समाजले भनिरह्यो– आमा भएर सगरमाथा चढ्ने होइन । तर, यी चार आमाहरूले सगरमाथा चुमिछाडे ।
ओ याङ्जी नाना !
तिम्रो रिन्जी हिमाल चढ्दा
मर्यो भनी नसम्झ !
ऊ त तिम्रो चौँरीगोठमा
कुहिरोसँगै उड्दै–उड्दै
आइरहेछ
गायक तथा संगीतकार गणेश रसिकको यो गीत हिमालमा श्रीमान् गुमाएका महिलाप्रति समर्पित छ । गीतले हिमालमा श्रीमान् गुमाएकी याङ्जीलाई सान्त्वना दिन्छ । हिउँको दुनियाँमा पुरिएर अलप भएका श्रीमान् कुहिरोसँग उड्दै–उड्दै वनपाखा घरवरिपरि नै घुमिरहेका हुन्छन् भन्दै महिलालाई गीतले सान्त्वना दिएको छ । तर, गीतले भनेजस्तो श्रीमान् गुमाएका र श्रीमान् त्यागेका महिलाहरू पिर, सुर्ता मानेर बसेका छैनन् । केही त्यस्ता महिला पनि छन्, जो श्रीमान् अलप भएको हिउँका थुम्का चढ्दै सर्वोच्च शिखर सगरमाथामा पुगेका छन् र केही त्यस्ता सिंगल मदर पनि छन्, जसले सामाजिक बारबन्देज तोड्दै दुधे सन्तान छाडेर सगरमाथा आरोहण गरेका छन् । ४७ वसन्त हिँड्दै गरेकी फुरदिकी शेर्पा त्यस्तै एक महिला हुन्, जसको श्रीमान् हिउँ पहिरोमा पुरिएर सधैँका लागि अस्ताए । तर, फुरदिकी शोकमा डुबेर बसिनन् । श्रीमान् पुरिएको हिँउमाथि टेक्दैटेक्दै सगरमाथाको आरोहरण गरिन् ।
फुरदिकीको हिम्मत
मंसिर महिनाको एक बिहान फुरदिकीलाई बौद्धमा भेट्दा उनी भर्खरै रक क्लाइम्बिङ सम्बन्धी तालिमबाट फर्किएकी थिइन् । क्याफेमा उनले कफी मगाइन् । सुरुमै भनिन्, ‘हिमाल चढ्ने महिला अरू पनि छन् । तर, मेरो कथा बेग्लै छ । धेरै च्यालेन्ज फेस गरेर बाँचिरहेको छु ।’
फुरदिकीको १९ वर्षको उमेरमा सोलु बेनीका मिङमा शेर्पासँग विवाह भयो । उनीहरूले नौ वर्षसम्म सोलुको छुदुममा चिया पसल चलाए । आम्दानी ठिकै थियो । फुरदिकीका बुबा आङनिमा शेर्पा सगरमाथाको आइसफल डाक्टर थिए । त्यसैले मिङमा पनि ससुरासँग हिमाल जान थाले । श्रीमान् हिमालतिर जान थालेपछि फुरदिकीले सोलुको दिङबोचेमा होटल खोलेर बस्न थालिन् । तीन छोरीहरू पनि हुर्किरहेका थिए । यसरी नै उनीहरूको पाँचजनाको परिवार ठिकठाक चलिरहेकै थियो ।
सन् २०१२ अप्रिलमा फुरदिकीका बुबाको मृत्यु भयो । ससुरा बितेपछि मिङमालाई हिमाल उक्लिन मन थिएन । तर, घरको आर्थिक अवस्थाले उनी सगरमाथामा बाटो बनाउने काममा जान बाध्य भए । २०१३ अप्रिल सुरुमा फुरदिकी पनि याक लिएर सगरमाथा बेसक्याम्प पुगेकी थिइन् । तर, त्यहाँ श्रीमान्सँग भेट भएन । अप्रिल ७ मा उनी बारीमा काम गर्दै थिइन् । आधार शिविरबाट खबर आयो, ‘मिङमा क्याम्प २ नजिकै हिउँ पहिरोमा पुरिए ।’
