• वि.सं २०८१ माघ २३ बुधबार
  • Wednesday, 05 February, 2025
डा. ज्ञानेन्द्र यक्सो
२०८१ पौष ६ शनिबार ०८:४४:००
साहित्य

मिसाम : आगोको लघुआख्यान

२०८१ पौष ६ शनिबार ०८:४४:००
डा. ज्ञानेन्द्र यक्सो

स्वतन्त्र देशका रूपमा रहेको पुरानो सुखिमको एक अंशलाई पहिला गोर्खा राजाले गोर्खा राज्यमा त्यसपछि केही सन्धि चुक्तिपछि फेरि अंग्रेजहरूले इस्ट इन्डिया कम्पनीमा गाभेपछि दार्जिलिङ शब्द र ठाउँले द्रुत गतिमा विकसित हुने अवसर पायो । आफ्नो दाहिने र देब्रे दुवैतर्फ राजतन्त्र रहेको नेपाल र सिक्किम देशको बिचमा तर तुलनात्मक रूपमा नेपालीले स्वतन्त्र रूपले सास फेर्न सक्ने गणतान्त्रिक आधुनिककालीन वैचारिक गढका रूपमा विकसित ठाउँ दार्जिलिङको बिजनबारी नामक ठाउँमा जन्मेर लगभग ६ दशकदेखि साहित्यमा लेखनरत रहेका साहित्यिक व्यक्ति हुन् मप्रसु अर्थात् मनप्रसाद सुब्बा ।

 

अन्य मानिसजस्तै उनी र उनको लेखनलाई पनि यस ठाउँले भोग्नु र देख्नु परेको एकाधिक राजनीतिक र ऐतिहासिक उतारचढावले अवश्यै प्रभाव पारेको छ । मुख्यतः उन्नाइसौँ शताब्दीको पूर्वाद्र्धदेखि विकसित हुँदै आएको यहाँको मिश्रित जनघनत्वले यहाँको सांस्कृतिक फरकपन विकसित गरेको छ । यसरी विकसित नितान्त स्थानीय परिस्थिति र वर्तमान वैश्विक परिवेशको सन्दर्भ उनका रचनाको अध्ययनमा अत्यन्त सापेक्षिक देखा पर्छ । 

 

अन्नले भरिएका चुलीचुली माना, पाथी र हरिया घाँसले चुलिएका डोकाजस्ता अग्ला थुम्काथुम्कीले चारैतिरबाट घेरेर राखेको किञ्चित ऊष्ण जलवायु रहने मनोरम सानो रंगीत खोलाको किनारमा अवस्थित बिजनबारीमा बसेर नेपाली साहित्यमा हस्तक्षेपी उपस्थिति दर्ता गर्दै आइरहेका साहित्यिक व्यक्ति, अथक लेखक तथा कवि मप्रसुले नजिकैको उनकै मावली गाउँमा यो समीक्षकको जन्मअघि नै केही कथा र कवितासंग्रहसमेत प्रकाशित गरिसकेका थिए । यसरी लगभग एउटै सांस्कृतिक र भौगोलिक परिवेशमा बाँचेका हामी अर्थात् मप्रसु (मनप्रसाद सुब्बा) र यस लेखका लेखकले केही ढिलो छिटो गर्दै यहाँका नितान्त निजी परिस्थितिहरू भोग्दै आएका छौँ ।

 

सर्जक र समीक्षकको साइनो, सम्बन्ध र आपसी वैचारिक आदानप्रदानले समीक्षालाई अवश्यै प्रभावित पार्छ । यस्तो विषयगत अवस्थाबाट पाठ बाँच्नुपर्छ भन्ने धारणाले समीक्षाका क्षेत्रमा निकै लामो समयसम्म न्यास्रोलाग्दो प्रकारले ठाउँ ओगटेकै हो । यसरी पुस्तक र सर्जक र समीक्षकलाई निष्पक्ष उपस्थितिका रूपमा लिइने परम्परित समीक्षामा सर्जक पुरानो समयको कुनै निरीह विद्यार्थीजस्तो औ समीक्षक पनि पुरानै शैलीको हातमा सिर्कुना लिएर उभिएको क्रुद्ध शिक्षकजस्तो हुने गर्थ्यो ।

