• वि.सं २०८१ माघ २३ बुधबार
  • Wednesday, 05 February, 2025
अन्वेषण अधिकारी
२०८१ पौष १३ शनिबार १०:३९:००
समाज

समावेशी चित्र कोर्दै अपांगता भएका लैंगिक तथा यौनिक अल्पसंख्यक 

२०८१ पौष १३ शनिबार १०:३९:००
अन्वेषण अधिकारी

 

पोखरा नयाँ पुलका अमुका विक २४ वर्षका भए । भाइ मनकाजी विकसँगै काठमाडौंमा बसेर अध्ययन गर्छन् । उनी जन्मजात अपांगता भएका हुन् । उनको ढाड र खुट्टामा समस्या छ । भाइलाई पनि यही समस्या छ ।

 

अमुका ट्रान्स पुरुष हुन्, जो छोरीका रूपमा जन्मिएर भावनात्मक रूपमा पुरुषमा रूपान्तरण भए । दाइहरूले पाइन्ट लगाएको देखेर सानोमा उनलाई पनि पाइन्ट नै लगाउन मनपथ्र्यो । उनीहरूसँगै खेल्न जान मनलाग्थ्यो । किशोरावस्थामा केटी साथीहरू नै मनपर्न थाल्यो । सुरुमा बाबु–आमालाई यस विषयमा थाहा थिएन । तर, एक युवतीसँगको प्रेम उनले लुकाउन सकेनन् । बाबु–आमा यो खबरले पहिले निकै स्तब्ध थिए । तर, बिस्तारै अमुकाका भावना बुझे । 

 

‘मेरो बुबाले आरन र खेती–किसानी गरेर संघर्षका साथ आठ सन्तान हुर्काउनुभयो । त्यसमध्ये हामी चारजना जन्मजात अपांगता भएका थियौँ,’ अमुकाले भने,‘मेरो लैंगिक पहिचानबारे थाहा पाउँदा उहाँहरू स्तब्ध र चिन्तित हुनुहुन्थ्यो । समाजले के भन्ला भन्ने भय थियो । तर, बिस्तारै यस यथार्थलाई स्विकार्नुभयो ।’

 

अमुकालाई रंगहरूसँग खेल्न मन लाग्छ । चित्रकलामा सबै रंगको उत्तिकै महत्व हुन्छ । समाजमा पनि विविध पहिचान भएकाहरू सम्मानपूर्वक बाँच्न पाउनुपर्ने उनी बताउँछन् । इन्द्रेणी अपांगता नेपालले द क्यानाडा फन्ड फर लोकल इनिसिएटिभ्सको सहयोगमा आयोजना गरेको ‘इन्क्लुसिभ आर्ट एन्ड स्टोरी टेलिङ वर्कसप’मा सहभागी भएर उनले आफ्ना भावना चित्रमार्फत पोखे । तीनदिने वर्कसपमा उनले दुईवटा चित्र तयार पारे । एउटा चित्र भगवान् बुद्धको थियो भने अर्को चित्रमा फरक पहिचानकी एक युवतीलाई समाजले चारैतिरबाट औँला तेस्र्याएको देखिन्छ । ‘म छोरी भएर जन्मिएँ । तर, छोरामा रूपान्तरण हुन खोज्दा समाजको बिचमा परेँ भन्ने लाग्छ,’ उनले भने,‘अपांगता भएका मानिसलाई उसै पनि समस्या भइरहेको हुन्छ । त्यसमाथि फरक लैंगिक पहिचान भएकालाई हेर्ने नजर र गरिने व्यवहार फरक छ । तर, परिवारले सहयोग गरेकाले मैले सहज महसुस गरेको छु ।’

 

भाइ मनकाजी उनलाई हौसला दिन यस वर्कसपमा सहभागी थिए । ‘उहाँ पहिले मेरी दिदी हो । अहिले रूपान्तरण भएर दाइ हुनुभयो । हामी एकसाथ हुर्किएका हौँ । दुवै अपांगता भएका हौँ,’ मनकाजीले भने,‘लैंगिक पहिचानको विषयलाई धेरैले लुकाउँछन् । तर, उनले खुलेर कुरा राखेका छन् । उनका भावनालाई बुझ्छु । हामी उनलाई समर्थन गर्छौँ ।’ संगीतमा पनि अमुकालाई रुचि छ । अत्यधिक गीत–संगीत सुन्छन् । अञ्जु पन्त र आस्था राउतको आवाज उनलाई निकै मनपर्छ । भविष्यमा सर्जरी गरेर शारीरिक रूपमा पनि पुरुष बन्ने सपना उनले देखेका छन् । 

