• वि.सं २०८१ माघ २३ बुधबार
  • Wednesday, 05 February, 2025
अन्वेषण अधिकारी 
२०८१ मङ्सिर २९ शनिबार ०८:२७:००
सम्झना

सबै बेहोसी नशा पिएर...

२०८१ मङ्सिर २९ शनिबार ०८:२७:००
अन्वेषण अधिकारी 

 

त्यसवेला म १५–१६ वर्षको थिएँ । मेरो घरमा एउटा कोठा भाडामा दिइएको थियो । यहाँ एकजना विवाहित जोडी बस्नुहुन्थ्यो । श्रीमान् खासै जिम्मेवार थिएनन् । उनले श्रीमतीलाई कुटपिटसमेत गर्थे । एक–दुईपटक त मैले नै देखेको छु । 

 

माइतीले पनि ती दिदीलाई खासै वास्ता गर्दा रहेनछन् । किनकि, उनले माइतीको सल्लाह नमानेर भागी विवाह गरेकी रहिछिन् । श्रीमान् आर्थिक रूपमा पनि कमजोर रहेछन् । जबकि, उनी सम्पन्न परिवारकी रहिछन् । उनीसँग गुनासो गर्न जाने ठाउँ पनि कतै थिएन । दिनहुँको झगडा थियो । मेरी आमा र छिमेकका महिलासँग उनले भन्ने गर्थिन्, ‘मेरो के दोष थियो र ? आखिर माया गरेर विवाह गरेर आएँ । घर छाडेर आएँ । अहिले घरको न घाटको भइयो ।’

 

मैले ०३७ मा नागरिकता लिनासाथ जोसिएर साहित्यिक पत्रिका मधुमास निकालेँ । त्यो पत्रिका केही वर्ष चल्यो । मेरो एउटा लामो कथा पनि त्यसमा छापिएको छ । अन्य साहित्यकारको पनि छ । ३८ सालमा ‘रूपरेखा’मा पनि मेरो कथा छापिएको छ । मलाई खासमा कविता र कथामा धेरै रुचि थियो । तर, भक्तराज आचार्यका गीत सुन्दा बेग्लै आनन्द आउँथ्यो । उहाँको स्वरमा साँच्चै सरस्वतीको वास थियो । 

 

उहाँकै गीतहरू सुन्ने बानी परेपछि मभित्र पनि गीत लेख्ने हुटहुटी सुरु भयो । उहाँको आवाज मलाई अलौकिक लाग्थ्यो । सुनेपछि सुनेकोसुन्यै हुने । एउटा गीत लेखेर दिऊँ न भन्ने भयो । ०३७ सालतिर गीत लेख्न बस्दा फेरि त्यही पुरानो घटना संझिएँ । मानिस काल्पनिक दुनियाँमा हराउँछ । राम्रा–राम्रा सपना देखेको हुन्छ । तर, सोचेजस्तो नहुन सक्छ । आखिर ती दिदीको दोष के थियो र ? तर, उनले सोचेजस्तो भएन । उहाँको निर्णय गलत थिएन । तर, श्रीमान् गलत भएकाले पछुताउनुपर्ने अवस्था आयो । 

 

अनि मैले लेखेँ : 
‘सबै बेहोसी नशा पिएर, बिनापिएरै बेहोस छु म 
अरू निर्दोषी माया भुलेर, बिनाभुलेरै दोषी छु म ।’
अरूको गल्तीको सजाय उहाँले भोग्नुपर्‍यो । उहाँका इच्छा थिए होलान् । सपना थिए होलान् । तर, पछुतो मान्नुपर्ने अवस्था आयो । 

 

अर्को लाइन लेखेँ : 
‘सपना फुटेर आँसु बनेछ, त्यो आँसु फेरि व्यथा बनेछ 
आँसुका फोका मोती बनेर, उदास मनको कथा भनेछ ...’
मैले गीत रचना गर्दै गएँ ।
‘सुनसान बगरमा आँधी चलेछ, फैलेर आँधी चाहना बनेछ 
नअटेर माया अञ्जुली भरेर, ढलपल आँखा सागर भुलेछ’

 