 

तर, अब त्यस्तो समय रहेन । सर्जक र सिर्जनालाई, सर्जक र समीक्षकलाई नितान्त निरपेक्ष रूपमा अलग–अलग अस्तित्व मानेर पाठलाई वस्तुगत रूपमा खेलाइरहने समय होइन यो । पाठमा एउटा अर्थसँगै समानान्तर अन्य अर्थ पनि उपस्थित हुने गर्छन् । यी बहुअर्थमाझ एउटा मात्र अर्थ उप्काएर त्यसलाई सत्यापित गर्ने हठ पनि अब रहेन । तर, ती अर्थमध्ये समीक्षकले आफ्नो रूचि र आवश्यकताअनुसार अन्य अर्थको अवकाश पनि खुला राख्दै एउटा अर्थलाई समात्न पाउनु पाठकीय स्वतन्त्रताभित्र पर्ने कुरा भयो । साहित्य समाज निरपेक्ष एउटा अलग्गै अस्तित्व हो र हुनुपर्छ भन्ने सैद्धान्तिक धारणा पुरानो कारखानाबाट उत्पादित युरियाले खुइलिएको बाँजो जमिनजस्तो भइसक्यो भन्ने तर्क यहाँ जोड्न सकिन्छ । पाठलाई अथ्र्याउन अब पाठकले सन्दर्भलाई नकार्न सक्ने अवस्था रहेन ।

 

जिउँदो, झर्झराउँदो, कामलाग्दो र आसलाग्दो समीक्षाका लागि पाठकद्वारा सर्जकले आफ्नो बदलिँदो परिवेश र सन्दर्भअनुसार आफू र आफ्नो लेखनलाई कसरी अध्यावधिक तुल्याउँदै ल्याएको छ ? त्यो अध्यावधिकता कतिको तर्कसम्मत र भूसंस्कृति सापेक्षिक छ ? भन्ने विषय निक्र्योल हुनुपर्छ । वैचारिक हस्तक्षेप गर्ने कला र ध्वनियुक्त पाठद्वारा पाठकलाई आनन्दित र चकित तुल्याउनु लेखकको चुनौती हो । कुनै पाठक विषय र विचारमा रमाउँछन्, कुनै प्रयोग र शैलीमा । यी विविधतामुखी पाठकीय अपेक्षा जति ज्यादा परिपूर्ति गर्न पाठ सक्षम हुन्छ, त्यति नै त्यो महत्वपूर्ण पाठमा रूपान्तर हुँदै छ । ध्वनिको गुम्फन रहन्छ यस्ता पाठमा । यही ध्वनिको खोजमा तल्लीन हुनलाई समाइएको हो मप्रसु र उनको मिसाम कथासंग्रह (सन् २०२३)।

 

       ०००                              ०००

 

निरन्तर नवीन र बहुआयामिक लेखनमा आफूलाई प्रस्तुत गर्ने कवि मनप्रसाद सुब्बाले यसपल्ट ‘मिसाम’ नामक कथासंग्रह नेपाली साहित्यिक समाजसमक्ष प्रस्तुत गरेका छन् । कथा रचना गर्नु अनि संग्रहका रूपमा प्रकाशित गर्नु साथै नवीन कथा रचना गर्नु र प्रकाशित गर्नु दुई भिन्न कुरा हुन् । मप्रसुले गद्याख्यानका रूपमा प्रस्तुत गरेका ‘मिसाम’को बहुप्रतिशत पछिल्ला तर्कसँग मेल खान्छ । झट्ट सुन्दा नै असामान्य लाग्ने ‘मिसाम’ ले स्थानीय र विश्व–परिवेशलाई घतलाग्दो आलोचना गरेको छ । 

 

