• वि.सं २०८१ माघ २३ बुधबार
  • Wednesday, 05 February, 2025
शिवहरि घिमिरे
२०८१ पौष १३ शनिबार ०८:०६:००
रिपाेर्ट

उद्धारकर्ता ‘मिश्रण दाइ’

२०८१ पौष १३ शनिबार ०८:०६:००
शिवहरि घिमिरे

 

ललितपुरको पर्यटकीय क्षेत्र फुल्चोकी जाने पर्यटक कुर्न बिहानैदेखि उनी गोदावरी बसपार्क आइपुग्छन् । कोही झोला बोकेका व्यक्ति वा समूह देखे कहाँ जाने भनेर सोध्छन् । युवायुवती मोटरसाइकल हुइँक्याएर बसपार्कबाट उकालो चढ्दै छन् भने हात दिएर रोक्छन् । अनि फुल्चोकी जाने बाटो देखाउँछन् । फुल्चोकी जाँदा धेरै पयर्टक बाटो बिराएर हराउने घटना भइरहेकाले उनी बाटो देखाउने मात्र होइन सचेतसमेत गराउँछन् । उनी हुन्, काभ्रेपलाञ्चोक रोशी स्थायी घर भई ललितपुरको गोदावरी– ३ बस्ने ४१ वर्षीय दावा तामाङ । 

 

पेसाले दावा चालक हुन् । गोदावरी बसपार्क क्षेत्रमा उनलाई ‘मिश्रण दाइ’ भनेर बढी चिन्छन् । बसपार्कनजिकै रहेको निजी स्कुलको गाडी चलाउने उनी अधिकांश समय बसपार्कमा भेटिन्छन् । बिहान एक घण्टा र बेलुकी एक घण्टा स्कुलको गाडी चलाउने उनी अन्य समय पर्यटकहरूलाई बाटो देखाउनमै व्यस्त हुन्छन् । गाडी चलाउँदै आएका उनलाई बाँकी समय पर्यटकलाई बाटो देखाउँदा आनन्द लाग्छ । ‘मैले कुनै फाइदा लिएर यो काम गरेको त होइन, तर मलाई यो काममा रहर छ, कसैलाई बाटो देखाउनु पनि समाजसेवा हो, कैयौँ व्यक्तिहरू जंगलमा हराउने गरेकाले बाटो देखाउँदै आइरहेको छु,’ तामाङ भन्छन्,‘पर्यटकलाई बाटो देखाउँदा जति आनन्द आउँछ, त्यति आनन्द गाडी चलाउँदा आउँदैन ।’ 

 

दावा बिहान ९–१० र बेलुकी ३–५ बजे स्कुलको गाडी चलाउँछन् अन्य समय बसपार्कमा चिया पिउँदै फुल्चोकी र गोदावरी क्षेत्रमा आएका पर्यटकहरूसँग गफिन्छन् ।

 

पर्यटकसँग कुरा गर्न रुचाउने दावा ०७२ देखि फुल्चोकी र गोदावरीबिचमा रहेको जंगलमा हराउने पर्यटकलाई बाटो देखाउँदै आइरहेका छन् । उनले कुन बाटोबाट फुल्चोकी निस्कने र कहाँ–कहाँ अप्ठ्यारो छ भनेर पर्यटकलाई जानकारी दिन्छन् । पर्यटकहरूले बाटो भुल्लान् भन्ने चिन्ता उनलाई हरेक दिन हुन्छ । यदि कोही पर्यटक हराए भने उद्धारकर्ता पनि उनी नै हुन् । पर्यटकहरूले बाटो बिर्सिएमा नेपाल प्रहरीलाई जानकारी गराउँछन्, तर नेपाल प्रहरीले पनि दावाको सहयोग नलिई एक्लै उद्धार गर्न सक्दैन ।

 

