चीनबाट फर्किएलगत्तै मैले त्यस कलमबाट केही महत्वपूर्ण सिर्जना गर्नुपर्छ भन्ने सोचेर नृत्यलिपिसम्बन्धी पुस्तक लेख्न थालेँ
काठमाडौंको कमलपोखरीमा जन्मिएको भए पनि जेठो दाइले सानैदेखि मलाई वनारस राखेर पढाउनुभयो । छुट्टीमा उहाँले प्रत्येक वर्ष कहिले लखनउ, कहिले आगरा, कहिले पटना घुमाउन लैजाने गर्नुहुन्थ्योे । यही क्रममा गोरखपुर गएका थियौँ ।
डिसेम्बरको महिना थियो । यतिवेला ब्रिटिस आर्मीमा ६ जना क्लर्कको भर्ती खुलेको रहेछ । कलकत्ताबाट सिंगापुरका लागि पानीजहाज छुट्ने समय नजिक आइसके पनि उनले भर्ती हुन योग्य कुनै पनि युवा भेटेका रहेनछन् । राम्रो जिउडाल देखेर उनले मलाई भर्ती गर्न खोजे । तर, मेरो दाइले सुरुमा मान्नुभएन ।
‘पानीजहाज धेरै दिन रोकिँदैन । डेढ महिनासम्म मात्रै रोकिन्छ, पानीजहाज खुस्किएपछि यो एक वर्षलाई मौका जान्छ । मलाई भाइ मनपर्यो । म कुनै फटाहा कुरा गर्न आएको होइन ।’ भनेर गोखरपुरबाट पनि धेरै टाढा रहेको ब्रिटिस क्याम्प, लेहरा भन्ने ठाउँमा हामीलाई लगे । ब्रिटिस क्याम्प भव्य थियो । ढोकामै लेखेको रहेछ, ‘सिक्स क्लर्क वान्टेड’ । त्यसपछि मेरो दाजु पनि विश्वस्त हुनुभयो ।
सन् १९५० को डिसेम्बरमा म आर्मीमा भर्ती भएँ । म भर्ना भएको भोलिपल्टदेखि त देहरादुनबाट अरू मानिस पनि आइहाले । चारजना चाँडै पुगिहाल्यौँ । तीन दिनपछि अर्को तीनजना थपिए । ६ जनाको मात्रै कोटा भएकाले एकजनालाई अर्को वर्ष आउनू भन्यो, उनी रुँदै फर्किए ।
गोरखपुरबाट गाडीमा कलकत्तासम्म र त्यहाँबाट पानीजहाज चढेर बर्मा हुँदै हामी सिंगापुर जाँदै थियौँ । जहाज चढेको तीन दिनपछि मलाई वैराग लाग्न थाल्यो । जमिन देखिँदैन, घाँस र हरियो कतै छैन, पानी नै पानी मात्र । सूर्य पनि वैराग भएर अस्ताएजस्तो लाग्ने । आक्कलझुक्कल चरा देख्न पाउँदा मन प्रफुल्ल हुन्थ्यो ।
हामी व्यापारिक जहाजमा चढेका थियौँ । सामान लोड र अनलोड गर्दै अघि बढ्नुपर्ने । युरोपेली, चिनियाँ, अफ्रिकी, भारतका पनि विभिन्न समुदाय (तमिल, पन्जाबी, गुजरातीलगायत) विभिन्न मानिस जहाजमा थिए ।
म बनारसमा विद्यार्थी हुँदा पनि हिन्दी फिल्म असाध्यै गाउनुपर्ने । देहरादुन र दार्जिलिङका साथीहरू हिन्दी गीत गाएर समय काटिरहेका थिए । मैले त्यही ग्रुपको डम्फु र ड्रम लिएर नाच्न थालेँ । मैले नाच्दा मुखको पनि एक्सप्रेसन दिन्थेँ, अभिनय गर्ने अर्थात् मुखको पनि आकृति बनाउनुपर्ने मेरो स्वभावले अरू सबैजना हाँस्न थाले । मेरो एक्सप्रेसन नक्कल गर्दै उनीहरू पनि नाच्न थाले । तास खेल्न छाडेर नाचे, ब्याडमिन्टन खेल्न छाडेर नाचे ।
