![](https://jhannaya.nayapatrikadaily.com/uploads/news/images/140348314JN~7.jpeg)
नेटफ्लिक्सले ग्याब्रियल गार्सिया मार्खेजको ‘वन हन्ड्रेड इयर्स अफ सोलिच्युड’माथिको ‘सिरिज’ पनि पुस्तकजत्तिकै महान् हुने अपेक्षा गरेको छ
ग्याब्रियल गार्सिया मार्खेज यस्तो ‘सररियल’, विस्तारित कथालाई पर्दामा न्याय गर्न गाह्रो हुने ठान्थे । उनको हिसावमा सन् १९६७ मा प्रकाशित उनको ‘ल्यान्डमार्क’ उपन्यास ‘वन हन्ड्रेड इयर्स अफ सोलिच्युड’लाई न्याय गर्न एक सय घण्टाको समय चाहिने र छायांकन कोलम्बियामा र पूर्ण रूपले स्पेनिसमा गर्नुपर्थ्यो ।
नेटफ्लिक्सले मार्खेजका यी तीनमध्ये दुई उद्घोषलाई सम्मान गरेको छ, मार्खेजको विरासतकै सहयोगमा । यी स्ट्रिमर (प्रसारक) मार्खेजको यस भव्य उपन्यासको पर्दामा पहिलोपटकको दृश्यांकनदेखि खुसी देखिएको छ । उ यो परियोजना ‘ल्याटिन अमेरिकी इतिहासकै महत्वाकांक्षी प्रडक्सन हो’ भनेर गर्वले छाती फुलाउँछ । (‘महत्वाकांक्षी’को अर्थ ‘महँगो’ भन्ने पनि त हो । नेटफ्लिक्सले बजेट सार्वजनिक गर्ने गर्दैन तर ‘प्रडक्सन’का हिसाबले यो यस क्षेत्रकै सबैभन्दा ठुलो निर्माण हो) । दर्शकहरूले कति ‘एकान्त’ चाहलान् भन्ने कुरालाई ध्यानमा राख्दै नेटफ्लिक्सले मार्खेजको यस उपन्यासलाई १६ एपिसोडमा संकुचित गर्ने भएको छ, जसको पहिलो भाग ११ डिसेम्बरमा रिलिज भएको छ ।
पुस्तकले चलचित्र निर्माताहरूलाई दुई कारणले चुनौती दिएको छ । पहिलो कारण हो यसको हैसियत । धेरैलाई ‘वन हन्ड्रेड इअर्स अफ सोलिच्युड’ २०औँ शताब्दीको एउटा भव्य उपन्यास हो भन्ने लाग्छ ।
यो उपन्यासले मार्खेजलाई सन् १९८२ मा साहित्यतर्फको नोबेल पुरस्कार दिलाएको थियो भने विश्वभर करिब पाँच करोडप्रति बिक्री भएको छ । माया, स्नेहसँगै अपेक्षा पनि त आउँछ । जब यो ‘टिभी सो (सिरिज)’को घोषणा गरियो, यसका अनलाइन प्रशंसकहरूले तत्कालै यसको भद्दा रूपान्तरणको भय व्यक्त गरेका थिए ।
यी टिप्पणीहरूले यस उपन्यासको चरम जटिलतालाई उजागर गर्छन्, जुन यसको अर्काे परीक्षण हो । सन् १८५०–१९५० बिचको परिवेशमा लेखिएको यो पुस्तकले जोसे आर्काडियो र उनकी पत्नी उर्सुलाले माकोन्डो नगर बसाएको क्षणदेखि उनीहरूको अन्तिम वंशजको मृत्युसम्म बुन्दिया परिवारका अनेकौँ पुस्ताको नियतिलाई पछ्याँउछ, गृहयुद्ध, आधुनिकीकरण, आर्थिक समृद्धि एवं अवनतिसहित ।
यो कथामा समय एउटा ‘टर्निङ ह्विल’ हो, जसले ‘अपरिहार्य रूपमा पुनरावृत्ति’ गरिरहन्छ । परिवारका पुरुषहरू जोसे, आर्केडियो वा औरेलियानोको नामबाट सम्बोधित छन् । (पुस्तकको अग्रभागमा वंशावली राख्ने आइडियालाई सबै पाठकले मन पराएका छन्) यसमा अरू असामान्य परिघटनाहरू पनि छन् । भूत बनेर फर्कन मात्र पात्रहरू मर्छन् । एउटा पात्र सधैँ पहेँला पुतलीहरूको ‘क्यालिडोस्कोप’ले घेरिएको हुन्छ । अर्काेले आफ्नो टाउको फुटाउँछ, जहाँबाट रगतको सट्टा रहस्यमय सुगन्धले युक्त कालो रंगको तेल तप्किरहन्छ ।
