डा. तीर्थबहादुर श्रेष्ठ विगत ६ दशकदेखि वनस्पतिको खोज र अनुसन्धानमा सक्रिय छन् । वनस्पति विभागमा कार्यरत (२०१७–२०४७) अवधि श्रेष्ठका लागि विशेष स्मरणीय छ । यस अवधिमा उनी देशका धेरै ठाउँमा पैदलै गए । फरक–फरक भूगोल, फरक मानिस र रीतिस्थिति देखे । हरेकसँग फरक समस्या र त्यसका मौलिक समाधान थिए । यही अविस्मरणीय यात्राबारे श्रेष्ठसँग अन्वेषण अधिकारीले गरेको ट्राभल टकः
तपाईंले सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म हिँडेरै विभिन्न जिल्ला घुम्नुभयो । यात्राको अनुभव कस्तो थियो ?
२०१७ सालमा स्नातक सकिएपछि मेरा प्राध्यापक समरबहादुर मल्लले वनस्पति विभागमा कामका लागि बोलाउनुभयो । असिस्टेन्ट फर्मासिस्टको जागिर खाएको एक महिनामै कोलम्बो प्लानअन्तर्गत अलिगढ विश्वविद्यालयमा एमएस्सी पढ्न छात्रवृत्तिमा नाम निस्कियो । वन मन्त्रालयका कर्मचारीहरूले जागिर र पढाइमध्ये एक रोज्नु भनेका थिए । तर, प्रयागराज पाण्डेले अध्ययन बिदा मिलाएर छाडे । त्यसपछि आधा तलब खाएर अध्ययन सकेर दुई वर्षपछि विभागमा हाजिर भएँ ।
यसपछि प्रत्येक वर्ष जडीबुटी र वनस्पति सर्वेक्षण गर्ने र वनस्पतिका नमुना संकलन गर्ने काममा हामी जिल्ला–जिल्लामा जानुपर्ने थियो । पहिलो भ्रमण पाँच सय खोला, सात सय खोला, १८ सय खोलामा गर्न भनिएको थियो । पाँच सय खाले भनेको त्रिशूली, सात सय खोला गणेश हिमालआसपास र १८ सय खोला भनेको बुढीगण्डकी रहेछ । त्यहाँ पुगेपछि मात्रै हामीले थाहा पायौँ । हामी वनस्पति विभागकै केही सहयोगीहरू लिएर गएका थियौँ । हामी यहाँबाट हिँडेको पहिलो रात ककनीमा बसेका थियौँ । त्यतिवेलै त्यहाँ तीन–चारवटा बंगला थिए । अंग्रेजहरूको समयदेखि नै त्यहाँ घुमघाम चल्नेरहेछ । त्यहाँबाट हिमालको दृश्य पनि देखिने, हरियाली पनि भएको र चिसो पनि हुने हुनाले गर्मीमा राणाजी पनि गएर बस्ने रहेछन् ।
अहिलेजस्तो गाउँ थिएन । तर, केही घर थिए । त्यसको तल रानीपौवामा ठूलो बस्ती थियो । भोलिपल्ट त्यहाँबाट झरेर तादीखोला तर्दै पारि गयौँ । त्रिशूली बजारमा नुन, तेल, सुनचाँदीका गहना बनाउन मानिस आउँथे । नजिकका पहाडबाट जडीबुटी आउँथ्यो । चिराइतो, जटामसी, कुट्कीलगायत विभिन्न प्रजातिका जडीबुटी आउँथ्यो । भारतमा त्यतिवेलै ठुलो संख्यामा औषधि उद्योग खुलेका थिए । ती उद्योगहरूले नेपालबाट जडीबुटी लग्ने र त्यसलाई प्रशोधन गरेर औषधि बनाएर नेपालमै बेच्ने गर्दथे । हाम्रो लक्ष्य जडीबुटी संकलकहरूको आयआर्जनमा टेवा पुग्ने नीतिनिर्माण गर्नका लागि अनुसन्धान गर्नु थियो । किनकि, पसिनाको मूल्य जडीबुटी संकलकले पाएनन् भन्ने गुनासो आइरहेको थियो ।
