• वि.सं २०८१ पौष ११ बिहीबार
  • Thursday, 26 December, 2024
अन्वेषण अधिकारी
२०८१ मङ्सिर १५ शनिबार ११:००:००
फिल्म

‘एजेन्ट अफ  ह्याम्पिनेस’मा  खुसीको लेखाजोखा

२०८१ मङ्सिर १५ शनिबार ११:००:००
अन्वेषण अधिकारी

 

गत जनवरीमा अमेरिकाको प्रतिष्ठित सन डान्स फिल्म फेस्टिभलमा प्रिमियर गरिएको वृत्तचित्र ‘एजेन्ट अफ ह्याम्पिनेश’ लाई नेपालमा फिल्म साउथ एसियाको ओपनिङ फिल्मका रुपमा प्रदर्शन गरियो ।  विश्वकै खुसी जनताहरूको देश भनेर चिनिएको भूटानको ग्राउन्ड रियालिटीलाई निर्देशकद्वय अरुण भट्टराई र डोरोट्या जुर्बोले यसमा प्रस्तुत गरेका छन् । 

 

पहाडी भूभाग भएको भुटान विश्वकै खुसी नागरिक भएको देशमा पर्छ । तथ्यांकले यहाँका बहुसंख्यक जनता खुसी भएको देखाउँछ । ‘कुल राष्ट्रिय खुसी’ (जिएनएच) भुटानका अवकाश प्राप्त राजा जिग्मे सिंगे वाङचुकले १९७० को अन्त्यतिर ल्याएको अवधारणा हो । कुल गार्हस्थ्य उत्पादनको दाँजोमा कुल राष्ट्रिय खुसी महत्वपूर्ण हुने उनको जिकिर रहँदै आएको छ । सन् २००६ मा उनले गद्दी छाडेयता छोरा जिग्मे खेसर नाम्ग्याल राजा छन् । उनी आफ्ना बाबुको मान्यतामा अडिग छन् ।

 

भुटानको संविधानमै लेखिएको छ, ‘स्वतन्त्रता, न्याय, एकता, शान्ति र जनताको भलो खुसी हो ।’ धारा ९ को उपधारा २ मा लेखिएको छ, ‘राज्यले त्यस्तो अवस्था प्रवद्र्धन गनुपर्नेछ, जसले सकल राष्ट्रिय खुसीको खोजलाई संभव बनाओस् ।’

 

यहाँ सरकारले बर्सेनि ‘कुल राष्ट्रिय खुसी’बारे सर्भे गर्छ । अंकका आधारमा खुसी निर्धारण गरिन्छ । यसका लागि सर्भेयरहरू जनताका घरदैलामा खटाइन्छ । मानसिक अवस्था, स्वास्थ्य, समयको सही प्रयोग, शिक्षा, सांस्कृतिक विविधता, धैर्यता, अध्यात्म, सुशासन, समुदायमा आपसी सहयोग, पर्यावरणीय विविधता, जीवनस्तरलगायत विविध सूचकांकमा अध्ययन गरेर अंक दिइन्छ । यस सर्भेकै आधारमा भुटानको नीति बन्छ । 

 

निर्देशकद्वय अरुण भट्टराई र डोरोट्या जुबोको वृत्तचित्र ‘एजेन्ट अफ ह्याम्पिनेस’ले सर्भे गर्न हिँडेका दुई एजेन्ट अम्बरकुमार गुरुङ र गुणराज कुइँकेलको यात्रालाई क्यामेरामा कैद गरेको छ । सुन्दर फाँट, अग्ला पहाड, विशाल गुम्बा र कञ्चन नदीसँगै कथा बगिरहेको छ । यो परिदृश्यले भन्छ, प्रकृतिसँग मानिसलाई खुसी दिने अथाह स्रोत छ । प्रकृतिमा अध्यात्म जोडिएकाले भुटानको जनजीवन थप सुन्दर छ । 

 