एउटा पाठभित्र अनेकार्थ गुम्फित हुन्छ भन्ने कुरा अगावै गरियो । पाठलाई पाठकले आफ्नो काल, परिवेश, ग्रहण क्षमता र रुचिअनुसार अथ्र्याउने गर्छ । पाठ पाठक सापेक्षित हुँन्छ र त्यसलाई त्यसरी अध्ययन गर्ने स्वतन्त्रताले पाठ आफैँ अनेकौँ सम्भावनाले युक्त माटोझैँ उर्वर हुने गर्छ । मप्रसुको नवीन कथासंग्रहभित्र यस्ता अर्थका अनेकौँ पत्रा गुम्फित होलान् । यस्ता अर्थहरूको गुम्फनले निर्माण गरेको ध्वनिको एउटा सानो फेरो पक्रेर उनले समाजसमक्ष प्रस्तुत गरेका केही आलोचनात्मक दृष्टिकोणलाई पर्गेल्ने किञ्चित प्रयास भने यस लेखमार्फत गरिएको छ ।

 

‘मिसाम’ कथासंग्रहको सान्दर्भिकता यसबाट ध्वनित र यसभित्र निहित पर्यालोचकीय दृष्टिकोण एउटा हो । दिन्दिनै अझ सान्दर्भिक र वर्तमानमा नेपाली साहित्यमा प्राज्ञिक बहसको बाटो हेरिरहेको पर्यावरण चिन्तनजस्तो विषयलाई अंगीकार गर्दै मुन्धुमी लघु आख्यानका आधारमा पर्यालोचकीय दृष्टिकोणसहित ‘मिसाम’जस्तो ताजा गद्याख्यान प्रकाशित हुनु नेपाली साहित्यका सन्दर्भमा एउटा महत्वपूर्ण घटना हो । साहित्यको प्राज्ञिक अध्ययनमा महाआख्यान (मेटा न्यारेटिभ) तथा ठुला आख्यानलाई केन्द्रमा राखेर विश्वदृष्टि प्रस्तुत गरिने परम्परालाई मप्रसुको लघु आख्यान (मिनी न्यारेटिभ) वा स्थानीय आख्यान (लोकल न्यारेटिभ)मा आधारित मिसामले आलोचनाको नौलो बाटो कुरिरहेको छ ।

 

निरन्तर नवीन र बहुआयामिक लेखनमा आफूलाई प्रस्तुत गर्ने कवि मनप्रसाद सुब्बाले यसपल्ट ‘मिसाम’ नामक कथासंग्रह नेपाली साहित्यिक समाजसमक्ष प्रस्तुत गरेका छन् । झट्ट सुन्दा नै असामान्य लाग्ने ‘मिसाम’ ले स्थानीय र विश्व–परिवेशलाई घतलाग्दो आलोचना गरेको छ । 

 

उनले बहुसंख्यकद्वारा स्थापित प्रकृतिसम्बन्धी अवधारणालाई अपवादमा राख्दै अल्पसंख्यक र आदिवासीहरूको लघु आख्यानमा निहित परिवेश चिन्तनलाई ‘मिसाम’ कथासंग्रहमा सकारेका छन् । यसबाट कथाकार चिन्तनको फाँटमा आएको उत्तराधुनिक अवस्था (पोस्टमोर्डन कन्डिसन) प्रति सचेत छन् भन्ने स्पष्ट हुन्छ । उपभोक्तावादी मानवकेन्द्री विकासलाई आलोचना गरेर त्यसको विरोधमा उभिनु मात्र सचेत लेखकको दायित्व होइन । मानवकेन्द्री त्यस्तो प्रकृति विनाशी (इकोसाइडल) संस्कृतिको आलोचना गरी त्यसका वैकल्पिक आधार प्रस्तुत गर्नु आजका सचेत लेखकको दायित्व हो ।

 