मार्खेजको शैली भनेर चिनिने यो जादुई यथार्थवाद (रियालिजम) कागजमा त मनमोहक हुन सक्छ । तर, यो पर्दामा अविश्वसनीय देखिन सक्ने जोखिम छ । जब नेटफ्लिक्सले निर्देशक एलेक्स गार्सिया लोपेजलाई यस परियोजनाबारेमा सम्पर्क गर्यो, उनी उत्साहित तर भयभीत भएका थिए । ‘मलाई यो पुस्तकमा संवाद एकदमै कम रहेको हेक्का थियो । यो एकदमै अस्तित्ववादी किसिमको पुस्तक हो भन्ने र यो विश्वका सबै कुनामा पुगेको छ भन्ने पनि हेक्का थियो । मैले के मात्र सोचेँ भने यो गर्न नसकिने काम होइन, के सकिने काम हो त ? हो गर्न सकिन्छ ।
यो कथालाई कालक्रमअनुसार अघि बढाउनुपर्छ भन्ने निष्कर्षमा पुग्ने व्यक्ति थिए पटकथा लेखकमध्येका एक जोसे रिभेरा, जसका लागि एकजना ‘न्यारेटर’ चाहिने भयो । उसले कथालाई उपन्यासबाट शब्द उच्चारण गर्छ । ‘गाबोको आवाजले कथाको माध्यमबाट हामीलाई मार्गदर्शन गर्ने यो गज्जबको तरिका थियो,’ लोपज भन्छन्,‘साथै पुस्तकप्रति, यसको कार्यान्वयनप्रति, यसको शैलीप्रति वफादार रहने उत्तम तरिका पनि यही हुन्थ्यो’, लेपोज भन्छन् ।
फलस्वरूप, फिल्म निर्माताहरूले कथाको विचित्रतालाई समातेका छन् । यसमा घटनाहरू एकैचोटि काल्पनिक÷अलौकिक र वास्तविक÷लौकिक पनि हुन्छन् । उनीहरूले कथाको कामुकतालाई पनि कायम राखेका छन्, जसले कहिलेकाहीँ दृश्यहरूलाई असहज पनि बनाउँछ । अर्थात्, यो उपन्यासले व्यभिचारका कैयौँ घटनाका साथै एउटा पिडोफिलिया (बाल यौन दुराचार)को पनि वर्णन गर्छ । ‘हामी इतिहासलाई पुनर्लेखन गर्न चाहँदैनौँ,’ नेटफ्लिक्सका ल्याटिन अमेरिकी ‘कन्टेन्ट’का उपाध्यक्ष फ्रान्सिस्को रामोस भन्छन्,‘(उपन्यासमा)चिजहरू यसरी नै भएका छन् ।’ वास्तवमा नौ वर्षीया रेमेडियोसलाई औरेलियानोले फकाउन गरेको हर्कतले कथालाई अझ समयानुकूल बनाउँछ । कोलम्बियाले १८ वर्षभन्दा कम उमेरका कसैलाई पनि विवाह गर्न प्रतिबन्ध लगाउने कानुन गत महिना मात्र पारित गरेको हो ।
‘वान हन्ड्रेड इअर्स अफ सोलिच्युड’ लेख्न मार्खेज अराकाटाका नगरको आफ्नो बाल्यकालमा घोत्लिएका थिए । शैलीका कारण यो उपन्यास एउटा विशाल देशको कुनै एउटा खास भागको ‘विशिष्ट’ बन्न पुगेन, बरु कथा भन्ने तरिकाका कारण यसमा विश्वव्यापी गुञ्जन रहेको बताउँछन् रामोस । नेटफ्लिक्सले लगभग सय वर्षपछि यसको सच्चा संस्करण हुने आशा गरेको छ । आखिर मार्खेजको पुस्तक इतिहासको पुनरावृत्तिबारे जो हो ।
(द इकोनोमिस्टबाट नारायण शिवाकोटीको अनुवाद)