ऋग्वेदमा पनि सप्तमातृकाको चर्चा गरेको पाइन्छ, जसले सोमरस बनाउने काम गर्दथे
राति खाना खाएपछि विद्या आफ्नो बिस्तरामा गएर सुतिन् । सुनन्दाले आफ्ना नोटबुक निकालेर मातृकाहरूबारे पढ्न थालिन् ।
पहिले उनको सोचाइ थियो, मातृदेवीको पूजा वा मूर्ति हिन्दुधर्मसित सम्बन्धित थिए । तर, कतिपय विद्वान्हरूले यो विचार प्रकट गरेका थिए कि त्यो प्रथा मूल रूपमा गैरहिन्दु अवधारणा थियो ।
केही दिन पहिले लैंनसिंह वाङ्देलसित भेट हुँदा उनले विश्वका अन्य भागमा र नेपालमा पनि विद्यमान मातृदेवीका धारणाबारे धेरै कुरा बताएका थिए । उनले यो बताएका थिए कि सिन्धुघाटीमा मातृदेवीको पूजाको प्रचलन थियो । ग्रिसमा पनि मातृकाहरूको पूजाको चलन थियो । सबै आदिवासीमा पनि नारी वा नारीका मूर्तिको पूजाको प्रचलन भएको पाइन्थ्यो । भारतमा आर्यहरूको आगमनभन्दा पहिलेदेखि नै आदिवासीमा त्यसप्रकारको पूजाको प्रचलन थियो । प्राचीनकालमा विश्वव्यापी रूपमा प्रचलित मातृदेवी वा नारीको पूजाको प्रचलनले नारीको उच्च र सम्मानित स्थानलाई नै बताउँथ्यो ।
इतिहासमा माक्र्सवादी–लेनिनवादी अध्ययनको मुख्यतः एंगेल्सको परिवार, व्यक्तिगत सम्पत्ति र राज्यको उत्पत्तिसम्बन्धी पुस्तकमा उनले प्राचीनकालमा मातृसत्तात्मक व्यवस्था भएको पढेकी थिइन् । उनलाई लाग्यो, प्राचीनकालमा विश्वव्यापी रूपमा प्रचलित मातृसत्तात्मक प्रणाली नै मातृका पूजाको मुख्य कारण थियो । मातृकाहरूको पूजाले नारीप्रतिको उच्च सम्मानलाई बताउँथ्यो ।
वास्तवमा मातृपूजाको चलन प्राचीनकालदेखि चल्दै आएको एउटा विश्वव्यापी प्रचलन थियो । वैदिककाल र सिन्धुघाटीमा पनि त्यसको चलन थियो । बेबिलोन र प्राचीन युनानमा पनि मातृपूजाको चलन भएको पाइन्छ । धेरैजसो प्राचीन आदिवासीमा पनि मातृपूजाको चलन भएको पाइन्छ ।
मातृपूजाले प्राचीनकालमा सबैतिर मातृसत्तात्मक समाज प्रचलन भएको कुरालाई बताउँछ । जुन वेला समाजमा नारीहरूको मुख्य स्थान हुन्थ्यो । पछि मातृसत्तात्मक समाज प्रचलनको ठाउँ पितृसत्तात्मक प्रणालीले लिए पनि पुरानो मातृसत्तात्मक प्रचलनको अवशेषको रूपमा एक वा अर्को प्रकारले मातृपूजा गर्ने चलन धेरैतिर पाइन्छ ।
ऋग्वेदमा पनि सप्तमातृकाको चर्चा गरेको पाइन्छ, जसले सोमरस बनाउने काम गर्दथे ।
मातृपूजाको प्रथा मुख्य रूपले द्रविडहरूमा थियो । नारी सिद्धान्त द्रविड धर्मको एउटा मुख्य पक्ष हो । पछि हिन्दु धर्मले मातृपूजालाई हिन्दुकरण गर्दै गयो । तर, महाभारतमा उनीहरूको रङ कालो भएको, विदेशी भाषा बोल्ने गरेको, रुख, गुफामा बस्ने सीमावर्ती क्षेत्रभन्दा केही बाहिर बस्ने गरेको बताइएको छ । त्यसबाट उनीहरूलाई अनार्य मानेको कुरा बुझ्न गाह्रो पर्दैन । कतिपय धार्मिक ग्रन्थहरूमा उनीहरूलाई यक्ष पनि भन्ने गरिएको छ । त्यसबाट पनि मूल रूपमा मातृपूजाको चलन हिन्दु धर्मको अवधारणा नभएर गैरआर्य चलन भएको कुराको अनुमान गर्न सकिन्छ ।