परिवारका दुई महत्वपूर्ण सदस्यले संसार छाडेपछि फुरदिकीको दुनियाँ उजाडियो । उनको आङमा घाम लागेन । कसै गर्दा पनि उनले मन भुलाउने ठाउँ भेटिनन् । उनको अघि उभिएका अग्ला पहाड र हिमाल दुःख बोकेर अझै अग्ला भए । ‘हामी दुईजना मिलेर छोरीहरूको भविष्यका लागि संघर्ष गरिहेका थियौँ, उनी सम्झिन्छिन्, ‘श्रीमान् बितेपछि घर धान्ने जिम्मा म मात्रैको भयो । धेरै दिन रोएर बिताएँ ।’
श्रीमान् बितेपछि फुरदिकीलाई गाउँमा बस्न मन लागेन । छोरीहरू च्यापेर काठमाडौं आईन् । तर, श्रीमान्को सम्झनाले सताइरह्यो । काठमाडौं उनका लागि सजिलो थिएन । उनका लागि काठमाडौंका गल्ली बिराना थिए । कामको खोजीमा धेरै ठाउँ भौँतारिइन् । तर, कतै काम पाइनन् ।
निमाडोमा भन्छिन्– रोएर बसिनँ
सोलुखुम्बु खुम्जुङकी निमाडोमा शेर्पा (४०) का बुबा हिमालमा काम गर्थे । हिमालबाट कमाएको पैसाले घर चलाउन, छोराछोरी पढाउन पुग्थ्यो । त्यसैले निमाडोमाले पनि कक्षा ९ सम्म पढ्न पाइन् । तर, निमाडोमाको ध्यान भने टे«किङमा गयो, पढाइतिर गएन । उनको पढाइ रोकियो ।
खुम्जुङकै छिरिङ ओङ्छुसँग सन् २००५ मा विवाह भयो । छिरिङ सगरमाथामा आरोहीलाई सघाउने काम गर्थे । विवाहपछि उनीहरूको छोराछोरी भयो । निमाडोमा खेतीपाती र घर सम्हालेर बस्न थालिन् ।
श्रीमान्कोे काम निकै जोखिम लाग्थ्यो, निमाडोमालाई । त्यसैले उनीहरूले क्याम्प दुईमै किचनको काम गर्ने सल्लाह गरे । सन् २०१४ छिरिङले किचनकै काम सुरु गरे ।
सगरमाथा बेसक्याम्प पुगेर माथितिर जानेवेलामा घरमा फोन गरे छिरिङले । उनले पालैपालो परिवारसँग कुराकानी गरे । अन्तिममा श्रीमती निमाडोमासँग भनेका थिए,‘भोलि म एक महिनाका लागि क्याम दुईमा जाँदै छु । यसबिचमा कुरा हुन सक्दैन होला । म फर्किएपछि कुरा गरौँला । तिमीहरू राम्रोसँग बस्नू ।’
त्यसपछि छिरिङसँग कुरा हुन सकेन । भोलिपल्ट बिहान (२०१४ अप्रिल १८) निमाडोमा जंगलमा पत्कर र घाँस काट्न गइन् । श्रीमान् राम्रैसँग क्याम्प दुई पुगे होलान् भन्ने उनलाई लाग्यो । उनी दिउँसो १२ बजे घर आएर भारी मात्रै बिसाएकी थिइन् । सगरमाथामा ठुलो हिमपहिरो आएर शेर्पाहरू पुरिए भन्ने खबर सुनिन् । निमाडोमाले तुरुन्तै चारैतिर फोन लगाइन् । कसैले छिरिङ पनि पहिरोमा परे भनेनन् । केहीबेरमा त्यही हिमपहिरोमा छिरिङसहित १८ जना पुरिएको खबर पाइन् । त्यसपछि उनी अर्धचेत भइन् ।
