• वि.सं २०८२ असार ९ आइतबार
  • Sunday, 22 June, 2025
नारदमणि हार्तम्छाली
२०८१ मङ्सिर २२ शनिबार ०९:४५:००
सम्झना

...त्यसपछि गाडी देख्यो कि भाग्न थालेँ

२०८१ मङ्सिर २२ शनिबार ०९:४५:००
नारदमणि हार्तम्छाली

 

ढाकरमा सुन्तला बोकेर अरुण नदीको किनारै–किनार अक्करे भिरको बाटो हुँदै पहिलोपटक धरान सहर झरेँ 

 

भोजपुरको झ्याउँपोखरी भिरगाउँमा जन्मिएँ, हुर्किएँ । हाम्रो गाउँलाई चारैतिर पहाडले घेरेको छ । त्यसैले गाउँको नाम पनि भिरगाउँ राखिएको होला । भिरालो पाखोमै बस्ती छ । त्यतिवेला २०–२५ वटाजति घर थिए । बारीमा सुन्तला खेती हुन्थ्यो । हामीले पनि सुन्तलाखेती गरेका थियौँ । सुन्तला बिक्री गर्न धरान बजार झर्नुपर्थ्यो । गाउँबाट मान्छे सुन्तलासँग नुन साट्न धरान बजार आउँथे । बुबा–आमाले सुन्तला बेच्न छोराछोरीलाई धरान पठाउँथे । सुन्तला बेचेको पैसाले नुन र मट्टीतेल किन्नुपर्थ्यो । बाँकी रहेको पैसाले लुगाजुत्ता किन्न पाइन्थ्यो । त्यसवेला नयाँ लुगा लगाउँन र सहर हेर्ने रहर हुन्थ्यो ।

 

२०३० साल तिरको कुरा हो । म, दुईजना दाजु र काकासँग सुन्तला बेच्न धरान आउने कुरा भयो । नयाँ लुगा लगाउने र सहर हेर्न पाइन्छ भन्ने खुसीले होला अघिल्लो रात निद्रै लागेन । रातभरि धरानबजार कस्तो होला भन्ने कल्पना गरिरहेँ । धरान आउन दुई–तीन दिनअघिदेखि तयारी गर्नुपर्थ्यो । बाटोलाई खाजा सामल बोक्नुपर्थ्यो । त्यसवेला सडक थिएन । गाउँबाट धरान पुग्नलाई सात दिन लाग्थ्यो । बाटोमा वास बस्ने होटेलहरू कहाँ हुनु । ढाकरमा सुन्तलाको भारी बनाइयो । मेरो ढाकरमा चाहिँ बाटोमा खाने खाजा–सामल र ओड्ने–ओछ्याउने थियो । सुन्तलाचाहिँ थोरै बोकेको थिएँ । 

 

त्यसपछि बिहान झिसमिसेमै उठेर हिँड्नुपर्थ्यो । अरुण नदीको किनारैकिनार अक्करे भिरको बाटो हिँड्नुपर्थ्यो । बाटोमा खाना पकाएर खानालाई भाँडाकुँडा बोकेका हुन्थ्यौँ । अक्करे भिर हिँडेको अझै याद आउँछ । ढाकर जोगाएर हिँड्नुपर्थ्यो । ५–६ दिनमा चतरा पुगियो । तल्लो बाटो हिँडेका थियौँ । दुई–तीन रात बगरमा सुतेर हिँड्नुपथ्र्यो । त्यसवेला संसार बेग्लै हुन्थ्यो । हामी बाटोमा गीत गाउँदै हिँड्थ्यौँ । अर्काे गाउँको वास बसेका मान्छेहरूले पनि गीत गाउँथे ।

 

