अभिनेता दिनेश डिसी चलचित्र निर्देशक र निर्माता पनि हुन् । कुनै समय सञ्चारकर्मीसमेत रहेका डिसी हाल चलचित्र विकास बोर्डको अध्यक्षको जिम्मेवारीमा छन् । उनको आगमनपश्चात् चलचित्र क्षेत्रले थप राम्रा काम गर्ने अपेक्षा गरिएको छ । अध्यक्ष डिसीसँग पवन बराइलीले गरेको संवाद:
तपाईं अध्यक्ष भएपछि चलचित्र विकास बोर्डले के–के काम गरिरहेको छ ?
मेरा थुप्रै योजना छन् । तर, अहिले तीनवटा विषयलाई प्राथमिकतामा राखेर काम गरिरहेको छु । चलचित्र ऐन, इन्डोर–आउटडोर फिल्म स्टुडियो निर्माण र बक्स अफिसलाई व्यवस्थित बनाउने । अहिलेसम्म २०२६ मा बनेको चलचित्र ऐन छ । अब नयाँ ऐन लगभग बनिसकेको छ । यसै वर्ष नयाँ ऐन ल्याउने गरी विकास बोर्डले काम गरिसकेको छ । काभ्रेमा फिल्म स्टुडियो बनाउने भनिए पनि रोकिएको थियो । मैले यसलाई निरन्तरता दिइरहेको छु । स्टुडियो निर्माण प्रक्रियाका लागि आन्तरिक रूपमा काम भइरहेको छ । रियल टाइम बक्स अफिसलाई व्यवस्थित बनाउने काम भइरहेको छ । अब वैशाखदेखि बक्स अफिस लागू हुन्छ । यीबाहेकका काम पनि भइरहेका छन् । रोकिएका राष्ट्रिय चलचित्र अवार्ड पनि सम्पन गरिसकेका छौँ । ३० वर्ष चलचित्र क्षेत्रमा काम गरेका व्यक्तिलाई परिचयपत्र दिइसकेका छौँ । अन्य योजना पनि बनाएर काम थालिसकेका छौँ ।
बक्स अफिसको कमाइको पारदर्शितामाथि सधैँ प्रश्न उठिरहन्छ । यसलाई व्यवस्थित गर्न विकास बोर्डले कसरी काम गरिरहेको छ ?
चलचित्रको व्यावसायिक पारदर्शितालाई लिएर निर्माता, वितरक र हल सञ्चालकमाथि प्रश्नचिह्न उठ्दै आइरहेको थियो । हामीले बक्स अफिस व्यवस्थित बनाउन सकेका थिएनौँ । केही समयअघि मेरो नेतृत्वमा सिनेमा हलको अनुगमन भयो । यसअघि चलचित्र हलहरूले बक्स अफिस रिपोर्टको डाटा दिन ढिला गर्थे । २२–२५ वटा हलले सही टाडा दिँदैनथे । बक्स अफिसको सही डाटा नआउँदा वितरक र हल सञ्चालकको डाटा बाझिन्थ्यो । झन्डै ३२ वटा हलमा बक्स अफिसको नेटवर्क थिएन । ती हलहरूले नेटवर्क बन्द गर्ने र हातले टिकट काटेर बेचेर बदमासी गरेको पाइयो । त्यस्ता हलहरूलाई नियमको दायरामा ल्याउन सफल भयौँ । अहिले देशभरिको एक सय ६६ वटा सिनेमा हललाई नियमभित्र ल्याइएको छ । एक सय ६४ वटा हललाई करको दायराभित्र ल्याएर विकास बोर्डले निगरानीमा राखेको छ । नियम नमान्ने चारवटा हललाई ताल्चै लगाउनुपर्यो । अहिले सबै हल सचेत भएर नियममा आइसकेका छन् । अब त्यसलाई थप व्यवस्थित बनाउनका लागि सबै हलमा नेटकर्वमा जोड्नेछौँ । आउँदो वैशाखदेखि ‘रियल टाइम’ बक्स अफिस जोडिन्छ । मानौँ विराटनगरमा चारवटा टिकट काटिँदा निर्माताको मोबाइलमा घण्टी बज्छ ।
नेपाली चलचित्र क्षेत्रको प्रमुख समस्या के देख्नुहुन्छ ?
सिनेमाका लागि हामीसँग पर्याप्त कथा रहेछन् । पछिल्लो ५–६ वर्षयता चलचित्रको कथा भन्ने शैलीमा परिवर्तन आएको छ । अहिले यथार्थपरक सिनेमा बन्न थालेका छन् । अहिले ‘पूर्णबहादुरको सारंगी’सम्म आइपुग्दा हामीसँग चलचित्रका लागि प्रशस्त कथा रहेछन् भन्ने लागेको छ । हाम्रो प्रत्येक गाउँटोलमा कथा रहेछन् । प्रत्येक घर र व्यक्तिसँग पनि कथा रहेछ । तर, ती कथा भन्ने शैली हामीले जानिसकेका छैनौँ । हामीसँग दक्ष जनशक्तिको अभाव छ । राम्रो कथा लेखे पनि निर्माण प्रक्रियामा हामी चुकिरहेका छौँ । हामीसँग दक्ष प्राविधिक छैनन् होला । यसले गर्दा पनि हाम्रो चलचित्र अन्तर्राष्ट्रिय प्लाटफर्ममा पुग्न सकिरहेको छैन । हाम्रो क्लालिटी पुगेको छैन । साउन्डको क्वालिटी, क्यामेरा क्वालिटी, कलर मिक्सिङजस्ता विविध कारणले गर्दा स्तरीय चलचित्र बन्न सकेको छैन । त्यसैले हामीले हाम्रो कथा अन्तर्राष्ट्रिय प्लाटफर्ममा देखाउन सकेका छैनौँ ।
यसका लागि राज्यले दक्ष जनशक्ति उत्पादन गर्नुपर्छ । नयाँ नयाँ प्रविधि भित्र्याउनुपर्छ । यसबारे हामीले सोचेर काम गरिरहेका छौँ । कलाकारहरूले आफ्नो अभिनय क्षमता पनि बढाउनैपर्ने देखिन्छ । हेर्दा सामान्य देखिए पनि अभिनय निकै महत्वपूर्ण छ । त्यसैले हाम्रा स्टारहरूले पनि अभिनय सिक्नै पर्नेरहेछ । नेपाली सिनेमाको क्वालिटी प्रडक्सनका लागि काम गर्नुपर्नेरहेछ । यसका लागि राज्यले लगानी गर्नुपर्ने हुन्छ । कलाकारहरूको अभिनय प्रशिक्षण र प्राविधिकका लागि विकास बोर्डले तालिम सञ्चालन गर्न पहल गर्नेछ ।
नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय बजारमा अझै लैजान विकास बोर्डले के–कस्तो काम गरिरहेको छ ?
