• वि.सं २०८१ माघ २३ बुधबार
  • Wednesday, 05 February, 2025
शान्ति तामाङ
२०८१ पौष १३ शनिबार ०९:१३:००
साहित्य

अध्येता राजेन्द्र महर्जनलाई मन परेका ६ पुस्तक

२०८१ पौष १३ शनिबार ०९:१३:००
शान्ति तामाङ

 

दर्ज्यु संलाप : यो पुस्तक निबन्धकार, सम्पादक कुमारी लामाको दोस्रो निबन्ध संग्रह हो । नेपालका आदिवासीहरू, त्यसमा पनि तामाङ समुदायभित्रका महिलाले भोगेका पीडा, संघर्ष र उनीहरूमाथि थोपरिएका अनेक किसिमका उत्पीडनबारे खोतल्न उहाँले निबन्धलाई विधाका रूपमा प्रयोग गर्नुभएको छ । निबन्धकारले पुस्तकमार्फत काठमाडौं, काठमाडौंवरपरि रहेका तामाङ इलाका, आफू हुर्किएको धादिङसम्मका अनेक सन्दर्भलाई लिएर बृहत् रूपमा अध्ययन गर्न खोज्नुभएको छ । त्यसैले मलाई यो पुस्तक निकै उपयोगी लाग्यो । ‘चियाको ग्लास’, ‘दर्ज्यु संलाप’ निबन्धमा प्रभावशाली लेखन छ । पुस्तकमा मैले गहिरो संगत गरेका दुई अग्रणी महिला पारिजात दिदी र सुकन्या दिदीबारे अत्यन्तै नजिकबाट केलाएर लेख्नुभएको छ । ती लेख धेरै पाठकका लागि उपयोगी हुन सक्छ । 

 

भिक्षु, व्यापार र विद्रोह : म अहिले महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेख्नुभएको खण्डकाव्य ‘मुनामदन’को बारेमा काम गर्दै छु । ‘मुनामदन’को स्रोत के थियो भन्ने मेरो चासोको विषय थियो । नेपाल भाषाको ‘जि वया ला लछि मदुनि’ भन्ने गीतिकाव्यबाट प्रेरित भएर ‘मुनामदन’ लेखिएको रहेछ । जुन कुरा पुस्तकमा उल्लेख छ । नेपालको लामो इतिहासमध्ये नेपाल उपत्यका र ल्हासासँगको सम्बन्धबारे मेरो रुचि थियो । त्यो रुचिको कारण मैले पछिल्लो चरण मित्र सुधीर शर्माको पुस्तक ‘भिक्षु, व्यापार र विद्रोह’ पढ्दै छु । जसमा नेपालको भोट, चीन सम्बन्ध र विशेषगरी भारतसँगको सम्बन्धबारे केलाउनुभएको छ । त्यसमा नेपालको दुई हजार वर्षवरपर, विशेषगरी अहिलेको काठमाडौं उपत्यका, पहिलेको नेपाल मण्डलको भोटसँग त्यसमा पनि ल्हासा, तिब्बतसँगको सम्बन्ध कस्तो रह्यो भन्नेबारे केलाउन खोज्नुभएको छ । पुस्तकमै ‘मुनामदन’को स्रोत नेवा स्रोतबारे उल्लेख गर्नुभएको छ, यसले गर्दा पनि यो पुस्तक मलाई रुचिकर लाग्यो । नेवारको ल्हासासँग सम्बन्ध, तिब्बतसँग व्यापार, काम गर्दाको अनुभव, यात्रा, उनीहरूले व्यहोरेको संघर्षबारे पुस्तकमा उल्लेख गर्नुभएको छ ।

 

