• वि.सं २०८१ पौष ११ बिहीबार
  • Thursday, 26 December, 2024
जगमान गुरुङ
२०८१ मङ्सिर १५ शनिबार ०९:५२:००
इतिहास

सानोमा रेडियो देख्दा...

२०८१ मङ्सिर १५ शनिबार ०९:५२:००
जगमान गुरुङ

 

विदेशतिरबाट आएकाले सुनाउँथे, ‘यहाँको रेडियोमा मानिसको आवाज मात्रै आउँछ । उतातिर मानिस नै देखिने रेडियो बनिसकेको छ।’

 

०१७–१८ सालको कुरा हो । त्यस्तै, १३ वर्षको थिएँ । कास्कीको मौजा लामडाँडास्थित मेरो मावली गाउँमा एउटा लाहुरेले रेडियो ल्याएको रहेछ । हाम्रोमा धेरै कुराहरू लाहुरेले नै भित्र्याए । लाहुरेहरू फेसनेबल कपडा, रेडियो, चुरोट, चियालगायत गाउँ फर्कँदा नौला कुराहरू बोकेर फर्कन्थें । त्यतिवेला एउटा गाउँमा कुनै नयाँ कुरा भयो भने चार गाउँमा हल्ला फैलिन्थ्यो । मेरो गाउँमा पनि त्यो हल्ला आइपुग्यो ।

 

गाउँको प्रधानपञ्च खरजंग गुरुङले त्यो रेडियो किन्ने इच्छा प्रकट गरे । मेरा बुबाले ती लाहुरेका भिनाजुसँग यसबारे कुराकानी गर्नुभयो । त्यसपछि भिनाजुले रेडियो ल्याएर प्रधानपञ्चलाई बेचे । गाउँमा रेडियो आएको यो पहिलोपटक थियो । यो त ठुलो बाकसजस्तो थियो । लगभग, कम्प्युटरजत्रै थियो । सानै थियौँ, कुन ब्रान्डको भन्ने याद छैन ।

 

जहाँ पायो त्यहीँ बजाउन मुस्किल थियो । किनकि, रेडियोको लागि एन्टेना चाहिन्थ्यो । त्यसपछि परालको टौवाको मियोमा लगेर रेडियो राखियो । टौवाको टुप्पोमा तामाको तार राखेर त्यसलाई भुइँमा रहेको रेडियोमा जोडियो । रेडियो बज्न थाल्यो ।

 

गाउँभरिका मानिसहरू त्यहाँ आउँथे । रेडियो सुन्थे र जान्थे । त्यसको केही समयमै मेरो माइला बाजेको छोरा (जेठो बुबा)ले पनि रेडियो ल्याउनुभयो । उहाँले सुवेदारबाट पेन्सन पकाएपछि रेडियो किन्नुभएको थियो । यसरी नै परालको छेउमा मियोमा टाँगेर रेडियो बजाइन्थ्यो । मेरो बुबाले पनि केही समयपछि रेडियो किन्नुभयो । उहाँले घरको आँगनअगाडि ४–५ बजेपछि रेडियो बजाउनुहुन्थ्यो । मानिसहरू अचम्म मान्दै हेर्न आउँथे ।

 

गाउँमा यसरी तीनवटा रेडियो थिए । बुबाले त्यो रेडियो बेचेर नेसनल पानासोनिक रेडियो किन्दासम्म गाउँका धेरै घरमा रेडियो देखिन्थ्यो । नेसनल पानासोनिक सानो, सस्तो र धेरै समयसम्म ब्याट्री दिने रेडियो थियो । लाहुरेहरूलाई विदेशबाट फर्कँदा बोकेर ल्याउन सहज थियो । एक ठाउँबाट अर्को ठाउँमा लैजान पनि सजिलै सकिने भएकाले धेरैले यो रेडियो किने ।

 

विदेशतिरबाट आएकाहरूले सुनाउँथे, ‘यहाँको रेडियोमा मानिसको आवाज मात्रै आउँछ । उतातिर मानिस नै देखिने रेडियो बनिसकेको छ ।’ मानिसहरू रेडियोमा गीत–संगीत र मौसमसम्बन्धी जानकारी सुन्थे । धेरैपछिसम्म पनि समाचारका लागि रेडियो भरपर्दो स्रोत थियो । रेडियो आउनुअघि कटुवालले डाँडामा गएर कर्नाल फुकेर सरकारी सूचना सुनाउने चलन थियो । कर्नाल फुकेपछि गाउँलेहरूले महत्वपूर्ण जानकारी पाउँथे । कुनै कामका लागि मानिस भेला गर्नुपर्दा उनीहरूले नै यसरी कर्नाल फुक्थे ।

 

रेडियोको विकास र प्रयोगसँगै सञ्चारको यो आदिम स्वरूप बिस्तारै हट्दै गयो । यद्यपि, अहिले पनि यो प्रथा केही गाउँमा प्रतीकका रूपामा बाँचेको छ । हाम्रै गाउँ (कास्कीस्थित मादी गाउँपालिका–याङ्जाकोट) मा यो प्रथा बाँचेको छ । समय धेरै बदलिसक्यो, अहिले सामाजिक सञ्जालमार्फत यहाँबाट विदेशमा भिडियो कल गर्न सकिन्छ । गाउँ–गाउँमा इन्टरनेट पुगिसकेको छ । रेडियो पनि मोबाइलमै सुन्न मिल्छ ।