अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसको आफ्नो पहिलो कार्यकालको तुलनामा यसपटक चुनावी अभियानका क्रममा गरिएका थुप्रै प्रतिबद्धता पूरा गर्न कटिबद्ध देखिएका छन् । क्रेमलिनमैत्री तुलसी गब्बार्डलाई राष्ट्रिय गुप्तचर विभागको निर्देशकका रूपमा नियुक्त गर्नेदेखि स्वास्थ्य तथा मानव सेवामन्त्रीका रूपमा खोपलाई सन्देहको दृष्टिले हेर्ने रोबर्ट एफ. केनेडी, जुनियरसम्मका मन्त्रीहरूको मनोनयनले अमेरिकी संस्थाहरू र कथित ‘आन्तरिक शत्रु’विरुद्धका उनका चुनावी प्रतिबद्धतालाई पुष्टि गर्छन् । उनको विजय भाषणले युक्रेन युद्धबाट सुरु गरेर ‘युद्ध रोक्न’ उनी गम्भीर छन् भन्ने नै देखाउँछ ।
ट्रम्पले आफूले पदभार ग्रहण गरेको २४ घण्टाभित्र युक्रेन युद्ध अन्त्य गर्ने बताउँदै आएका छन् । ट्रम्पको दिमागमा रहेको समाधानबारे धेरै अड्कलबाजी भएका छन् । सबै परिदृश्यमा एउटा कुरा भने समान रूपमा देखा पर्छ, त्यो के भने युक्रेनको विभाजन । यदि शान्तिको मूल्य यो नै हुने हो भने भौगोलिक विखण्डनको गम्भीर इतिहासमाथि घोत्लिनु उचित हुन्छ ।
केही घटनाक्रमले दीर्घकालीन शत्रुता निम्त्याएका छन् भने केहीले विनाशकारी हिंसा निम्त्याएका छन् । अठारौँ शताब्दीको उत्तरार्धमा भएको पोल्यान्डको तीनपटकको विभाजन सम्भवतः युक्रेनकोे सम्बन्धमा ट्रम्प–दृष्टिकोणसँग तुलनायोग्य हुन्छ । सन् १७७२ मा पोलिस राज्यको भूभाग अस्ट्रियाको हब्स्बर्ग राजशाही, प्रसिया र रुसी साम्राज्यले कब्जा गरी आफूमा समाहित गरेका थिए । उनीहरूले पोल्यान्डको भूमि आपसमा बाँडेर युरोपको सबैभन्दा ठुलो मुलुकलाई मेटाइदिएका थिए ।
यस्तो पराधीनताको सामना गर्नुपर्दा हिंस्रक प्रतिरोध अवश्यंभावी हुन्छ । पोलिसहरूले कब्जाको अवधिभर सन् १८३१ र १८६३ मा प्रमुख विद्रोहीसहित समय–समयमा गुरिल्ला शैलीका अभियान सञ्चालन गरिनैरहे । जोसेफ पिल्सुड्स्कीको नेतृत्वमा त्यो प्रतिरोध प्रथम विश्वयुद्धअघि बीसौँ शताब्दीसम्मै जारी रह्यो । पोलिस जनतामाथिका स्टालिनकालीन हिंसाका कारण रुसप्रतिको शत्रुता आजसम्म पनि कायमै छ ।
सन् १८७०–७१ को फ्रान्को–प्रसिया युद्धपछि अल्सेस र लोराइनलाई कैसर विल्हेम प्रथमले नयाँ जर्मन साम्राज्यमा समाहित गरेकोमा फ्रान्सले दशकौँसम्म जर्मनीप्रति घृणा गरिरह्यो । युरोपियन कोल एन्ड स्टिल कम्युनिटी (वर्तमान युरोपेली युनियनको पूर्वज) र नाटोको उदयसँगसँगै यी दुई देशबिच मेलमिलाप सन् १९५० को दशकमा मात्र सुरु भएको हो ।
