• वि.सं २०८२ असार १८ मंगलबार
  • Tuesday, 01 July, 2025
श्रीलोचन राजोपाध्याय/अन्वेषण अधिकारी
२०८१ पौष १३ शनिबार ११:०९:००
रिपाेर्ट

सर्पबारे आतंक र भ्रम धेरै फैलाइयो 

२०८१ पौष १३ शनिबार ११:०९:००
श्रीलोचन राजोपाध्याय/अन्वेषण अधिकारी

 

सर्प कुनै बौलाहा जीव होइन । तर, उसलाई हस्तक्षेप गर्नुहुँदैन । सर्प किसानको साथी हो, दुस्मन होइन ।

 

नेपाल प्राकृतिक सम्पदाको धनी देश भनेर चिनिन्छ । यहाँ प्रकृतिको वरदानस्वरूप धेरै वनस्पति, जीवजन्तु, अनकौँ अमूल्य जडीबुटी पाइन्छन् । तर, त्यसबारे पर्याप्त अध्ययन भएको छैन । त्यसमा पनि पर्यावरण चक्रको एक महत्वपूर्ण प्राणी सर्पबारे बिरलै अध्ययन हुन्छ । सर्पले टोक्नासाथ मानिस मर्छ भन्ने भ्रम र आतंक छ । त्यही कारण, कतिपय मानिस सर्प मार्न तम्सिन्छन् । जबकि, थोरै प्रजातिका सर्प मात्रै विषालु हुन्छन् । सर्पका प्रजाति चिन्ने, चिनाउने, पर्यावरण चक्रमा सर्पबारे सचेतना फैलाउने काममा साढे पाँच दशकदेखि सक्रिय अनुसन्धानकर्ता प्राध्यापक राजेन्द्रलाल श्रेष्ठसँग श्रीलोचन राजोपाध्याय र अन्वेषण अधिकारीले संवाद गरेका छन् :

 

धेरै मानिस सर्प भन्नासाथ भयभीत हुन्छन् । तर, तपाईं साढे पाँच दशकभन्दा लामो समयदेखि सर्पबारे अध्ययन गरिरहनुभएको छ । यसमा लाग्ने प्रेरणा कसरी मिल्यो ?

 

यसमा मेरो प्रवेश रुचिभन्दा पनि संयोग हो । ०२४ सालमा त्रिभुवन विश्वविद्यालयबाट प्राणाीशास्त्रमा कीटविज्ञान विषयमा एमएस्सी गर्ने पहिलो ब्याचको विद्यार्थी थिएँ । त्यसपछि ०२५ सालमा मैले २०० रुपैयाँ पारिश्रमिक लिएर निजी क्षेत्रको आनन्दकुटी कलेजमा बायोलोजी विभागको प्रमुखका रूपमा काम गर्न थालेँ । भिक्षु अमृतानन्द यस कलेजको संस्थापक र त्रिविको पहिलो रजिस्टार परासरनारायण सुवाल यहाँ प्रिन्सिपल हुनुहुन्थ्यो । प्राकृतिक सम्पदाको अध्ययनमा मेरो रुचि बढाउन उहाँहरूको ठुलो भूमिका छ । 

 

मेरो रुचिको क्षेत्र कीटविज्ञान थियो । विद्यार्थीलाई यसबारे व्यावहारिक ज्ञान दिनका लागि मैले कलेजमा एउटा नमुना बायोलोजी म्युजियम बनाउने प्रयास थालेँ । विद्यार्थीले किरा, पुतलीलगायत संग्रह गरेर ल्याबमा ल्याएर राख्थे । एकदिन झोंछेस्थित घरबाट कलेज जाँदै थिएँ । विष्णुमती पुलमा आइपुग्दा मानिसहरूको हुल देखियो । मोटरसाइकल रोकेर हुलमा छिरेँ । एउटा सर्प गुटमुटिएर बसेको रहेछ । जिन्दगीमा मैले यस्तो राम्रो सर्प देखेकै थिइनँ । मुगा कलरको थियो । यसलाई कलेक्सन गरेर राख्छु भन्ने सोच आयो । केही मानिस सर्प मार्न अघि सरेका थिए । मैले उनीहरूसँग त्यसलाई नमार्न अनुरोध गरेँ । त्यसपछि एउटा लट्ठी लिएर त्यसलाई समात्ने प्रयास गरेँ । अरू मानिस छक्क परिरहेका थिए । लट्ठीमा बेरेर एउटा बट्टामा हालेर राखेँ । त्यो निकै शान्त थियो । ल्याबमा पेडारियम व्यवस्था गरेर सुरक्षितसाथ राखेँ । त्यसलाई आहाराका रूपमा दुध, किरा, पुतली, मासुका टुक्रा, भ्यागुतालगायत खोजेर राखिदिएँ ।