नक्कल गर्दा उनीहरूको हाउभाव फरक–फरक आउँथ्यो । चाइनिजले गर्दा अर्कै हुने, ब्रिटिसले गर्दा अर्कै हुने । म पनि हाँस्न थालेँ । यसरी एक–अर्काको एक्सप्रेसन आदान–प्रदान गर्दै तीन हप्ता बितेको पत्तै भएन । त्यो पानीजहाज त मेरा लागि नाट्यशालाजस्तो भयो । जिउमा नै डान्सको सबै मुभमेन्ट चढिहाल्यो । सिंगापुरस्थित बन्दरगाह पुगेर छुट्टिनुपर्दा हामी झन्डै रोएका थियौँ ।
सिंगापुरमा ६ महिनाको बेसिक ट्रेनिङ थियो । डान्सको पाराले सेलुट गर्दा पनि कम्मर हल्लाई– हल्लाई गर्न मेरो बानी देखेर उस्तादले त्यस्तो नगर्न चेतावनी दिन्थ्यो । तर, कहिलेकाहीँ ऊ आफैँ पनि हाँस्थ्यो । हुँदा–हुँदा बेनिट चार्ज (शत्रुमाथि हमलाको अभ्यास) गर्दा पनि नाच्न मन लाग्यो ।
सिंगापुरमा १४–१५ महिना बस्दा म क्वालिफाइड डान्सर भइसकेको थिएँ । मलाई नेपाली बाबु भनेर सम्बोधन गर्न थाले । यसपछि मलायामा सरुवा भयो । मलायाको जंगलमा एक्रोबेट डान्स गर्नुपर्ने, जंगलको लहरा समातेर हाम्फाल्ने, तारै नाघेर ढिस्को काढेर नै जाने गर्न थालेँ । त्यसैले त्यहाँ ‘नेपाली टार्जन बाबु’ भन्न थाले ।
सन् १९५३ मा बेलायती महारानी एलिजावेथको राज्याभिषेकका अवसरमा हाम्रो ब्यारेकमा रातभर नाच्ने कार्यक्रम चल्यो । मेरो प्रस्तुति देखेर हाकिमले खुसी भएर ६ महिनाको घरछुट्टी नै दिए । तर, फर्केर आउनुपर्छ भने ।
४ असोज, २०१० मा काठमाडौं आएँ । दुई दिनपछि नाटककार भीमनिधि तिवारीसँग घरमै भेट भयो । २५ वर्षको प्रयासपछि २००७ सालमा आएर बल्ल नेपाल नाटक संघ खोल्न उहाँ सफल हुनुभएको रहेछ । लालदरबार हेर्ने जिम्मा मेरो माइलो दाइको थियो, नाटक संघको कार्यालय यहीँ रहेछ । एउटा कोठा अपुग भएपछि अर्को कोठा थपिदिन माग गर्दै मेरो दाजुलाई भेट्न आउनुभएको रहेछ ।
संघका लागि प्रतिभाशाली कलाकार खोज्दै पनि हुनुहुँदो रहेछ । नृत्यप्रतिको मेरो लगावबारे थाहा पाएपछि मलाई नेपालमै बसेर नृत्यको प्रवर्द्धन गर्न सल्लाह दिनुभयो । १५ असारमा संघले लालदरबारस्थित आफ्नो कार्यालयअगाडिको चौरमा सांस्कृतिक कार्यक्रम गर्ने तयारी रहेछ । डिल्लीबजार, कमलपोखरी, नक्साल, क्षेत्रपाटीलगायत आसपासका टोलका मानिस आएका थिए । म पनि लबेदा, सुरुवाल र रंगीचंगी इस्टकोट लगाएर गएँ । ठुल्ठुला उस्तादहरूले यस कार्यक्रममा तानपुराको संगीत प्रस्तुत गरेका थिए । कार्यक्रममा तिवारीजीले मलाई ‘प्रतिभाशाली कलाकार’ घोषणा गर्नुभयो ।