यसैगरी, उत्तरी प्रान्त उल्स्टरलाई संयुक्त अधिराज्यमा गाभ्दै आयरल्यान्डलाई विभाजन गर्ने बेलायतको निर्णयले उक्त उत्तरी आयरल्यान्ड बेलायतलाई छाड्न इच्छुक र आयरल्यान्डलाई पूर्ण स्वतन्त्रता प्रदान नगर्ने कुनै पनि सन्धि अस्वीकार गर्ने खेमाबिच गृहयुद्ध नै भड्कियो । दुई वर्ष मात्रै चलेको शान्तिको त्यस बर्बर युद्धले क्याथोलिक र प्रोटेस्टेन्ट दुवैमा आतंकको विरासत छोडेर गएको थियो, जुन संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा सन् १९९८ मा ‘गुड फ्राइडे एग्रिमेन्ट’पश्चात मात्रै समाप्त भयो ।
तर सबैभन्दा क्रूर विभाजन बीसौँ शताब्दीमा एसियामा भएको विभाजन हो । सन् १९३२ मा जापानी साम्राज्यले मन्चुरियालाई गणतन्त्र चीनबाट खोसेर मन्चुकुओको कठपुतली राज्य निर्माण गर्यो । लाखौँ मानिसलाई दास बनाउँदै, उनीहरूमाथि विकृत चिकित्सा परीक्षण गरिँदै र अल्पसंख्यकहरूको थोकमा आमसंहारसहित मन्चुकुओ शासनपूर्वी युरोपको नाजीहरूका लागि ब्लुप्रिन्ट बन्न पुग्यो । जापानी क्वान्तुङ सेनाले त्यहाँ १३ वर्ष निर्मम शासन चलायो । साम्राज्यवादी जापानको त्यस बर्बर कब्जाप्रति चिनियाँ आक्रोश यति गहिरो छ कि आजसम्म पनि चीनका नेताहरूले आधुनिक प्रजातान्त्रिक जापानका नीतिहरूको विरोध गर्न त्यसैको नाम लिने गरेका छन् ।
विभाजनका कारण प्रत्यक्ष रूपमा ज्यान गुमाउनेहरूको सन्दर्भमा, अंग्रेजहरूको प्रस्थानपछि सन् १९४७ मा भारतीय उपमहाद्वीपको हिन्दुबहुल क्षेत्रको भारतमा र मुस्लिमबाहुल्य क्षेत्रको पाकिस्तानमा विभाजनको अरूसँग तुलना हुन सक्दैन । यो विभाजनले इतिहासकै ठुलो बसाइँसराइ सुरुवात गरेको थियो, जसमा करिब एक करोड ८० लाख मानिस बसाइँ सरेका थिए । मुस्लिमहरू पाकिस्तान (आधुनिक बंगलादेशसहित)तर्फ लागेका थिए भने हिन्दु र सिखहरू भारततर्फको यात्रा गरे । यो विभाजनपछि ज्युँदै जलाइदिने, बलात्कार र सामूहिक हत्यालगायत साम्प्रदायिक हिंसाका कारण ३४ लाख मानिसको मृत्यु भएको थियो ।
ब्रिटिस राजको विभाजनपछिका ७७ वर्षयता भारत र पाकिस्तानले चारवटा युद्ध लडेका छन्, जसमध्ये सबैभन्दा पछिल्लो सन् १९९९ को तथाकथित कारगिल युद्ध हो र त्यो त्यतिवेला भएको थियो, जब दुवै देशले आणविक हतियार हासिल गरिसकेका थिए । फ्रान्स र जर्मनीबिच कुनै ऐतिहासिक मेलमिलाप सन्धि हुन सकेको छैन ।
सन् १९५४ मा भियतनामको विभाजन (साम्यवादी भियत मिन्ह शासित उत्तरी र भियतनाम गणतन्त्र–शासित दक्षिणी क्षेत्र) पनि उस्तै रक्तपातपूर्ण साबित भयो । यसले सुरु गरेको दुई दशकको युद्धमा ३० लाख भियतनामी मारिए । (उल्लेखनीय के भने कोरियाको राष्ट्रिय पीडामा भूमिका खेलेको संयुक्त राज्य अमेरिकाप्रति कोरियनहरूले कुनै विद्वेष राखेको देखिँदैन । सन् १९७५ मा फिर्ता हुनुअघिसम्म अमेरिकाले भियतनाममा ५८ हजार सैनिक गुमाएको थियो ) ।