दुई वर्षसम्म उनी श्रीमान्को सम्झनामा विक्षिप्त भइन् । त्यतिवेला छोरा ६ वर्ष र छोरी तीन वर्षको मात्रै थिए । एक वर्ष गाउँमै होटेल खोलेर बसिन् । तर, मन मानेन उनको । उनी २०१६ काठमाडौं आइन् । भन्छिन्, ‘दुई वर्ष रोएरै बसेँ । कुनै काम गर्न सकिनँ । छोराछोरी सानै थिए । उनीहरूलाई खाना खुवाउनुपथ्र्याे । त्यसपछि एक वर्ष गाउँमै होटेल खोलेर बसेँ । तर, मन मानेन । छोरीछोरीको भविष्य सोचेँ । गाउँमा एकल महिलालाई हेर्ने दृष्टिकोण फरक पाएँ । बरु दुःख–सुख काठमाडौंमै बाँच्छु भनेर आएँ ।’
फुरदिकी र निमाडोमा बौद्धमा कोरा गर्ने वेलामा भेट भयो । दुवैको पीडा उस्तै । फुरदिकी भन्छिन्,‘हामी कति दिन त भेट भयो कि त रुन थालिहाल्थ्यौँ । सधैँ रोएर मात्रै हुँदैन । हामी पनि केही गर्न सक्छौँ, भनेर सोच्न थाल्यौँ ।’
सन् २०१७ को कुरा हो । फुरदिकीको पर्वतारोही आङछिरिङ लामा (आङदाइ)सँग भेट भयो । उनले फुरदिकीलाई सगरमाथा चढ्ने साहस दिए । उनले सगरमाथा चढ्ने प्रक्रिया बताउने मात्रै होइन, चढाउने प्रतिबद्धता पनि गरे । उनी भन्छिन्,‘श्रीमान्को एकपटक जसरी पनि सगरमाथा चढ्ने सपना थियो । तर, उसको सपना पूरा हुन सकेन । श्रीमान्को सपना अब मेरो पनि सपना बन्यो र जसरी भए पनि सगरमाथा चढेरै छाड्ने सोच बनाउन थालेँ ।’
निमाडोमा थप्छिन्,‘२०१७ मा एकल महिलाको सम्मान गर्ने कार्यक्रममा जाने अवसर पाएँ । त्यहाँ २५–३० जना एकल महिलासँग भेट भयो । उनीहरू सबैका श्रीमान् हिमाल हिमपहिरोमा परेको पाएँ । म मात्रै एकल महिला होइन रहेछु । मजस्ता अरू पनि रहेछन् भन्ने सोच आयो । त्यसपछि आफूलाई बलियो बनाउन थालेँ । हिम्मत हार्नुहुँदैन भन्ने लाग्यो । सधैँ रोएर बस्नुहुँदैन भन्ने लाग्यो ।’
उनीहरू सगरमाथा आरोहणमा कस्सिए । त्यसपछि उनीहरू दुवैजना कहिले आर्थिक सहयोग जुटाउन दौडिए । फुरदिकी र निमाडोमाले सगरमाथा पर्वतारोहणसम्बन्धी आधारभूत तालिम लिए । त्यसपछि उनीहरूले आइसल्यान्ड पिक चढे । त्यसपछि सगरमाथा आरोहणका लागि कम्मर कसिन् । फुरदिकी र निमाडोमाले ‘टु विडोज वुमन एक्सिपिडिसन’ नाम दिएर अभियान थाले । अन्ततः उनीहरूले पहिलो प्रयासमै २०१९ मे २० मा सगरमाथाको शिखर चुमे । तर, फुरदिकीको जीवनमा दुःखको सगरमाथा अगाडि ठडिरह्यो । भन्छिन्,‘जीवनमा चुनौती धेरै आए । सानै उमेरमा विवाह गरेँ । बालबच्चा पनि भए । मेरो बुढाको पनि पढाइलेखाइ थिएन । मैले पनि स्कुल टेक्न पाइनँ । मेरा सुखको दिन कहिल्यै आएनन् ।’