पछि हिन्दुहरूले मातृपूजालाई आफ्नो धर्ममा सामेल गर्दै गएर कैयौँ देवीहरूको निर्माण गर्दै गए । मत्स्य पुराण, ब्राही पुराण, मार्कण्डेय पुराण, देवी पुराण, महात्म्य पुराण आदिमा त्यसप्रकारका कैयौँ देवीहरूको चर्चा गरेको पाइन्छ ।
उनीहरूको उत्पत्तिबारे पनि बेग्लाबेग्लै कथाहरू प्रचलित छन् । विभिन्न पुराणमा उनीहरू ब्रह्मा, विष्णु, शिव आदिबाट उत्पन्न भएको बताइन्छ ।
देवी पुराणमा ती सबै देवीबाट उत्पन्न भएको बताइन्छ ।
कतिपय हिन्दु धार्मिक ग्रन्थहरूमा विष्णुबाट वैष्णवी, शिवबाट महेश्वरी, इन्द्रबाट इन्द्राणी, स्कन्दबाट कौमारी, ब्रह्माबाट ब्राही, देवीबाट चामुण्डा, नरसिंहबाट नरसिंहा उत्पन्न भएको पनि बताइन्छ । दक्षिण भारतमा सप्तमातृकाको पूजा गर्ने चलन छ । नेपालमा अष्टमातृकाको पूजा गरिन्छ । ती मातृकाहरू यसप्रकार छन्– वैष्णवी, महेश्वरी, इन्द्राणी, कौमारी, ब्राही, चामुण्डा र नरसिंही ।
देवताहरू राक्षससँग लड्नका लागि असमर्थ भएपछि उनीहरूले देवीलाई उत्पन्न गरेका थिए । जसले युद्ध गरेर राक्षसहरूलाई पराजित गरेका थिए ।
त्यसैले देवीहरू युद्धका देवी मानिन्छन् । प्राचीनकालदेखि मातृकाहरूको जुन पूजा गर्ने गरिन्थ्यो, तिनीहरूलाई हिन्दु धर्मले देवीहरूको रूपमा स्थापना गरेर तिनीहरूको पूजा गर्न थाल्यो ।
कतिपय विद्वान्हरूले शिव पनि मूल रूपमा अनार्य देवता भएको बताएका छन् । जसलाई पछि हिन्दु धर्मले हिन्दु देवताका रूपमा स्थापित गरेको थियो । हिन्दु धार्मिक ग्रन्थहरूले किराँतहरूलाई अनार्य बताएका छन् । शिव मूल रूपमा किराँतहरूका नै देवता थिए । त्यसैले उनलाई किराँतेश्वर पनि भन्ने गरिन्छ । यजुर्वेदमा शिवलाई व्रात्य भनिएको छ । किराँत, खस, यक्ष आदि सबैलाई व्रात्य भनी लेखिएको छ । व्रात्यको अर्थ हुन्छ, धर्म नमान्ने वा धर्म च्यूत । यर्जुवेदको त्यो भनाइबाट पनि शिव मूल रूपमा हिन्दुका देवता नभएर किराँतहरूका देवता भएको र मातृकाहरूलाई जस्तै शिवलाई पनि हिन्दु देवताका रूपमा प्रतिस्थापित गरेको देखिन्छ ।
त्यो कुरा बुद्धबारे पनि सत्य हो । उनले ईश्वर र देवीदेवताहरू मान्दैनथे । तर, पछि उनलाई हिन्दु देवताको रूपमा मात्र होइन, विष्णुको नवौँ अवतारका रूपमा पनि प्रतिस्थापित गरिएको थियो ।
बुद्ध धर्ममा पनि अष्ट वा सप्तमातृकाको उल्लेख गरेको पाइन्छ ।
आदिवासीहरूमा सप्तमातृकाका मूर्ति बनाएर गाउँमा राख्ने चलन धेरै थियो ।