 

काभ्रे पाँचखालकी मीना जोशीले कान सुन्न छाडेयता सबैभन्दा धेरै मिस गर्ने कुरामध्ये संगीत एक हो । बाबुआमाले सुनाएअनुसार उनी सानोमा नाचगान धेरै गर्थिन् । तर, ६ वर्षको कलिलो उमेरमै करेन्ट लागेर उनी घाइते भइन् । त्यसपछि उनले कान सुन्न छाडिन् । बोली बन्द भयो । अहिले पनि कोठामा छँदा कहिलेकाहीँ एक्लै नाच्ने गर्छिन् । 

 

२६ वर्षीया जोशी समलिंगी महिला हुन् । उनले आफ्नो लैंगिक पहिचानबारे खुलेर भन्न थालेको एक वर्ष मात्रै भयो । पछिल्लो दुई महिनायता उनी इन्द्र्रेणी अपांगता नेपालमा उपाध्यक्ष छिन् । सांकेतिक भाषामार्फत आफ्ना भावना अभिव्यक्त गर्छिन् । नुवाकोट तारकेश्वर गाउँपालिकाकी सुनिता श्रेष्ठले पछिल्ला चार वर्षदेखि जोशीलाई दोभाषेका रूपमा सहयोग गरिरहेकी छिन् । ‘आफ्ना भावना गुम्स्याएर राख्नुपर्दा मलाई निकै समस्या थियो । पछिल्ला एक वर्षयता खुलेर भन्न थालेको छु । यसले मेरो जीवन सहज भएजस्तो छ,’ जोशीलाई उद्धृत गर्दै श्रेष्ठले भनिन् । 

 

वेलावेलामा जोशीका बुबासँग श्रेष्ठको टेलिफोनमा कुराकानी हुन्छ । ‘हामी उसको कुरा बुझ्न सक्दैनौँ । तपाईंले बुझ्नुहुन्छ । उसले इच्छा गरेजस्तो जीवन बाँचोस् । सही मार्ग देखाइदिनुस् भन्नुहुन्छ । यसले मलाई पनि जिम्मेवारी बढेजस्तो महसुस हुन्छ,’ श्रेष्ठले भनिन् । जोशी अहिले बिएडमा अध्ययनरत छिन् । भविष्यमा शिक्षक बनेर सुस्तश्रवण भएकाहरूलाई सांकेतिक भाषामा पढाउने उनको सपना छ । आठ वर्षदेखि दोभाषेका रूपमा काम गरिरहेकी श्रेष्ठले अन्य व्यक्तिहरूको दाँजोमा सुस्तश्रवण भएकाहरूलाई आफ्ना भावना अभिव्यक्त गर्न गाह्रो हुने बताइन् । ‘आममानिसझैँ आफ्ना कुरा खुलेर राख्न सक्दा उहाँहरूले पनि सहज महसुस गर्नुहुन्छ । कुनै कुरा लुकाउनुपर्दा उहाँहरूलाई पीडा हुन्छ । उहाँहरूसँग जति धेरै कनेक्ट हुन सक्यो, जति धेरै सम्मान र स्पेस उहाँहरूलाई दिन सक्यो, त्यति नै हाम्रो समाज उन्नत भएर जान्छ भन्ने मलाई लाग्छ,’ श्रेष्ठले भनिन् । 

 