तर, सर्भेयर अम्बर आफैँ वेलावेला बेखुस हुन्छन् । साथी गुणराजलाई अम्बर भन्छन्, ‘सहरको तनावभन्दा गाउँले जीवन कहाँ हो कहाँ खुसी छ ।’ खुसीसाथ उनीहरू आमनागरिकको खुसीको स्तर मापन गर्न लागेका हुन्छन्, उनीहरूलाई सरकारले कुल १४८ प्रश्नको जवाफ खोज्ने जिम्मा दिएको छ । घरदैलोमा पुगेर सोध्छन्– कतिवटा ट्र्याक्टर छ ? कति भेडा छन् ? छिमेकीप्रति भरोसा गर्नुहुन्छ ? ध्यान कत्तिको गर्नुहुन्छ ? अन्तिमपटक कहिले रुनुभएको थियो ? धेरै खुसी कहिले हुनुभयो ? यी र यस्तै प्रश्न सरकारले उनीहरूका हातमा थमाइदिएको छ । प्रश्नको जवाफ हेरेर शून्यदेखि १० अंकसम्म दिन सकिन्छ ।

 

खुसीका कारण अनेक छन् । अंकमा यसलाई मापन गर्ने प्रक्रिया आफैँमा जटिल छ । एक वृद्ध आफ्नो घरको भकारी भरिएकाले खुसी छन् । भन्छन्, ‘मेरो भकारीमा भएका धानको संख्याजत्तिकै खुसी छु ।’ अम्बर र गुणराजले उनलाई १० मा सात अंक दिन्छन् । 

 

एक किशोरी आफ्नो घरायसी संघर्षले विद्यालय छोड्न बाध्य छिन् । सानैदेखि उनी बाबुले आमालाई पिटेको हेरेर हुर्किइन् । अचानक बाबु गायब भए । दिदी सम्बन्धविच्छेद गरेर घरमै आएर बसेकी छिन् । आमा रक्सी धोकेरै मर्छिन् भन्ने त्रासले उनलाई सताउँछ । घरीघरी आश्चर्य पनि लाग्छ, यो खुसीको भूमिमा म आत्मैदेखि किन दु:खी छ ? अम्बर र गुणराजले उनलाई १० मा चार अंक दिएका छन् । 

 

एक पुरुष तीन श्रीमती र ११ छोराछोरीका धनी छन् । उनले आफ्नो खुसीको वर्णन गरिरहँदा छेवैमा रहेका तीनमध्ये एक पत्नीले आँसु लुकाउन सक्दिनन् । तीनवटै पत्नी दिदीबहिनी जसरी मिलेर बसेका छन् । उनीहरू आपसमा कुराकानी गर्दा श्रीमान्का प्रसंग झिकेर ठट्टा गर्छन् । ती श्रीमान्ले कहिल्यै आफ्ना प्रेमिकाबारे ढाँटेनन् । अब त उनको भुँडी ठुलो भयो । अध्यात्ममा लागेका छन् । उनी निकै खुसी देखिन्छन् । अरूलाई सहयोग गरेको बदलामा आफूलाई पनि अथाह खुसी मिलेको बताउँछन् । त्यसैले, उनलाई १० मा १० अंक दिइएको छ ।

 

अरूका खुसी मापन गर्दै हिँड्ने अम्बरले यही काममा खटिएका साथी गुणराजलाई यात्रा अवधिभर आफ्ना दु:ख सुनाइरहेका हुन्छन् । सबैभन्दा ठुलो दु:ख नागरिकताको छ । ९० को दशकमा चलेको नेपालीभाषीको आन्दोलनको मार उनको परिवारले खेप्यो । हुन त भाषाबाहेक नेपाली संस्कृतिको कुनै प्रभाव अम्बर र गुणराजमा बाँकी देखिन्न । तर, सरकारी नीतिको समर्थन गरे पनि नेपालीभाषी भएकाले सन्देहको घेरामा छन् । यद्यपि, राजा र देशप्रति बफादार भएकाले आफ्नो नागरिकता बन्ने आस कायम छ ।

 

अर्की महिला छिन् । उनी डान्सबारमा नतर्की हुन् । लैंगिक पहिचानबारे समाजले के सोच्ला भनेर चिन्ता उनकी आमाले गर्छिन् । तर, ती आमा क्यान्सरले प्रताडित छिन् । उनीभित्र छट्पटी, चिन्ता र निराशा छ । अम्बर र गुणराजले उनलाई सबैभन्दा थोरै तीन अंक दिएका छन् । 

 

वृत्तचित्रले बहुसंख्यक जनताको खुसीको कथासँगै अल्पसंख्यकले भोगेका चुनौतीलाई पनि उजागर गरेको छ । यसले भुटानको विविधतालाई पनि प्रस्तुत गरेको छ । त्यससँगै संकटमा आशावादी रहन सक्ने भुटानीको चरित्र पनि प्रस्तुत गर्छ ।