प्रारम्भदेखि नै लेखनमा वैचारिकीलाई प्राथमिकता दिँदै आइरहेका लेखक मप्रसुले यस कथासंग्रहका माध्यमबाट त्यस्तो उपभोक्तावादी मानवकेन्द्री संस्कृतिबाट पर्यावरणलाई रक्षा गर्नका निम्ति सयौँ वर्षदेखि प्रकृतिसँग तादात्म्य राख्दै आइरहेका आदिवासी, जनजातिहरूको जीवन पद्धति र उनीहरूका लोकजीवनमा निहित प्रकृतिकेन्द्री विश्वदृष्टिलाई दह्रिलो विकल्पका रूपमा प्रस्तुत गरेका छन् । उनले नेपाली प्राज्ञिक जमातमा अपेक्षित कम मात्रामा बहस गरिएको तर पर्यावरण विमर्शका सन्दर्भमा अत्यन्त सान्दर्भिक र उपयोगी हुने लघु आख्यान मुन्धुम र त्यसमा आधारित जीवन पद्धतिलाई आफ्नो ‘मिसाम’ कथामार्फत प्रकाशमा ल्याएका छन् । 

 

‘मिसाम’ कथासंग्रहभित्र रहेको कथा ‘मिसाम’ ले नितान्त स्थानीय लघु आख्यानलाई कथाको आधार बनाएको छ । आधुनिक कालमा ठुला आख्यानले थान्को लाएको र असान्दर्भिक र अवैज्ञानिक मानिलिएको मुन्धुमजस्तो नितान्त मौलिक र मौखिक रूपमा हस्तान्तरित हुँदै आएको लघु आख्यान वर्तमान सन्दर्भमा कति उपयोगी र सान्दर्भिक छ भन्ने विषयलाई यस कथाबाट प्रस्तुत गरिएको छ । मानवेतर जीव र निर्जीव वस्तु केवल उपभोग्य वस्तुका रूपमा हेर्ने मानवकेन्द्री प्रकृति संहारक उपभोक्तावादी संस्कृतिलाई मुन्धुमले नकारेको तथ्य यस कथाबाट प्रकाशमा आएको छ । मानवेतर जगत्मा पनि प्राण हुने र मानव र मानवेतर जगत् कसरी एक–अर्काका परिपूरक मात्र रहेछ भन्ने गहन पारिस्थितिकीय दर्शनलाई कथाकारले यस कथामार्फत दर्साएका छन् । उनले मुन्धुमलाई वर्तमान समयमा अत्यन्त सान्दर्भिक र महत्वपूर्ण आख्यानका रूपमा प्रस्तुत गरेका छन् । ‘मिसाम’ लिम्बू भाषाबाट गृहित मुन्धुमी शब्द हो, जसको अर्थ हुन्छ ‘आगोको हंस’ । 

 

एसिया महादेशको किञ्चित दक्षिण भागमा अवस्थित पूर्वोत्तर हिमालयको फेदीमा परापूर्वकालदेखि बसोवास गर्दै आइरहेको लिम्बू जातिको जीवन चक्र मौखिक परम्परामा आधारित मुन्धुमद्वारा सञ्चालित र सञ्चारित छ । यस्ता मुन्धुमका अनेक प्रकारमध्ये ‘मिसाम एप्मा मुन्धुम’ एउटा हो । यस मुन्धुममा आगोको शक्ति, यसको ताण्डव, यसका प्रकार, पानीसँग यसको पारस्परिक सम्बन्ध र मानवजीवनमा त्यसको आवश्यकताबारेका आख्यान निहित छन् । यसरी उक्त मुन्धुम गायन गर्दा येबा तथा साम्बाहरूले आगोलाई सजीव प्राणीजस्तो सम्बोधन गर्नु र पुकार्नुले मुन्धुम दर्शनले बीसौँ शताब्दीको उत्तरार्द्धदेखि मात्र प्राज्ञिक बहसका रूपमा विकसित भएर आएको पर्यावरण विमर्शका गाँठी सरोकारलाई परापूर्वकालदेखि नै अवलम्बन गर्दै आइरहेको तथ्य उद्घाटित छ ।

 