पुरुष नाच्दा शुभ हुँदैन भन्ने मान्यता हाबी भएको तत्कालीन समाजमा मलाई प्रतिभाशाली कलाकार घोषणा गर्नु अनौठो कुरा थियो, तिवारीजीको आँटलाई मान्नुपर्छ । त्यतिवेला गाईजात्रा वा निश्चित पर्वमा पुरुषले मारुनी भएर नाच्न पाउँथे । विशेषगरी, दलित समुदाय नाच्थे । बाहुन–क्षेत्रीले नाच्दा उनीहरूको जात नै घटुवा हुने पनि रहेछ । नाच्ने पुरुषलाई ‘फुँडो’ भनेर अपमानित गरिन्थ्यो ।
भदौमा यादवकान्त सिलवालले मलाई बोलाउनुभयो । उहाँको दाइ विष्णुकान्त सिलवाल नेपाल कम्युनिस्ट पार्टीको सदस्य हुनुहुन्थ्यो । संस्थापक नेता पुष्पलाल श्रेष्ठसँग उहाँको निकै राम्रो सम्बन्ध थियो । अखिल नेपाल किसान संघले ३ असोजमा आफ्नो वार्षिक सम्मेलनको अन्तिम दिन भुरुङखेलस्थित डबली मञ्चमा कार्यक्रम गर्दै रहेछ । यादवकान्तजीले मलाई उक्त कार्यक्रममा जानुपर्छ भन्नुभयो । तर, नाच देखाउनुपर्छ भन्नुभएको थिएन । बालकृष्ण सम, धर्मराज थापा, कलाराज अधिकारी, गुप्तसेन मास्टर, शम्भु मिश्र, केदारमान व्यथितलगायत साहित्यकार तथा कलाकारलाई यहाँ आ–आफ्ना नाटक, गीत तथा कविता प्रस्तुत गर्नका लागि बोलाइएको रहेछ । साढे ४ बजेदेखि कार्यक्रम सुरु हुने तय भए पनि साढे ५ बज्दासम्म पनि कलाकारहरू आइपुग्नुभएको थिएन । पाटन, नुवाकोट, धादिङलगायत विभिन्न ठाउँबाट किसानहरू भेला भइसकेका थिए । भुरुङखेलको चौरमा नअटाएर मानिसहरू नजिकका ढिस्कोमा गएर पनि कार्यक्रम हेरिरहेका थिए । घरको झ्यालबाट हेरिरहेका थिए ।
अकस्मात्, मलाई निर्मल लामाले भने, ‘सर तपाईं त रमाइलो हुनुहुँदो रहेछ । केही न केही त चटक देखाइदिनुपर्यो ।’ म खुकरी भिरेरै कार्यक्रममा गएको थिएँ । ‘म चटके होइन भनेर जवाफ फर्काएँ ।’ कलाकार नहुँदा दर्शकहरू चिच्याइरहेका थिए । भिड सम्हाल्न नसक्ने अवस्था आएपछि मलाई पुष्पलालको इसारामा निर्मल लामाले सोझै स्टेज लिएर गए । कार्यक्रम हेर्न आएको मानिस एक्कासि मञ्चमा लगेपछि झोक्किएँ । २० वर्षको उमेर, जोसमा मैले निर्मल लामालाई मुक्का हानिदिएँ । दर्शकले यसलाई पनि नाटक नै ठानेछन् । उनीहरू हाँस्दै ताली पिट्न थाले । यसपछि मैले निर्मलजीलाई मञ्चमै लखेट्न थालेँ । यसलाई पनि दर्शकले नाटक नै ठानेछन् । यसक्रममा स्टेजपछाडि संगीत बजाइरहेका गुप्तसेनलाई देखेँ । लालदरबारमा भएको कार्यक्रममा मेरो इन्ट्री हुँदा उनैले संगीत दिएका थिए । गुप्तसेनलाई देखेपछि रिस मत्थर भयो । यसपछि एक्लै नाच्न थालेँ ।