पानी भएको ठाउँमा वास बस्नुपर्थ्यो । झोलुंगे पुल हुँदैनथ्यो । ठुलो खोलामा जँघार तर्नुपर्थ्यो । कुनै ठाउँमा मात्रै बाँसको फड्के बनाएको हुन्थ्यो । ढाक्रेहरू त्यही फड्केबाट नदी तर्थे । धरान आइपुग्न तीन–चारवटा खोला तर्नुपर्थ्यो । कतिपय खोला तर्न गाह्रो हुन्थ्यो । कम्मरमाथिसम्म पानी आउँथ्यो । खोलाले कतिजनाको सुन्तलाको ढाकर नै बगाउँथ्यो । ज्यान बल्लबल्ल जोगिन्थ्यो । खोला तर्दा सीधै तर्न सकिँदैनथ्यो । छड्के भएर तर्नुपर्थ्यो । उँभो फर्किएर खोला तर्नुपर्थ्यो । बाटो सजिलो थिएन । नाक ठोक्किने उकालो हिँड्नुपर्थ्यो । भिरमा डाक्रेहरू हिँड्नलाई गोरेटो बाटो बनाइएको हुन्थ्यो । त्यही बाटोबाट ज्यान जोगाएर हिँड्नुपर्थ्यो ।

 

त्यसवेला चौतारीमा वास बसिन्थ्यो । बाटोमा उखु किनेर खाइन्थ्यो । उखु त्यसवेला ढाक्रेहरूका लागि चियाजस्तो थियो । चिया खाने चलन थिएन । कहिलेकाहीँ चामलसँग तरकारी पनि साटिन्थ्यो । सिद्रा माछा पनि दिइन्थ्यो । यात्रा गर्दा बाटोमा होटेल थिएनन् । बाटोमा सिद्रा माछासँग उखु साटिन्थ्यो । एक लाँक्रो उखुले खाजा टथ्र्याे । त्यसवेला बिक्री गर्नेभन्दा पनि साट्ने चलन थियो ।

 

गाउँबाट धरान पुग्नलाई सातदेखि १० दिन लाग्थ्यो । बर्खाको समय हिँड्न सकिँदैनथ्यो । बर्खा सकिएपछि मात्रै बजार जान्थ्यौँ । नत्र खोला तर्न सकिँदैनथ्यो । बर्खा लाग्नुअघि र सुन्तला पाकेपछि मात्रै हामी धरान जान्थ्यौँ । त्यसवेला हाम्रो गाउँलेजीवन निकै कष्टकर थियो । तर, धरान बजार जानुपर्छ भनेपछि भारी बोक्नुको दुःख सबै हराउँथ्यो । छुट्टै रमाइलो हुन्थ्यो । फुर्ती नै अर्काे हुन्थ्यो । रमाइलो बजार हेर्न पाइने । लुगा लगाउन पाइने, बजारको बिस्कुट खाना पाइने त्यो लोभ लाग्थ्यो । अर्काे धरानमा उज्यालो बत्ती देख्न पाइने । सहर हेर्ने रहरले बाटोको दुःख सबै छोपिन्थ्यो । 

 

त्यसवेला सहर हाम्रो कल्पनाभन्दा बाहिरको कुरा थियो । घरबाट वरिपरि भिर मात्रै देखिन्थ्यो । त्यस्तो ठाउँमा हुर्किएको मान्छे सहर जान पाउनु हाम्रा लागि ठुलो कुरा थियो । सहरमा कस्तो मान्छे हुन्छन् त्यो पनि थाहा थिएन । गाउँतिर मान्छेहरूले सहरमा गाडी हुन्छ भनेको सुनेको थिएँ । हामी धरानमा साँझ परेपछि पुग्यौँ । सहरमा झिलिमिली बत्ती देख्दा अचम्म लाग्यो । घरमा मट्टीतेल टुकी बालेर, मकैको ढोड बालेर बसिन्थ्यो । मलाई पहिलोपटक धरानको झिलिमिली बत्ती देख्दा अर्कै देशमा पुगेजस्तो लाग्यो ।

 