अहिले उनीहरू पर्वतारोहण क्षेत्रमै काम गरिरहेका छन् । फुरदिकी र निमाडोमा अनेक हन्डर र ठक्कर खाँदै साहसको पर्याय बनेका छन् । निमाडोमा भन्छिन्, ‘हिमाल पुरुषहरू मात्रै जाने हो, पुरुषहरू भएको ठाउँमा महिला जानुहुँदैन भन्ने आमबुझाइ छ । झन् एकल महिलाका लागि यस्तो कुरा झेल्न निकै गाह्रो छ । महिला घरको चुलोचौका र बालबच्चा मात्रै हेरेर बस्नुपर्छ भन्ने सोचाइ छ । तर, हामी घरको काम मात्रै गर्दैनौँ बाहिरको काम पनि गर्न सक्छौँ ।’
पासाङ ल्हामुले चुमेको शिखर
सोलुखुम्बु पासाङ ल्हामु गाउँपालिका– १ की पासाङ ल्हामु शेर्पाको कक्षा ११ पढ्दापढ्दै जबर्जस्ती बिहे भयो । विवाह हुँदा उनी भर्खर १९ वर्षकी थिइन् । बिहेपछि श्रीमान् ट्रेकिङमा जान थाले । पासाङले पढाइलाई नै निरन्तरता दिइरहिन् । उनले कक्षा १२ पास गरिन् । त्यही वेला छोरी जन्मिइन् । त्यसपछि पढाइमा ‘ब्रेक’ लाग्यो ।
पासाङका श्रीमान् विदेशका हिमालमा पनि ट्रेकिङमा जान्थे । त्यसैले अधिकांश समय श्रीमान् देशबाहिर हुन्थे । पासाङ छोरीहरू हुर्काउँने काममै सीमित हुन थालिन् । पासाङले अझै पढ्छु भन्दा श्रीमान्ले भन्थे, ‘महिलाले घरमै बस्नुपर्छ ।’ पासाङका सपना खुम्चिँदै जान थाले । उनको हरेक सपनामा श्रीमान् अवरोध बने । यही विषयमा दुईजनाबिच झगडा भइरहन्थ्यो । पासाङलाई कहिल्यै गृहिणी मात्रै भएर बस्न मन थिएन । महिला भएर समाजमा काम गरेर देखाउन मन लाग्थ्यो । तर, उनको यो विचार श्रीमान्ले फिटिक्कै मन पराएनन् ।
हिमाल चढेर आएपछि पासाङका श्रीमान्ले बेग्लै सान देखाउँथे । उनको फुर्ती, रवाफ छोइनसक्नु हुन्थ्यो । पासाङले ‘म पनि सगरमाथा चढ्छु’ भन्दा ‘आइमाई भएर हिमाल चढ्ने होइन’ भन्थे । यसरी बेमेलमै चलेको वैवाहिक सम्बन्धको बन्धन १८ वर्षपछि छिन्यो । पासाङले सहनै नसक्ने भएपछि अलग हुने निर्णयमा पुगिन् । अलग भएपछि जसरी भए पनि सगरमाथा चढेरै छाड्ने सपना सजाउन थालिन् ।
उमेरले ४० टेक्दै थियो । एकातिर छोरीहरूलाई कलेज पढाउनुपर्ने, अर्कोतिर श्रीमान्बाट अलग, त्यसमाथि सगरमाथा चढ्ने सपना, र थपियो समाजलाई सगरमाथा चढेरै देखाउने दृढ संकल्प, पासाङका झनै अप्ठ्यारा दिन सुरु भए । तर, उनले हिम्मत हारिनन् । उनलाई घरका दाजुभाइले साथ दिए । भन्छिन्, ‘महिला गृहिणी मात्रै होइन, पुरुषसरह काम गर्न सक्छन् भनेर प्रमाणित गर्न पनि सगरमाथा चढ्नैपर्छ भन्ने सोचेँ ।’
