दोलखाको विगु गाउँपालिका– १ लामाबगरस्थित हिमालको फेदी पर्दछ थोबोडाँडा । यो ठाउँलाई १२ सय पल्टन पनि भनिन्छ । ऐतिहासिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण स्थलको रूपमा परिचित छ यो ठाउँ । इतिहासकारहरूका अनुसार यस ठाउँमा विसं १२१८ ताका नेपाली सैनिक र तिब्बती सैनिकबिच लडाइँ भएकोे थियो । नेपाली सैनिकले तिब्बती सैनिकलाई तर्साउन एकै रातमा १२ सय वटा ढुंगा ठडाएर त्यसमाथि सेनाको कपडा र ह्याट लगाइदिएर सेनाजस्तै बनाएको जनश्रुति छ । नेपाली सैनिकसँग पर्याप्त हातहतियार र जनशक्ति नभएकै कारण विभिन्न उपाय अपनाएका थिए । स्थानीयका अनुसार त्यसैले नेपाली सैनिकले यस खालको जुक्ति अपनाएको थियो ।
यिनै इतिहासलाई पछ्याउन चरिकोटबाट पत्रकार अर्जुन पाख्रीनको साथमा मोटरसाइकलबाट सिंगटी बजारमा पुग्यौँ । सिंगटीमा गौरीशंकर संरक्षण क्षेत्र आयोजनाका याङटी शेर्पाले कफीले स्वागत गर्नुभयो र थोबोडाँडाको बारेमा थप जानकारी दिनुभयो । त्यसपछि हामी बुलुङतर्फ हुइँकियौँ । बुलुङमा वडाध्यक्ष ढालबहादुर तामाङको घरमा वास बस्यौँ । वडाध्यक्ष तामाङले थोबोडाँडाबारे केही ऐतिहासिक पाटो खोतल्नुभयो । भोलिपल्ट बिहान उहाँले त्यस क्षेत्रका जानकार लोर्के तामाङलाई हामीलाई गाइड गर्न जिम्मा दिनुभयो ।
तीन दिनलाई पुग्ने ड्राइफुड, बन्दोबस्तीको झोला बोकेर बिहान ७ बजेतिर उकालो लाग्यौँ । अन्त्यन्तै मनोरम प्राकृतिक दृश्य हेर्दै, लोर्के दाइको कुरा सुन्दै उकालो हिँडिरह्यौँ । लोर्के दाइलाई डाँडाकाँडा र भिरपाखा मात्र होइन, पाइला–पाइलामा रहेका ढुंगा, माटो, वनजंगलको बारेमा समेत मसिनो जानकारी थियो । उहाँले मकैको सातु, मोही र कोदोको तीनपाने पनि बोक्नुभएको रहेछ । चौँरी र भेडी गोठमा थकाइ मार्दै, लोर्के दाइको कुरा सुन्दै उकालो हिँडिरह्यौँ ।
बिहान ७ बजे बुलुङबाट हिँडेपछि गङनाम्सा, धोर्जा नाम्सा, बुलुङखानी, पोमडाँडा हुँदै खास्टरमा वास बस्न पुग्दा बेलुकीको ५ बजेको थियो । बर्खामा चौँरीगोठ राख्ने खर्कमा हाम्रो वास भयो । वासको व्यवस्था गर्दागर्दै बेलुकीपखको गौरीशंकरको दृश्यले मन लोभ्यायो । बादलसँग लुकामारी गर्दै गौरीशंकरले हामीलाई घण्टौँसम्म जिस्काइरहेझैँ लाग्यो ।
अघिल्लो दिन बिहान सबेरै हिँड्ने योजना बनाएका थियौँ । तर, बिहानीपख तिनै गौरीशंकरले पुनः घण्टौँसम्म अलमल्यायो । जत्ति अघि बढ्यो उत्तिनै नयाँनयाँ दृश्यले समय धेरै बित्यो । ठुल्ठुला भिर छिचोल्दै तीन घण्टाको हिँडाइपछि थोबोडाँडा पुग्यौँ । यहाँ पुग्नेबित्तिकै सबै थकाइ, भोक, प्यास मेटियो । फोटो खिच्ने धुनमा उकालो–ओरालो हिँडेको पनि बिर्सियौँ । साँच्चिकै १२ सय पल्टन भेटेको महुसुस भयो । नेपाली सैनिकले तिब्बती सैनिकलाई लखेटेको इतिहास जीवितै लाग्यो । तर, लिखित रूपमा इतिहास कहीँ छैन । इतिहासलाई जीवित पार्नका लागि यस ठाउँ नै पर्याप्त थियो । त्यसपछि नजिकै रहेको च्छोदर पोखरी घुम्यौँ । च्छोदोर्मो मेमेको नामले परिचित रहेछ च्छोदर पोखरी । यो पोखरी हिउँद, बर्खायाममा न सुक्छ न बढ्छ । च्छोदर पोखरीलाई धार्मिक र ऐतिहासिक पोखरी मानिन्छ । तामाङहरूको पाख्रीन थरको च्छोदोर्मो म्हेमेको इतिहाससँग जोडिएको मानिन्छ यो पोखरी ।
इतिहासकारहरूले कतै–कतै १२ सय पल्टन ठाउँको बारेमा उल्लेख गरेका छन् । प्रतिनिधिसभाका एकाध सांसदहरूले यस ठाउँको संरक्षण र प्रवद्र्धनका लागि आवाज उठाए पनि यो क्षेत्र सबैको चासोमा पर्न सकेको छैन । यस क्षेत्रको विस्तृत अध्ययन गरी संरक्षण र प्रवद्र्धन गरिन आवश्यक छ ।