सुनन्दाको ध्यान देवीहरूको चरित्रमाथि गयो । समाजमा पुरुषसरह समान हुनुपर्छ भनेर आन्दोलन पनि चल्ने गर्दथ्यो । तर, देवीहरू स्वयं आफ्नो चरित्रगत विशेषताले नै पुरुषभन्दा श्रेष्ठ थिए । उनीहरू पुरुषसरह समान हुनुपर्ने आवश्यकता नै थिएन । एकातिर उनीहरू धेरै नै सुन्दर थिए भने अर्कातिर उनीहरूको स्वभाव अत्यन्त उग्र पनि थियो । युद्धमा राक्षसलाई मारेपछि उनीहरूले रगत पिउँथे र नाच्थे । त्यो उनीहरूको चरित्रगत विशेषता थियो ।
यहीप्रकारको विशेषता पार्वती वा लक्ष्मीमा पाइँदैनथ्यो । उनीहरू शिव वा विष्णुका अर्धांगिनी मात्र थिए ।
तर, सप्त वा अष्टमातृकाहरूको चरित्र स्वयंमा उच्च र पूर्ण थियो ।
सुनन्दाले ती देवीहरूको दैवीशक्तिमाथि विश्वास गर्दिनथिन् । तर, उनीहरूको जुन रूपमा चरित्रचित्रण गरिएको थियो, त्यसले महिलाहरूलाई उच्च सम्मान दिएको कुरालाई बताउँथ्यो ।
देवीहरूको उत्पत्तिबारे जुन बेग्लाबेग्लै वा कतिपय अवस्थामा परस्परविरोधी कथाहरूको चर्चा गरिएको छ, त्यसबाट ती सबै काल्पनिक कथा नै थिए भन्ने कुरामा सुनन्दालाई कुनै शंका थिएन । तर, उनलाई लाग्यो, उनीहरूको धार्मिक पक्ष जे भए पनि उनीहरूको जसरी सशक्त रूपमा चरित्रचित्रण गरिएको थियो, त्यो धेरै नै महत्वपूर्ण थियो ।
हिन्दु धार्मिक ग्रन्थहरूमा प्राचीनकालको मातृपूजाको प्रचलन अम्बिका, चण्डिका, दुर्गा आदि देवीहरूको पूजाको रूपमा बदलियो । सबै चिजहरूलाई धार्मिक र आध्यात्मिक रूप दिने परम्पराअनुसार उनीहरूले नारीको पूजालाई पनि धार्मिक र आध्यात्मिक रूप दिए ।
तीन–चार दिनसम्म सुनन्दा र विद्याले काठमाडौं उपत्यकाका विभिन्न मातृदेवीका मूर्तिहरू हेर्न नै बिताए । अन्तर्राष्ट्रिय र प्राचीनकालमा मातृपूजाबारे केही अध्ययन गरेपछि सुनन्दाले काठमाडौंमा मातृकाका मूर्तिबारे अध्ययन गर्ने कार्यक्रम बनाइन् । सर्वप्रथम उनीहरू पाटनको च्यासलहिटीको गजलक्ष्मीको मूर्ति हेर्न गए । त्यो नेपालमा अहिलेसम्म पत्ता लागेकोमध्ये एउटा सबैभन्दा प्राचीन मूर्ति थियो । त्यसको काल ईसाको प्रथम शताब्दी भएको अनुमान गरिएको छ । त्यो मूर्तिका कानमा ठुला कुण्डल, घाँटीमा कण्ठहरू, शरीरको तल्लो भागमा एउटा पटुकाजस्तो दाहिने घुँडाबाट कम्मरमा ल्याइएको, बायाँ हातमा एउटा पूरा फुलेको कमलको फूल र दायाँ हातमा कमलको एउटा कोपिला, दुईतिरबाट दुईवटा हात्तीले देवीलाई पानीले अभिषेक गरिरहेको त्यस मूर्तिलाई सुनन्दाले कैयौँबेरसम्म हेरिरहिन् । मूर्तिका कैयौर्ँ अंगहरू टुटिसकेका थिए । तैपनि मूलरूपमा त्यो मूर्ति कायम थियो ।
सुनन्दा र विद्याले मातृदेवीको मूर्तिको अवलोकनका लागि अभियानजस्तो चलाए । उनीहरू काठमाडौं उपत्यकाका मातृदेवीका कैयौँ मूर्ति हेर्न गए । उनीहरूले हाँडीगाउँको श्रीलक्ष्मी र पाटन होगलबहालको मातृकाका मूर्तिहरूको अवलोकन गरे । त्यसक्रममा उनीहरूलाई थाहा हुँदै गयो कि काठमाडौंमा पनि सप्तमातृत्वको पूजा निकै प्रचलित थियो भन्ने कुरा ।