दर्शकले निकै रमाइलो माने । उनीहरूले दोहोर्याउन आग्रह गरे । मैले यस कार्यक्रममा झन्डै एक घण्टा प्रस्तुति दिएँ । दर्शकदीर्घाबाट थानकोटदेखि भैँसेपाटी, भक्तपुरदेखि नुवाकोटसम्म (उपत्यकाका सबै) मानिसले ‘भैरवबहादुर थापाको लोकसांस्कृतिक प्याखँ हेर्न पाउनुपर्छ’, भन्ने मागसहितको कागज उद्घोषकको हातमा आयो । कार्यक्रम सञ्चालन गरिरहनुभएका साहित्यकार कृष्णसिंहजीले ‘जनताको माग भएबमोजिम भोलिदेखि ६ दिनसम्म मलाया डान्सरको लोकसांस्कृतिक प्याखँ हुने’ घोषणा गरिदिनुभयो । ६ दिनसम्म लगातार नृत्य प्रस्तुत गरेपछि पुष्पलाल निकै प्रभावित हुनुभयो । निर्मल लामासँग पनि घनिष्ट मित्रता भयो । उहाँलाई राजनीतिक कार्यक्रममा गाउँ गइरहनुपर्ने, मैले आर्मीमा लगाउने कपडा उपहारमा दिएँ ।
भुरुङखेलमा अन्य समयमा पनि नृत्य देखाउन थालेँ । एकदिन, दरबार हाइस्कुलका केही विद्यार्थी र उनीहरूका अभिभावक नृत्य सिकाइदिनुपर्यो भनेर आए । मैले स्कुलमै सिकाउने व्यवस्था मिलाएमा आउँछु भनेँ । अभिभावक र विद्यार्थीले यो प्रस्ताव राख्दा शिक्षकहरूले झपारेछन् । विद्यार्थीहरू रुँदै मकहाँ आए ।
तीन महिना स्काउटको तालिम लिएका एक सज्जन हुनुहुन्थ्यो, उहाँले भन्नुभयो, ‘भैरव सरलाई थाहा छ कि छैन ? लोकसांस्कृतिक नृत्यलाई यहाँ गाईजात्रे प्याखँ भनिन्छ । त्यस्ता प्याखँहरू विनाचाडपर्व जथाभावी नाच्ने चलन हुँदैन । त्यसकारण स्कुलको मास्टरले झपारेर विरोध गर्नु अस्वाभाविक होइन ।’
उहाँले नै स्काउटको तालिम गराउन विद्यार्थीलाई भुरुङखेलमा बोलाउने, आर्मी ड्रिलको टे«निङसँगै नृत्य पनि सिकाउने सल्लाह दिनुभयो । मसँग जोडिएर काम गर्ने उहाँको इच्छापछि संगीत र नृत्यलाई स्काउटकै हिस्साका रूपमा अघि बढाइयो । स्काउटको ड्रेस एकैनास हुनुपर्ने भएकाले झन्डै ५६ जना विद्यार्थी पोसाक सिलाउन तयार भए । खर्च जुटाउन सक्ने अवस्था नभएका चार विद्यार्थीको खर्च ती सज्जन र मैले मिलेर व्यहोर्यौँ ।
२२ असोजमा आर्मी ड्रिल र नृत्यको तालिम भुरुङखेलमा सुरु भयो । मौलिक मगखीँको तालमा स्काउट सँगसँगै नृत्यको तालिम पनि हुन थालेपछि हेर्न आउनेको संख्या दिनहुँ थपिँदै थियो । बिस्तारै विश्वेश्वरप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, कमरेड पुष्पलाल श्रेष्ठ, कमरेड पिएन राणा, कमरेड निर्मल लामा, कमरेड तुलसीलाल अमात्यलगायत नेता र विद्यार्थी संगठनका कार्यक्रममा पनि लोकसांस्कृतिक प्याखँ प्रस्तुत हुन थाल्यो । कहिलेकाहीँ पुलिसले राजनीतिक कार्यक्रममा हस्तक्षेप गर्दा नेतासँगै म पनि भाग्नुपर्यो । काठमाडौं र पाटनका विभिन्न टोलमा हुने धार्मिक कार्यक्रम तथा कविगोष्ठी सुरु हुनुअघि पनि यस्तो नाच प्रस्तुत गरेँ । नाटककार बालकृष्ण समजीसँग यही क्रममा परिचय भयो । उहाँले ऐतिहासिक नाटक ‘अमरसिंह’ मा मेरो नृत्य प्रस्तुति समावेश गर्नुभयो ।
