जाडो मौसममा घाम लाग्नुभन्दा पहिले मर्निङवाकमा जाँदा बिरामी पर्न सकिन्छ । चिसो हावा र हावामा रहेका प्रदूषित कणले समस्या पार्न सक्छ ।
स्वस्थ जीवनका लागि हिँड्नु अपरिहार्य छ । सबै मानिसमा कडा व्यायाम गर्ने सामथ्र्य नहुन सक्छ । कतिपय मानिसले व्यस्तताका कारण पनि व्यायामका लागि पर्याप्त समय छुट्याउन सकिरहेका हुँदैनन् । त्यसैले व्यायाम गर्न नभ्याउँदा छोटो समय हिँड्यो भने पनि स्वास्थ्यलाभ लिन सकिन्छ । तर, हिँड्नुअघि मौसमको ख्याल गर्नुपर्छ । अहिले मर्निङवाक फेसनजस्तो भइसकेको छ । शरीरलाई स्वास्थ राख्न हिँड्ने हो । त्यसैगरी, वातावरण पनि हाम्रो शरीरलाई सुहाउँदो हुनुपर्छ । बिहानको समय कुहिरो र हुस्सु धेरै हुन्छ । जसले हावालाई प्रदूषित बनाइरहेको हुन्छ । बिहानै हिँड्न निकँस्दा हाम्रो स्वास्थ्य झन् बिग्रन सक्छ । धेरै चिसो भएको वेला निस्कनु हुँदैन । घाम लागेपछि शरीरलाई न्यानो बनाएर हिँड्नुपर्ने हुन्छ । चिसो भएको वेला बाहिर निस्कँदा कोल्ड एलर्जी हुन सक्छ । जसले गर्दा नाकबाट पानी बग्ने र श्वासप्रश्वासको समस्या आउन सक्छ ।
जाडो मौसमको हुस्सुमा साना कण, कार्बनमोनोअक्साइड, कार्बनडाइअक्साइड, सल्फरडाइअक्साइड र नाइट्रोजनअक्साइडजस्ता हानिकारक ग्यास हुन्छ । त्यसैले नाक, कान ढाकेर न्यानो भएर निस्कनुपर्दछ । सकेसम्म शरीरलाई हल्का र शीतलता प्रदान गर्ने कपडा लगाउँदा राम्रो हुन्छ । त्यसैगरी, आरामदायी स्पोर्टस् जुत्ता छनोट गर्दा राम्रो हुन्छ ।
जाडो मौसममा घाम लाग्नुभन्दा पहिले मर्निङवाकमा जाँदा मुटुको समस्या, श्वासप्रश्वासको समस्या भएका बिरामी, बालबालिका र वृद्धवृद्धाहरूलाई थप समस्या हुन सक्छ । कडा व्यायाम गर्न नसक्नेहरूले पनि मर्निङवाक गर्न सक्छन् । बालबालिकादेखि वृद्धवृद्धासम्म सबै उमेर समूहका लागि यो लाभदायी छ । यसले क्यालोरी घटाएर तौल नियन्त्रणमा भूमिका खेल्छ । यसका मानसिक फाइदा धेरै छन् । ६ मिनेटमा कमसेकम ५ देखि ६ सय मिटर क्रस गर्ने गरी हिँड्नु राम्रो मानिन्छ । दैनिक ३० मिनेट हिँड्दा पनि हुन्छ, तर नियमित हुनुपर्छ । यसलाई ब्रिस वाक पनि भनिन्छ । जसले मुटु, फोक्सो, मांसपेशी सबैको अभ्यास हुन्छ, जसले यी अंगलाई स्वस्थ र बलियो बनाउन सहयोग पुग्छ ।