गोदावरी र फुल्चोकीबिचमा निकै घना जंगल छ । यो जंगलसँग प्रहरी पनि डराउँछन् किनभने हराएका पर्यटक खोज्न गएका प्रहरीले समेत बाटो बिर्सिएका थिए । त्यसैले दावा तामाङ प्रहरीका लागि पनि जंगलको बाटो देखाउने व्यक्ति हुन् । बाडेगाउँ प्रहरी प्रभागका इन्सपेक्टर अस्मिता कपालीले दावाका कारण पुल्चोकी क्षेत्रमा फसेका तथा अड्किएका मानिसको उद्धारमा सहज भएको बताउँछिन् । ‘उहाँलाई यो क्षेत्रको जंगल कण्ठ छ, हरेक बाटाहरू चिन्नुभएको छ, कोही मानिस हराएको वा बाटो बिर्सेको भनेर खबर आउँछ,’ उनी भन्छिन् ‘प्रहरीले पनि लोकेसन पत्ता लगाउन नसकेको अवस्थामा उहाँले पत्ता लगाउनुहुन्छ, उहाँ जंगलको विज्ञ नै हो ।’ उनका अनुसार फुल्चोकी हिँडेका युवाहरू जंगलको बाटो जाँदा हराउँछन् । उनीहरू हिँड्दाहिँड्दै गलत बाटो र घना जंगलमा पुगेपछि अलपत्र पर्छन् । त्यसपछि जंगलबाट फोन हान्छन् । त्यसपछि प्रहरीले दावालाई फोन गर्छ । दावा २४सैँ घण्टा हाजिर हुन्छन् । ‘हामीले फोन गर्दा उहाँ जेतिवेला पनि जंगल जान तयार हुनुहुन्छ, प्रहरीले मात्रै एक्लै खोजी गर्न कठिन हुन्छ, त्यस्तो अवस्थामा दावाको सहयोग हामीलाई निकै महŒवपूर्ण छ, प्रहरीको काम उहाँले पनि गर्नुभएको छ,’ कपालीले भनिन् ।

 

गोदावरी बसपार्कदेखि फुल्चोकी डाँडा १३ किमिमाथि छ । फुल्चोकी जाने मोटरबाटो भए पनि धेरैजसो पर्यटकहरू हिँडेरै जान रुचाउँछन् । अझ समूहमा आएकाहरू गफ गर्दै जंगलको बाटो जाग्छन् । हिँडेर जाँदा चार–पाँच घण्टामा फुल्चोकी पुगिन्छ । हिँडेर फुल्चोकी जाँदा सुरुको आठ किलोमिटरसम्म त सिँडीसहितको बाटो भेटिन्छ । त्यसपछि भने अलमलिने किसिमका गोरेटा छन् । जहाँ पर्यटकहरू झुक्किन्छन् र हराउँछन् । पर्यटकहरू जंगलको बिचमा पुगेपछि बाटो रोज्न नजान्दा हराउने गरेको तामाङ बताउँछन् । ‘पर्यटक हराउने आफ्नै कारणले हो, किनभने उहाँहरू बाटो रोज्न जान्नुहुन्न, फर्किएर आउँदा पनि कुन बाटो गएको हो भनेर बिर्सनुहुन्छ,’ उनी भन्छन्, ‘कम्तीमा बाटो नबिर्सिने र मुख्य बाटो पत्ता लगाएर हिँड्ने हो भने हराउने सम्भावना हुँदैन ।’

 

उनले अहिलेसम्म उद्धार गरेका सबै व्यक्ति र समूहलाई याद गर्न भने सक्दैनन् । तर ६ वर्षअघि पुसको समयमा हराएर आफैँले खोजी गरेको एउटा समूहलाई भने उनी सम्झिन्छन् । उक्त समूहमा चार–पाँचजना व्यक्ति रातभरि पानीमा भिजेका थिए, कोही चिप्लिएर छागोमा समेत खसेका थिए । बाटो भुलेर अलपत्र परेका उनीहरूलाई तामाङले उद्धार गरे । यससँगै उनले ६२ भन्दा बढी ग्रुपलाई उद्धार गरिसकेका छन् ।

 

तामाङका अनुसार दैनिक सयदेखि दुईसयसम्म पर्यटकहरू फुल्चोकी जान्छन् । जुन दिन तामाङले सचेत गराएका हुन्छन् वा बाटो देखाएका हुन्छन् सो दिन पर्यटकहरू हराउँदैनन् । तर, नसोधी आफूखुसी हिँड्नेहरू हराउँछन् । ‘धेरै पयर्टकहरू नसोधी जानुहुन्छ, कतिपयलाई गुगल म्यापको विश्वास हुन्छ, तर म्यापले पनि गलत बाटो देखाइरहेको हुन्छ,’ तामाङ भन्छन्, ‘फुल्चोकी यदि पैदलै जाने हो भने सोधेर जान अनुरोध गर्छु ।’ हरेक दिन गोदावरी बसर्पाक पुगेर बाटो बताइदिने उनी महिनाको चार–पाँचपटक फुल्चोकी पुग्छन् । अन्य पर्यटकलाई चार–पाँच घण्टा समय लाग्छ भने उनी दुई घण्टामा पुग्छन् । आफ्नो हिँड्ने बानी भएको र सर्टकर्ट बाटो प्रयोग गर्ने भएकाले छिटो पुग्ने गरेको तामाङ बताउँछन् । ‘मलाई हिँड्ने बानी परेको छ, कहिलेकाहीँ पर्यटकहरूसँग हिँड्दा उहाँहरू भेटाउन सक्नुहुन्न,’ उनी भन्छन्, ‘हिँड्ने बानी भएपछि शरीर पनि फुर्तिलो हुने रहेछ ।’

