• वि.सं २०८१ पौष ११ बिहीबार
  • Thursday, 26 December, 2024
हिप्पोलिट फोफ्याक
२०८१ मङ्सिर १५ शनिबार ०७:५२:००
अनुवाद

थोरै पैसासँग धेरै पैसा हारेको अमेरिकी निर्वाचन

२०८१ मङ्सिर १५ शनिबार ०७:५२:००
हिप्पोलिट फोफ्याक

 

पछिल्ला दशकहरूमा संयुक्तराज्य अमेरिकाको राजनीति र चुनावमा पैसाको बढ्दो प्रभावका बारेमा धेरै नै लेखिएको छ, जसमा ‘द बेस्ट कंग्रेस मनी क्यान बाई’ र ‘द बेस्ट डेमोक्रेसी मनी क्यान बाई’जस्ता शीर्षकहरू समावेश छन् । तर, के चुनावी अभियानका क्रममा चन्दा र खर्चमा ठुलो अग्रता पाएको उपराष्ट्रपति कमला ह्यारिसविरुद्ध डोनाल्ड ट्रम्पको विजयले यो भाष्यलाई कमजोर बनाउँछ त ?  

 

एलेक्सिस डे टक्कभिलले आफ्नो पुस्तक ‘डेमोक्रेसी इन अमेरिका’मा ‘बिग मनी (पैसा)’ले अमेरिकी शासन प्रणालीमाथि निम्त्याउने खतराबारे सन् १८३५ मै चेतावनी दिएका थिए । कुलीन तथा अभिजात वर्गले जताउने प्रभावबारे टक्कभिल लेख्छन्,‘अमेरिकी समाजको सतहलाई लोकतन्त्रको एउटा च्यादरले ढाकेको छ, तर मुनीबाट वैभवशाली अभिजात्यका रङहरूले वेलाबखत टाउको उठाउँदै चिहाउँछ ।’ 

 

आज, अर्बपति वर्गले चुनाव र नीति–निर्माणलाई प्रभावित गर्नमा आफ्ना वित्तीय स्रोतसाधनको फाइदा उठाइराखेको छ । निर्वाचन प्रक्रियाबाट सर्वसाधारणको विशाल बहुमतको मूल्यमा यो वर्गले धेरैभन्दा धेरै शक्ति आफूमा एकत्रित गर्दै लगेको छ । यो विपत्तिद्वार (फल्डगेट) ‘सिटिजन्स युनाइटेड भर्सेस फेडरल कमिसन (२०१०)’ले खोलिदिएको हो । यो मुद्दामा सर्वाेच्च अदालतले चुनावी अभियानको खर्चसम्बन्धी प्रतिबन्धहरूलाई उल्ट्याइदिँदै कर्पाेरेसन र अन्य बाहिरी समूहलाई चुनावमा ‘असीमित रकम खर्च’ गर्ने बाटो खुला गरिदिएको थियो । त्यसयता निर्वाचनमा परिचालन हुने पैसामा भारी वृद्धि भएको छ । दृष्टान्तका लागि, सन् २०१० मा आठ करोड ९० लाख डलर मात्रै उठाएको पिएसी (पोलिटिकल एक्सन कमिजिज)ले यो वर्ष करिब चार अर्ब ३० करोड डलर उठाएको छ ।

 

तर, सन् २०२४ को चुनावी दौडमा खन्याइएको अथाह पैसाले निर्वाचन परिणाममा भने निर्णायक प्रभाव पारेको देखिएन । खर्चमा ह्यारिसभन्दा धेरै पछाडि परे पनि ट्रम्पले पुनरागमन गरे भने रिपब्लिकनका हित समूह र दाताहरूले आफ्नो लगानीमा उल्लेखनीय प्रतिफल प्राप्त गरेका छन् । राष्ट्रपति जित्नुका साथै रिपब्लिकनहरूले हाउस अफ रिप्रजेन्टेटिभ्समा पनि आफ्नो बहुमत हासिल गरे भने सिनेटमा पुनः विजय हासिल गरे, जसले यो पार्टीलाई व्यवस्थापिका र कार्यपालिका दुवैमा पूर्ण नियन्त्रण प्रदान गरेको छ ।