तर, यतिवेलासम्म भक्तराज आचार्यसँग मेरो व्यक्तिगत चिनजान थिएन । गीतकार पुरुषोत्तम सापकोटासँग राम्रो चिनजान थियो । उहाँको रचनामा तयार भएको ‘माया मेरी साँझ बनी डोली चढी आउँछिन् ...’ गीत निकै चर्चामा थियो । मैले धेरैपटक सुनेको थिएँ ।

 

उहाँले नै भक्तराज आचार्यजीसँग मेराबारेमा कुरा गर्नुभएछ । गायक आचार्यसँग पहिलोपटक भेट्दा मैले आफ्ना कविता, कथा, ‘मधुमास’ पत्रिका र गीतहरू भएको डायरी पनि बोकेर गएको थिएँ । उहाँलाई अन्य रचना पनि देखाएँ । उहाँलाई यत्तिको मानिसले राम्रै गीत लेख्छ भन्ने लागेछ । एकै भेटमा हुन्छ भनिदिनुभयो । त्यसपछि उहाँ संगीत संयोजन गर्न लाग्नुभयो ।

 

यो गीत ०३९ साल असोजमा रेकर्ड भयो । यो मेरा लागि पहिलो अवसर थियो । मेरो खुसीको सीमा थिएन । पहिलो गीतमै त्यस समयमा उच्चकोटीका गायकले स्वर भरिदिँदा को खुसी नहोला ।

 

यस गीतसँग रमाइलो अनुभूति पनि छ । एकदिन कालिमाटी हुँदै टेकुतर्फ जाँदै थिएँ । दिउँसोको समय बाटोमा मानिसहरू रेडियो सुनिरहेका थिए । त्यतिवेला मनोरञ्जनको प्रमुख माध्यम नै रेडियो थियो । रेडियोमा गीत फर्माइस गर्ने चलन थियो । फर्माइस गर्नेको नाम प्रस्तोताले पढेर सुनाउँथे । रेडियो ठुलो स्वरमा बजिरहेको थियो । फर्माइस गर्नेहरूको नाम प्रस्तोताले पढ्दै थिए । झन्डै ५–७ मिनेटसम्म प्रस्तोताले नाम पढिरहेका थिए । देशभरबाट फर्माइस आइरहेको थियो । यति धेरैले फर्माइस गरेको गीत कुन रहेछ भन्ने जिज्ञासा भयो । अन्त्यमा, रेडियो प्रस्तोता भन्दै थिए, रवि प्राञ्जलको रचना र भक्तराज आचार्यको स्वर–संगीतमा ‘सबै बेहोसी नशा पिएर...।’ 

 

आफ्नै गीतको फर्माइस यति धेरै आएको देखेर म अक्क न वक्क भएँ । यसपछि त मलाई गीत–संगीतको लत नै लाग्न थाल्यो । भक्तराजले मेरो रचनामा बनेको अर्को गीत पनि गाउनुभयो । राष्ट्रिय भावनाको गीत, ‘मेचीदेखि कालीसम्म एक शक्ति हौ युवा...’ । त्यतिवेला राम्रा गीतलाई रत्न रेकर्ड संस्थानले डिक्स रेकर्ड गर्ने चलन थियो । रेडियो नेपालमा रेकर्ड भएको यो गीतलाई पनि रत्न रेकर्ड संस्थानले डिक्स रेकर्ड गर्‍यो । जसबापत मलाई निकै राम्रो पारिश्रमिक पनि मिलेको थियो । ०४२ सालमा युवा वर्ष मनाउँदा देशका हरेक ठाउँमा यो गीत बजेको थियो ।

 

मेरो रचनामा प्रेम ध्वजले ‘तारा टिपौँ टिपौँ भन्थेँ, जून झरेछ । सपनीमा भेटौँ भन्थेँ, निद खुलेछ ...’ गाउनुभयो । 

 

मैले चलचित्रका लागि पनि गीत लेखेँ । चलचित्रमा कथाले मागेअनुसार लेख्नुपर्छ । अरुणा लामाले धेरैजसो सिरियस गीत गाउनुभएको छ । तर, ०४३ सालमा रिलिज भएको ‘हारजित’ फिल्ममा मेरो रचनामा उहाँले सिरियस गीतका साथै दुईवटा रोमान्टिक गीत पनि गाउनुभएको छ भने यस चलचित्रमा अन्य दुई गीत किरण प्रधान र मिरा राणाले गाउनुभएको छ ।