त्रिशूलीमा हाइड्रोपावरको काम चलिरहेको थियो । हामी त्यहीँका कर्मचारीहरू बस्ने क्वार्टरमा बस्यौँ । भोलिपल्टबाट गाउँगाउँ जान थाल्यौँ । त्यहाँ जडीबुटीबारे बुझ्नु हाम्रो जिम्मेवारी थियो । जडीबुटी उम्रिएको ठाउँमा गयौँ । त्यसलाई चिन्यो । यसमा केमिकल कम्पोनेन्टहरू के–के हुन्छ भनेर टिप्ने, वैज्ञानिक नाम दिनेलगायत काम थियो । हामीलाई चारवटा पक्ष ख्याल गर्नु भनिएको थियो: भूगोल, जनता, समस्या र सम्भावना ।
अहिलेजस्तो सञ्चारको सुविधा थिएन । हिँडेपछि परिवारका सदस्यसँग कुराकानी हुन नपाउने भएकाले चिन्ता हुन्थ्यो । फेरि काठमाडौंको नेवार समुदाय त्यतिवेला उपत्यकाबाहिर हत्तपत्त जाँदैनथ्यो । गर्मी छल्नका लागि केही मानिस जाडोमा तराई जान्थे । मेरो हकमा भारतमा छात्रवृत्तिका लागि जानुअघिसम्म काठमाडौंबाट कहिल्यै बाहिर निस्किएको थिइनँ । महाबौद्धमै सबै सुविधा थियो । डिल्लीबजार जाँदा पनि टाढा गएजस्तो लाग्थ्यो । कहिलेकाहीँ गुठीको कार्यक्रममा भक्तपुरसम्म गएको थिएँ ।
कालान्तरमा मैले नेपालका जति पनि जिल्ला घुमेँ ती सबै नौलो लाग्यो । सबै ठाउँमा अलग रीतिस्थिति र परम्परा थिए । जुम्लाको फरक, नेपालगन्जको फरक, डोल्पाको फरक, सुदूरपश्चिमको फरक । १९६५–६६ को जुन–जुलाईतिर पहिलोपल्ट एडम स्टेनटनसँग जुम्ला जाँदा त्यहाँका मानिसले भारी बोकेबापत प्रतिदिन सातदेखि १० रुपैयाँ लिन्थे । उनीहरू निकै दंग थिए । उनीहरूले जडीबुटी बोकेर ल्याउँदा आउने पैसा पनि यति नै रहेछ । जडीबुटी खोजेर, चिनेर, खनेर, प्रशोधन गरी बोकेर ल्याउँदाको कुनै मूल्य नै रहेनछ । उनीहरूलाई त भारी बोकेको पैसा मात्रै आउने रहेछ । यसरी उनीहरूको आर्थिक अवस्था कसरी सुधार हुन्छ ? मैले यो सोचिरहेँ । त्यसपछि पनि धेरैपटक जुम्ला गइयो ।
जुम्लीहरू जाडोमा नेपालगन्ज आउने र त्यहाँबाट काम गर्नका लागि लखनउ जाने चलन थियो । उनीहरूले गाउँबाट आउँदा जे–जे सकिन्छ, त्यो सबै ल्याएका हुन्थे । जुम्लामा मात्रै पाइने देवदारको तेल निकै प्रसिद्ध थियो । यसको प्रशोधन गर्ने तरिका पनि कठिन छ । उनीहरू सिलाजित, राडी ल्याउने र बेच्ने गर्दथे । जाडोको समय जुम्लाका घर नै खाली हुने गरी मानिस भारत जान्थे । तर, उनीहरूले जडीबुटीको जुन मूल्य पाउनुपर्ने थियो, त्यो पाएनन् । डोल्पाको संस्कृति अलग थियो । त्यहाँ १६०० फिटमा अवतारी लामा बस्दथे । गोर्खाको छेकम्पारमा पनि अवतारी लामा थिए । डुक्पा नामक ती लामासँग मेरो राम्रै संगत भयो ।
अनुसन्धानका लागि आएकाहरूलाई स्थानीयले गर्ने व्यवहार कस्तो हुन्थ्यो ?