 

ट्रम्पको सानदार जितमा धेरै कारकले योगदान पुर्‍याएका छन् । उनले सबै सात उच्च प्रतिस्पर्धा रहेका राज्यमा विजय हासिल गरे । अदालत र चुनावी अभियानको बिचमा रहेका बखत अनुदारवादी समर्थकमाझ उनको आधार कमजोरै देखिन्थ्यो । ट्रम्पले रिपब्लिकन पार्टीका लागि नयाँ कीर्तिमान पनि कायम गरे । ऐतिहासिक रूपमा डेमोक्र्याटिक झुकाव राख्ने प्रमुख सबै ‘स्विङ स्टेट’हरूमा उनले जित हासिल गरे । पछिल्लो इतिहासका कुनै पनि रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवारको तुलनामा अधिक अश्वेत एवं ल्याटिनो मतदाताहरूलाई आकर्षित गर्न सके ।

 

चन्दा उठाउने क्षमताका बाबजुद ह्यारिसले भने राष्ट्रपति जो बाइडेनको अलोकप्रियताका कारण कडा राजनीतिक चुनौतीको सामना गर्नुपर्‍यो । धेरै मतदाताले यो चुनावलाई ‘बाइडनोमिक्स’माथिको जनमतसंग्रहका रूपमा बुझिदिए, जसलाई उनीहरूले उच्च मुद्रास्फीति, महँगी र घरेलु क्रयशक्तिको क्षयसँग जोडेर हेरेका थिए । हुन त, अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले मन्दीको सुरुवात नगरी नै मुद्रास्फीतिलाई कम गर्न सकेको हो । सन् २०२४ को तेस्रो त्रैमासमा अमेरिकाको वास्तविक जिडिपी २.८ प्रतिशतले वृद्धि भएको थियो, जुन लामो अवधिको वृद्धिदरभन्दा माथि नै हो । बेरोजगारी दर पनि ऐतिहासिक रूपमै कम रह्यो । तर, डेमोक्र्याटहरूले ट्रम्पले भन्ने गरेको ‘कमला ह्यारिस इन्फ्लेसन ट्र्याक्स’को राजनीतिक मूल्य चुकाउनु नै पर्‍यो ।

 

मतदाता ट्रम्पको पहिलो कार्यकालको अर्थतन्त्रप्रति नोस्टाल्जिक भइदिए । बाइडेनको कार्यकालको १.४ प्रतिशतको तुलनामा ट्रम्पको कार्यकालमा वास्तविक औसत प्रतिघण्टा आम्दानी ६.४ प्रतिशतले बढेको थियो । फेडरल रिजर्भ बैंक अफ एटलान्टाको तथ्यांकले पनि आवास खर्चमा खर्चिनुपर्ने पारिवारिक आयको हिस्सा पनि ट्रम्पको शासनकालमा नै न्यून रहेको र बाइडेनकालमा करिब ५० प्रतिशतले वृद्धि भएको देखाउँछ । निःसन्देह, ट्रम्पले सहज अर्थतन्त्र बाराक ओबामाबाट विरासतमा पाएको कुरा धेरैले बिर्सिए ।

 

अमेरिकी मतदाता मुद्रास्फीति, आप्रवासन र अपराधजस्ता विषयमा सबैभन्दा बढी चासो राख्छन् । यी मुद्दामा ट्रम्पले आफूलाई बढाउँदै निर्वाचनको दौड लगाए । महिनौको चुनावी अभियानपछि ट्रम्पले चुनावअघिका हप्ताहरूमा यी तीनै मुद्दामा अग्रता लिए । अक्टोबरको अन्त्यमा गरिएको युगोभ सर्वेक्षणअनुसार ४९ प्रतिशत अमेरिकी ट्रम्पले आप्रवासनमा राम्रो काम गर्ने ठान्थे भने ३५ प्रतिशतले मात्रै ह्यारिसले । गत सेप्टेम्बरको एउटा ग्यालप सर्वेक्षणले पनि अर्थतन्त्रका लागि कुन उम्मेदवार उपयुक्त ? भन्ने प्रश्नमा पूर्वराष्ट्रपति उपराष्ट्रपतिभन्दा नौ अंकको अग्रता लिएको देखाएको थियो । रुस–युक्रेन र गाजा युद्धलाई सम्हाल्ने क्षमतामा पनि मतदाताले ट्रम्पलाई नै बढी विश्वास गरेका थिए । ७० प्रतिशत मतदाताले ट्रम्पसँग विदेश मामिलाको अनुभव रहेको विश्वास व्यक्त गरेका थिए ।