डिजिटल दुनियाँमा झुम्मिने बानी परेका अहिलेका धेरै मानिसलाई मर्निङवाकले प्रकृतिसँग जोड्ने काम गर्छ । चराचुरुंगीको आवाज सुन्दै बिहानीको शान्त समयमा हरियाली हेर्दै मर्निङवाक गर्दा स्ट्रेस र एन्जाइटी कम हुन्छ । मन शान्त र सिर्जनशील रहन्छ ।
डिजिटल दुनियाँमा झुम्मिने बानी परेका अहिलेका धेरै मानिसलाई मर्निङवाकले प्रकृतिसँग जोड्ने काम गर्छ । चराचुरुंगीको आवाज सुन्दै बिहानीको शान्त समयमा हरियाली हेर्दै मर्निङवाक गर्दा स्ट्रेस र एन्जाइटी कम हुन्छ । मन शान्त र सिर्जनशील रहन्छ । धेरै कोलाहल हुने ठाउँमा हिँड्नु राम्रो मानिदैन । हरियाली र रुख बिरुवा भएको ठाउँमा हिँड्दा अधिकतम लाभ लिन सकिन्छ । जसले शान्त र सुन्दर बनाउँछ । दैनिक कम्तीमा ३० मिनेट हिँड्दा शरीर तथा मस्तिष्क रिफ्रेस रहन्छ । स्फूर्ति बढ्छ । मोटोपन, मुटुरोग, मधुमेहजस्ता रोगलाई धेरै हदसम्म नियन्त्रणमा राख्ने काम गर्छ मर्निङवाडले ।
हिँड्नुअघि घाम लागेपछि मात्र घरबाट बाहिर निस्कँदा राम्रो हुन्छ । बिहानै निस्कँदा रक्तचाप बढ्ने, मस्तिष्कघात, जोर्नी दुखाइ, दम बढ्नेलगायत समस्या देखिन सक्छ । कतिपय पुराना रोग पनि बल्झन सक्छन् । हृदयरोग, दमका रोगी, उच्च रक्तचाप र अन्य रोग भएकाहरूले वाक सुरु गर्नुभन्दा पहिले डाक्टरसँग परामर्श लिनुपर्छ ।
जाडोयाममा घाम लागेर तापक्रम हल्का बढेपछि मात्रै घरबाट निस्कनुपर्छ । शरीरलाई न्यानो बनाइराख्नका लागि बाहिर निस्कँदा पर्याप्त कपडा लगाउनुपर्छ । मर्निङवाकबाट फर्कंँदा पसिनाले कपडा भिजेको हुन्छ । त्यसलाई परिवर्तन गर्नुपर्छ । शरीरबाट पसिना पुछ्नुपर्छ ।
दीर्घरोगीहरूका लागि यो झनै घातक छ । बिहानै निस्कँदा ब्लडप्रेसर हाई हुने सम्भावना हुन्छ । प्यारालाइसिस, हार्टअट्याक हुन सक्छ । मस्तिष्कघात, जोर्नी दुखाइ, दम बढ्नेलगायतका समस्या देखिन सक्छ । कतिपय पुराना रोगहरू पनि बल्झन सक्छ । चिसोले एलर्जीसमेत हुन सक्छ । धुलोका कण माथिमाथि हुन्छन र त्यो शरीरमा प्रवेश गर्न सक्छ । जसले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ ।
बिहानको समयमा वाकमा जाँदा मास्क सकभर नलगाएको राम्रो हुन्छ । बरु, मास्क लगाउनु नपर्ने भिडभाड कम भएको, गाडीको चहलपहल नहुने, धुलोधुवाँ नउड्ने बाटो चयन गरेर हिँड्नु राम्रो । उकालो–ओरालोमा हिँड्दा हाडजोर्नीमा समस्या आउन सक्छ । धेरै छिटोछिटो हिँड्दा जोइन्ट बिग्रने जोखिम रहन्छ । कतिपय मानिस ओरालोमा फटाफट हिँड्ने गर्छन् । यसरी हिँड्दा पछि गएर घुँडाको समस्या आउँछ ।