त्यसपछि सन् १९४७–४८ मा प्यालेस्टाइनलाई स्वतन्त्र यहुदी राज्य र स्वतन्त्र अरब राज्यमा विभाजित गरियो । संयुक्त राष्ट्र संघको यो निर्णयले दशकौँसम्म शत्रुता, उत्पीडन, आतंकवाद र युद्धहरू निम्त्याइरह्यो, जुन आजपर्यन्त जारी छ । यहाँ विभाजनको डरलाग्दो विरासत हेर्न गाजाका भग्नावशेष नियाले पुग्छ ।
त्यसो भए युक्रेनको विभाजनले के परिणाम देला त ? सन् २०२२ को फेबु्रअरीयता आफ्नो क्षेत्रीय अखण्डताका लागि लड्दै, युक्रेनीहरूले साहस र गतिशीलता प्रदर्शन गरेका छन्, जसलाई उनीहरूले आफ्नो देशको पुनर्निर्माणमा पक्कै लगाउनेछन् । तर, उनीहरूले भोगेको मानवीय र आर्थिक क्षतिको परिमाणलाई हेर्दा विभाजनलाई चुपचाप सहन उनीहरूलाई गाह्रो हुनेछ । युक्रेन रुसको ‘छिमेकी’मात्र होइन, ‘आधुनिक युक्रेनको निर्माता नै रुस हो’ यसैले युक्रेन रुसी छातामुनि मात्र अस्तित्वमा रहनुपर्छ भन्ने आफ्नो धारणालाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले छिपाएका छैनन् । यसकारण पनि यो उनीहरूका लागि विशेष रूपले कठिन हुनेछ ।
युक्रेनीहरूलाई थाहा के छ भने तत्काल नेटो सदस्यता प्राप्त हुन सक्दैन भने पनि थप रुसी हस्तक्षेप रोक्ने उत्तम अवसर भनेको गतिलो अन्तर्राष्ट्रिय सुरक्षाको ग्यारेन्टी प्राप्त गर्नु हुन्छ । अमेरिकाको वर्तमान सुरक्षा प्रतिबद्धतालाई ट्रम्पले मन पराएको देखिँदैन । तर, अमेरिकाले यस्तो ग्यारेन्टी पेस नगर्नु रुसका लागि हानिकारक साबित हुन सक्छ ।
मस्को र अन्य रुसी सहरमा चेचेन पृथकतावादीहरूको आतंकवादी हमलालगायत चेचन्याको विनाशकारी युद्ध र लामो विद्रोहका कारण नै पुटिन सत्तामा पुगेका थिए । सन् २०२२ मै युक्रेनीहरूले रुसविरुद्ध छापामार युद्ध गर्ने वाचा गरिसकेका छन् । अन्य विकल्प भएन भने त्यसको जोखिम बढ्छ मात्रै । ट्रम्पले क्रेमलिनलाई निष्पक्ष वार्ताको आवश्यकताबारे आश्वस्त पार्ने कोसिस गर्नुपर्छ । अन्यथा, विभाजनपछिको आतंकवाद रुस भित्रिन सक्छ । सम्भवतः चेचेनहरूले परिकल्पना
गरेकोभन्दा ठुलो परिमाणमा ।(द न्यु स्कुलका अन्तर्राष्ट्रिय मामिलाका प्रोफेसर निना एल. ख्रुस्चेभ हालसालै प्रकाशित ‘इन पुटिन्स फुटस्टेप्स स् सर्चिङ फर द सोल अफ एन एम्पाएर अक्रोस रसियाज एलभेन टाइम जोन्स’की सहलेखक हुन् । प्रोजेक्ट सिन्डिकेटबाट नारायण शिवाकोटीको अनुवाद ।)