मसँग चार महिना स्काउट र नृत्यको तालिम लिएका विद्यार्थी मलाई नेपालमै रोक्न चाहन्थेँ । उनीहरू मेरो अध्यक्षतामा बालसखा दल गठन गर्ने योजना बनाएर समजीसँग सल्लाह लिन गएछन् । समजीले मेरै नामबाट ‘भैरव नृत्य दल’ नामक संस्था खोल्न सल्लाह दिनुभएछ । समजीको सल्लाहलाई मैले पनि हुन्न भन्न सकिनँ । उहाँकै नेतृत्वमा भैरव नृत्य दल १० फागुन २०१० मा गठन भयो । ब्रिटिस आर्मीमा फर्किने समय भइसकेको थियो । तर, म यतै बसेँ । आर्मीबाट पाइने आकर्षक सुविधा र भत्ता गुमाइयो ।
गाउँ–गाउँका लोकनृत्यलाई परिमार्जन गरेर प्रस्तुत गर्न थाल्यौँ । डबली नाचलाई लोकसांस्कृतिक नृत्यका रूपमा अघि बढायौँ । गीति–नाट्य, मूक नाट्य, वाणी नाट्यलगायत मयूर नृत्य, याक नृत्य, झाँक्री नृत्य, पद्मसम्भव नृत्य, प्रतिध्वनि नृत्य, एकता नृत्य, विद्या धनम् नृत्य, रोइला, मछुवा, टप्पा, झ्याउरे, सोरठी, खुकुरी, डम्फे, सेलो, ताजिया, किम्बु–सुँताँजस्ता अनेक नृत्य सिर्जना गर्यौँ ।
भैरव नृत्य दलको टोली लिएर नेपालका धेरै जिल्ला पुगेँ । चीन, भारत, रुस, बर्मा, सिंगापुर, मलेसिया, हङकङ, बेल्जियम, जर्मनी, फ्रान्स, युगोस्लाभियालगायत देशमा गएर नृत्य प्रस्तुत गरेँ । शिक्षामन्त्री बालचन्द्र शर्माको नेतृत्वमा २०१३ सालमा सांस्कृतिक प्रतिनिधिमण्डलमा सहभागी भएर चीन जाँदाको अनुभव मेरा लागि विशेष छ । ३१ असारमा हामी बेइजिङ पुग्यौँ । तीर्थराज तुलाधार, बालकृष्ण सम, काशीप्रसाद श्रीवास्तव, अंगुरबाबा जोशी, चित्तधर हृदय, धर्मराज थापा, धर्मप्रसाद ढकाल, दयारामभक्त माथेमा, भीमदर्शन रोकालगायत साहित्यकार, कलाकार तथा राजनीतिकर्मी यसमा सहभागी थिए । हामीलाई चिनियाँ सर्वोच्च नेता माओ त्से तुङले स्वागत गर्नुभयो । भोलिपल्ट नेपाली र चीनका कलाकारले सांस्कृतिक कार्यक्रम देखायौँ । मैले किसान शीर्षकमा झन्डै १२ मिनेट ‘भाव नृत्य’ प्रस्तुत गरेपछि माओ उठेर मञ्चमै आउनुभयो । चिनियाँ प्रधानमन्त्री चाउ एनलाई पनि कुर्सीबाट उठेर उहाँसँगै आउनुभयो । मञ्चमै माओले मलाई कलम दिनुभयो । चीनबाट फर्किएलगत्तै मैले त्यस कलमबाट केही महत्वपूर्ण सिर्जना गर्नुपर्छ भन्ने सोचेँ । नृत्य लिपिसम्बन्धी नृत्याक्षर विज्ञान शास्त्र लेख्न थालेँ । लिपि लेख्न सहज थिएन, यसका लागि धेरै मिहिनेत गरेँ । ६५ वर्षको तपस्यापछि २०७७ सालमा बल्ल ‘नृत्याक्षर विज्ञान’ पूरा गर्न सकेँ ।