केही खाएलगत्तै मर्निङवाकमा निस्कनु राम्रो होइन । यदि केही खानुहुन्छ भने आधा घण्टा आराम गरेर मात्रै निस्कनुपर्छ । कतिपयले चिया, कफी खाने गर्छन् । यसले पनि शरीरमा डिहाइड्रेसन गराउँछ । पिसाब बढी लागेर शरीरमा पानीको मात्रा कम भइदियो भने मिर्गाैलामा असर पर्न सक्छ । त्यसैले मर्निङवाक जानुअघि चिया, कफी पिउनु हुँदैन । मर्निङवाकबाट आएलगत्तै पनि चिया, कफी पिउनु राम्रो मानिदैन । तर, जुस, कागतीपानी पिउन सकिन्छ । यसले शरीरलाई रिफ्रेस गर्छ । त्यस्तै, मर्निङवाकबाट आएपछि मैदाजन्य खानेकुरा खानुहुँदैन । यसले ग्यास्ट्रिक बढाउँछ ।
कतिपयले हिँड्नुभन्दा एकैछिनअघि मात्रै पानी पिउँछन् । तर, पानी पिएलगत्तै हिँड्न थाल्दा पेटमा समस्या देखिन सक्छ । दिसा लाग्लाजस्तो हुने, छिनछिनमा पिसाब आउने समस्या देखिन्छ । तसर्थ, मर्निङवाक गर्नुभन्दा एक घण्टाअघि पानी पिउनु राम्रो हुन्छ । कतिपय व्यक्ति एकै दिनमा घण्टौँ तथा कैयौँ किलोमिटर हिँड्ने अनि अन्य दिन चुपचाप बस्छन् । कतिपय व्यक्ति एकै दिन छिटोछिटो हिँड्न खोज्छन् । तर, लामो अवधि हिँड्नुभन्दा महŒवपूर्ण थोरैथोरै अवधि भए पनि नियमित हिँड्नु राम्रो हो ।
एकैचोटिभन्दा पनि बिस्तारै बानी पर्दै गएपछि समय बढाउँदै लैजानुपर्छ । शरीरको तापक्रमलाई नर्मल राख्नका लागि धेरै पानी पिउनुपर्छ, त्यसैकारण वाकमा निस्कनुभन्दा पहिले र वाकबाट फर्केपछि कम्तीमा एकएक ग्लास पानी पिउनु स्वास्थ्यका लागि राम्रो हुन्छ । तर, धेरै चिसो पानी नपिउने । मनतातो पानी पिउने गर्नुपर्छ ।
मर्निङवाक गर्दा ड्रेसअपमा ध्यान दिनुपर्छ । गर्मी महिनामा सुतीको कपडा लगाउनु सबैभन्दा राम्रो हुन्छ । यसले शरीरलाई शीतल राख्छ । धेरै बाक्लो लुगा लगाए पसिना निकाल्दा चाँडै वजन कम हुन्छ भन्ने पनि कतिपयलाई भ्रम छ । तर, यो राम्रो होइन । यसरी पसिना बग्दा उल्टै शरीरमा डिहाइड्रेसन हुन सक्छ । आरामदायी र हल्का कपडा लगाउनु राम्रो हुन्छ । लुज फिटिङका ट्राउजर लगाएर हिँड्दा सहज हुन्छ । घामबाट आफ्नो अनुहारलाई जोगाउन क्याप लगाउनु राम्रो हुन्छ ।
मर्निङवाकमा निस्कँदा पानीको बोतल साथमै बोकेर निस्कनु राम्रो हुन्छ । बिहान कति हिँडियो र यसले हृदयको चालमा कति सुधार ल्यायो भनेर थाहा पाउनका लागि फिटनेस ट्र्याकर वा स्मार्ट वाच प्रयोग गर्न सकिन्छ ।
(डा. रोशनकुमार झा एपिएफ हस्पिटलमा कार्यरत छन्)