• वि.सं २०७६ कार्तिक ५ मंगलबार
  • Tuesday, 22 October, 2019

‘मिस्टर गोर्वाचोभ ! टियर डाउन दिस् वाल’

२०७६ जेठ १८ शनिबार ०७:१४:००

यात्रा
सन् २०१८ जुलाईको एउटा घमाइलो बिहान ।यसरी घाम लागेको थियो, चितवनको दिउँसोको घामजस्तो । साँच्चै यसपटक युरोपमा संसारभर लाग्ने घाम यहीँ घोप्टिएजस्तो अनुभव गरिरहेको थिएँ ।पार्कमा हरिया हाँस्ने दुबो सुक्दै थिए, चमरा लागेका मकैका बोटहरू पनि सुक्दै थिए, रूखका पात पनि सुक्दै थिए । तर, मानिस भने खुसी थिए । चिसो हुने ठाउँमा घाम प्यारो हुन्छ । युरोपियनहरू घामलाई धेरै प्रेम गर्छन् ।

घामले पनि यसपटक युरोपलाई बढी नै प्रेम गर्दै थियो ।कहिलेकाहीँ धेरै प्रेम भयो भने हरियाली यसरी सुक्दो रहेछ । तर, मानिस भने चर्को घाममा अझ रसिला देखिएका थिए ।यस्तोवेला हामी विभाजनकालमा पूर्वी भेगमा परेको जर्मनीको एउटा क्षेत्र घुम्न निस्केका थियौँ । म गइसकेको ठाउँ भएकाले मेरो साथमा रहेका दुई लेखक रवीन्द्र र अमरलाई पूर्वी जर्मनीबारे फर्माउँदै थिएँ । साथमा कान्छो छोरा अनुकृत र चालक जोसेफ पनि थिए । यी दुई लेखक पहिलोपटक युरोप घुम्दै थिए । त्यसैले, उनीहरूका आँखाले धेरै कुरा देख्दै थिए । उनीहरूको कानको ध्यान मेरो बोलीतिर र आँखाको ध्यान गाडीको झ्यालबाट देखिने दृश्यतिर केन्द्रित थियो ।देखिएका कतिपय ऐतिहासिक दृश्यसँग इतिहास जोडेर आफूले थाहा पाएसम्मका विषय दुई लेखकलाई सुनाउँदै थिएँ । सुनाइसकेपछि अनुकृततिर फर्किएर सोधेँ– हैन त कान्छा ? 

अनुकृतले स्कुलमा जर्मनी मात्र होइन, पूरै युरोपको इतिहास र भूगोलबारेमा पढेका छन् । अचेल मेरा लागि दोस्रो गुगल भन्नु नै छोराहरू अनुराग र अनुकृत भएका छन् ।
मैले अनुकृतलाई भनेँ, ‘ल बाँकी कुरा तिमीले भनिदेऊ त अंकलहरूलाई ।’त्यसपछि अनुकृतले फर्माउन थाले । उनको फर्माइमा कतिपय विषय मलाई पनि नयाँ लाग्दै थियो भने कतिपय ठाउँमा म थप्दै पनि थिएँ । जस्तो कि, ‘पूर्वी भागमा रुसी मोडलको समाजवादी शासन थियो भने पश्चिमी भागमा अमेरिका, बेलायत र फ्रान्सको योजनामुताबिक प्रजातान्त्रिक शासन व्यवस्था । ती छिमेकी झन्डै त्यस्तै थिए, जस्तो आज एउटै भाषा र जातिका भएर पनि उत्तर कोरिया र दक्षिण कोरिया बनेका छन् ।’

हाम्रा चालक जोसेफ, क्रोएसियाका एक गोरा, अग्ला र पातला नौजवान युवक । रूसमा भर्खर २१औँ संस्करणको विश्वकप फुटबल सकिएको थियो । तर, रौनक बाँकी नै थियो । पहिलोपटक फाइनलमा पुगेको क्रोएसिया र त्यहाँकी सुन्दरी राष्ट्रपति कोलिन्दा ग्राबरको खुब चर्चा थियो । उनले आफ्नो देशका खेलाडीप्रति देखाएको न्यानो अभिभावकत्वको र मस्कोमा खेल हेर्न आफ्नो देशको जर्सी लगाएर आममानिस बस्ने स्थानमै बसेर खेल हेर्नुले उनको चर्चा विश्वभर चुलिएको थियो ।