उत्तरआधुनिक युगमा पर्यावरण विमर्शले बहसमा ल्याएको मानव र मानवेतर जगत्को अन्तर्सम्बन्ध र सहअस्तित्वको गहन पारिस्थितिकीय दर्शनलाई मुधुमले परापूर्वकालदेखि अँगाल्दै आएको छ, जो अत्यन्त परिवेशमैत्री (इको फ्रेन्डली) छ । विश्वको यस भौगोलिक क्षेत्रमा जीवित मुन्धुमजस्तो लघु आख्यानलाई समकालीन वैश्विक सन्दर्भमा अत्यन्त सान्दर्भिक र उपयोगी रहेको तर्क कथाकारले मिसाम कथासंग्रहका मध्यमबाट प्रस्तुत गरेका छन् । यसबाट संसारमा अझै पनि जीवित यस्ता मौखिक परम्परा, लोकज्ञान र त्यसमा आधारित जीवन पद्धतिलाई प्रोत्साहन, प्रवद्र्धन र संरक्षण गरिनुपर्ने वैचारिकी कथाकारले प्रस्तुत गरेका छन् । 

 

मुन्धुममा विनाशकारी र उपकारी दुवै प्रकारका आगोका हंसको वर्णन पाइन्छ । जसमध्ये मिसाम कथामा आगोको विनाशकारी हंसबारे चर्चा पाइन्छ । मुन्धुममा आगोको यही अनिष्टकारी शक्तिलाई शमन गर्न र आगोको मंगलकारी शक्ति जगाउन पराभौतिक शक्तिले युक्त ‘सिभाक यामी’ अर्थात् ‘येबा–येमा’हरूले परापूर्वकालदेखि भूमिका निर्वाह गर्दै आइरहेको तथ्य नेपाली लोकजीवन अथवा अझै विशिष्टीकृत प्रकारले भन्न परे मुख्यतः लिम्बू लोकजीवनमा वर्तमानमा पनि विद्यमान रहेको छ । मुन्धुममा आगोको विनाशकारी स्वरूपलाई सम्बोधन गरिएको सानो अंश यसप्रकार छ :


सेरी मिसाम हा: (आकाशबाट झर्ने चट्याङमा निहित आगोका हंसहरू)

लराङ मिसाम हा: ( धर्तीबाट उठ्ने चट्याङको जोडी आगोको विनाशकारी हंस)

इधोलुङ मिसाम हा: साम्सोघा मिसाम हा: (अकाल मृत्युमा पार्ने आगोको अनिष्टकारी हंस)

मुधुङ मिसाम हा: चेःया मिसाम हा: ( अनिष्ट निम्त्याउने आगोको हंस)

मुक्कुम इमुम लो, सेमी इमुम लो (आगोको शक्तिलाई थिचौँ है, आगोलाई थिचौँ है)

 

              ०००                            ०००

 

यसप्रकार मुन्धुममा वर्णित आगोको यस्ता अनिष्टकारी हंसको प्रसंग मिसाम कथासंग्रहका कथाकारले आफ्नो कथासंग्रहको मुख्य आधार बनाएर पर्यासाहित्यको रचना गरेका छन्, जो नेपाली कथालेखनको इतिहासमा उल्लेखनीय प्रयोग मान्न सकिन्छ । कथाकारले कथक र येमा–येबासँगको संवादद्वारा आउँदो समयमा यस भूखण्डमा आइपर्न सक्ने प्राकृतिक प्रकोप र संकटलाई रूपकात्मक ढंगमा प्रस्तुत गरेका छन् । 

 