मातृकाहरूको विश्वव्यापी प्रचलन तथा पछि त्यस प्रथालाई जसरी हिन्दुकरण गरिएको थियो, त्यसको असर नेपालमा पनि परेको थियो । काठमाडौं उपत्यकामा व्यापक रूपले पाइने मातृकाहरूका मूर्ति तथा तिनीहरूको पूजाको प्रचलनबाट त्यो कुरा बुझ्न गाह्रो पर्दैनथ्यो ।
प्राचीनकालमा गंगा र जमुनाको क्षेत्रमा मातृकाको पूजा गर्ने प्रचलन थियो । त्यसको असर नेपालमा पनि परेको पाइन्छ ।
कुनै पनि देशको समाज व्यवस्था बेग्लै हुन्न । कुनै देशको कुनै प्रचलन, एकातिर आफ्नो देशको ऐतिहासिक, आर्थिक, सामाजिक, सांस्कृतिक अवस्थाको उपज हुन्छ भने, अर्कातिर, त्यसमा अन्य देशहरूको पनि असर परेको हुन्छ । त्यसैप्रकारले नेपालको मूर्तिकलामा पनि चीन र भारत दुवै देशहरूको असरले काम गरेको देखिन्थ्यो । नेपालमा प्रचलित कुनै प्रथा वा प्रचलनमा पनि विभिन्न छिमेकी देश र विश्वव्यापी असरले काम गरेको अनुमान गर्न सकिन्छ ।
सुनन्दा र विद्या चाँगुनारायणस्थित छिन्नमस्तकाको मन्दिर हेर्न गए । त्यहाँ सप्तमातृकाका मूर्तिहरू पनि थिए उनीहरू पाटनको कुम्भेश्वरस्थित बगलामुखीका मन्दिर, बल्खु खोलामा (वा महादेव स्थान), जयवागेश्वरको बागमती मन्दिरमा भएका सप्तमातृकाका मूर्तिहरू हेर्न पनि गए ।
ती सबै स्थानका सप्तमातृकाका मूर्तिहरूको अवलोकनका लागि उनीहरूलाई लैनसिंह वाङ्देलबाट राम्रो मार्गदर्शन प्राप्त भएको थियो । उनीहरू विभिन्न स्थानमा भएका मूर्ति हेर्न जान्थे र पुनः फर्केर आएर वाङ्देलसित कुरा गर्दथे ।
सुनन्दाले मानिसहरूबाट सुनेकी थिइन्, पहिले टोलटोलमा मातृकाका मूर्तिहरू बनाएर पूजा गर्ने गरिन्थ्यो । अब ती मूर्तिहरूमध्ये धेरैजसो खण्डित वा नष्ट भएर गइसकेका थिए । मातृपूजाको प्रचलनबाहेक अन्य विभिन्न रूपमा पनि नारीशक्तिको पूजाको प्रचलन पाइन्छ ।
दक्षप्रजापतिको यज्ञमा शिवको अपमान भएपछि सतीदेवीले यज्ञमा हामफालेर आत्मदाह गरिन् । त्यसबाट महादेवले सतीदेवीको शवलाई बोकेर घुम्न थाले । सतीदेवीका शरीरका अंगहरू सड्दै खस्न थाले । ती अंगहरू खसेका स्थानलाई शक्तिपीठ भन्न थालियो । ती स्थानहरूलाई मानिसहरूले देवीस्थान आदि भनेर पूजा गर्दछन् । त्यसप्रकारको पूजा पनि मूल रूपमा नारीको पूजा हो । काठमाडौंमा भ्रमण र अध्ययनको क्रममा सुनन्दालाई नारीको पूजाबारे थप कुराको ज्ञान हुँदै गयो । उपत्यकामा सप्तमातृकाको पूजाबाहेक अन्य कतिपय रूपमा पनि नारीशक्तिको पूजा गर्ने गरिन्थ्यो । शोभाभगवती, दक्षिणकाली, नक्साल भगवती, गुह्येश्वरी, रक्तकाली, भद्रकाली, मैतीदेवी, नरदेवी आदि । काठमाडौंमा त्यस्ता देवी र भगवतीहरूको संख्या असंख्य थिए।
(शनिबार सार्वजनिक हुने सिंहको उपन्यास ‘का. जलजला’बाट ।)