नेपाली सिनेमा नेपाली डायस्पोराबिच मात्रै फस्टाएको छ । तर, विदेशी दर्शकमाझ अझै बलियोसँग पुग्न सकेको छैन । पछिल्ला केही चलचित्रकर्मीहरूले भने राम्रो प्रयास गरिरहेका छन् । यो नेपाली चलचित्र उद्योगका लागि सुखद पक्ष हो । यसका लागि सामूहिक प्रयत्न हुनुपर्छ । यसका लागि राज्यको भूमिका महत्वपूर्ण छ । अन्तर्राष्ट्रिय बजारमा पुग्न समन्वय, स्क्रिनिङ र प्रचार–प्रसार महत्वपूर्ण हुन्छ । एकजना व्यक्ति मात्रै विश्वमा जाने होइन, त्यहाँ राज्य पनि जानुपर्छ । एकजना फिल्म मेकर मात्रै पुगेर हुँदैन । राज्यले चलचित्रमा भन्दा खेलकुदमा बढी लगानी गरेको छ । यसमा खेलाडीले पाउनुहुँदैन भन्न खोजेको होइन । तर, सिनेक्षेत्रमा पनि राज्यले लगानी गर्नुपर्छ । समाज परिवर्तनका लागि चलचित्रको महत्वपूर्ण भूमिका छ भन्ने कुरा राज्यलाई बुझाउनुपर्छ । हामी चलचत्रिकर्मी आफैँ पनि राज्यको रणनीति बनाउने ठाउँमा पुग्नुपर्छ । चलचित्र क्षेत्रमा राज्यले किन लगानी गर्दैन ? यसबारे हामीले सोच्नुपर्छ । तर, चलचित्र उद्योग आफैँले राज्यसँग माग्न सकिरहेको छैनौँ । हामीले ट्याक्स सही तरिकाले तिरेका छौँ ? हामी आफैँ पनि अनुशासनमा छैनौँ । हामी आफैँले पनि पहल गर्नुपर्छ ।
बोर्डका पूर्वअध्यक्षलाई चलचित्रकर्मीले नै आलोचना गरेको सुनिन्छ । उनीहरूले चलचित्र क्षेत्रमा खास बदलाव ल्याउन नसकेको गुनासो छ । यस विषयलाई कसरी हेरिरहनु भएको छ ?
यसअघि अध्यक्ष भएकाहरूले किन काम गरेनन् म जान्दिनँ । तर, अहिले म क्यालेन्डर बनाएर काम गरिरहेको छु । वितेका तीन महिनामा मैले धेरै कुरा जानेँ । यसबिचमा एक दिन पनि छुट्टी नलिई काम गरिरहेको छु । बाहिर भन्न सक्ने गरी काम गरौँ भनेर लागिपरेको छु । ६ महिनाभित्र रिजल्ट निकाल्ने गरी काम गरिरहेको छु । चलचित्र क्षेत्रका ९८ प्रतिशत मान्छेले मलाई विश्वास गरेका छन् । म विकास बोर्डमा आउँदा उहाँहरूमा बेग्लै उत्साह छ । मप्रति चलचित्र क्षेत्रले ठूलो आशा बोकेको छ । विकास बोर्ड पूर्ण स्वायत्त संस्था होइन भन्ने सुनेको थिएँ, तर यहाँ आउँदा थाहा पाएँ यो पूर्ण स्वायत्त संस्था रहेछ । विकास बोर्डको ढोका चलचित्रकर्मीका लागि २४सै घण्टा खुला हुने गरी काम गरिरहेको छु ।
अहिले चलचित्र क्षेत्रमा नयाँ पुस्ताका निर्देशकहरूको बाक्लो उपस्थिति छ । उनीहरूबारे विकास बोर्डले केही सोचिरहेको छ ?
हो, अहिले चलचित्रको ज्ञान भएका ‘ब्रिलिएन्ट’ चलचित्रकर्मी आइरहेका छन् । यो चलचित्र क्षेत्रका लागि राम्रो कुरा हो । नयाँ पुस्ताका ज्ञानलाई पनि हामीले प्रयोग गर्नुपर्छ । अहिले सर्ट फिल्म बनाउने फिल्म मेकरहरू आशा लाग्दा छन् । उनीहरूले नेपाली चलचित्र क्षेत्रमा धेरै राम्रा काम गर्न सक्छन् । उनीहरूलाई आर्थिक रूपमा अभाव होला । तर, हामी सहजीकरण गर्न सक्छौँ । उनीहरूसँग भएको आइडियाका आधारमा हामी काम गर्छाैँ ।