 

तर, त्यसले केही पनि खाएन । कलेजमा त्यसलाई हेर्न आउने विद्यार्थी र स्थानीय ठुलो संख्यामा थिए । दुई सातापछि त्यो मर्‍यो । मलाई निकै नमिठो लाग्यो । यसपछि यसलाई चिरेर अनुसन्धान गर्न थालेँ । प्राणीशास्त्र पढेकाले मसँग आधारभूत ज्ञान थियो । सर्पको अनुसन्धान गरेको अनुभव थिएन । पुस्तक हेर्दा यो ‘कोरल स्नेक’ रहेको थाहा भयो । यो अनौठो घटना थियो । किनकि, काठमाडौंमा विषालु सर्प हुन्छ भन्ने अनुमान कसैको थिएन । मैले चराविद् डा. रोबर्ट फ्लेमिङलाई बताउँदा उहाँले पनि सुरुमा पत्याउनुभएन । सर्पको रंग र अध्ययनबारे विस्तृतमा बताउँदा छक्क हुनुभयो । उहाँले ल्याबमा आएर हेर्नुभयो, त्यसपछि लगेर थप चेकजाँच गर्नुभयो । कोरल स्नेक नै रहेको पुष्टि भएपछि मलाई बधाई दिनुभयो । यस घटनापछि विभिन्न पत्रपत्रिकामा विषालु सर्प पत्ता लगाएको भन्दै मेरो चर्चा भयो । रातारात सेलिब्रेटीजस्तो पो भइयो । डा. फ्लेमिङसँग विभिन्न प्राणी पत्ता लगाउने विशेष पुस्तक थिए । उहाँले सर्पसम्बन्धी पुस्तक मलाई दिनुभयो । 

 

यसपछि सर्पको अध्ययनमै केन्द्रित हुनुभयो वा अन्य काम पनि चलिरहेको थियो ?

 

सर्पबारे मात्रै अध्ययन गर्ने परिस्थिति थिएन । मेरो ध्यान नमुना प्राकृतिक संग्रहालय बनाउनेमै केन्द्रित थियो । मेरो प्रस्तावमा चरा विशेषज्ञ हरिशरण नेपाली (काजी)ले झन्डै सात सय प्रजातिका १३ सयवटा चराको कलेक्सन ल्याएर ल्याबमा राखिदिनुभयो । पुतली बाजे नामले चिनिने कोलिन स्मिथले पुतलीहरूको संग्रह ल्याएर राखिदिनुभयो । बोटानिस्ट शारदा श्रेष्ठले वनस्पतिहरूको संग्रह ल्याइदिनुभयो । यसरी यहाँ वनस्पति, चरा, किरा–फट्यांग्राहरूको संग्रहालय बन्यो ।

 

नयाँ शिक्षा ऐन २०२८ जारी भएपछि आनन्दकुटी साइन्स कलेज त्रिभुवन विश्वविद्यालयअन्तर्गत नै मर्ज हुने भयो । यससँगै सरकारी सेवामा मेरो प्रवेश भयो । ०३२ सालमा हाम्रो कलेजलाई आनन्दकुटी साइन्स सेन्टर बनाइयो । म यहाँको प्रमुखका रूपमा नियुक्त भएँ । मैले अमृत साइन्स कलेजमा पनि क्लास लिनुपर्ने भयो ।

 

