहिले चलचित्र क्षेत्र फस्टाउँदो छ । पहिलेभन्दा अहिले बजार विस्तार भएको छ । यो वातावरण हाम्रो पुस्ताले होइन, अहिलेका वितरकले बनाउनुभएको हो । हाम्रो समयमा बक्स अफिस भएको भए हामीलाई पनि फिल्म प्रवद्र्धनमा सहज हुन्थ्यो होला । चलचित्र क्षेत्रलाई पनि फाइदा हुन्थ्यो होला । त्यतिवेला फिल्म बनाइयो, प्रशासनिक कुरा सोचिएन । त्यो कमजोरी भयो । त्यतातर्फ पनि सोचेको भए अहिले चलचित्र उद्योगलाई फाइदै हुने रहेछ ।

 

नेपाली भाषा बोल्नेहरूको संख्या ठुलो छ । अहिले त विदेशमा पनि फैलिएका छन् । कतिपयले झापाको मेचीपुल कटेपछि हिन्दी भाषा बोल्नुपर्छ भन्ने तरिकाले सोच्छन् । तर, बर्मासम्म नेपालीहरूको राम्रै बसोवास छ । हामी मेची पुल तरेर बर्मासम्म नेपाली बोलेरै पनि जान सक्छौँ । हामीले ती सबै दर्शकलाई लक्षित गरेर नेपाली सिनेमा बनाउन सक्छौँ । दक्षिण भारतीयहरूमा सिनेमा हेर्ने संस्कृति निकै राम्रो छ । हाम्रोमा औसत सात प्रतिशतले पनि हेर्दैनन् । २० प्रतिशतले मात्रै सिनेमा हेर्ने संस्कृति बनाउन सक्छौँ भने ठुलो छलाङ हुन्छ ।

 

प्राविधिक परिवर्तन 
नयाँ जेनेरेसनको फिल्म मेकरहरूसँग जोडिँदा निकै राम्रो लाग्छ । धेरै कुरा सिक्न पनि पाइन्छ । पहिले, स्टेजका थोरै मात्र कलाकार सिनेमामा आउनुहुन्थ्यो । सिनेमाको अलग्गै दुनियाँ र स्टेजको अलग्गै दुनियाँ थियो । म त्यतिवेलादेखि नै स्पष्ट थिएँ– नेपाली सिनेमालाई साहित्य र नाटकसँग जोड्नुपर्छ । हाम्रा मौलिक कृतिमाथि फिल्म बन्नुपर्छ । अहिले स्टेजबाट आउनेको संख्या ठुलो छ । यसले नेपाली सिनेमालाई थप समृद्ध बनाएको छ ।

 

सन् १९७४ देखि यस क्षेत्रमा सक्रिय छु । म सम्झन्छु– सानो छँदा कालिम्पोङस्थित गाउँमा तीनवटा घरमा मात्रै रेडियो थियो । सबैले देखून् भनेर घरमा ठुल्ठुला एन्टिना राखिएका हुन्थे । दिदीहरूले रेडियो भएको घरमा बिहे होस् भनेको पनि सुनेको थिएँ । कालिम्पोङमा एक सय २५ वटा मात्रै टेलिफोन थियो ।

 

प्रविधिले दुनियाँलाई यति छिटै बदलेर अहिलेको अवस्थामा ल्याइदिएको छ । मलाई लाग्छ, हामीले अन्यत्र भइरहेका प्राविधिक परिवर्तनलाई पनि ख्याल गरेर काम गर्नुपर्ने हुन्छ । जस्तो– हाम्रोमा मानिसहरू अहिले मोबाइलमा फिल्म हेरिरहेका छन् । विदेशतिर मोबाइलमा फिल्म हेर्ने काम बन्द भइसक्यो । उनीहरू त्यो चरण पार गरेर फेरि सिनेमा घरमै जान थालिसके । हामीले पनि त्यसरी दर्शकलाई सिनेमाघरमा फर्काउने वातावरण बनाउनुपर्छ ।

 

मार्केटिङदेखि वितरण प्रणालीसम्म परिवर्तन भइसकेको छ । पहिले आफैँ चक्का बोकेर फिल्म देखाउनुपर्ने अवस्था थियो । हिन्दी फिल्मको फाटेको प्रिन्ट भर्सन कैयन् महिनापछि नेपाल आइपुग्थ्यो । अहिले सिंगल क्लिकमै सबैतिर फिल्म रिलिज गर्न मिल्ने अवस्था छ । बाटोमा पोस्टर टाँग्दै हिँड्नुपर्ने जमानाबाट हामी सामाजिक सञ्जालमार्फत नै फिल्मको बजारीकरण गर्न सक्ने अवस्थामा आइपुगेका छौँ ।

 

अब त एआईले नै निर्देशन गर्ने, स्क्रिप्ट लेख्ने जमाना आइसक्यो । हामीले नसोचेका कुरा आइरहेका छन् । तर, यी सबै प्राविधिक परिवर्तन मानव सिर्जनाका उपज हुन् । सिर्जनात्मक क्षेत्र भएकाले सिनेमामा राम्रो काम गर्दा सबैले रुचाइदिन्छन् ।

 

हामीले आध्यात्मिक रूपमा पनि सोच्नु जरुरी छ । म को हुँ भनेर बुझ्न जरुरी छ । त्यहीअनुसार सिर्जनशील प्रस्तुति दिन जरुरी छ । प्रविधिले प्रस्तुतिलाई थप समृद्ध बनाउँछ, तर जुन प्रविधिमा सिनेमा बनाए पनि कथाको प्रस्तुति र अभिनय नै प्रमुख हो । प्रविधिले अवसर र चुनौती दुवै सिर्जना गरेको छ ।

प्रस्तुति : अन्वेषण अधिकारी