• वि.सं २०८१ माघ १० बिहीबार
  • Thursday, 23 January, 2025
जिम्मी कार्टर
२०८१ पौष २० शनिबार १०:३९:००
इतिहास

जिम्मी कार्टरको नेपाल डायरी

२०८१ पौष २० शनिबार १०:३९:००
जिम्मी कार्टर

 

अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टरको सय वर्षको उमेरमा डिसेम्बर २९ मा निधन भयो । उनी पटक–पटक नेपाल आएका थिए । विश्वशान्ति, मानव अधिकार र प्रजातन्त्रको पैरवी गर्न कार्टर पहिलो संविधानसभाको निर्वाचनताका नेपालमा नौ दिनसम्म बसेका थिए । यसक्रममा उनले तत्कालीन प्रधानमन्त्री तथा कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला, एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाल, माओवादी अध्यक्ष प्रचण्ड र माओवादी नेता डा. बाबुराम भट्टराईसँग सामूहिक छलफल गरेका थिए । त्यस्तै, संविधानसभा निर्वाचनको पर्यवेक्षण गर्दै विभिन्न मतदान केन्द्रको भ्रमणसमेत गरेका थिए । ६ अप्रिलदेखि १४ अप्रिल २००८ सम्मको भ्रमणबारे कार्टरले डायरी लेखेका थिए :

 

१० वर्षे क्रान्तिकारी युद्ध अन्त्य गर्नका लागि सहयोग पुर्‍याउन र नेपालका राजनीतिक खेमालाई शान्तिपूर्ण रूपमा मिलाउने प्रयत्नस्वरूप सन् २००३ देखि नै कार्टर सेन्टर गहिरो गरी नेपालमा संलग्न छ । मैले नोभेम्बर २००७ मा संविधानसभाको निर्वाचनका लागि हौसला प्रदान गर्न नेपाल भ्रमण गरेँ । दुईपटक सारिएको निर्वाचनको अनुगमन गर्न हालैका दिनमा (६ देखि १४ अप्रिल, २००८) हाम्रो टोली जम्मा भयो । 

 

झन्डै १५ महिनादेखि हामीले यस निर्वाचनको पर्यवेक्षणका लागि टोली खटाएका थियौँ । उनीहरू सबै ७५ जिल्ला पुगेका थिए । पूरै देश र यहाँ रहेका द्वन्द्वरत राजनीतिक खेमाबिच परिचित हुने यो अवसर थियो । 

 

एट्लान्टाबाट हामी आएपछि डा. जोन हार्डम्यानसँग भेट्यौँ । त्यसपछि पूर्वअमेरिकी राजदूत पिटर बर्लेघ, डेभिड पोटी, ड्यारेन न्यान्स, सराह लेभित सार र अन्यले ब्रिफिङ गरे । हाम्रा २१ देशका ६० जना अन्तर्राष्ट्रिय पर्यवेक्षक दुर्गम क्षेत्रमा हेलिकोप्टर, गाडी र पैदलै पनि पुगेका थिए । 

 

थाइल्यान्डका पूर्वउपप्रधानमन्त्री डाक्टर सुराकीआर्ट साथिराथाई मेरा सहअध्यक्ष थिए । उनले हाम्रो मिसन सफल बनाउन प्रभावकारी भूमिका खेले । हाम्रो टिममा युरोपेली युनियन, एसियन नेटवर्क फर फ्री इलेक्सन्स र हजारौँ घरेलु पर्यवेक्षक थिए ।

 

राजाले निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गरेपछिका महिनामा तीन प्रमुख पार्टी नेपाली कांग्रेस, माओवादी र एमालेले निर्वाचन प्रक्रिया र संविधानसभा गठनबारे ठुलो छलफल गरे । जुन र नोभेम्बरमा दुईपटक निर्वाचन सरेपछि अन्ततः तीन पार्टी ६०१ सदस्यीय संविधानसभा बनाउन तयार भए ।

 