०३३ फागुनमा राजा वीरेन्द्रको राज्याभिषेकका अवसरमा धेरै विशिष्ट विदेशी पाहुना आएका थिए । त्यही क्रममा उनीहरूलाई घुमाउन यहाँ ल्याइयो । देशका विभिन्न स्थानमा पाइने चरा, वनस्पति, किरा, पुतलीलगायत यहाँ पाइन्थ्यो । सबैलाई व्यवस्थित तरिकाले प्रदर्शनीमा राखियो । जापानका तत्कालीन राजकुमार अकिहितो पनि आउनुभएको थियो । उहाँले यस्तो संग्रहको प्रशंसा गर्नुभयो । लुइँचेलाई देखेर उहाँ छक्क हुनुभएको थियो । यतिवेलासम्म २०–२५ वटा सर्प मैले कलेक्सन गरिसकेको थिएँ । कलेजको कामले पोखरा, भैरहवा जानुपर्दा पनि सर्पहरू कलेक्सन गरेको थिएँ । ती सबै यहाँ प्रदर्शनीमा थिए । यसको केही समयपछि छात्रवृत्ति पाएर म बेलायतमा पढ्न गएँ । त्यहाँ साढे दुई वर्ष बिताएर फर्किंदासम्म हाम्रो सेन्टर प्राकृतिक विज्ञान संग्रहालयका रूपमा विकसित भइसकेको थियो । बेलायतबाट फर्केर आएको केही समयपछि यही संग्रहालयमा म प्रमुख नियुक्त भएँ ।

 

सरकारले अनुसन्धानका लागि कत्तिको सहयोग गरेको थियो ? सर्प समात्ने उपकरण के–कस्ता थिए ?

 

मैले संग्रहालय प्रमुख छँदा आफूमताहतका कर्मचारीलाई लिएर जान्थेँ । केही सहयोगी पनि राखेको थिएँ । प्रणाीशास्त्रको अध्ययन गर्न हामीसँग उपकरणको कमी थियो । लट्ठीकै भरमा सर्प समाइन्थ्यो । गुलेलीको काप्रोजस्तो काठ खोजेर त्यसैको सहयोगमा सर्पलाई घाँटी थिचेर चल्न नसक्ने बनाएपछि समाउने गरिन्थ्यो ।

 

हरिशरण नेपाली चराविज्ञ भए पनि फिल्डमा जाँदा भेटेका अन्य जीवजन्तुको पनि अध्ययन गर्नुहुन्थ्यो । एकपटक दुईटाउके विषालु सर्प भेट्नुभएछ । ल्याएर संग्रहालयलाई दिनुभयो । हामीले संग्रहालयमा रहेका जीवजन्तु र वनस्पतिका अवशेष आममानिसलाई देखाउन घुम्ती प्रदर्शनी पनि सुरु गर्‍यौँ । राजा वीरेन्द्रको जन्मोत्सवको अवसर पारेर जिरी, पोखरा, दमौली, नवलपरासीलगायत देशका विभिन्न ठाउँमा घुम्ती प्रदर्शनी आयोजना गरियो । यसक्रममा प्रायः दुर्गम क्षेत्रमा प्रदर्शनी आयोजना भएको थियो । प्राणीहरूको संरक्षणका लागि स्थानीयलाई जागरुक गराउने लक्ष्य त्यस प्रदर्शनीको थियो ।

 

एकपटक चितवनमा गएर सर्वे गर्नुपर्ने थियो । नटुवा भन्ने जातिले सर्प समातेर जीविका चलाउँछन् । उनीहरूबारे पनि अध्ययन गर्न दुई सहयोगीसहित त्यहाँ गएँ । चारकोसे झाडीमा सर्पको वासस्थानभित्र छिरेर अध्ययन गर्नुपर्ने थियो । मसँग लट्ठीबाहेक केही थिएन । मैले प्रार्थना गरेँ, ‘हे भगवान् ! यहाँ राज गोमन नहोस् ।’ राज गोमन निकै ठुलो हुन्छ, यो निकै विषालु हुन्छ । सर्प जातिमध्ये कुनै पनि सर्पले आफ्नो बच्चालाई हेर्दैन । तर, राज गोमन अपवाद हो । ओथारो बसेजसरी यी सर्पहरू भाले–पोथीले नै मिलेर आफ्नो फुलको सुरक्षा गर्छन् । सात–आठ फिट वरपरसम्म कसैलाई भेटे भने आक्रमण गर्छन् । त्यस्तो नहोस् भन्ने कामना गरेर झाडीमा गएँ । तर, कुनै सर्प भेटिएन ।

 

