• वि.सं २०८१ माघ २३ बुधबार
  • Wednesday, 05 February, 2025
चिरञ्जीवी घिमिरे 
२०८१ पौष २० शनिबार ०९:४५:००
रिपाेर्ट

भक्का : पूर्वीतराईको सौन्दर्य

२०८१ पौष २० शनिबार ०९:४५:००
चिरञ्जीवी घिमिरे 

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले पनि भक्कालाई पाठ्यक्रममा राखेर पढाइरहेको छ

 

चामलको पिठो हातले केलाउँछिन् । पिठोमा भएका डल्लालाई मसिनो बनाउँछिन् । सायद पिठोको डल्लासँगै आफ्ना दु:ख र पीडा पनि फुटाउँछिन्, उनी । त्यही पिठो बटुकामा हालेर भाँडोमा भकभक उम्लिरहेको पानीको वाफमाथि राख्छिन् । केहीबेरमा सुन्दर खाजा तयार हुन्छ, भक्का । लाइन लागेर पर्खिएर बसेका ग्राहकलाई भक्का दिन्छिन् । बिहानै कलेज ड्रेसमा लाइन लागेर भक्का खान पर्खिएका विद्यार्थीले दिएको १० रुपैयाँमा सायद उनी छोराछोरीको कापी, कलम देख्छिन् । भविष्य देखिन्छन् । परिवारका लागि दालभात देख्छिन् । उनी अर्थात् कमल गाउँपालिका– ५ राजवंशी चोक, झापाकी रुक्मणि राजवंशी ।

 

सहरलाई निन्द्राले छोडिहालेको हुँदैन । तर, रुक्मणिको आँखा अघि नै खुल्छन् । अघिल्लै दिन मिलमा कुटेको पिठो, सपना बुन्न चिरेका दाउरा र एक भारी आस बोकेर घरनजिकैको छाप्रामा पुग्छिन् । यो छाप्रो उनको महल हो । भक्का बेच्न उनी त्यही पुग्छिन् । केही समयपछि भक्का पारखीको भिड थेग्न उनलाई हम्मेहम्मे पर्छ । दैनिक १० देखि १२ केजी पिठोको भक्का बेच्छिन्, रुक्मणि ।

 

जाडोयामको चार महिना भक्काको व्यापारमा रमाएकी छन्, रुक्मणि । यो उनको आठ वर्षदेखिको दैनिकी हो । ‘दिनमा सबै खर्च कटाएर १०–१२ सय कमाइ हुन्छ । यसले परिवारको नुनभुटुन चलेको छ,’ उनी भन्छिन्, ‘छोराछोरी पढाएकी छु ।’

 

‘भक्का’ पूर्वी तराईमा बसोवास गर्ने राजवंशी, ताजपुरिया, गन्गाईलगायतका आदिवासीको विशेष र मौलिक परिकार हो । पूर्वी मधेशतिर जाडोयाममा बाटोछेउ भक्का बेच्नेहरूको, खानेहरूको लाइन ठुलै हुन्छ । नवआगन्तुकलाई यो दृश्यले, भक्का महोत्सव नै पो चलिरहेको छ कि भन्ने झल्को दिन्छ । भक्का आजकाल पूर्वी तराईका सहरको सौन्दर्यता बनेको छ । स्वस्थकर खाजाको परिकार बनेको छ, भक्का । भक्का बनाउने महिला हुन्छन् । खासगरी, आदिवासी समुदायको यो मौलिक खाना आजकाल सहरबजारमा सबै समुदायका महिलाले बेचिरहेका हुन्छन् ।

 