एकपटक निर्वाचन भएपछि, यस निकायले झन्डै दुई वर्षसम्म सरकार गठन र संविधान निर्माणको दुवै काम गर्नेवाला थियो, जसले गणतन्त्र घोषणा गर्दै २४० वर्ष पुरानो हिन्दू अधिराज्यलाई रूपान्तरण गर्नेवाला थियो ।

 

त्यहाँ दुई निर्वाचन एकसाथ हुँदै थिए । एउटा, प्रत्यक्ष निर्वाचन, विभिन्न भूगोलबाट २४० जना निर्वाचित हुँदै थिए । अर्कोतर्फ समानुपातिक प्रतिनिधित्व । जसमार्फत ३३५ सदस्यका लागि सिट छुट्याइएको थियो । देशभरबाट पार्टीलाई आउने मतका आधारमा समानुपातिकतर्फ सदस्य निर्वाचित हुन्थे । यसबाहेक २६ जना सदस्यलाई नयाँ क्याबिनेटले नियुक्त गर्न सक्ने प्रावधान थियो । समानुपातिकतर्फ हरेक पार्टीको सूचीमा ५० प्रतिशत महिला, ३८ प्रतिशत जनजाति, ३१ प्रतिशत मधेशी, १३ प्रतिशत दलित र ३० प्रतिशत अन्य समुदायका लागि आरक्षण थियो । एउटा व्यक्तिले एकभन्दा बढी आरक्षणको प्रतिनिधित्व गर्न सक्थ्यो, जस्तो– मधेशी दलित महिला । यसको अर्थ, उदाहरणका लागि संविधानसभामा झन्डै २५–३० प्रतिशत महिला सदस्य हुन पाउँथे ।

 

माओवादीले सम्पूर्ण निर्वाचन प्रक्रिया समानुपातिक प्रतिनिधित्वका आधारमा हुनुपर्ने जोड गरेको थियो । तर, अन्त्यमा उसले माथि उल्लेख भएजसरी सहमति गर्नुपर्‍यो । समानुपातिकतर्फ निर्वाचनको परिणाम सार्वजनिक भइसकेपछि प्रतिनिधि चयन हुन्थे । मुख्ययता, पार्टीका शीर्ष नेताले चयन गर्थे ।

 

जेसुकै अवस्थामा पनि पहिले किनाराकृत गरिएका मानिसलाई सरकारमा भूमिका दिने यो एउटा महान् कदम थियो, विश्वका झन्डै सबै देशभन्दा बढी महिलाको सहभागिता हुँदै थियो ।

 

पहिलो दिन हामीलाई अमेरिकी राजदूत न्यान्सी पावेलले ब्रेकफास्टमा राम्रो ब्रिफिङ गरे । त्यसपछि हामीले प्रधानमन्त्री तथा कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला, एमाले महासचिव माधवकुमार नेपाल र माओवादीका अध्यक्ष प्रचण्ड तथा नेता डा. बाबुराम भट्टराईसँग भेट्यौँ ।

 

सबै नेता आफ्नो पार्टीको विजयलाई लिएर अति आत्मविश्वासी थिए । उनीहरूसँग आगामी प्रधानमन्त्री बन्ने अपेक्षा थियो । हामीले निर्वाचन आयोगसँग पनि भेट्यौँ । नेपालमा निर्वाचनको वातावरण बनाउन यसले प्रशंसनीय भूमिका खेलेको थियो । त्यस्तै, आइएफइएस र एनडिआईसँग निर्वाचन कानुन र मतदान प्रक्रियाबारे पनि ब्रिफिङ लियौँ । पछि मैले नेपालका स्थानीय मिडियालाई अन्तर्वार्ता पनि दिएँ । र, हामीले बेलायती राजदूतावास तथा निर्वाचन आयोगले आयोजना गरेको रिसेप्सनमा पनि सहभागिता जनायौँ ।

 