धरानमा सुन्तलाको भारी बोकेर हिँड्दै थियौँ । अगाडिबाट हात्तीजस्तो केही आउँदै गरेको देखेँ । त्यो मतिर नै आएजस्तो लाग्यो । लौ हात्ती नै पो आयो भनेर म त भागेँ । काकाहरूले गाडी भनेको यही हो, नभाग् भन्नुभयो । म छक्क परेँ । तर, त्यो मान्छे  चढ्ने जिप रहेछ । त्यसवेला मैले गाडी र हात्ती छुट्याउन सकिनँ । म त गाडी देख्यो कि भाग्न थालेँ । काकाहरूले आउँदैन नभाग् भन्नुहुन्थ्यो । मलाई गाडी कस्तो हुन्छ ? भन्ने थाहा थिएन । 

 

त्यतिवेला धरानमा पाथीको हिसाबले सुन्तला बेचिन्थ्यो । घिउसँग नुन साट्ने चलन थियो । गाउँबाट एक ढुंग्रो घिउ ल्याउँदा दुई–तीन ढुंग्रो नुन दिन्थे । पैसामा किन्ने–बेच्नेभन्दा पनि वस्तु साटासाट गर्ने चलन थियो । गाउँबाट ल्याएको कुराउनीसँग पनि नुन साटिन्थ्यो । कतिपयले नुन र सुन्तला पनि साट्थे । ढिकेनुन पाथीको हिसाबले साटिन्थ्यो । सुन्तला पैसामा कहिलेकाहीँ मात्रै बिक्री गरिन्थ्यो । त्यसवेला एक माथि सुन्तलाको ५० पैसादेखि एक रुपैयाँसम्म पथ्र्यो । सुन्तला बेचेको पैसाले घरका लागि नुन किनिन्थ्यो । बाँकी पैसाले आफूलाई लुगा र जुत्ता किनिन्थ्यो । त्यो वेला बुक्के चप्पल खुब चल्तीमा थियो । गाडीको टायर काटेर बनाएको त्यो चप्पल महिनौँसम्म खप्थ्यो । मलाई धरानभन्दा अर्काे संसार छैन होलाजस्तो लाग्थ्यो । पछि मधेशका केही ठाउँहरू पुगेँ । त्यसपछि धरानभन्दा अर्काे ठाउँ पनि रहेछ भन्ने लाग्यो । गाउँबाट धरान थुप्रै डाँडाहरू काट्दै आइपुगिन्थ्यो । गाउँ बिस्तारै हराउँदै जान्थ्यो र सहरको गन्ध आउन सुरु गथ्र्यो । अब धरान सहर आउन लाग्यो भनेपछि मन फुरुंग हुन्थ्यो । मैले पहिलोपटक सहर देखेको धरान हो । धरानबाट तीन–चार पाथी नुन बोकेर घर फर्केको छु । 

 

     ०००                           ०००

 

आठ–नौ वर्षको हुँदा एक कक्षामा पढ्थेँ । स्कुलको छानो चुहिन्थ्यो । परालको मुठाले छानो टाल्नुपर्थ्यो । बस्ने बेन्च हुँदैनथ्यो । ढुंगामाथि स्याउला छापेर बसिन्थ्यो । त्यसरी दुई कक्षासम्म पढेँ । त्यसवेला गाउँमा पाँच कक्षासम्मको स्कुल थियो । स्कुलका लागि बाँस, ढुंगा बोक्नुपर्थ्यो । जसोतसो पाँच कक्षासम्म पढ्न पाएँ । ६ कक्षा पढ्न अर्काे स्कुल थिएन । स्कुल नभएपछि चार–पाँच वर्ष बरालिएँ । गाउँमा खेताला जाने काम गरेँ । बजारमा गएर गीत गाउने, घरमा चित्रा बुन्ने, फुङ्लो बुन्ने, भकारी, डोको, नाम्लो, दाम्लो बुन्ने काम गर्न थालेँ । हलो, जुवा बनाउने काम गरेँ । घरको चाहिने सबै काम आफैँ गरेँ । बिनायो बाजा बनाएर बिक्री गर्थेँ । त्यसवेला एउटा बिनायो बेचेर एक रुपैयाँ आउँथ्यो । आठआना पैसाले बजारमा पेटभरि खाना पुग्थ्यो । 