नेपाल पर्वतारोहण संघको पर्वतारोहण तालिम पहिले नै लिइसकेकी थिइन् । पासाङले दोलखाको ६ हजारभन्दा माथिको ‘राम्दुङ पिक’ चढिसकेकी थिइन् । सगरमाथा चढ्ने तयारीमा जुटिन् । उनले आर्थिक संकलनका लागि अभियान सुरु गरिन् । भन्छिन्, ‘त्यसवेला मेरो अभियानमा दाजुभाइ र चिनेजानको मान्छेबाट ठुलो सहयोग पाएँ । मलाई विश्वास गरेँ । त्यसपछि मलाई हिम्मत जुट्यो ।’
पासाङलाई मानसिक रूपमा निकै ठुलो तनाव थियो । श्रीमान्सँग कानुनी रूपमा अलग हुन बाँकी थियो । अदालतमा मुद्दा चलिरहेको थियो । श्रीमान्ले सगरमाथा चढ्ने बाटो बन्द गर्न खोजे । पासाङलाई श्रीमान्ले विभिन्न धम्की दिइरहे । तर, पासाङ आफ्नो लक्ष्यमा अडिग भइन् । भन्छिन्, ‘मलाई सगरमाथाको यात्रा रोक्ने प्रयास भयो । तर, सबै कुरा बिर्सिएँ । सगरमाथाको चुचुरोमा पुगेर फर्किन्छु भन्ने अठोट लिएँ । चुचुरोमा पुगेर सकुसल फर्किन्छु भनेर आफ्नो बाटो हिँडिरहेँ ।’
साना छोरीहरू छाडेर सगरमाथाको यात्रामा निस्किँदा पासाङलाई धेरैले पागलको संज्ञा दिए । तर, उनलाई त्यो कुरा सामान्य नै लाग्यो । सफलता प्राप्तिका लागि पागलपन आवश्यक छ भन्ने उनलाई थाहा थियो । अन्ततः पासाङले सन् २०१८ मे १६ मा सगरमाथाको सफल आरोहण गरिन् । अहिले पासाङ पथप्रदर्शकको काम गर्छिन् । सगरमाथा आरोहणपछि अरू पनि हिमाल चढ्न मन लाग्यो । तर, इच्छाले मात्रै नहुने उनले ठानिन् । भन्छिन्, ‘रहर धेरै थिए । तर, के गर्नु बाध्यता थिए र छन् । छोरीहरू हुर्काउनुपर्ने जिम्मेवारी पनि छ । तर, सिजनमा ६ हजार उचाइका पिकहरूचाहिँ गइरहन्छु ।’
शर्मिलाको साहस
काभ्रे रोशी–११ की शर्मिला स्याङतानको हिमालसँग खास साइनो थिएन । उनले बचपनमा देखेका पडाड थिए, तेमाल, महाभारत अनि सैलुङ । फुर्तिलो ज्यान, मिहिनेती बानी । हिँड्न, दौडिन अल्छी नमान्ने । सन् २००९ मा शर्मिला १७ वर्षकी मात्रै थिइन् । ११ कक्षा पढ्दै थिइन् । उनका मामाका छोरा ट्रेकिङ जान्थे । एक दिन बाटोमा अचानक भेटिएका मामाका छोरालाई शर्मिलाले भनिन्, ‘मलाई पनि ट्रेकिङमा लैजाने दाइ ?’ जवाफ आयो, ‘एकजना मान्छे चाहिएको छ । जाने भए हिँड ।’ यसरी ख्यालख्यालमै सुरु भयो, शर्मिलाको हिमालसँग साइनो ।
शर्मिला घर नगई दाइसँगै काठमाडौं आइन् । भोलिपल्ट बिहान ५ बजे सुन्दरीजलबाट गोसाइँकुण्डसम्मको यात्रा सुरु भयो । गोसाइँकुण्ड पुग्दा सूर्य पिक चढ्न हिँडेका बंगलादेशी श्रीमान्–श्रीमतीसँग भेट भयो । श्रीमतीलाई लेक लागेर जान नसक्ने भइन् । शर्मिलालाई गाइडले सहयोगीको रूपमा सूर्य पिक चढ्ने भए जाऊँ भनेर आग्रह गरे । त्यसपछि उनी लागिन् सूर्य पिकतिर ।