आफ्नो अध्ययनका क्रममा मैले अहिलेसम्म २०–२५ वटा प्रजातिको सर्प पहिचान गरिसकेको छु । कुल ९० वटाजति प्रजातिका सर्प नेपालमा पहिचान भएका छन् । तर, यसभन्दा बढी सर्प हुनुपर्छ । किनकि, भारतमा झन्डै तीन सय प्रजातिका सर्प पहिचान भइसकेका छन् । तर, हाम्रोमा अनुसन्धान कम छ । यसका लागि बजेट र योजना पनि छैन । 

 

समाजमा सर्पबारे अनेक मान्यता स्थापित छन् । तपाईंको अनुसन्धानले ती मान्यता कति सही र कति गलत ठान्छ ?

 

सर्प भन्नासाथ हामी आतंकित हुन सक्छौं । तर, सर्पमा केही प्रजाति मात्रै विषालु हुन्छन् । संसारका तीन हजार प्रजातिमध्ये झन्डै २५० मात्रै सर्प विषालु छन् । नेपालमा भएका प्रजातिमध्ये १० देखि १५ वटा मात्रै सर्प विषालु छन् । त्यसमध्ये चार–पाँचवटा प्राणघातक छन् । तर, हामीले यसबारे पर्याप्त अध्ययन गरेनौँ । सर्पका प्रजाति चिन्ने, चिनाउने र त्यसअनुसार सावधानी अपनाउने काम गरेनौँ । सर्पले टोेकेपछि मर्छ भन्ने भ्रम मात्रै छर्‍यौँ । सर्प देख्नासाथ मार्न अघि सर्‍यौँ ।

 

सर्पले लखेटी–लखेटी टोक्छ भन्नेजस्ता भ्रम छर्‍यौँ । विषालु सर्पले पनि आफूलाई खतरा भएपछि मात्रै मानिसलाई टोक्छ । सर्पको टोकाइबारे पनि हामीले धेरै सर्वे गर्‍यौँ । ९० प्रतिशतलाई खुट्टाको पैतालानजिक र हातको पाखुरादेखिमुनिको भागमा टोकेको देखिन्छ । यसको अर्थ हामी हिँडिरहेको अवस्था, घाँस काट्दा उनीहरूले असुरक्षित महसुस गर्छन् । आफ्नो रक्षाका लागि टोक्छन् । सर्प कुनै बौलाहा जन्तु होइन । तर, उसलाई चलाउनु वा हस्तक्षेप गर्नुहुँदैन । 

 

सर्पले छिनछिनमा जिब्रो निकाल्छ । जनमानसमा टोक्नका लागि जिब्रो निकालेको भन्ने भ्रम पनि छ । तर, उसले वरपरको परिवेश बुझ्न जिब्रो निकालेको हो । 

 

कतिपयले संगीत बजाएर सर्प नचाएको पनि देखिन्छ । यो भ्रम हो । सर्पले हावामार्फत आउने कुनै पनि आवाज ग्रहण गर्नै सक्दैन । किनकि, हाम्रो जस्तो बाहिरी कान सर्पसँग छैन । उनीहरूसँग भित्री कान छ । बंगाराको हाड जमिनमा बजारिँदा ठोक्किएर भित्री कानले त्यो भाइब्रेसन सुन्छ । जमिनको कम्पन सुन्छ । तर, हावामार्फत आउने आवाज सुन्दैन । सर्प नचाउनेहरूले विशेष जुक्ति फुराएका हुन्छन् । ढकनीबाट सर्पलाई खोल्नासाथ पुच्छर वा टाउकोमा हल्का हिर्काउँछन् । त्यसपछि सर्प चलमलाउन थाल्छ । उसको दृष्टि हाम्रो जस्तो फराकिलो हुँदैन । उनीहरूको आइलिड हुँदैन । आँखा झिम्क्याउँदैनन् । सपेराहरूले उसको आँखा नजिक–नजिक बाजा लगेर बजाइरहेका हुन्छन् । संगीतको आवाज नभएर बाजाको केही भाग देखेर सर्पले खतरा महसुस गरेको हुन्छ । गाह्रो गरी यताउता हेर्छ । सपेराले आफ्नो संगीतमा नाचेको भनेर भ्रम छर्छन् ।

 

सर्पको सहवासबारे पनि समाजमा भ्रम छ । अन्य जीवनझैँ सर्पमा पनि सहवासको सिजनमा एउटा पोथीका लागि दुई भालेबिच झगडा हुन्छ । त्यस क्रममा एक–अर्काबिच कसको टाउको माथि रहने वा को अग्लो रहने भन्ने लडाइँ चल्छ । यो लडाइँ हेर्ने मानिस यसैलाई प्रजनन ठान्छन् । जबकि, त्यो भाले र पोथी होइन । भाले–भालेबिचको झगडा हो । 

 

पर्यावरणमा सर्पको महत्व कत्तिको छ ?