गाउँका बुढापाकासँग भेट्ने, जडीबुटीबारे सोधपुछ गर्ने काम चलिरह्यो । हामीले उनीहरूबाटै ज्ञान सापट लिने हो । त्यतिवेलाका मानिसहरूले हरेक जडीबुटी चिन्दथे । उनीहरूले स्थानीय नाम नै दिएका हुन्थे । हामी बाटोमा गोठालाहरू भेट्थ्यौँ । उनीहरूसँग राम्रो ज्ञान हुन्थ्यो । बाटोमा घर नहुँदा उनीहरूकै गोठमा वास मागेर सुत्थ्यौँ ।
पहिलो यात्राकै दौरान त्रिशूलीबाट रसुवा जाने बाटो सोध्न अञ्चलाधीशकहाँ गएको थियौँ । त्यहाँ युवा कोषका अध्यक्ष भेटियो । लायु तामाङ नाम गरेका ती व्यक्ति धुन्चेनजिकको बोगेझु गाउँका मुखियाका छोरा रहेछन् । मुखियाको सान नै बेग्लै, उनको घरभरि भकारी नै भकारी थिए । उनको बारीमा मैले मादलजत्रो फर्सी देखेँ । यस्तो फर्सी कहिल्यै देखेको थिइनँ ।
उनले हामीसँग बसेको पैसा लिएनन् । अन्यत्र जाँदा पनि बसेको पैसा तिर्नुपर्दैनथ्यो । खाली कुखुराको अन्डा र कुखुरा किन्नुपर्ने । रसुवामै अर्को अविस्मरणीय घटना पनि देखियो । एकजना आमाले आफ्नी छोरीको कपालबाट टुम्रा टिपेर दाँतले टोकिन् । अनि फालिन् । यस्तो सुनेको थिएँ, तर देखेको पहिलोपल्ट हो । बाटोमा बाँदर, धुन्चेतिर हिमाली कालो भालु परैबाट देखिएको थियो । कालिन्चोकको कुरीबजारमा जाँदा पनि मैले वास बसेको गोठमै चितुवा भेटेँ । हामीले हल्ला–खल्ला गरेपछि भाग्यो । त्यतिवेला कुरीमा गोठ मात्रै थियो, अहिले त पर्यटकीयस्थल बन्यो ।
त्यसवेला बाटोमा हिँडेर थकित भइसकेपछि कुनै घर भेट्दा मन निकै प्रफुल्लित हुन्थ्यो । काकाकाकी, दिदीभाउजू साइनो लगाएर वास माग्दा उनीहरूले सोध्ने पहिलो प्रश्न हुन्थ्यो ः तपाईं केमा ? जात मिल्नेहरूलाई घरमै, नमिल्नेलाई छिँडी वा गोठमा जातिप्रथाअनुसार वास दिइन्थ्यो । तर, वास सबैले पाउँथे । अहिले अपरिचितलाई विश्वास गर्ने चलन हरायो ।
त्यसवेला र अहिले तुलना गर्दा अरू के–के चलन हराए होला ?
