• वि.सं २०८१ माघ २३ बुधबार
  • Wednesday, 05 February, 2025
नयाँ पत्रिका
२०८१ पौष ६ शनिबार ०७:३४:००
साहित्य

संगीतकार अर्जुन पोखरेललाई मन परेका पुस्तक 

२०८१ पौष ६ शनिबार ०७:३४:००
नयाँ पत्रिका

 

सेतो धरती : अमर न्यौपानेको यो पुस्तक मलाई अति नै मन पर्छ । यसमा बाल्यकालमै विधवा भएर बाँकी जीवन व्यतीत गरेकी एक नारीको करुण कथा छ । यसले तत्कालीन समाजको चित्रण गर्छ । विवाहका विषयमा यथेष्ठ जानकारी नहुँदै मुख्य पात्र ताराको विवाह हुन्छ, त्यसपछि सिँउदो पुछिन्छ र जीवनभर दुःख व्यहोर्नुपर्छ । यसले सबैको मन छुन्छ । किनकि, यसमा नेपाली समाजको विगतको तस्बिर छ । 

 

नथिया : सरस्वती प्रतीक्षाको यो सामाजिक यथार्थवादी उपन्यासमा बादी समुदायको संघर्षको कथा छ । बादी समुदायबाट मास्टर्स पढ्ने एक महिला यसमा मुख्य भूमिकामा छिन् । उनीमार्फत बादी समुदायका महिलाले भोग्नुपरेका पीडालाई देखाउन खोजिएको छ । यो पुस्तक निकै मार्मिक छ । 

 

कर्णाली ब्लुज : यसमा बाबुछोराको प्रेम र कर्णाली–सुर्खेतको परिवेश देखाइएको छ । यो कथाको भाषा पनि निकै सशक्त छ । कर्णालीको वर्णन निकै सुन्दर रूपमा गरिएको छ ।

 

गीता : धार्मिक पुस्तकमा पनि मेरो ठुलो रुचि छ । गीता, बाइबल, कुरान मैले पढेको छु । अहिले त्रिपिटक पढ्दै छु । सबै धर्मका पुस्तक पढ्दा म एउटै निष्कर्षमा पुगेको छु । सबैका सृष्टिकर्ता एकै छन् र ईश्वर निराकार छन् । मलाई धार्मिक ग्रन्थ पढ्दा बेग्लै आनन्द आउँछ । किनकि, यसमा जीवनदर्शनका कुरा हुन्छन् ।

 

मुनामदन : महाकवि लक्ष्मीप्रसाद देवकोटाको यो खण्डकाव्यले धन कमाउन बिदेसिनुपर्ने नेपालीको पीडा बोलेको छ । यसमा प्रयोग भएको भाषा पनि निकै सरल र उत्कृष्ट छ । यो आज पनि सान्दर्भिक छ । हिजो कमाउनका लागि नेपालीहरू भोट जान्थे होलान् । आज खाडी जालान् । तर, हजारौँ मुना र मदन आज पनि विछोडमा तड्पिनुपर्ने बाध्यता छ । अहिले पनि ट्रेन्ड परिवर्तन नभएका कारण यो पुस्तक आज पनि निकै सान्दर्भिक छ भन्ने लाग्छ ।

 

फुर्के  ः खगेन्द्र लामिछानेको यो उपन्यासले एउटा कुकुरले देखेको समाज बोल्छ । कुकुरले बच्चा पाइसकेपछि त्यसलाई बेच्न ल्याउने कथा यसमा छ । बच्चा कुकुरलाई सहरमा ल्याएर बेच्ने क्रममा कुकुर्नीले देखेको समाज यसमा छ । म आफैँ पनि कुकुर पाल्ने भएकाले यसलाई निकै प्रेम गर्छु । सिरानीमा कुकुरको फोटो भएको यो पुस्तक पल्टाउन निकै मन लाग्यो । हिजो उसलाई प्रेम कसरी गरिन्थ्यो र आज सहरमा आएपछि उसलाई कसरी मानिसले खेद्छन् भन्ने कुरा देखाइएको छ । उसले ओत लाग्नलाई कहीँ जाँदा त्यहाँ कसरी हेपिन्छ भन्ने परिवेश छ । यसमा कुकुरको मनोविज्ञान छ । यसको भाषाशैली निकै उत्कृष्ट छ । 

 

बिपी कोइरालाका कथा : मलाई बिपी कोइरालाका कथाहरू निकै मन पर्छन् । शत्रु, दोषी चस्मा, कर्णेलको घोडा, मधेसतिरलगायत कथाहरू निकै उत्कृष्ट छन् । कर्णेलको घोडाले यौन मनोविज्ञानलाई चित्रण गरेको छ । शत्रु अर्को उत्कृष्ट कथा हो । दोषी चस्माले राणाकालीन समाजमा व्याप्त चाकडी प्रथा र दबिएका कर्मचारीको मनोविज्ञानलाई प्रस्तुत गरेको छ ।

 

जीवन काँडा कि फूल : झमकुमारी घिमिरेको आत्मकथा ‘जीवन काँडा कि फूल’ पनि मलाई निकै मन पर्ने पुस्तक हो । अपांगता भएका व्यक्तिलाई पूर्वजन्मको पाप भनेर समाजले गरेको कठोर टिप्पणीको अवस्थादेखि आफ्नो सफलतासम्मको संघर्ष कथा यसमा समावेश छ । आफूले पढ्ने कोसिस गर्नु, लेख्नका लागि खुट्टाले प्रयास गर्नु र त्यसमा सफल हुनुको कथा छ । पढेर पनि केही गर्न सक्छन् भन्ने प्रश्नहरू जसरी उहाँको जीवनमा आएका थिए, त्यसलाई पनि उहाँले आत्मकथामा उल्लेख गर्नुभएको छ । जीवन काँडा हो वा फूल हो वा काँडा थिएन भने फूलको अस्तित्व यति सुन्दर कसरी हुन सक्थ्यो र ? दुःख थिएन भने सुखको यति ठूलो अनुभूति कसरी हुनसक्थ्यो र भन्ने किसिमको व्याख्या गर्दै उहाँ अघि बढ्नुभएको छ । अन्तिममा उहाँले दिन खोजेको एउटा सन्देश छ : मानिसको मस्तिष्क र व्यवहार सही भएमा शारीरिक अपांगता भएर पनि उसले समाजलाई योगदान गर्न सक्छ । व्यवहार सही भएन भने पढेलेखेका मानिस पनि सही हुन सक्दैनन् भन्ने सन्देश यसले दिन्छ । जीवनलाई काँडा बनाउने कि फूल भन्ने आफ्नै हातमा छ । जीवनमा आफैँलाई चिन्न र आफ्नो हौसला बढाउनका लागि यो एउटा प्रेरणादायी पुस्तक हो ।