मिसामको कार्यपिठीका वर्तमान दार्जिलिङ र त्यसको भौगोलिक र राजनीतिक हलचलसँग सम्बन्धित छ । दार्जिलिङका नदीनालामा संवेदनाहीन र आक्रामक प्रकारले निर्मित हाइड्रल प्रोजेक्टहरूले निम्त्याएका प्राकृतिक विपत्तिहरूलाई यस कथामार्फत कडा आलोचना गरिएको छ । यहाँ अवस्थित टिस्टा र रंगित खोलाको सिरानमा रहेको डिक्चु (सिक्किम), राङभाङ खोला, सानो रंगित, फेदी खोला आदिलाई मानव निर्मित ठुल्ठुला सुरुङ र नालाका माध्यमले अप्राकृतिक रूपमा फर्काएर बिजुली उत्पादन गर्ने कार्य भइरहेको छ । मिसाम कथामा टिस्टा, रंगित, राङभाङ र रुङदुङजस्ता स्थानीय नदीनालामा भइरहेको यही दोहनबारे प्रत्यक्ष आवाज बुलन्द गरिएको छ । यहाँ उल्लेखनीय विषय के रहेको छ भने मिसाम कथासंग्रहमा कथाकारले वर्णन गरेका यी नदीनालाका नाम मिसाम एप्मा मुन्धुममा पनि वर्णन गरिएका छन् । यसरी नै मिसाम कथामा भनिएझैँ आगोसँग पानीको परस्पर सम्बन्धका कुरा ‘मिसाम एप्मा’ मुन्धुममा पनि रहेको पाइन्छ । कथाकारले कथामा आगोको मित पानी भनेर यी दुई एक–अर्काका पूरक हुन् भनी वर्णन गरेका छन् । ‘मिसाम एप्मा मुन्धुम’मा आगोको अनिष्टकारी शक्तिलाई शान्त पार्नका निम्ति सिभाक यामी, सोदोई साम्बा–खेदोई साम्बा, तेल्लेरे साम्बा–तेन्छेयेप साम्बा, सावारा–साम्बा येच्छाममु साम्बाजस्ता पराभौतिक शक्तिले युक्त मुन्धुम गायन र नृत्यमा पारंगत विशेष प्रकारका लिम्बू पुरोहितहरूले विभिन्न नदी र खोलाबाट पानी ल्याउने प्रसंग उल्लेख पाइन्छ । यसरी आगोको शक्तिलाई शान्त पार्न पानीको खोजमा हिँड्दा यी येबा, साम्बाहरूले निम्नलिखित नदीको चर्चा गरेका छन् :

 

योसुमु च्वा: ल्ये, तेमेम्मा च्वा:ल्ये (दक्षिणतिर अवस्थित पानी अथवा हिन्द महासागरको पानीले । तेमेन वारक– हिन्द महासागर) 

आदिसो च्वा: ल्ये, नाबाप्पा च्वा: ल्ये (पल्लोपट्टि रहेको सायद ब्रह्मपुत्र नदीको पानीले) 

आप्ताङवा च्वा: ल्ये, तिथाङवा च्वा: ल्ये (रंगित र टिस्टा नदीको पानीले)

इम्बिरी च्वा: ल्ये, याङथाङवा च्वा: ल्ये (तमोर नदीको पानीले) 

अरूणा च्वा: ल्ये, वारुणा च्वा: ल्ये (अरुण–वरुण नदीको पानीले)

 

यसप्रकार यी स्थानीय नदीनालाको आख्यान मिसाम एप्मा मुन्धुममा परापूर्वकालदेखि वर्णन हुँदै आएको पाइन्छ, जुन नदीनालाले यहाँको जैविक विविधता कायम गर्न तथा यहाँको सभ्यता निर्माण गर्नमा अहं भूमिका निर्वाह गरेको छ । तर, वर्तमान समयमा यी नदीनालालाई अप्राकृतिक रूपमा सञ्चालन गरिनाले मानव निर्मित आपदा आइपरिरहेको मुद्दालाई मिसामले उठाएको छ । आधुनिक युगीन विज्ञानमा आधारित वैचारिकी (एज अब रिजन) ले अन्धविश्वास र अविकसित भनेर किनारा लगाउन कोसिस गरेको लोकजीवनमा प्रचलित विश्वास र पराभौतिक शक्ति र प्रकृतिको मिहिन मूच्र्छनालाई अध्ययन गर्न सक्ने सूक्ष्म ज्ञानलाई उत्तरआधुनिक युगले गम्भीतासाथ लिएर त्यसको उपादेयतालाई महत्वपूर्ण मानेको छ । यसरी स्थानीय लघुआख्यानहरूको अध्ययन र त्यसको प्रयोगले उक्त ठाउँको जैवविविधताको अध्ययन गर्न, त्यहाँको पर्यावरण सन्तुलन कायम राख्नका निम्ति अपनाउनुपर्ने उपाय, त्यहाँको यथार्थ इतिहास लेखन र मौलिक साहित्य सिर्जना गर्न महत्वपूर्ण उपकरणका रूपमा उपयोग गर्न सकिन्छ । मिसाम कथामा बरबोटे गाउँको बिचमा रहेको ठुलो वरको रुख काटिएको र त्यसमा वास बस्ने चमेराहरूको तारसप्तकीय चिच्याहटले प्राकृतिक विपत्तिको प्रतीकात्मक अर्थ बोकेको छ । कथाकार मप्रसुले यही लघुआख्यानको आधारमा मिसामजस्तो पर्यासाहित्य सिर्जना गरेर नेपाली कथा लेखनको नौलो दिशातिर मार्ग प्रशस्त गरेका छन् ।