सूर्य पिक चढेर दुई हप्तापछि काठमाडौं फर्किइन् । सूर्य पिकपछि शर्मिलाले अझै अग्लो हिमाल चढ्ने सपना सजाउन थालिन् । तर, समयले अर्को मोड लियो । कक्षा १२ पढ्दै गर्दा २१ वर्षको उमेरमा उनको बिहे भयो । विवाहपछि सपना चुम्ने कठिन बाटो छोटिएला भन्ने उनको आशा थियो । तर, भइदियो उल्टो ।
विवाह गरेको दुई वर्षपछि छोरा जन्मिए । अब श्रीमान्ले हिमाल चढ्ने होइन, पैसा कमाउन विदेश जाऊ भन्न थाले । अब सुरु भए, शर्मिलाका कठिन दिनहरू । पासाङको जस्तै उनले पनि उही शब्द सुन्नुपर्यो, ‘आइमाई भएर हिमाल चढ्ने होइन, घर सम्माल्ने हो ।’ तर, निडर स्वभावकी शर्मिलाभित्र जसरी पनि सगरमाथा चढेर छाड्ने सपना झन्–झन् मौलाउँदै गयो ।
श्रीमान्सँग शर्मिलाको मनमुटाव बढ्दै गयो । झगडा दिनहुँ पर्न थाल्यो । एकातिर दुधे बच्चा, अर्कोतिर श्रीमान्ले दिने टर्चर । सहरको गुमनाम ढोकामा न हात दिने कोही, न ढाडस दिने कोही । शर्मिला डिप्रेसनकी सिकार भइन् । संसार अँध्यारो देखिन् । आशाका दियो कहीँकतै धिपधिपाएको देखिनन् । निराश थकित शर्मिलाले एक साँझ साह्रै अप्रिय निर्णय लिइन् । त्यो थियो, बच्चा र आफू दुवैले विष पिएर आत्महत्या गर्ने ।
पसलबाट विष किनेर ल्याइन् । दुध पिउने बट्टामा विष घोलिन् । अर्को कचौरामा आफ्नो लागि तयार पारिन् । त्यसपछि बच्चालाई विष पिलाउन तयार भइन् । तर, झसंग भइन् । शर्मिला त्यो अप्रिय समय सम्झिँदै भावुक हुँदै भन्छिन्, ‘झल्यास्स ब्युँझिएजस्तो भएँ । सोचेँ, बच्चाको इम्युनिटी पावर कम हुन्छ । थोरै विष पनि बच्चाका लागि पर्याप्त हुन्छ । तर, मचाहिँ मर्न सकिनँ भने ? त्यसपछि मैले हातमा भएको विष तुरुन्तै फालेँ, बच्चालाई काखीमा च्यापेँ ।’
मृत्युको मुखबाट फर्केपछि शर्मिलाको साहसिक यात्रा सुरु भयो । उनले सोच्न थालिन्, यस्तो हालतमा मलाई त्यो लोग्ने भन्नेले पुर्याएको हो, म किन मर्ने ? अब शर्मिलाले श्रीमान्सँग अलग हुने निर्णय लिइन् । भन्छिन्, ‘आत्महत्याको बाटोबाट फर्किएपछि आफूलाई बलियो बनाउँदै लगेँ । मेरा बहिनीहरू (पूर्णिमा, उर्मिला)ले निकै ठुलो साथ दिए ।’
शर्मिलाका श्रीमान् सम्पर्कविहीन भए । जिम्मेवारीबाट पन्छिए । बालख छोरा च्यापेर चिया पसल सुरु गरिन् । चिया पसलमा हिमाल चढेर आएका शेर्पा आउँथे । शेर्पाहरूसँग चिनाजान बढ्न थाल्यो । एकजना शेर्पाले एक दिन शर्मिलालाई उनको रुचिबारे सोधे । शर्मिलाले वर्षौं दबिएर बसेको सपना सुनाइन्, ‘सगरमाथा चढ्ने ।’ ती शेर्पाले शर्मिलालाई हौसला दिए । सगरमाथा चढ्ने प्रक्रिया बताइदिए ।
