• वि.सं २०८१ माघ १० बिहीबार
  • Thursday, 23 January, 2025
रामचन्द्र शर्मा
२०८१ पौष १३ शनिबार ०९:४७:००
समाज

स्वच्छ राजनीतिको ढोका उघार्न अध्यात्म

२०८१ पौष १३ शनिबार ०९:४७:००
रामचन्द्र शर्मा

 

स्वदेश र विदेशमा रहेका हामी सबै नेपालीले नेपाली राजनीतिलाई नजिकबाट नियालेका मात्र छैनौँ भोग्दै आएका छौँ । व्यवस्था परिवर्तन गरी देशको अवस्था सुधार्न ००७ साल, ०४६ र ०६२–६३ सालमा ठुला आन्दोलन गर्‍यौँ । जहानियाँ राणा शासन, संसदीय प्रजातन्त्र, सक्रिय र संवैधानिक राजतन्त्र हुँदै संघीय गणतन्त्र ल्याएको पनि दुई दशकनजिक पुग्न लाग्यो । र पनि देशको आर्थिक, सामाजिक, शैक्षिक, सांस्कृतिक र वातावरणीय अवस्था सुध्रिएको छैन । फरक–फरक व्यवस्था भएका छिमेकी चीन, भारत युरोप र अमेरिका विकसित छन् । सबै अटाउन सक्ने गणतान्त्रिक व्यवस्थामा देश झन् कमजोर अवस्थामा देख्दा विकासका लागि राजनीतिक व्यवस्थाभन्दा स्वच्छ राजनीति आवश्यक हुने अनुभव हामी सबैलाई भएको छ ।

 

थोरै शैक्षिक किताब अध्ययन गरी सांसारिक जीवनको उत्तराद्र्धमा पुगेको यो पंक्तिकार आध्यात्मिक ज्ञानको कखरा आरम्भ गर्दा नयाँ जन्म भएको अनुभूति भयो । आफूमा सकारात्मक प्रभाव पारेको अध्यात्मले हरेक व्यक्ति–व्यक्ति मिलेर बन्ने परिवार–परिवार मिलेर बन्ने समाज र समग्र राजनीतिमा सकारात्मक प्रभाव पार्न सक्ने आकलन गरेँ । अध्यात्मले स्वच्छ राजनीतिको विकास गर्ने निश्चय गर्दै स्वउत्थान अभियान सञ्चालन गर्ने परिकल्पना गरेँ । स्वउत्थान अभियानका लागि किताब लेख्ने र किताबबाट हुने आम्दानी अभियानमा लगानी गर्ने योजना बनाएँ स्वउत्थान शीर्षकमा किताब लेख्ने क्रममा अध्ययन गर्दा महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनका दुइटा भनाइ ‘अरूको किताब पढ्न छोडेर आफ्नै किताब लेख्ने आवश्यकता पर्ने दिन आउँछ’ र ‘बारम्बार एउटै काम गर्ने परिणाम फरक खोज्नु पागलपन हो’ ले ऊर्जा प्रदान गरेकाले स्वच्छ राजनीतिको ढोका उघार्ने अध्यात्म र हाम्रो कार्यभारका विषयमा चर्चा गर्ने प्रयास गरिएको छ ।

 

सुख, शान्ति, समृद्धि प्राप्ति र निर्वाध उपभोगको सुनिश्चितताका लागि मानिसले राज्यको परिकल्पना गर्दै राज्य सञ्चालनका लागि विकसित गरेको मूल नीति हो राजनीति । व्यवस्थाका कारण जनताले सुख–शान्ति समृद्धि प्राप्त गर्न सकेनन् भनेर अन्य देशहरूमा पनि आन्दोलन भएका छन् । हाम्रो देशमा पनि पटक–पटक आन्दोलन भएर नयाँ व्यवस्था आए । अहिले देश संघीय लोकतान्त्रिक गणतन्त्रमा छ । गणतन्त्र उत्कृष्ट व्यवस्था मानिन्छ पनि ।

 

अरू देशले राजनीतिक परिवर्तनपछि द्रुतगतिमा आर्थिक प्रगति गरेका छन् । छिमेकी देश चीन र भारत उदाहरण छन् । हामीकहाँ संघीय गणतन्त्र प्राप्तिको जनआन्दोलन सफल भएको दुई दशक पुग्नै लाग्यो । दुई वर्षमा टुंगाउने भनिएको शान्ति प्रक्रिया अहिलेसम्म टुंगिएको छैन । संविधान जारी भई दुई आवधिक निर्वाचन सम्पन्न भए पनि प्रशासनिक रूपमा संघीयता लागू भएको छैन । कानुन बन्न अझै बाँकी छन् । संविधानले निर्दिष्ट गरेको समाजवाद उन्मुखतातर्फ विमर्श पनि शुरु भएको छैन ।