यो अदिवासीको पहिचान बोकेको खाना हो । भक्का चामलको पिठोबाट बनाइने परिकार हो । यो पानीको वाफबाट बनाइन्छ । नयाँ चामललाई करिब दुई घण्टासम्म पानीमा भिजाउनुपर्छ । पानीबाट निकालेर थिग्य्राइन्छ । अनि ओखली, ढिकी वा मिलमा कुटेर पिठो तयार पारिन्छ । चाल्नीले चालेर पिठोलाई मसिनो बनाउनुपर्छ । त्यसपछि थोरै पानी हालेर मुछ्नुपर्छ । पानीले मुछेर पिठोलाई नरम बनाइन्छ । त्यसपछि एउटा भाँडामा पानी उमालिन्छ । भाँडामाथि माटोबाट बनाइएको दुलो परेको ढक्कन राख्नुपर्छ । उक्त ढक्कनलाई भाँडाभित्रको वाफ कतैबाट ननिस्किने गरी राख्नुपर्छ । उम्लिएको पानीबाट निस्किने वाफमाथि भक्का बनाइने गरिन्छ । पानीले मुछेर नरम बनाएको पिठोलाई बटुकामा हालेर नरम सुतीको कपडाले बेरेर वाफ निस्किँदै गरेको ढक्कनमा राखेपछि भक्का पाक्छ । वाफमा भक्का पाक्न दुई मिनेट लाग्छ । ‘हाम्रो त हजुरआमाले पनि भक्का बनाएको थाहा छ । आमाले पनि बनाउनुहुन्थ्यो । जाडो महिनामा हामी सधैँ यही खाजा खान्थिम्,’ रुक्मणि भन्छिन्, ‘यो त हाम्रो संस्कार पनि हो । हामीले पाहुनालाई सत्कार गर्न पनि यही भक्का दिन्छौँ । घरमा त माछा, बन्दागोभी, भन्टा, आलुलगायतको तरकारीसँग भक्का खान्छौँ । तर, यसरी व्यापार गर्दा त अचारसँग मात्र हुन्छ ।’

 

पहिला पूर्वी तराईका आदिवासीको मौलिक खाजा भक्का अहिले सबैको प्रिय खाजा बनेको छ । आदिवासीले घरमै खाने यो खाजा अहिले सहर बजारमा पुगेको छ । यसैबाट आदिवासी महिलाहरूले जीविकोपार्जन गर्ने माध्यम बनाएका छन् । ‘हामीले आमाबाट सिक्यौँ । पुर्खादेखि नै चल्दै आएको भक्का अहिले सबैको खाजा बनेको छ । जाडो महिनामा खानेको भिड नै हुन्छ । बिहान ६ बजेदेखि ९ बजेसम्म त हातखाली नै हुँदैन,’ कमल– ५ मंगलबारे बजारमा भक्का बेच्दै गर्दा भेटिएकी मायाकुमारी राजवंशी भन्छिन्,‘चामलको मात्र बनाइन्छ । यसमा केही मिसाएको हुँदैन । तसर्थ, स्वस्थकर हुन्छ भनेर सबै खाना आउँछन् । हाम्रो परिवार चलाउन पनि सहज भएको छ ।’

 

कमल गाउँपालिका– ५ की जितन ताजपुरिया पाँच वर्षअघिसम्म मजदुरी गर्थिन् । शरीरमा बुढ्यौली लाग्दै गएपछि मजदुरी गर्न छाडिन् । अनि रोजिन् भक्काको व्यापार । उनकी आमाले पनि यही व्यापारबाट जीविकोपार्जन गरेकी थिइन् । आमाले सिकाएको यो शिल्पले आज उनको जीवन धानेको छ । बिहान ४ बजे नै कमल– ५ को मंगलबारे बजार निस्किन्छिन् । भक्का बेचेर उनी १० बजे घर पुग्छिन् । ‘जाडो महिनामा त ६ जनाको परिवार मज्जाले चल्छ । सबै खर्च कटाएर दिनमा एक हजार बढी बच्छ । अरू महिनामा चाहिँ अलिक गाह्रो नै हुन्छ,’ उनी भन्छिन्, ‘यो त आमाले सिकाएको सीप हो । आमाले गौरादह बजारमा भक्काको व्यापार गर्नुहुन्थ्यो । त्यो वेला त एक रुपैयाँमा भक्का पाइन्थ्यो । बजारमा नबिकेको भक्का खेतमा काम गर्दै गरेका कामदारकहाँ लगेर धानसँग साट्नुहुन्थ्यो ।’

 

०७४ सालदेखि पूर्वको झापा, मोरङ र सुनसरीमा प्रत्येक वर्ष पुस २९ गते राष्ट्रिय भक्का दिवस बनाउन थालेको छ । राजवंशी समुदायका युवाहरू सम्मिलित कोचिला गाभुर फ्रन्टले दिवसको सुरुवात गरेको थियो । पछिल्लो समय राजवंशी जातिको जातीय संस्था राजवंशी समाज विकास समितिले नै स्वामित्व लिएर दिवस मनाउँदै आएको समितिका अध्यक्ष अभय राजवंशीले जानकारी दिए ।