कञ्चनपुर लालझाडी– १ का खगेन्द्र राना २७ वर्षका भए । उनी अपांगता भएका समलिंगी पुरुष हुन् । १० कक्षामा पढ्दा उनी रुखबाट लडेर घाइते भए । मेरुदण्डमा चोट लाग्यो । त्यसपछि थेरापी गर्नुपरेकाले दुई वर्षजति पढाइ छुट्यो । जब कक्षाकोठामा फर्किए त्यसपछि उनलाई अन्य साथीभाइभन्दा आफू पृथक् रहेको महसुस हुन थाल्यो । उनलाई आफ्ना केटा साथी नै मन पर्न थाल्यो । ‘कैलाली मल्टिपल क्याम्पसमा पढ्दा पनि धेरैले यसको हाउभाउ र स्वभाव केही फरक छ भन्थे,’ उनले भने,‘लैगिंक पहिचान सार्वजनिक गर्दा सुरुमा घरपरिवारले केही अप्ठ्यारो मानेका थिए । उहाँहरूलाई समाजको डर थियो । अहिले परिवारले बुझ्न थालेका छन् ।’ उनी अहिले इन्द्रेणी अपांगता नेपालमा प्रोग्राम एसोसिएटका रूपमा कार्यरत छन् ।

 

नक्सालकी १९ वर्षीया सान्विका पौडेल क्वेर समुदायकी हुन् । १० कक्षा पढ्दै उनले प्राइड परेडमा सहभागिता जनाएकी थिइन् । गत जुलाईमा नेपाल फेसन फेस्टिभलमा उनले क्वेर क्याटेगोरीमा मोडलिङ गरेकी थिइन् । अपांगता भएका लैँगिक तथा यौनिक अल्पसंख्यक समुदायलाई हौसला दिन वर्कसपमा सहभागी भएको उनले बताइन् । ‘क्वेर भएपछि समावेशिताको कुरा आउँछ । मैले यहाँ वर्कसपमा आएर विविध पृष्ठभूमिका मानिसहरू भेटेँ,’ उनले भनिन्, ‘ती साथीहरू आफ्ना भावनालाई खुलेर अभिव्यक्त गर्न पाउँदा खुसी छन् । आफ्नो लैँगिक पहिचानलाई सबैले गर्वका साथ भन्न पाउने वातावरण बन्नुपर्छ ।’

 

भविष्यमा समावेशी समाज निर्माणको पैरवी गर्ने र चित्रकारका रूपमा काम गर्ने उनको लक्ष्य छ । लैंगिक विविधताका बारेमा दर्शन पढ्न उनलाई मन लाग्छ । ‘यसबारे समाजमा धेरै भ्रम फैलिएका छन् । मलाई यसबारे पर्याप्त अध्ययन गर्न मन छ,’ उनले भनिन् । 

 

घरमा बाबुआमाले उनको पहिचान स्विकारेका छन् । दिदीले ठुलो साथ दिएकी छिन् । ‘म आफ्ना भावना सानैदेखि दिदीसँग सेयर गर्दथेँ । कहिले पुरुषजस्तो, कहिले महिलाजस्तो महसुस गर्ने कुरा सुनाउँथेँ । अनौँठो–अनौँठो कुरा गर्छे भन्नुहुन्थ्यो । अहिले आएर उहाँलाई पनि बहिनीको लैंगिक पहिचान क्वेर रहेछ भन्ने थाहा भएको छ,’ उनले भनिन्, ‘परिवारले मलाई निकै सहयोग गर्नुभएको छ ।’

 

मूलपानी काठमाडौंका विमल शाह (नाम परिवर्तन) लैंगिक तथा यौनिक अल्पसंख्यकलाई हेर्ने नजर समाजमा अझै उस्तै रहेको बताउँछन् । २६ वर्षीय शाह पेसाले फेसन डिजाइनर हुन् । घरपरिवार र नजिकका साथीभाइ उनको लैँगिक पहिचानबारे जानकार छन् । तर , पूर्ण रूपमा उनले आफ्नो पहिचान सार्वजनिक गर्न सकेका छैनन् । ‘१६ वर्षको उमेरमा आएर मलाई फरक महसुस हुन थाल्यो । लगातार केटाहरू नै मनपर्छ भन्न थालेपछि आफू समलिंगी पुरुष रहेको निष्कर्षमा पुगेँ । मेरा आमाबुबा वृद्धवृद्धा भइसक्नुभयो । म उहाँको एक्लो सन्तान हुँ । पहिचान सार्वजनिक गर्दा उहाँहरूलाई समाजमा समस्या होला भन्ने लाग्छ,’ उनले भने, ‘यसरी पहिचान लुकाएर बाँच्नुपर्दा मलाई डिप्रेसन र एन्जाइटी पनि भयो । २४ वर्षको उमेरमा बुबाआमाले विवाहको प्रस्ताव ल्याएपछि मैले उहाँहरूसँग आफ्ना कुरा राखेँ । मन हल्का भयो । अझै पनि सार्वजनिक रूपमा आफ्नो पहिचान बताउन सकेको छैन । यस्ता कार्यक्रममा आउँदा अरू मानिससँग पनि मेरैजस्तो अनुभव रहेछन् र म एक्लो होइनरहेछु भन्ने लाग्छ । मन हल्का हुन्छ ।’ 