काखमा बच्चा बोकेर शर्मिलाले पर्वतारोहणको तालिम लिइन् । ‘आमा भएर पनि समाजमा केही गर्नुपर्छ भन्ने सोच आइरहन्थ्यो । आफूजस्ता महिलामा जागरण ल्याउनु थियो,’ उनी भन्छिन् । तालिम लिइरहँदा पनि महिलाले हिमाल चढ्न सक्दैनन् भन्दै धेरैले निरुत्साहित बनाए । तर, उनी विचलित भइनन् ।
तालिम त लिइन्, तर अब समस्या भयो पैसाको । शर्मिलाले सामाजिक सञ्जालमार्फत फन्डिङका लागि अभियान चलाइन् । नजिकका साथीले उनलाई आर्थिक सहयोग गरे । उनले २४ लाख खर्च जुटाइन् । त्यसपछि १३ महिनाको छोरा छाडेर सगरमाथाको शिखरतिरको यात्रामा निस्किइन् । उनी भन्छिन्, ‘दुई वर्षसम्म आनन्दले सुतेको कुनै रात थिएन । बच्चालाई ज्वरो आउँदा पनि छाडेर हिँडेँ । जसरी भए पनि उद्देश्य पूरा गर्नु थियो ।’ निकै कठिन संघर्षपश्चात् शर्मिलाले सन् २०१९ मे २१ को बिहान ७:५३ बजे सगरमाथाको चुचुरोमा पाइला टेकिन् ।
सगरमाथा चुमेपछि शर्मिलाको पाइला रोकिएन । त्यसपछि युरोपकै अग्लो एलब्रु हिमालको आरोहण गरिन् । आठ हजार मिटरमाथिका मनास्लु, अन्नपूर्ण, ल्होत्से हिमाल आरोहण गरेपछि उनको सपनाको आयतन विस्तार भयो । आठ हजार मिटरमाथिका संसारका अग्ला १४ हिमाल चढ्ने योजना बनाइन् । हिमाल चढेर उनी दुनियाँलाई भन्न चाहन्छिन्, ‘महिलाहरू पनि पुरुषभन्दा कम छैनन् । महिलाहरू आर्थिक रूपमा आत्मनिर्भर हुनुपर्छ ।’ १४ हिमाल चढ्ने उनको योजना जारी छ । अहिले शर्मिलाले बौद्धमा क्याफे खोलेकी छिन् । ‘क्याफे इपिक’ नाम दिएको उनको व्यवसायबाट उनी मात्रै बाँचिरहेकी छैनन्, महिलाहरूलाई निःशुल्क कफी बनाउने तालिम पनि दिइरहेकी छिन् । उनको क्याफेबाट ३२ जना महिलाले बारिष्ठा कफी बनाउने तालिम लिइसकेका छन् । उनीहरू देश तथा विदेशमा आत्मनिर्भर भएका छन् । शर्मिला सुनाउँछिन्, ‘निरन्तर संघर्षकै कारण आज म यहाँ आइपुगेको छु । पुरुषप्रधान समाजमा महिलाले हन्डर त खानैपर्छ । तर, हिम्मत हार्नु नहुने रहेछ । हिम्मत जुटाएर अघि बढ्यो भने समाजमा महिलाले नसक्ने केही छैन ।’
००० ०००
पर्यटन विभागको तथ्यांकअनुसार डिसेम्बर २०२३ सम्म ६४१ जना महिलाले सगरमाथाको सफल आरोहण गरिसकेका छन् । त्यसमध्ये पहिलोपटक सफल आरोहण गर्ने पासाङ ल्हामु शेर्पासहित ६५ जना नेपाली महिलाले सगरमाथाको शिखरमा पाइला टेकिसकेका छन् । ६५ मध्येका यी चार पर्वतारोही महिला समाजका प्रतिनिधि पात्र हुन् । महिला पर्वतारोहीको हिम्मतले पितृसत्तात्मक समाजलाई भनिरहेको छ, ‘महिलालाई कमजोर नसोच ।’