 

पर्यासाहित्यको सिर्जनाका क्रममा सर्जकले आलोचनाको दृष्टिकोण स्पष्ट पार्नुपर्ने आवश्कता देख्छौँ । प्रकृतिको दोहनका प्रसंग उठाउँदा यस धरतीमा रहेका सम्पूर्ण समाज र मानिसलाई बराबरको जिम्मेवार ठह¥याएर सबैलाई एकैठाउँ सालाखाला रूपमा हामी मान्छेले पृथ्वीको विनाश ग¥यौँ भन्ने अवधारणा बनाउनु नितान्त तर्कहीन र अस्पष्ट धारणा र दृष्टिकोण हुन जान्छ । आज नेपाली साहित्यमा लेखिएका पर्यासाहित्य भनी लेख्ने प्रयास गरिएका कतिपय रचनाहरूमा यस्तो दृष्टिकोण रहेको पाइन्छ । वास्तवमा जलवायु परिवर्तन र त्यसको असन्तुलनमा संसारका सम्पूर्ण समुदाय र उनीहरूको जीवन पद्धतिदायी छैनन् । आलोचनाको केन्द्र त्यतातिर हुनुपर्छ । यसका साथै वैज्ञानिक जीवनदेखि अत्यन्त विमुख रहेका समुदायलाई समेत आफ्नो आलोचनाको परिधिमा राखेर त्यस्तो जीवन दर्शनको अध्ययन र समलोचना गरेर संसारलाई दिगो विकास (सस्टेनेबल डेभलपमेन्ट) का निम्ति मार्ग प्रशस्त गर्नु वर्तमान पर्यासाहित्य सिर्जनाको लक्ष्य हुनुपर्छ । लेखक र उनीद्वारा सिर्जित साहित्य यसतर्फ कति आलोचनात्मक दृष्टिकोणले युक्त छ भन्ने अध्ययनीय विषय बन्छ । मिसाम कथासंग्रहमा कथाकार मप्रसुले मानवकेन्द्री र उपभोक्तावादी संसारमा बढिरहेको लोकप्रिय संस्कृति (पपुलर कल्चर) र जीवन दर्शनलाई पृथ्वीको स्वास्थ्यका निम्ति हानिकारक रहेको भनी आलोचना गरेका छन् भने नेपाली लोकसंस्कृति, परम्परा र जीवन पद्धतिलाई पृथ्वीको स्वास्थका लागि उपयुक्त रहेको भन्ने दृष्टिकोण प्रस्तुत गरेका छन् । यद्यपि उनको रचना दिगो विकास (सस्टेनेबल डेभलपमेन्ट) का पक्षमा चुपचाप छन् ।

 

(नोट : यस लेखका अर्को खण्डमा ‘मिसाम’ मा सम्पुटित अर्को रूपकीय अर्थ र यस कथासंग्रहमा प्रयुक्त कथालेखनगत तकनिकीबारे प्रकाश पारिनेछ । पठन सुविधाका निम्ति यस लेखलाई दुई खण्डमा विभाजित गरिएको हो - लेखक)