बुधबार, ब्रिटिस राजदूत एन्ड्रियु हलसँग ब्रेकफास्ट सेसनमा थियौँ । हलले आफ्नो युवाकाल नेपालका हिमाली क्षेत्रमा मानवशास्त्रको अनुसन्धानमा बिताएका थिए । हाम्रो निर्वाचन पर्यवेक्षण मिसनमा बेलायत, डेनमार्क, क्यानडा र बेल्जियम सरकारमध्ये प्रमुख दाता थिए । त्यसपछि हामीले नेपालमा रहेका प्रमुख कूटनीतिज्ञमध्ये एक भारतीय राजदूत शिवशंकर मुखर्जीसँग भेट्यौँ ।

 

नेपालका प्रधानमन्त्री र अन्य नेताले भारतको हस्तक्षेपलाई लिएर धेरै संवेदनशील रहेको बताएका थिए, दुई देशबिच ११५० माइल लामो दक्षिणी खुला सीमा छ ।

 

भारतले पछिल्ला कठिन महिनामा दलबिचको गठबन्धन कायम राख्ने, सहमति गराउने र शान्ति प्रक्रियालाई साथ दिन महत्वपूर्ण सहयोग गरेको थियो । भारतीय राजदूत एक लाख माओवादी सेनाको भविष्यको तालिम र रोजगारीका विषयलाई लिएर विशेष चिन्तित थिए ।

 

योङ कम्युनिस्ट लिग (वाइसियल) नेता गणेशमान पुन र दिलिप प्रजापतिले हामीलाई उनीहरूसँग झन्डै पाँच लाख सदस्य रहेको सुनाए । उनीहरूले पुराना राजनीतिकर्मीले राजनीतिक समर्थन गुमाएको र विजयलाई लिएर आफू विश्वस्त रहेको बताए । हामीले निर्वाचनका दिनमा जोसुकै पनि स्तब्ध हुन सक्छ भनेर विश्वस्त गराउने प्रयास गर्‍यौँ । उनीहरूले आफूप्रतिकूल नतिजा आए पनि त्यसलाई स्विकार्ने प्रतिबद्धता र इच्छाशक्तिबारे बताए ।

 

पर्यवेक्षक मिसनका रूपमा हामीले अन्य अन्तर्राष्ट्रिय पर्यवेक्षकका प्रतिनिधिमण्डल पनि भेट्यौँ, यसपटक युरोपेली युनियन र एएनएफआरइएलसँग भेट भयो । उनीहरूले एक सय पर्यवेक्षक परिचालन गरेका थिए । हामीले उनीहरूलाई सकेसम्म धेरै सूचना र जानकारी दियौँ । हामीले आफ्नो काममा धेरैभन्दा धेरै समन्वय गर्‍यौँ, सर्वसाधारण र मिडियालाई निर्वाचन प्रक्रियाबारे कुनै द्विविधा नहोस् भनेर यस्तो गरेका थियौँ ।

 

पछि, हामीले आफ्ना योजनाबारे संयुक्त राष्ट्र संघ निर्वाचनविज्ञ पर्यवेक्षक समूह र अन्य विभिन्न साना समूहसँग पनि छलफल गर्‍यौँ । हामीले नेपालका सेनाप्रमुख रुकमांगद कटवालसँग पनि भेट्यौँ । यतिवेला माओवादी सेना शिविरमा र उनको सेना ब्यारेकमै सीमित थियो । लामो द्वन्द्वपछि उनी आफ्नो कमान्डमा रहेको ९५ हजार नेपाली सेनाको स्वाभिमानका विषयमा रक्षात्मक थिए । 

 

हामीले निर्वाचनका दिन काठमाडौंआसपास सकेसम्म धेरैभन्दा धेरै मतदान केन्द्र भ्रमण गर्‍यौँ । र, निर्वाचन आयोगको प्रक्रियालाई धेरै हदसम्म पालना गरिएको पायौँ । लामो र फरक लाइनमा उभिएका महिला र पुरुष दुवै निकै उत्साही देखिन्थे । ६० प्रतिशतभन्दा धेरैले मतदान गरे । केही समस्याका बाबजुद देशका झन्डै चार सय मतदान केन्द्रमा पुगेका हाम्रा पर्यवेक्षकले यस्तै अवस्था रहेको पाए । मतगणनाका लागि ७५ वटा इलाकामा मतपत्र ढुवानी गर्नुपर्ने थियो । हामीले यो प्रक्रियालाई पनि अवलोकन गर्‍यौँ । 