 

इन्द्रेणी अपांगता नेपालका संस्थापक तथा कार्यकारी निर्देशक आदित्य राई समाजमा अपांगता भएकाहरूले विभिन्न विभेद सहनुपरेको बताउँछन् । अपांगता भएका लैंगिक तथा यौनिक अल्पसंख्यक दोहोरो मारमा रहेको उनले बताए । उनीसँग आफ्नै तीता अनुभव छन् । तीन वर्षको छँदै आगलागीमा परे । देब्रे हात जलेपछि केही भाग काट्नुर्‍यो । एउटा अनाथालयले उनलाई काठमाडौं ल्याएर पाल्यो । सानैदेखि गाजल लगाउने, जामा लगाउने, नाचगान गर्ने गर्दथे । साथीभाइले अपमान गरेर खिल्ली उडाउन थाले । प्लस टु गरिसकेपछिको कुरा हो, एक दिन निलहिरा समाज (ब्लु डाइमन्ड सोसाइटी ले सञ्चालन गर्ने एफएम कार्यक्रम ‘पहिचान’मार्फत उनले आफू समलिंगी पुरुष रहेको घोषणा गरे । यसपछि आश्रय दिइरहेको संस्थाले पनि राख्न मानेन । 

 

उनको पढाइ छुट्यो । रोजगारी र वासको टुंगो थिएन । तर, राईले हरेस खाएनन् । उनले अपांगता भएका लैंगिक तथा यौनिक अल्पसंख्यकहरूलाई समेटेर अघि बढ्ने योजना बनाए । २०१८ मा स्नातक भर्ना भएर छुटेको पढाइलाई निरन्तरता दिए । नोभेम्बर २०२२ मा उनले औपचारिक रूपमै इन्द्रेणी अपांगता समाज दर्ता गरे । ‘क्वेर समुदायको सेयरिङ प्लाटफर्मका रूपमा यो संस्थालाई अघि बढाइरहेका छौँ । अपांगता भएका लैंगिक तथा यौनिक अल्पसंख्यकलाई संस्थामा जोड्ने, आवश्यक सहयोग गर्ने र आफ्नो अधिकारबारे बोल्न प्रेरित गर्ने हाम्रो लक्ष्य छ ।’ आज यस संस्थामा झन्डै ६० जना सदस्य छन् । 

 

इन्द्रेणी अपांगता नेपालले क्यानाडा फन्ड फर लोकल इनिसिएटिभ्सको सहयोगमा समावेशी चित्रकला तथा कथावाचन वर्कसप र बेलायतको फरेन, कमनवेल्थ एन्ड डेभलपमेन्ट अफिसको सहयोगमा ‘आर्ट सोकेस बाई क्वेर डिस्एबिलिटी’ कार्यक्रम एकसाथ गरेको हो । तीनदिने कार्यक्रममा झन्डै २५ जनाले चित्रकला तथा कथावाचनमार्फत आफ्ना तीतामीठा अनुभव सुनाए । यस कार्यक्रममा विविध जातजाति, लैँगिक पहिचान र पृष्ठभूमिका मानिस सहभागी थिए । ‘सबैले आफ्नो पहिचान निर्धक्क र गर्वका साथ भन्न सक्ने वातावरण बनाउने यस संस्थाको लक्ष्य छ । त्यसका लागि समाजका बृहत्तर समुदायलाई समेटेर पहल अघि बढाएका छौँ । महिला, पुरुष, सपांगता भएकालगायत सबै समुदायका मानिसले उपस्थित भएर हामीलाई समर्थन र हौसला दिनुभएको छ,’ उनले भने, ‘आगामी दिनमा पनि विभिन्न कार्यक्रम गर्दै जानेछौँ ।’