द मुलुकी ऐन अफ १८५४ : यो पुस्तक राजन खतिवडा, सिमोन क्युविलिक, अक्सेल मिखाइल्सले संयुक्त रूपमा लेख्नुभएको छ । म अहिले जातको श्रेणी क्रममा सबैभन्दा तल वा माथि भन्ने विषय किन राखियो ? स्रोत, साधन, अवसर, हैसियत, सम्मानमा कसलाई माथि राखियो ? कसलाई तल झार्ने भन्नेसम्मको व्यवस्थाबारे अध्ययन गर्दै छु । त्यसका लागि सबैभन्दा महत्वपूर्ण पुस्तक ‘द मुलुकी ऐन अफ १८५४’ हो । मुलुकी ऐन नेपाली भर्सनको व्याख्या, सन्दर्भसहित र अहिलेको सन्दर्भलाई बुझ्न सक्ने गरी लेखकले पुस्तकमा व्याख्या गर्नुभएको छ । जात व्यवस्थासँग गाँसिएको इतिहास बुझ्न पुस्तक उपयोगी छ । के–के स्रोत–साधनबाट कसलाई वञ्चित गराइयो ? के–केबाट कसलाई आरक्षण दिइयो ? यो बुझन् पुस्तक निकै उपयोगी छ । यो पुस्तकले हाम्रो ज्ञानको दायरा फराकिलो पार्न सक्छ भन्ने लाग्छ ।

 

नेपाल भाषाया प्राचीन काव्य सिर्जना : अनुसन्धानकर्ता डा. जनकलाल वैद्यले यो पुस्तक नेपाल भाषामा लेख्नुभएको छ । पुस्तकमा नेपाल भाषाको प्राचीन काव्य सिर्जनाका प्रवृत्तिबारे लेखिएको छ । लेखकले पुस्तकमा नेपाल भाषामा आजभन्दा चार, पाँच, ६ सय वर्षअगाडि के–कस्तो खालको साहित्य लेखिन्थ्यो ? गीति कथा कसरी लेखिएको छ ? भन्नेबारे गहिरोसँग अध्ययन गर्नुभएको छ । त्यसवेलाका समाज बुझ्नका लागि, विभिन्न धार्मिक परम्परा बुझ्नका लागि, रीतिथिति बुझ्नका लागि र त्यतिवेलाको समाजमा भएका अन्तद्र्वन्द्व बुझ्नका लागि यो पुस्तक निकै उपयोगी छ । 

 

मिथकों से विज्ञान तक : कवि, वैज्ञानिक, अभियन्ता गौहर रजाले लेख्नुभएको यो पुस्तकमा ब्रह्माण्डको विकासबारे विभिन्न धार्मिक समुदायले कसरी व्याख्या गरेका छन् ? त्यो व्याख्या कति वैज्ञानिक छ ? भनेर बुझ्नका लागि विभिन्न मिथकलाई चिरफार गरिएको छ । वैज्ञानिक दृष्टिकोणबाट त्यसलाई व्याख्या गर्नुभएको छ । विभिन्न सभ्यता, पृथ्वीमा मानव जातिको विकास कसरी भयो भन्नेबारे विभिन्न धर्म, सम्प्रदायले अपव्याख्या गर्दै आएका छन् । त्यसलाई कसरी चिरफार गर्ने भन्ने बुझन्का लागि पुस्तक उपयोगी छ । अहिले एउटा प्रवृत्ति देखिएको छ, कसैले नयाँ आविष्कार गर्‍यो भने हाम्रो वेद, पुराण, साहित्य, इतिहासमा पहिले नै उल्लेख थियो भनेर सजिलै भनिदिन्छन् । जुन मिथ मात्र हुन सक्छ, गफ मात्र हुन सक्छ भनेर पुष्टि गर्ने खालको लेखाइ पुस्तकमा छ । 

 

सवर्ण और अवर्णकी उत्पत्ति : यो पुस्तक भारतीय लेखक सुवीरा जयसवालले लेख्नुभएको हो । यो पुस्तक सवर्ण अवर्णको उत्पत्ति कसरी भयो ? यसले समाजलाई के कसरी फरक पारिरहेको छ ? भनेर बुझ्नका लागि र यसको ऐतिहासिक जरो बुझ्नका लागि सघाउने किसिमको छ । सवर्ण–अवर्णको परिकल्पना कसरी भयो होला ? इतिहासमा मात्र होइन, इतिहास पूर्वमिथकहरूमा, पुराणहरूमा, महाभारतजस्ता विभिन्न साहित्यमा, वेदजस्ता वैदिक साहित्यमा समेत सवर्ण–अवर्ण कसरी लेखिएको छ भनेर बुझ्न यो पुस्तक उपयोगी हुनेछ ।