 

हाम्रो मुख्य चिन्ता माओवादीले हारेर फेरि हतियार उठाउला भन्ने थियो । तर, नतिजाअनुसार उनीहरूले राम्रो जित हासिल गर्ने स्पष्ट देखियो । अन्तिम नतिजा आउन झन्डै १० दिन लाग्नेछ, तर उनीहरू ठुलो पार्टी हुने देखिएको थियो । एमालेका लागि यो नतिजा सबैभन्दा नराम्रो रह्यो ।

 

नौ हजार ८२१ मतदान केन्द्रमध्ये एक सयवटाभन्दा बढीमा विवाद थियो । जो अघिल्ला निर्वाचनको दाँजोमा निकै कम थियो । त्यहाँ केही सातापछि फेरि निर्वाचन हुनेछ । हामीले प्रारम्भिक नतिजाको केही संकेत देखिएपछि प्रमुख पार्टीका नेतासँग भेट्यौँ । र, राजतन्त्र पक्षधर दुई समूहसँग पनि भेट्यौँ । 

 

प्रधानमन्त्री निकै त्रस्त थिए । उनका परिवारका सदस्यले आफ्नो पकड मानिएको जिल्लामै हारेका थिए । एमालेका महासचिवले उम्मेदवारी दिएका दुइटै निर्वाचन क्षेत्रमा हारे । त्यसपछि उनले पदबाट राजीनामा गरे ।

 

हामीले प्रचण्ड र भट्टराईलाई जितमा संयमित हुन आग्रह गर्‍यौँ । अन्य पार्टीप्रति उदार हुन आग्रह गर्‍यौँ । त्यस्तै, पुरानो प्रतिबद्धताअनुसार गठबन्धन सरकार बनाउन आग्रह गर्‍यौँ । उनीहरूले आफ्नो प्रतिबद्धता पूरा गर्ने वचन व्यक्त गरे । शान्ति, प्रजातन्त्र, स्वतन्त्र उद्यम र आर्थिक प्रगतिका लागि प्रतिबद्ध रहेको उनीहरूको भनाइ थियो ।

 

हाम्रो पर्यवेक्षक समूह र अन्य समूहहरूको रिपोर्ट प्राप्त भइसकेपछि हामीले पत्रकार सम्मेलन गरेर सामूहिक फोटोग्राफ लियौँ । त्यसपछि साँझको खानाका लागि निस्कियौँ । विभिन्न देशले निर्वाचनलाई मान्यता दिइरहेका थिए । हाम्रो दीर्घकालीन पर्यवेक्षण सफल भयो ।

 

हाम्रो सेन्टरले पर्यवेक्षण गरेका ७० वटा निर्वाचनमध्ये यो सबैभन्दा धेरै रुपान्तरणकारी थियो । क) यसले वर्षौंदेखिको सैन्य र राजनीतिक द्वन्द्व अन्त्य गर्‍यो । ख) यसले सरकारको संरचनालाई राजतन्त्रबाट प्रजातान्त्रिक गणतन्त्रमा पूर्णतः परिवर्तन गर्नेवाला थियो । ग) किनाराकृत समुदायका ठुलो संख्यामा मानिसले पूर्णतः कानुनी हैसियत र सम्भवतः उच्च सामाजिक हैसियत पाउनेवाला थिए । यो निकै सन्तोषजनक र उत्कृष्ट अनुभव थियो ।

 

रोसलिन (पत्नी), जेफ र म आइतबार बिहान प्लेनमार्फत तेलअभिभ आयौँ । हामीले इजरायल, प्यालेस्टाइन, इजिप्ट, जोर्डन, सिरिया र साउदी अरेबियामा कार्टर सेन्टरको मिसन सुरु गर्दै थियौँ ।

 

(यो सामग्री कार्टर सेन्टर डट ओआरजीबाट अन्वेषण अधिकारीले अनुवाद गरेका हुन् ।)