 

गाउँमा पढ्न नपाएपछि रन्थनिँदै धरान झरेँ । दुई वर्षजति गाडीको खलासी भएर काम गरेँ । त्यसपछि गाउँमा स्कुल आयो भन्ने खबर पाएँ । गाउँ फर्किएर सात कक्षा भर्ना भएँ । मेरो उमेर धेरै भइसकेको थियो । तर, पढ्नुपर्छ भन्ने लाग्यो र पढिरहेँ ।

 

२०३३ सालतिरको कुरा हो । म एसएलसीपछि धरान पढ्न आएँ । पढ्दै गर्दा लक्ष्मीप्रसाद देवकोटाको माटोको मूर्ति बनाएँ । त्यसपछि मैले अरू धेरै चित्र बनाएँ । मेरो कला देखेर साथीहरूले हौसला दिए । त्यसपछि कलाप्रति आकर्षण बढ्यो । गाउँमा हुँदा खरी र अँगारले भित्तामा चित्र बनाउँथे । धरानमा कागजमा चित्र बनाउन पाएँ । बिस्तारै गितार पनि बजाउन सिकेँ । त्यसपछि कलासाहित्यसँगै राजनीतिमा पनि सक्रिय भएँ । 

 

०३८ सालमा काठमाडौं आएँ । काठमाडौं आएपछि मेरो फेरि अर्काे संघर्ष सुरु भयो । धरानको अनुभवले केही सजिलो हुन्छ होला भन्ने सोचेको थिएँ । तर, काठमाडौंमा बाँच्न झनै गाह्रो भयो । काठमाडौंमा ललितकला विषय पढ्छु भनेर आएको थिएँ । तर, पैसा थिएन । काठमाडौंमा काम खोज्न थालेँ । दिउँसो काम गरेर राति पढ्ने सोच राखेको थिएँ । तर, रातिको क्याम्पस रहेनछ । धरानबाट केही पैसा लिएर आएँ । साथमा पेन्टिङ गर्ने ब्रस र एसएलसीको प्रमाणपत्र लिएर आएको थिएँ । काठमाडांैमा चिनेको कोही थिएन । वास बस्न न्युरोड पिपलबोटको होटेलमा गएँ । केही दिन होटेलमै बसेँ । काठमाडौंमा काम गर्दै जसरी नि पढ्नु थियो । हनुमानढोकानजिकै बल्लबल्ल डेरा पाएँ । त्यहाँ डेढ महिनाजति एक्लै बसेँ । महिनाको ५० रुपैयाँ तिर्नुपर्थ्यो । 

 

डेरा पाएपछि अब दिउँसो काम गर्छु, बेलुकी कलेज पढ्छु भन्ने सोचेँ । तर, बेलुकाको कलेज नहुँदो रहेछ । एक वर्षचाहिँ नपढ्ने योजना बनाएँ । पैसा जम्मा गरेर दिउँसो पढ्छु भन्ने लाग्यो । रात्रिकालीन सिफ्टमा रत्नराज्य क्याम्पसमा भर्ना भएँ । दिउँसो काम खोजेर हिँड्थेँ । घरको भित्तामा टाँसिएको होडिङ बोर्ड हेर्दै हिँड्थेँ । बोर्डमा कामको विज्ञापन भेटिन्छ कि भनेर धेरै खोजेँ । तर, जति खोजे पनि काम नपाइने । त्यसपछि भक्तपुरको इँटा भट्टामा काम गर्न गएँ । त्यहाँ पनि काम गर्न दिएनन् ।

 