विगत सयौँ वर्षमा भएका परिवर्तनहरू एकैपटक पछिल्ला ५० वर्षमा भएका छन् । त्यसवेला हिँड्दा जुका लाग्थ्यो । जहाँ जुका हुन्छ, त्यहाँ हावा र पानी शुद्ध हुन्छ । प्रदूषण बढेपछि धेरै ठाउँबाट जुका हराए । गाउँमा पानीघट्टहरूको ठाउँ आधुनिक मेसिनले लिए । डाडुपन्यु, दाबी, आरी, ठेकी, मदानी, गोबुवागायत काठका उपकरण दैनिक जीवनमा प्रयोग हुन्थे । काठमाडौंमै २०१० सालसम्म हरेक घरमा जाँतो हुन्थे । अहिले ती लोपोन्मुख अवस्थामा छन् । हिमाली क्षेत्रमा परम्परागत ढुंगाका घरहरू थिए । पहाड र तराईंमा पनि यहाँको हावापानीलाई मध्यनजर गरेर घर बनाइएका थिए । मानिसहरू निकै आस्थावान् थिए ।
अभिभावकलाई मान्ने, गुरुलाई मान्ने, लामालाई मान्ने चलन थियो । हामी त्यतिवेला मौलिक सीप र ज्ञानले बाँचेका थियौँ । उच्च हिमाली क्षेत्रमा धेरैजसो स्थानीय भेडा र चौरीपालनमा निर्भर थिए । गर्मी–जाडोमा भेडा र चौरीको गोठ सार्ने चलन थियो, जो अहिले पनि छ । जाडोमा चौँरीकै ऊनले बनेको पाल गोठमाथि टाँगिएको हुन्थ्यो । त्यो निकै तातो थियो । चौँरीकै रौँबाट बनेका मोटा डोरीहरूले त्यसलाई टाँगिएको हुन्थ्यो । त्यस्ता डोरी निकै बलियो हुने, भेडाका राडीपाखी प्रयोगमा आउँथे । मुस्ताङमा एकपटक चौरी गोठाला भएको ठाउँ चिमाङ लेकमा गएर बसेका थियौँ । चौँरी चरेर आउँदा त्यसको जीउमा जुका लागेको हुन्छ । त्यही जुका निकाल्ने अनि, तातोपानीमा उमालेर ससेजजस्तो बनाएर खाने चलन रहेछ । यस्तो रगतमा पौष्टिक तत्व हुन्छ, त्यही भएर यो परम्परा बसेको रहेछ ।
हिजोको पुस्ताले जडीबुटीको महत्व बुझेको थियो । सानातिना घाउचोटमा बेसार, तेल लगाउने, बारीको कान्लामा उम्रेको घोडताप्रे पिसेर घाउमा लगाउने चलन थियो । पेट दुखाइ वा कब्जीयतमा हर्रो, बर्राे र अमलाको त्रिफला चूर्णको प्रयोग हुन्थ्यो । लसुन, अदुवा, मरिचलगायत हाम्रा भान्छाकोठामा प्रयोग हुने जडीबुटीको महत्व हिजोको पुस्ताले बुझेको थियो । पहाडमा हरेकका घरमा एक हल गोरु, एउटा गाई हुन्थे । अहिले त्यस्तो चलन हरायो । ट्र्याक्टरले नै खेत जोत्न थाले । कृषिमा निर्भरता पनि कम हुँदै गयो ।
अहिले विकास भयो । तर, सडक बनाउँदा स्लोप स्ट्याबिलिटीको नलेज भएन । जहाँ बनायो, त्यही पहिरो जान्छ । पहिलेका मानिससँग त्यो नलेज थियो । त्यहीकारण बाटो खन्दा पनि पहिले गाईगोरु हिँडाएर त्यहीबाट खन्ने चलन थियो । त्यस्तो ठाउँमा पहिरो जाँदैन ।
मौसमबारे भविष्यवाणी गर्ने डोल्पालीको आफ्नै पद्धति थियो । आगोमा ढिकेनुन छर्केर पानी पर्ने–नपर्ने अनुमान लगाउने गरिन्थ्यो । त्यो भनेको हावाको आद्र्रता नाप्ने परम्परागत विधि हो ।
हामीले प्रवर्द्धन गर्नुपर्ने कुरा के–के छन् ?
