सिनेमाका कलाकारलाई ४२ वर्षदेखि खाना बनाएर खुवाइरहेका जेठादाइ अहिले पनि सुटिङस्थलमा डाडुपन्यु चलाइरहेका भेटिन्छन्।
कुलबहादुर महत (६९) अर्थात् जेठादाइका कपाल मात्रै होइन, आँखीभौंसमेत फुलिसकेका छन् । चाउरिएका छन् गाला । झरिसकेका छन् धेरै दाँत । तर, बुढेसकालमा पनि जेठादाइको सक्रियता उस्तै छ । सिनेमाका कलाकारलाई ४२ वर्षदेखि खाना बनाएर खुवाएका उनी अहिले पनि सुटिङस्थलमा डाडुपन्यु चलाइरहेका भेटिन्छन् । उनले यसैमा कपाल फुलाए, जीवन बिताए ।
२०३८ सालतिरको कुरा हो । जेठादाइको घर भारतको कालेबुङनजिकै तुलसी घिमिरेको नेपाली फिल्म ‘बाँसुरी’को छायांकन भइरहेको थियो । फिल्मको कलाकार राकेश पाण्डे, रजनी शर्मा र बन्नी प्रधान थिए । उनी त्यही फिल्मको सुटिङ हेर्न पुगे । एक दिन उनी सुटिङ हेरेर फर्किंदै थिए । उनलाई निर्देशक तुलसी घिमिरेले बोलाइरहेका रहेछन् । नसुनी डाँडा काट्न लागेका थिए । नजिकैको साथीले बोलाइदिए । त्यसपछि उनी फर्किए ।
निर्देशक घिमिरेले जेठादाइलाई सोधखोज गरे । बेरोजगार जेठादाइले आफ्नो परिचय र ठेगाना दिएर घर फर्किए । तीन दिनपछि तुलसीले उनलाई लिन घरमा मान्छे पठाए । तुलसीले उनलाई ‘फिल्म खेल्न मन छ ?’ भनेर सोधे ।
‘बाँसुरी’मा उनको रोल हिरोको साथी थियो । तर, निर्देशकले एक्सन भन्नेबित्तिकै उनलाई पसिना आउन थाल्यो । ‘फिल्ममा खेल्न पाउनु मेरो भाग्य हो । तर, एक्सन भन्नेबित्तिकै सातो उड्यो । १५ टेक लिँदा पनि निर्देशकले ओके भन्नुभएन,’ उनी सम्झिन्, ‘त्यसपछि मेरो होसहवास नै उड्यो । पुग्यो, खेल्दिनँ भन्दै निर्देशकको अघि गएँ । फेरि उहाँले नम्र भाषामा तिमी सक्छौ भन्नुभयो । पछि भारी बोकेरचाहिँ त्यो रोल गरिछाडेँ ।’
त्यसपछि उनलाई तुलसी घिमिरेले किचन रेखदेख गर्ने जिम्मा दिए । उनले कलाकारलाई खाना बाँड्न थाले । उनलाई भात पकाउन रमाइलो लाग्न थाल्यो । फिल्मको छायांकनभरि भान्सा उनकै जिम्मामा चल्यो । भन्छन्, ‘सुटिङ पनि हेर्न पाउने । रमाइलो हुँदै गयो ।’
उनको जेठादाइ नाम रहनुमा रोचक किस्सा छ । ‘बाँसुरी’ छायांकनपछि बेलुका खाना खाने वेला रञ्जित गजमेर, कुसुम गजमेर, तुलसी घिमिरे, श्रवण घिमिरे सबैजना थिए । त्यतिवेला रञ्जित गजमेरको छोरा सत्यजित गजमेर सानै थिए । सत्यजितले उनलाई जेठादाइ भनेर बोलाए । त्यसपछि कुलबहादुरको नाम जेठादाइ बस्यो । तुलसी घिमिरेको आमालाई जेठादाइले आमा नै भन्थे । तुलसीको आमाले जेठादाइलाई छोरा नै मान्थिन् । ‘बाँसुरी’ फिल्मको सुटिङ सकिएपछि तुलसीको आमाले उनलाई पाँच किलोको तामाको गाग्री दिइन् । उनी भन्छन्, ‘अहिले पनि हाम्रो सम्बन्ध एउटै परिवारको जस्तै छ । श्रवण घिमिरेसँग वेलावेला फोनमा कुरा हुन्छ ।’
छायांकन टोलीसँग भान्से भएर धेरै ठाउँ पुगे जेठादाइ । धेरै कलाकारलाई खाना खुवाए । नुन चर्काे, खुर्सानी पिरो, तरकारी नमिठो भनेर कसैले पनि उनलाई गुनासो गरेनन् । जसजसले जेठादाइले पकाएको खाना खाए, मिठो मानी–मानी खाए । त्यसपछि उनलाई भान्साकै जिम्मा दिन थालियो । ‘लाउरे’मा हिरो श्रवण घिमिरे र हिरोइन तृप्ति नाडकरले मिठो मानेर खाने गरेको उनी सुनाउँछन् । उनी भन्छन्, ‘सुटिङमा ५० जनालाई ५० थरी पाक्दैनथ्यो । बिरामीलाई खान मिल्ने पनि खाना पकाउँथे । म चिल्लो र नुन कम भएको खाना बनाउँथेँ । स्वादिलो खान खोज्नेलाई बाहिरै खान जानू भन्थेँ ।’
