• वि.सं २०८१ माघ १० बिहीबार
  • Thursday, 23 January, 2025
नयाँ पत्रिका
२०८१ पौष २० शनिबार ०७:५४:००
साहित्य

अभिनेता महेश त्रिपाठीलाई मन परेका पाँच पुस्तक

२०८१ पौष २० शनिबार ०७:५४:००
नयाँ पत्रिका

 

कर्णाली ब्लुज : बुद्धिसागरको ‘कर्णाली ब्लुज’ पढेपछि कर्णालीको समाजमा पुगेको अनुभूति भयो । म पोखरा जन्मेहुर्केको मान्छे । कर्णाली पुगेको थिइनँ । त्यसमा मैले कर्णालीको जीवनशैली र कर्णालीभित्रको कथालाई अवलोकन गर्न पाएँ । पुस्तकले कर्णालीको समाज बुझायो । त्यहाँकोे समाजको चरित्र बुझ्न यो उपन्यासले धेरै सघायो । पुस्तकले अभिनयमा निखार ल्याउन सहयोग गर्छ । सोच्ने दृष्टिकोण फरक पार्छ । त्यो नै महत्वपूर्ण कुरा रहेछ ।

 

बिपीका कथाहरू : मलाई विश्वेश्वरप्रसाद कोइरालाका साहित्यले सोच्ने दृष्टिकोणमै परिवर्तन ल्याइदिएका छन् । बिपीका अधिकांश पुस्तक मलाई मन पर्छ । ‘तीन घुम्ती’, ‘सुम्निमा’, ‘हिटलर र यहुदी’ पुस्तक निकै मन पर्छ । यी पुस्तकका पात्र विश्वसनीय लाग्छन् । पात्रको संघर्षबाट विचार र दर्शन बुझिन्छ । त्यसैलाई मलाई बिपीका कथा मन पर्छन् । 

 

सोच : कर्ण शाक्यको ‘सोच’ मलाई मनपर्ने किताब हो । यो पुस्तकको भाषा पनि सरल लाग्छ । सजिलै बुझ्न सकिन्छ । मलाई जीवनमा पढ्ने बानीको विकास गराउन पनि यो पुस्तकले सहयोग गरेको छ । ‘सोच’ पढ्दा जीवनमा सोच्न बाध्य बनायो । त्यसपछि जीवनमा सबैभन्दा महत्वपूर्ण कुरा आफ्नो सोच रहेछ भन्ने लाग्यो । जीवनलाई व्यावाहारिक रूपमा हेर्नुपर्ने रहेछ भन्ने सोच आयो । यो पुस्तकले जीवन जिउने प्रेरणा पनि दिन्छ ।

 

मोटरसाइकल डायरिज : अर्जेन्टिकाका क्रान्तिकारी चे ग्वेभारा र उनका साथी अल्बेर्टो ग्रानाडा मोटरसाइकलमा यात्रामा निस्कन्छन् । त्यो यात्राले उनीहरूको जिन्दगीको बाटो नै बदलिदिएको छ । त्यसैले ‘मोटरसाइकल डायरिज’ पुस्तक मन परेका पुस्तकमध्ये एक हो । यसले सानो घटनापछि मान्छेको सोच कसरी परिवर्तन हुन्छ भन्ने देखाएको छ । 

 

‘रिच ड्याड पोअर ड्याड’ : मलाई रोबर्ट टी कियोसाको ‘रिच ड्याड पोअर ड्याड’ मन परेको किताब हो । यो किताबमा मान्छे उद्यमी बन्ने भन्ने विषय प्रस्तुत गरिएको छ । जन्म दिने बुबा र कर्म दिने बुबा फरक हुन्छन् भन्ने प्रसंग पनि छ ।