 

सर्पले मुसा खान्छ । मुसाहरूले अन्न खाइदिएर किसानलाई हैरान पारेका हुन्छन् । त्यस्तै बालीमा लाग्ने विभिन्न किरा पनि सर्पले खाइदिन्छ । यसर्थमा सर्प किसानको साथी हो, दुस्मन होइन । सर्प नहुँदा मुसाको संख्या बढेर किसानलाई समस्या हुन्छ । मुसा मार्न कीटनाशक केमिकल प्रयोग गर्दा उल्टै बालीनाली र स्वास्थ्यमा पनि समस्या देखिन्छ । बरु, सर्प जोगाउने हो भने बायोलोजिकल रूपमै मुसालाई नियन्त्रणमा राख्न सकिन्छ । अर्कोतर्फ, मयूर, सर्पेन्ट इगललगायत चराले सर्पलाई नै आफ्नो आहारा बनाइरहेका हुन्छन् । पर्यावरण चक्र यसरी नै चलेको छ । यसमा सबैको योगदान रहन्छ । सर्पहरूले प्रदूषणलाई पनि नियन्त्रण गर्न सहयोग गर्छ । हाम्रो आयुर्वेदमा पनि छातीरोग, टिबीलगायत विभिन्न रोगमा प्रयोग हुने औषधि बनाउन सर्पको प्रयोग हुन्छ । हाम्रो पुर्खाले सर्पप्रति सम्मान गर्थे । आधुनिक चिकित्सा विज्ञानमा पनि विभिन्न औषधि बनाउन यसको प्रयोग गरिन्छ । सर्पको विषबाट ‘एन्टी भेनिम’ औषधि तयार गरेर यही औषधि नै सर्पले टोकेको अवस्थामा उपचारका लागि प्रयोग गर्न सकिन्छ ।

 

जनविश्वास र किंवदन्तीलाई आधार मान्दा पानीसँग पनि सर्पको सम्बन्ध छ । नाग खुसी हुँदा समयमै पानी पर्छ, नागको वासस्थान सुक्खा हुँदैन भन्ने किंवदन्ती छ । मच्छिद्रनाथको किंवदन्ती, भगवान् बुद्धलाई खतरा पर्दा नागले छत बनेर जोगाएको किंवदन्ती, महादेवले सर्पलाई गहना बनाएर लगाएको किंवदन्ती, भगवान् विष्णुले शेषनागमा विश्राम गरेको किंवदन्तीले हाम्रो धर्मशास्त्र र प्राचीन समयमा नागप्रति व्यक्त गरिएको सम्मान दर्साउँछ । हामीले बुझ्नुपर्छ, यो पृथ्वी मानिस मात्रैको वासस्थान होइन । सबैको हो । 

 

तराईमा देखिने विषालु सर्प पहाडमा पनि देखिँदै छन् । के सर्प बसाइँ–सराइ गर्दै पहाड उक्लिएको हो र ? 

 