 

तामाङका अनुसार धेरै पर्यटकले गुगल म्याप हेरेर छिटो पुग्ने आसमा छोटो बाटा रोज्छन् । जनावरहरू हिँड्दा बनाएको गोरेटोबाट हिँड्छन् । तर, त्यसो गर्दा गन्तव्यमा पुग्ने सम्भावना नभएको तामाङ बताउँछन् । ‘गुगल म्याप हेर्ने र सटकट बाटो प्रयोग गर्र्नेहरू धेरे हराउने गरेका छन्,’ उनी भन्छन्, ‘जसले मुख्य बाटो नछाडि हिड्छ उ हराउँदैन तर सटकट प्रयोग गर्नेहरू हराउँछन् ।’ तामाङको उद्धार कार्यले पर्यटकीय क्षेत्रमा ठुलो टेवा पुगेको भन्दै गोदावरी– ३ ले पनि उनलाई टर्च दिएको छ । वडाध्यक्ष सानुराजा घिमिरेले तामाङका कारण बाटो बिर्सिएका पर्यटकलाई खोजी गर्न सहज भएको बताउँछन् । तामाङलाई जंगलमा हिँड्न रुचि लाग्छ । वन्यजन्तुसँग रमाउँदै पात बजाउँदै जंगल हिँड्नुको मजा बेग्लै रहेको उनी बताउँछन् ।

 

जंगलमा हराएकालाई उद्धार गर्न सजिलो छैन । कुन बाटो गएर हराएका हुन् त्यसबारे पत्ता लगाएपछि मात्रै उद्धार गरिन्छ । अधिकांश पर्यटक हराउने समय नै साँझपख हो । बाडेगाउँ प्रहरी प्रभागलाई हराउने पर्यटकहरूबाट अघिकांश फोन साँझपख नै आउँछन् । रातिको वेला टर्च बालेर प्रहरीको टोली उद्धारका लागि उकालो लाग्छ । तर, तामाङविना प्रहरी टोलीले पर्यटक खोज्ने मेसो नै पाउँदैन ।

 

दावा जंगलमा रहेका रुखको नाम मात्रै भने पनि ठाउँ पत्ता लगाउँछन् । कुन रुख र कस्तो रुख कहाँनिर छ, कस्तो बाटा वा ठाउँ कहाँ छ भन्ने जानकारी तामाङलाई छ । ‘मलाई कसैले एउटा रुखको मुनि लगेर छाड्यो भने पनि पत्ता लगाउन सक्छु, किनभने यो जंगलसँग म १५–२० वर्षदेखि परिचित छु,’ उनी भन्छन्, ‘पर्यटकहरूले यस्तो रुख वा बाटो भएको ठाउँमा छु भनेपछि मैले पत्ता लगाउन सक्छु ।’ 

 

७ पुसमा ६ जना र सातजनाको दुई समूह यही जंगलमा हरायो । प्रहरीलाई ८ गते राति खबर आयो । प्रहरी र दावासहितको टोली पुगेर उनीहरूलाई उद्धार गरेको थियो । दावा प्रहरीसँग हरेक दिन सम्पर्कमा हुन्छन् । पानी परेको, हिउँ परेको वा कोही उल्टो बाटो गएको देखेमा प्रहरीलाई खबर गर्छन् । कोही व्यक्ति बेलुकीसम्म फर्केनन् भने प्रहरीलाई नै लिएर जान्छन् । उनले हालसम्म ६५ समूहसहित तीन सयभन्दा धेरै पर्यटकको उद्धार गरिसकेका छन् । दावाको कारण उद्धारमा सहज भएको ललितपुरमा प्रहरी प्रमुख एसएसपी शेखर खनाल बताउँछन् । सोहीकारण गत आइतबार उनलाई जिल्ला प्रहरी परिसरको टोलीले सम्मान गर्‍यो । ‘उहाँले जंगलमा हराएका तीन सयभन्दा धेरैको खोजीमा हामीलाई निस्वार्थ रूपमा सघाउनुभएको छ, त्यसैले उहाँलाई हामीले हौसला र सम्मानस्वरूप कदर गरेका हौँ,’ एसएसपी खनाल भन्छन् ।