 

दलहरूमा हुनैपर्ने आन्तरिक लोकतन्त्र मुर्छित अवस्थामा छ । दलहरू गुटबन्दीको दलदलमा फसेका छन् । दण्डहीनता र भ्रष्टाचार बढेको छ । गरिखाने संस्कार मेटियो । गरिखान खोज्नेले वातावरण पाएन । काम र शिक्षाका लागि युवा र पुँजी विदेश पलायन भयो । देश शून्य उत्पादनउन्मुख छ । पराधीनता विगतका व्यवस्थामा भन्दा बढेको छ । राजनीतिक नेतृत्वले दोष एकअर्कामा लगाएको छ । सरकारमा हुँदा र नहुँदा शीर्ष नेताहरूका बोली र व्यवहार फेरिएका छन् । सरकार आज बदलिने हो कि भोलि भन्ने त्रासले समग्र राजनीति अस्थिर बनाएको छ । र पनि परिवर्तनकारी भनिने दलहरू सुविचारित ढंगले मिलेर मुलुकको अवस्था सुधार्न लाग्नुपर्नेमा विगतका जस्तै क्रान्ति र आन्दोलन गर्ने हुंकार सुनिन्छन् । सत्तामा हुने दलले कुनै पनि वेला आन्दोलनमा जानुपर्ने हुन सक्छ । मानसिक तयारीमा रहन कार्यकर्तालाई निर्देशन जारी गरेको छ । प्रतिपक्षमा पुगेका दलहरूले क्रान्ति र आन्दोलन गर्ने वेला भयो भनेर कार्यकर्तालाई आह्वान गरिरहेका छन् । यसले देशभक्त जनतालाई चिन्तित तुल्याएको छ ।

 

नेपाली समृद्धिको साधक ठानेर ठुलो जन, धन र लामो समय खर्चिएर ल्याएको हो गणतन्त्र । फरक–फरक व्यवस्था भएका छिमेकी चीन, भारतदेखि युरोप अमेरिका र जापान समृद्ध छन् । पूर्वराजासमेत निर्वाचनमा उम्मेदवार हुन पाउने गणतन्त्र समृद्धिका लागि बाधक हुनै सक्दैन । शीर्ष नेतादेखि सर्वसाधारण नागरिकसम्मको सोचविचार र व्यवहार गणतान्त्रिक मूल्य, मान्यता र पद्धतिअनुसारको गर्‍यौँ गरेनौँ भन्ने स्वमूल्यांकन गर्दै देशको अवस्था के कारणले बिग्रियो भन्ने गम्भीर समीक्षा नगरी फेरि गरिने क्रान्ति र आन्दोलनले देश समृद्ध बनाउँछ भन्ने आधार के छ र कसले ग्यारेन्टी लिन्छ ? के नेपाली जनताको भागमा आन्दोलन मात्रै हो ?

 

जनताले जनताका लागि जनताद्वारा शासन गर्न आन्दोलनमा होमिएर ल्याएको गणतन्त्रको अनुचित दोहन भयो । देशको आर्थिक, सामाजिक, शैक्षिक, सांस्कृतिक अवस्था खस्किँदै गयो । यो दुर्दशा देखेर भित्रभित्रै आक्रोशित नेपालीमा सल्काउन खोजिएको विद्रोेहको ज्वाला थेग्न सक्ला मुलुकले ? सन्तोषजनक आर्थिक प्रगति गर्दै चुनावमा दुईतिहाइ ल्याएकी सेख हसिना विपक्षीलाई उपेक्षा गर्न पुग्दा  बंगलादेशले ठुलो मूल्य चुकाउनुपरेको हालतबाट शिक्षा लिने कि नलिने ? जस्ता अनेकौँ अहं सवालको जवाफ हरेक नेपालीले सजगतापूर्वक खोज्नुपर्ने घडी आएको छ ।

 

हरेक समस्याको कारण र कारणको निवारण छ । जनसंघर्षले आर्जेको गणतन्त्रमा राजनीतिक दलका नेताहरू र कर्मचारीतन्त्रले आफ्नो जिम्मेवारी निष्काम भावद्वारा कुशलतापूर्वक नगरिदिँदा देशको अवस्था कमजोर भएको हो । गणतन्त्रको अनुचित दोहन गरेर कमाएको पद, प्रतिष्ठा र धनले खुसी र आनन्द किन्न सकिन्न दुःख निम्त्याउँछ भन्ने ज्ञान भएन ती नेता र कर्मचारीमा । त्यसैले मूल समस्या हो उनीहरूमा रहेको अज्ञानता । समाधान ज्ञानले दिन्छ । ज्ञान तिनै नेता र कर्मचारीभित्र छ, तर अज्ञानले ढाकिदिएको मात्रै हो । अज्ञानको ढक्कन अध्यात्मले खोलिदिन्छ ।