नेपाल जैविक विविधताको चौतारी हो । तर, यसलाई चिन्ने, चिनाउने र समयमै उपयोग गर्ने बानी हामीले बसाल्न सकेनौँ । हामीले आफैँलाई चिन्न र चिनाउन सकेनौँ । पूर्वदेखि पश्चिमसम्म फैलिएको हाम्रो हिमालय शृंखलासम्म अफगानिस्तान, इरान, चीन, साइबेरिया, भारतलगायत विभिन्न क्षेत्रबाट पशुपन्छी आउँछन् । यो उनीहरूको भेट हुने थलो हो । मिसिने ठाउँमा नयाँ सृष्टि हुन्छ ।
नेपालमा त्यस्ता धेरै दुर्लभ जडीबुटी र वन्यजन्तु पाइन्छन्, जो विश्वमा अन्यत्र कतै पाइँदैन । नेपाल–तिब्बत सीमाक्षेत्रमा पाइने नायन भेडो संसारका अरू भेडाभन्दा अग्लो हुन्छ । यो उभिँदा एक सय २० सेन्टिमिटर (चार फिट ) अग्लो हुन्छ । गौ प्राणीमा सबैभन्दा अग्लो गौरीगाई, (दुई मिटरसम्म अग्लो र एक हजार किलो तौलसम्म पुग्न सक्ने) हाम्रो चितवन राष्ट्रिय निकुञ्ज र पर्सा वन्यजन्तु आरक्षमा भेटिन्छ । गौ प्राणीमा सबैभन्दा सानो गाई नेपालकै अछाम जिल्लामा पाइने नौमे गाई हो । यो तीन फिटभन्दा अग्लो हुँदैन । अछाम, डोटी, बझाङ र बाजुरामा मात्रै पाइने यो प्राणी अब लोप हुने क्रममा छ ।
विश्वको अग्लो उचाइमा फुल्ने बिरुवा मकालु हिमालको सेरोफेरोमा भेटिन्छ । यसलाई वैज्ञानिक भाषमा स्टलेरिया डिकम्बेन्स भनिन्छ । ढुंगामा टाँसिएर बस्ने यो बिरुवाका सेता, पहेँला, फूल साउन–भदौतिर फुल्ने गर्छन् ।
नेपालमा आठ सय ६० भन्दा धेरै प्रजातिका चरा पाइन्छ । यसमध्ये सबैभन्दा धेरै उचाइमा उडान भर्न सक्ने चरो खोया हाँस हो । यसले आठ हजार मिटरमाथिबाट हिमाल वारपार गर्छ । अत्यन्त पातलो, हावा, न्यूनतम, अक्सिजन, र हावाको अति न्यून चाप सहेर कुन शक्तिको भरमा यसले हिमाल पार गर्छ भन्ने विषय आफैँमा रहस्यमय छ । विश्वकै उच्च क्षेत्रमा उड्ने पुतली नेपालको डोल्पा क्षेत्रमा पाइएको छ । सिक्किम ब्यान्डेड एपोलो नामक यो सानो पुतली पाँच हजार मिटरको उचाइसम्म भेटिन्छ । हाम्रोमा हिमालमा सोमलतादेखि तराई–मधेशका सर्पगन्धासम्मका औषधीय गुण भएका जडीबुटी पाइन्छन् ।
आयुर्वेद र चिनियाँ चिकित्सामा यसको प्रयोग हजारौँ वर्षदेखि हुँदै आएको छ । उच्च लेकाली जडीबुटी, यार्सागुम्बा, कुट्की, जटामसीलगायत सात सय प्रजातिका जडीबुटी नेपालमा पहिचान भइसकेका छन् । अझ हाम्रा वैद्य, धामी, झाँक्री, बिजुवा, आम्ची, लामा र गुरुबाहरूले प्रयोग गर्ने जति सबै जडीबुटी समेट्ने हो भने १७ सय बढी हुन जान्छ ।