 

तर, यसले उनको जितले धनाढ्यहरूको प्रभावलाई कम गर्दैन । ट्रम्प ह्वाइट हाउसमा यस्तो समयमा फर्केका छन् जुन समय अमेरिका गृहयुद्धपछिकै सबभन्दा गहिरो रूपमा विभाजित र अत्यधिक रूपले असमान छ । घनी र गरिबबिचको यो खाडल बढाउनमा चुनावी प्रक्रिया र नीति निर्माणमा धनाढ्य व्यक्ति तथा समूहहरूको बढ्दो प्रभावले निःसन्देह योगदान पुर्‍याएको छ । पछिल्लो ६० वर्षमा अमेरिकाका शीर्ष १ प्रतिशत परिवारको सम्पत्ति तल्ला ५० प्रतिशत परिवारको तुलनामा ३६ गुणाबाट बढेर ७१ गुणा पुगेको छ भने अहिले ६० प्रतिशत मध्यम परिवारको सम्पत्तिलाई पनि उछिनेको छ ।

 

आर्थिक र राजनीतिक असमानता एकदमै घनिष्ठ रूपले सम्बन्धित हुन्छन् । अति धनाढ्यहरूको बढ्दो शक्तिले अधिकांश अमेरिकीहरूलाई विपन्न र आवाजविहीन बनाइदिएको छ । वर्गीय असन्तोषलाई बढावा दिएको छ । यो विभाजनलाई कम गर्न अमेरिकाले नीति–निर्माताहरूलाई दशकौँदेखि दातृवर्गको अधीनस्थ बनाउँदै आएका साङ्लाहरू तोड्नु र व्यक्तिगत एजेन्सीलाई बलियो बनाउने, आर्थिक अवसर विस्तार गर्ने र आय वितरणमा सुधार गर्ने व्यापक जवाफदेहितामा आधारित र अधिक समावेशी नीतितर्फ लोकतान्त्रिक संक्रमण गर्नु आवश्यक छ । यस्ता नीतिले माथितर्पmको गतिशीलता बढाउनेभन्दा पनि अमेरिकी सपनालाई पुनर्जीवित गराउने र सामाजिक एकतालाई बढावा दिनेछन् ।

 

हाम्रो लोकतन्त्र र साझा समृद्धिको भविष्य आगामी प्रशासनले संस्थाहरूमाथिको विश्वासको पुनर्निर्माण र राजनीतिक तथा आर्थिक शक्तिको न्यायोचित वितरणका लागि चाल्नुपर्ने कदममा निर्भर गर्नेछ । अमेरिकी सर्वाेच्च अदालतका पूर्वन्यायाधीश लुइस ब्रान्डिसले भनेका छन्, ‘आफ्नो छनोट हामीले नै गर्नुपर्छ । या त हामीसँग लोकतन्त्र या थोरैका हातमा धनको केन्द्रीकरण हुन सक्छ तर, यी दुवै एकैसाथ हुन सक्दैनन् ।’

 

(अफ्रिकन एक्सपोर्ट–इम्पोर्ट बैंकका पूर्वप्रमुख अर्थशास्त्री तथा अनुसन्धान निर्देशक फोफ्याक हार्वर्ड युनिभर्सिटीको सेन्टर फर अफ्रिकन स्टडिजका रिसर्च एसोसिएट र अफ्रिकन एकेडेमी अफ साइन्सेजका फेलो हुन् । ‘प्रोजेक्ट सिन्डिकेट’बाट नारायण शिवाकोटीको अनुवाद ।)