 

अर्कोतिर, नेपालमा फेरि क्रान्ति र आन्दोलन गर्ने कुरा आएका छन् । ती पनि अज्ञानतावश नै आएका हुन् । कम समयमा अधिकार वा व्यवस्थागत संरचनामा परिवर्तन हुनु क्रान्ति हो । सत्ताद्वारा गरिएका शोषणको विरोध गर्ने सामूहिक जनसंघर्ष हो आन्दोलन । नेपालमा क्रान्ति घटित भई जनताका अधिकार र व्यवस्थाको स्वरूप र संरचनामा आमूल परिवर्तन भएर जनतालाई सर्वशक्तिमान बनाउँदै गणतन्त्र आएकाले बाहिर गरिने क्रान्ति आवश्यक नै छैन । 

 

जहाँसम्म सत्ताले गरेका शोषण हटाउने सवाल छ, त्यो काम वेटिङ गार्मेन्टको रूपमा रहने विपक्षी पार्टीले गर्नुपर्ने व्यवस्था संविधानले नै गरेको छ । आन्दोलन जोखिमयुक्त हुन्छ भन्ने उदाहरण बंगलादेशमा आरक्षणको विरोधबाट सामान्य रूपमा सुरु भई आँधीबेहरी बनेर उलटपुलट पारेको दृष्टान्त हाम्रा सामुन्नेमा छ ।

 

नेताहरूले व्यवस्था परिवर्तन हामीले गरिदिएका हौँ भनेर भाषण गर्ने गरेको सुनिन्छ । यो भाषणले नेताहरू अज्ञानी रहेको दर्साउँछ । दुइटा कुराले अज्ञानतासिद्ध गर्छ । पहिलो कुरा परिवर्तन हुने विषय हो । आफू परिवर्तन हुन सकिन्छ अरूलाई गराउन सकिँदैन । दोस्रो कुरा परिवर्तन हुनेले परिवर्तनपछि गर्ने योजना पहिल्यै बनाएको हुन्छ । नेपाली जनताले पुरानो व्यवस्थाबाट मन बदले गणतन्त्र ल्याउन आन्दोलन गर्ने योजना बनाए, आन्दोलन गरे, गणतन्त्र आयो । नेताहरूले गणतन्त्र आएपछि गर्ने योजना बनाएको देखिएन । आचरण र कार्यशैली पनि पुरानो आत्मकेन्द्रित अपनाए । जनताको गणतान्त्रिक मन नेताहरूबाट अभिव्यक्त हुन सकेन, उल्टै बाझियो । जबसम्म परिवर्तन गरिदिएका हौँ भन्ने नेताहरूको अज्ञानतालाई परावर्तन हुने हो भन्ने ज्ञानले हटाउँदैन तबसम्म विगतका जस्तै हजारौँ क्रान्ति र आन्दोलन गरे पनि अवस्था सुधिदैन थप बिग्रिन्छ ।

 

क्रान्ति र आन्दोलनका कुरा गर्ने पार्टीहरूको पार्टी सत्ताले उनीहरूकै पार्टी सदस्यमाथि काखापाखा गरेर शोषण गरेको आवाज बाहिर आएको छ । नेताहरूमा रहेको आफ्नो स्वार्थअनुसार पार्टी चलाउने पुरानो सोच र शैलीविरुद्ध नेता स्वयंले क्रान्ति गर्नुहोस् । क्रान्ति घटित भएर सेवाभावमा पार्टी चलाउने बन्नुहुनेछ । त्यसपछि पार्टी सत्ता स्वतः राम्रो भई पार्टीले जनविश्वास हासिल गर्ने र नेतालाई राज्यसत्ता सञ्चालनको अवसर मिल्नेछ ।

 

अध्यात्मभित्र आध्यात्मिक ज्ञान र योग, प्राणायाम र ध्यान दुवै पर्दछ । अनुभव र अनुभूति ज्ञान हो भने विद्यालय र विश्वविद्यालयबाट प्रदान गरिने शिक्षा जानकारी मात्र हुन् । योगाभ्यासले मनमा सकारात्मक सोच र सुविचारको उदय गराउँछ । सकारात्मक सोच र सुविचारले मानिसमा सत्यता, स्वाध्याय, निरहंकारिता, क्षमाशीलता, सर्वकल्याण भाव, सेवाभाव, मधुरवाणी, लक्ष्यसँण्ग एकाकार र मुमुक्षाजस्ता नवगुण विकसित हुन्छन् । यी नवगुणको विकासले मानिस उच्च चरित्रको आदर्शवान व्यक्तित्वमा रूपान्तरण हुन्छ ।