सर्पहरू बसाइँ सर्दैनन् । तर, गाडीमार्फत एक ठाउँबाट अर्को ठाउँमा पुगेका हुन सक्छन् । नयाँ ठाउँमा आएपछि हावापानी अनुकूल भयो भने उनीहरू बाँच्न र फैलन पनि सक्छन् । यो ‘कोल्ड ब्लडेड’ प्राणी हो । यसको बडी टेम्प्रेचर बाहिरी वातावरणले ठुलो रूपमा निर्धारण गर्छ । प्रायः प्रजाति चार डिग्रीदेखि ४२ डिग्रीसम्म मात्रै बाँच्न सक्छन् । बाहिरी वातावरण यसभन्दा चिसो वा तातो हुँदा उनीहरू दुलाभित्र छिर्छन् । अर्को रोचक कुरा, सर्पले आफूलाई चाहिनेजति आहारा खाएर दुलो पसेको हुन्छ । ती आहारा फ्याटमा परिणत हुन्छ । प्रजाति हेरेर कतिपयलाई केही हप्ता र कतिपय महिनौँसम्म केही नखाई आराम गरेर बस्न सक्छन् । कहिलेकाहीँ सिकारीबाट बच्न पनि यसरी दुलोमा छिर्छन् । यस अवधिमा उनीहरू सिकार गर्ने मुडमा हुँदैनन् । नेपालीमा अजिंगरको आहार दैवले जुराउँछ भन्ने उखानै छ । अजिंगरले एकपटक टन्न खाएपछि अरू केही नखाई लामो समय बाँच्न सक्छ ।

 

सर्पलाई मानिसबाट के–के असुरक्षा छ ? सर्पबाट सुरक्षित रहन मानिसले के गर्नुपर्छ ?

 

आजकल मानिसले मुसा मार्न विष प्रयोग गर्ने गरेका छन् । विष खाएर छट्पटाएका वा मरेका मुसा खाँदा सर्प पनि मर्छन् । हामीले केमिकल नियन्त्रण नभएर बायोलोजिकल नियन्त्रणमा ध्यान दिन जरुरी छ । कंक्रिटका घर बनेकाले सहरमा सर्पहरूको वासस्थान मासिँदै छ । जलवायु परिवर्तनले पनि सर्पमा असर गरिरहेको छ । तापक्रम वृद्धिले मौसमअनुकूल हुँदा कतिपय सर्पको संख्या बढ्दै छ । मौसम प्रतिकूल भएर कतिपय सर्प मासिँदै छन् । विभिन्न खाले भ्रमका कारण पनि मानिस सर्प मार्न तम्सिन्छन् । सर्पलाई मार्ने होइन, यसबाट बच्न सतर्कता अपनाउने हो । मानिस र प्रकृतिका प्राणीबिच एउटा दूरी रहनु राम्रो हो । सर्पको टोकाइबाट बच्नका लागि आफ्नो घरवरपर नियमित सफाइ गर्नुपर्छ । सर्प लुक्न सक्ने सम्भावित स्थान र दुला टाल्नुपर्छ । बारी, खेत वा रातको समय बाहिर हिँड्दा जुत्ता र हातखुट्टा पूरै ढाक्ने कपडा लगाउनुपर्छ । धुप बाल्दा त्यसको गन्धले सर्प भाग्छ । सर्पलाई असुरक्षित नभएसम्म उसले टोक्दैन । केही गरी टोकिहालेमा आत्तिनुहुँदैन । टोकेको भागलाई हलचल नगराई सकेसम्म चाँडोभन्दा चाँडै अस्पताल पुग्नुपर्छ । हाम्रा अविवेकी कदमले कुनै प्राणी नै लोप हुनु समग्र पर्यावरणकै लागि घातक छ । सृष्टिकर्ताले त सबै कुरा सन्तुलित गरेर बनाएका छन् । हामी मानवजाति पृथ्वीकै बुद्धिमान् प्राणी मानिन्छौँ । तर, प्रकृति सबैको घर हो भन्ने कुरालाई हामीले बिर्सिन थालेजस्तो वा इग्नोर गरेजस्तो देखिन्छ । आधुनिकतामा नाममा हामीले सर्पलाई लोपोन्मुख अवस्थामा पुर्‍याएका छौँ । जंगलको नाश, पानीको प्रदूषण, देख्नासाथ मार्ने प्रवृत्तिलगायत कारणले सर्प असुरक्षित छन् । अन्य धेरै प्राणी तथा वनस्पति पनि मानवीय गतिविधिले गर्दा असुरक्षित छन् । कुनै पनि प्राणी एकपटक लोप भइसकेपछि त्यसलाई फेरि ल्याउन सकिन्न, यस कुरालाई हामीले समयमै ध्यान दिन जरुरी छ । भोलि धेरै प्राणी लोप भएर यो पृथ्वीमा मानिस र उसले बनाएका भौतिक संरचना मात्रै बाँकी रहने अवस्था आयो भने के होला ?