धरानमा हुँदै प्रगतिशील क्षेत्रमा सक्रिय भइसकेको थिएँ । पत्रपत्रिका पढ्थेँ । त्यसले गर्दा अलि सचेत भइसकेको थिएँ । कम्युनिस्ट विचारप्रति आस्था बढेको थियो । कोठानजिकै एउटा प्रेस रहेछ । त्यो प्रेसमा पत्रिका छापिन्थ्यो । मलाई त्यसवेला पत्रिका र किताब पढ्न मन लाग्थ्यो । तर, किताब पत्रिका किनेर पढ्न पैसा हुँदैनथ्यो । भात खान पनि मुस्किल हुन्थ्यो । प्रेसमा काम गर्दा पढ्न पाइन्छ र पैसा पनि आउँछ भन्ने आशा जाग्यो । त्यसवेला कम्प्युटर थिएन । अक्षरको टुक्राटुक्रा जोडेर कम्पोजिटर बनाएर छापिन्थ्यो । त्यो विधिबाट पत्रिका छापिन्थ्यो । एक महिना काम सिकेँ त्यही काम गर्न थालेँ । महिनाको ४७ रुपैयाँ पाउँथेँ । प्रिन्ट गरेको मदर कपीको रफ कपी डस्टबिनमा फ्याँक्थ्यो । त्यही फ्याँकेको रफ कपी निकाल्दै पढ्थेँ । त्यो डस्टबिनको पत्रिका पढेको प्रेसको मालिकले थाहा पाएछन् । त्यसपछि मलाई पञ्चायतको जासुस रहेछ भन्ने सोचेछन् । दुई–तीनपटक पढेको देखेपछि मलाई झन् केरकार पार्न थाले । निकै शंका गरेपछि मलाई कामबाट निकालियो । 

 

त्यसपछि फेरि कामको खोजीमा भौँतारिएँ । बानेश्वरमा एउटा घर बन्दै थियो । त्यहाँ घर बनाउने काम गर्न गएँ । घर बनाउने काम गर्दा दिनको ३० रुपैयाँ पाइन्थ्यो । दुई दिन काम गरेँ । मेरो खुट्टामा काँटी छिर्‍यो । त्यसपछि थला परेँ । काम गर्न सकिनँ । घरबाट ल्याएको पैसा पनि सकिनथालेको थियो । अब के गर्ने ? म निकै ठुलो फसादमा परिसकेको थिएँ । 

 

त्यसवेला बागबजार सुनसान हुन्थ्यो । अहिलेजस्तो बाक्ला घर थिएनन् । पुतलीसडक कालिकास्थानतिर पानीको दह थिए । पुतलीसडक र बागबजारतिर म दिनभरि कामको खोजीमा पैदल हिँड्थेँ । बेलुकाचाहिँ पढ्न क्याम्पस जान्थेँ । त्यतिवेलासम्म क्याम्पस भर्ना गरिसकेको थिएँ । दिनभरि कामको खोजीमा हिँड्दाहिँड्दै ज्यान थाकेर फतक्कै हुन्थ्यो । दिउँसो काम खोजेर हिँड्थेँ । जसोतसो जीवन चल्दै थियो । अब यसरी चल्दैन भन्ने सोच आयो ।

 

मसँग धरानबाट ल्याएको चित्र कोर्ने ब्रस थियो । अब पेन्टिङ गर्छु भन्ने सोच आयो । एउटा क्यानभास ल्याएर कोठामा सगरमाथाको पेन्टिङ बनाएँ । त्यो पेन्टिङ न्युरोडको एउटा पसलमा लगेर ७५ रुपैयाँमा बिक्री गरेँ । त्यतिवेला विदेशीले सगरमाथाको चित्र किन्थे । त्यसपछि सोख र भोक यसैले मेट्छ भन्ने लाग्यो । सडकमा साइनबोर्डको डिजाइन हेर्दै हिँड्न थालेँ । घरमा आउँदै बनाउन थालेँ । केही समयपछि बागबजारको आर्ट पसलमा काम गर्न थालेँ । महिनाको चार सय दिन्थ्यो । चार महिना काम गरेँ । तलब तीन महिनाको पनि पूरा दिएन । बरु उसले आफैँले चलाउने साइकल पो दियो । तलबको सट्टा साइकल पाएपछि म त्यही साइकल चढेर सहरमा काम खोज्दै हिँड्न थालेँ । 

 

प्रस्तुति : पवन बराइली