संसारमा फल्ने हजारौँ थरीका धानमध्ये हाम्रोमा झन्डै दुई हजार प्रजातिका धान पाइन्छन् । जुम्लामा फल्ने मार्सी धान विश्वकै उचाइमा फल्ने धान हो । समुद्र सतहदेखि तीन हजार मिटर उचाइमा रहेको छुमचौर (जुम्ला जिल्लामा) मा यसको खेती हुन्छ । परम्पराअनुसार १२ चैतमा धान भिजाउने, १६ चैतमा पानी तर्काउने र गुम्स्याउने र २० गते हिले ब्याडमा उम्रेको टुसा छर्ने गरिन्छ । धानको बिउ गुम्स्याउने क्रममा न्यानो भान्छा कोठाभित्र भिजेका धानका गेडा फिजाएर त्यसमाथि ओछ्यान लगाएर परिवारका सदस्य सुत्ने गर्छन् । मानिसको जीउको न्यानोबाट बिउ अंकुराउनका लागि यस्तो गरिएको हो । तर, यस्तो परम्परागत प्रविधिका विषयमा हामीले जति प्रचार गर्नुपर्ने हो, त्यो गर्न सकेको देखिन्न ।
अहिलेको आधुनिकीकरणको रफ्तारले जैविक विविधतालाई कता लैजाला ?
परम्परागत पद्धतिमा बाँच्दा भविष्यको अनुमान लगाउन सहज थियो । अहिले हामीले अरूको ज्ञानलाई अनुसरण गरेर अघि बढेकाले भविष्य अनिश्चित छ । यहाँ प्रशस्तै प्रजातिका सल्लाका बोटहरू हुँदाहुँदै पनि हामीले अस्ट्रेलियाबाट सल्ला ल्याएर जमिनमा रोप्यौँ । यसले चराचुरिंगी, जमिन र यहाँ अन्य घाँसपातलाई असर गर्छ । पर्यावरण खलबलिएको छ । हाम्रो ज्ञानलाई विदेशीले बुझेनन् । उनीहरूले नेपालीले केही जान्दैनन् भनेर प्रस्तुत गरे । हामीले पनि आफूले केही जानेका छैनौँ भन्न थाल्यौँ । पुरानो पुस्ता गाउँघरका खेतबारी, बगैँचा वा नजिकको जंगल वा झाडीमा उम्रेका सागपात, कन्दमूल र फलफूल खाएर बाँचेको थियो । अहिले त्यसको प्रयोग हुन छाड्यो । अहिलेका विद्यार्थीहरूले आफ्नो बाल्यकाल र किशोरावस्था कक्षाकोठाभित्र बिताउँछन् । मोबाइल र ल्यापटप खेलेर बिताउँछन् । पहिलेजस्तो गाईबस्तु चराउने समय छैन । काफल, किम्बु, वा ऐँसेलुको स्वाद थाहा नपाउनेहरू पनि धेरै छैन ।
आज मानिस प्रकृतिबाट टाढा हुन थालेको छ । उसका गतिविधिले वनजंगल, पहाड, मधेश प्रभावित भएका छन् । प्रदूषण बढेको छ । मानिसकै गतिविधिका कारण सयौँ प्राणी लोप हुँदै गएका छन् । सवारीसाधन, मेसिन, कलकारखाना बढेको छ । तर, मौलिकताबाट टाढा छौँ । अहिले गाउँमा गोरु भेटिँदैनन्, ट्र्याक्टरले नै खेत जोतिदिन्छ । पहिलेजस्तो सामूहिकता हाम्रो समाजमा छैन । मेरो बुझाइमा पहिले बाबुछोराबिच जुन अन्तर थियो । अहिले दाजुभाइबिच त्यति नै अन्तर देखिन थालिसकेको छ । पुस्तान्तरण निकै तीव्र छ । परिवर्तन निकै तीव्र भइरहेको छ ।