उनका अनुसार त्यतिवेला सुटिङस्थलमा कलाकारको रुचिभन्दा पनि जे पाइन्थ्यो त्यही पाक्थ्यो । व्यक्ति विशेषको रोजाइमा खाना नपाक्ने उनी बताउँछन् । भन्छन्, ‘कसैको रोजाइमा खाना पकाइनँ । तर, बिरामी भएका कलाकारलाई जाउलोचाहिँ पकाएर खुवाएँ । किनभने खानाको कारणले बिरामी हुन सक्छ । कलाकार बिरामी भयो भने काम रोकिन्छ । मैले कलाकारको स्वास्थलाई ख्याल राखेर किचन चलाएँ । तर, बिरामी कलाकारलाई जाउलो बनाएर दिँदा जेठादाइले अरूलाई स्पेसल बनाएर दियो भन्ने आरोप लगाउँथे ।’
फिल्मको सुटिङमै खाना पकाउन सिकेका जेठादाइलाई कुन कलाकारले के खान्छन्, के खाँदैनन् भन्ने धेरै जानकारी छ । कलाकारको स्वादसँग जेठादाइ जानकार छन् । निर्देशक तुलसी घिमिरे र अभिनेता श्रवण घिमिरे उनले पकाएको खाना घरकैजस्तो मिठो मान्थे । जेठादाइले अभिनेता राजेश हमाललाई पनि खाना खुवाएका छन् । ०५१–५२ सालतिरको कुरा हो । ‘आफ्नो बिरानो’ फिल्मको सुटिङ झापाको एउटा गाउँमा भइरहेको थियो । फिल्मका लागि राजेश हमाल पनि केही दिन झापामै बसे । राजेशलाई अरू वेला बाहिरबाट खाना आउँथ्यो । तर, त्यसवेला उनलाई पनि जेठादाइले खाना खुवाए । ‘राजेश दाइले पहिले नै मलाई दालमा मसला नहाली निकाल्दिनू भन्नुहुन्थ्यो । मैले उहाँका लागि मसला नहाली निकालिदिन्थेँ ।’
राजेश हमाल गाउँतिर जाँदा कुखुराको मासु खाना मन पराउने उनी सुनाउँछन् । जेठादाइ भन्छन्, ‘सुटिङकै दौरान राजेश दाइलाई कुखुराको मासु खान मन लागेछ । त्यसपछि गाउँबाट कुखुरा खोजेर ल्याएँ । नुन र जिरा मात्रै हालेर सिंगै कुखुरा उसिनेँ । उहाँले एउटा फिला मात्रै खानुभयो, बाँकी अरूले खाए ।’
जेठादाइले पकाएको खाना मन पराउने अर्का अभिनेताद्वय हुन्– भुवन केसी र शिव श्रेष्ठ । ‘दुई थोपा आँसु’, ‘दक्षिणा’ र ‘ठुल्दाइ’ फिल्ममा जेठादाइ नै भान्से थिए । द्वन्द्व निर्देशक राजेन्द्र खड्गीले जेठादाइले पकाएको खाना घरकै मानेर खान्थे । कलाकार गोपाल भुटानीको बानी उस्तै थियो । ‘गोपाल दाइ र मेरो निकै राम्रो दोस्ती थियो,’ जेठादाइ भन्छन्, ‘उहाँ र मेरो काम गर्ने तरिका पनि उस्तै थियो । उहाँलाई भोक लागेको मलाई थाहा हुन्थ्यो । त्यसपछि खाना खाऊँ भन्थैं ।’
अभिनेताहरू श्रीकृष्ण श्रेष्ठ, निखिल उप्रेती, दिलिप रायमाझी, विराज भट्ट, आर्यन सिग्देललगायतले उनको खाना मिठो मानेर खाए । अग्रज अभिनेताहरू मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निर शाह, टीका पहाडीलगायत पनि उनले बनाएको खानाको पारखी थिए ।
जेठादाइको अनुभवमा फिल्म सुटिङमा समय एकदमै महत्वपूर्ण हुन्छ । उनले समयमै खाना बनाएर खुवाएका छन् । ‘कसैको कारणले सुटिङ रोकिन हुँदैन । समयमा चल्नुपर्छ,’ उनी सुनाउँछन्, ‘स्वयम्भूमा खाना पकाएर नगरकोटसम्म पुर्याएको छु ।’
‘बाँसुरी’, ‘लाहुरे’, ‘अन्याय’मा काम गरेपछि उनी कालेबुङ फर्किनन् । उनको परिवार उतै छन् । यता उनी एक्लै बस्छन् । भन्छन्, ‘म ०४७ सालदेखि काठमाडौंको लाजिम्पाटमा सय रुपैयाँमा कोठामा बस्थेँ । केही वर्षयता असनमा सरेको छु । एक्लो जीवनमा रमाइलै छ । जीवनमा जे काम गरेँ, यसमा कुनै गुनासो छैन ।’