• वि.सं २०८१ माघ २३ बुधबार
  • Wednesday, 05 February, 2025
अन्वेषण अधिकारी
२०८१ पौष १३ शनिबार ०८:३५:००
फिल्म

रिक्तता मेट्ने ‘अल वी इम्याजिन एज लाइट’

२०८१ पौष १३ शनिबार ०८:३५:००
अन्वेषण अधिकारी

 

अवसरले मानिसलाई पर्खनु र मानिसले अवसर पर्खनु मुम्बई सहरको विशेषता हो । त्यसैले मुम्बईलाई भारतीयहरू सपनाको सहर भन्छन् । ‘अल वि इम्याजिन एज लाइट’मा निर्देशक पायल कपाडियाले सहरको कोलाहलमाझ गुम्सिएर बसेका पात्रहरूको मनोभाव उतारेकी छिन् । 

 

पृष्ठभूमिमा झलमल्ल सहर देखाएर मानिसको आँखामा झल्किएका द्विविधा, चिन्ता र उदासीपनलाई निकै कलात्मक ढंगले उजागर गर्न सक्नु यस फिल्मको विशेषता हो । फिल्मकी मुख्य पात्र प्रभा पेसाले नर्स हुन् । भर्खरै मुम्बई आएकी अनु उनीसँगै अस्पतालमा काम गर्छिन् । उनीसँगै अपार्टमेन्टमा बस्छिन् । अस्पतालमा चिया पकाउने पार्वतीसँग उनीहरूको राम्रो दोस्ती छ । फिल्मको कथा यी तीन पात्र वरपर घुम्छ ।

 

प्रभाको अपार्टमेन्टमा नयाँ राइसकुकर उपहार आएसँगै कथाका गुत्थीहरू खुल्दै जान्छन् । कुनै परिचितले पठाएको यो राइसकुकरमा ‘जर्मनीमा बनेको’ लेखिएको छ । प्रभाका श्रीमान् विवाहलगत्तै जर्मनी गएका थिए । पछिल्लो एक वर्षदेखि प्रभासँग कुराकानी हुन पाएको छैन । प्रभाको मनभित्र गढेको प्रेमको रिक्तता उनका उदास आँखामार्फत झल्कन्छन् ।

 

अनु प्रेममा छिन् । तीव्र गतिमा दौडिरहेको रेल र मुम्बईको झरीमा उनको प्रेम छताछुल्ल हुन्छ । उनले समयको मज्जा लिइरहेकी छिन् । तर, आफ्ना मुस्लिम प्रेमीबारे कसैलाई भन्न सक्ने हिम्मत छैन ।

 

पार्वतीले मुम्बईमा लामो समय संघर्ष गरिन् । तर बसिआएको अपार्टमेन्ट छाड्नुपर्ने परिस्थितिमा पुगेकी उनीसँग अब यो सहरप्रति अपेक्षाभन्दा घृणा धेरै छ ।

 

विश्वको प्रतिष्ठित ‘कान्स फिल्म फेस्टिभल’मा ग्रान्ड जुरी अवार्ड जितेको यो चलचित्र काठमाडौंमा दुई साताअघि ‘नेपाल अन्तर्राष्ट्रिय मानव अधिकार चलचित्र महोसत्व’मा देखाइयो । निर्देशक कपाडियासँग वृत्तचित्रको लामो अनुभव छ । उनले कलाकारको बेजोड अभिनयसँगै व्यस्त सडक, भिडभाडयुक्त रेल र विविध भाषा–संस्कृतिमार्फत मुम्बईको चित्र उतारेकी छिन् । 

 

मुम्बईमा समुद्र र झरीबाहेक प्राकृतिक कुरा बिरलै देखिन्छन् । मानवनिर्मित अजंगका संरचना छन् । ती अपार्टमेन्टमा चौबिसै घण्टा बत्ती बलिरहन्छन् । तर भुइँ अँध्यारो छ । त्यहाँका मानिसहरू उदास छन् । पार्वतीको कोठामा बत्ती काटिएको छ । एउटा दृश्यमा पार्वती भन्छिन्, ‘मानिसले अब यी ठूला भवनलाई नै देउता मान्नेछन् ।’

 

सहर स्वार्थी रहेको निष्कर्षमा पुग्न उनले लामो समय संघर्ष गर्नुप¥यो । वर्षौँसम्म अस्पतालमा रहेकाहरूलाई मीठो खाना खुवाए पनि नजिकैको रेस्टुरेन्टमा छिर्ने हिम्मत उनीमा कहिल्यै आएन ।

 

प्रभाले उनका रहर पूरा गर्ने प्रयास गर्छिन् । अनुलाई पनि सहयोग गरिरहेकै हुन्छिन् । लाग्छ, अरूका दुःखमा हात फैलाएर प्रभा आफ्नै दुःखबाट भाग्ने कोसिस गरिरहेकी छिन् । 

 

यी पात्रहरूमार्फत पितृत्तसत्तात्मक समाजमा महिलाहरू कसरी आफ्ना भावनालाई लुकाएर बाँच्छन् भन्ने पनि निर्देशकले देखाएकी छिन् । ठुला अस्पताल, सुविधासम्पन्न भवन, बुलेट रेल, राम्रा रेस्टुराँलगायत सुविधा सहरका विशेषता हुन् । तर, यहाँ सामूहिकता छैन । पैसा र जागिरले मानिसको हैसियत र इज्जत प्रतिष्ठा निर्धारण गर्छ । यहाँ चौबिसै घण्टा खटिँदा पनि कुनै जस पाइँदैन । समग्रमा, गाउँजस्तो सुखी सहर छैन । 

 

थोरै टाढाको गाउँ अझै सामूहिकतामा बाँचेको छ । पार्वती, प्रभा र अनुजस्ता निस्वार्थी मानिसहरू त्यहाँ निस्फिक्री रमाउन सक्छन् । यहाँका साना होटेलमा थोरै बिल तिरेर धेरै समय बिताउन पाइन्छ ।