जोसेफ त्यसैले पनि आफैसँग मक्ख थिए । बिहान यात्रामा हिँड्ने वेला होटेलमा ब्रेकफास्ट गरेपछि केही खान्की प्याक गरेर हामीले गाडीमा राखेका थियौँ । कति आँखा र कानलाई मात्र कजाउनु भनेर केही समय मुखलाई पनि कजायौँ । किनभने, पेटलाई कजाउनु थियो । हुन त बोलेर पनि मुख कजिन्छ । तर, मुख बोलेर मात्र सन्तुष्ट हुँदैन, खानु पनि पर्छ । खाएपछि मुखसँग सबैभन्दा खुसी हुने भनेको पेट नै हो । हामी पूर्वी जर्मनीको वाइमार सहरनजिक आइपुग्यौँ । अभिशप्त इतिहास सम्झिएर होला, घाम लागिरहे पनि मनमा भने शीत परिरहेको थियो । जोसेफ गाडी पार्क गर्ने ठाउँ खोज्दै थिए । अमर र अनुकृत फोटो खिच्दै थिए । रवीन्द्र कस्तो होला यातनागृह भनेर उत्साहित देखिन्थे । एकैछिनमा हामी वाइमार सहरनजिक रहेको हिटलरको बुखेनभाल्ड यातनागृहमा पुग्यौँ । बुखेनभाल्ड यातनागृह पुग्नुको अर्थ हो, हिटलरको शासनकालमा भएको अत्याचारको सानो नमुना हेर्नु ।
हामी हिटलरलाई अहिलेको समयमा उभ्याएर हेर्न खोजिरहेका थियौँ र अनेक प्रश्न गरिरहेका थियौँ ।

– हिटलर नजन्मिएको भए ? 
– जन्मिइहाले पनि जर्मनीको चान्सलर र फ्युरर नभएको भए ?
– चान्सलर भइहाले पनि ६० लाख यहुदीलाई ग्यास च्याम्बरमा नमारेको भए ? 
– दोस्रो विश्वयुद्ध नभएको भए ? 
– भइहाले पनि जर्मनीले जितेको भए ?
– आजको युरोपको नक्सा कस्तो हुन्थ्यो होला ? विश्वको नक्सा कस्तो हुन्थ्यो होला ? 
यी त उत्तरविनाका प्रश्न मात्रै हुन् । हामी एउटा क्रूर इतिहासको अवशेष हेर्न थाल्यौँ– हिटलरले आफ्ना लाखौँ विरोधीलाई कसरी यातना दिएर मारेका थिए ! 
हामी आफूलाई साक्षी राखेर त्यस ठाउँको फोटो खिच्दै थियौँ । अरू वेला उति नहाँस्ने मानिस पनि फोटो खिच्दा हाँसिदिन्छ । त्यो हाँसो आफ्नो लागि भन्दा पनि फोटाका लागि हो । कसैले फोटो हेर्दा भनोस्, ‘तपाईं यो समय कति सुखी हुनुहुँदो रैछ ।’ प्रायः नहाँस्ने मानिस पनि फोटो खिच्दा मुस्कान भरिहाल्छ ।

‘यो ठाउँमा त फोटो खिच्दा पनि हाँस्नु हुँदैन,’ हामीले फोटो खिच्नै लाग्दा अनुकृतले भने, ‘लाखौँ मानिस ६ वर्षसम्म दुःखले रोएको ठाउँमा कसरी हाँस्नु ?’
मैले त्यहाँ भएका केही क्रूर कहानी सुनाएँ । हाम्रो ओठको खुसी अझ भित्र दब्दै गयो । संसारको ‘सर्वश्रेष्ठ’ हुन्, जसले यो घटना घटायो उसलाई सम्झँदा हामीले धिक्कारिरहेका थियौँ । यसरी कत्तिले धिक्कारे होलान् ? 

मरेपछि मानिसको आत्माले यी सबै कुरा देख्ने हो भने सबैभन्दा बढी हिटलरको आत्मा रोइरहेको होला, मैले यति ठूलो अपराध किन गरेँ भनेर । त्यसै रात अमरले फेसबुकमा एउटा मर्मस्पर्शी स्टाटस पोस्ट गरे । लेखेका थिए, ‘क्यामराका आँखाले हेरेपछि हाम्रा ओठ मुसुक्क हाँसे । हामी हाँसेको देखेर आधा संसार घुमिसकेका अनुकृतले भने, ‘यहाँ नहाँस्नु होला । यो ठाउँमा त फोटो खिच्दा पनि हाँस्नु हुन्न ।’

हामी कुरुक्षेत्रभन्दा पनि क्रूर अवशेष भएको भूमिमा थियौँ, जहाँ हिटलरले ५० देशका दुई लाख ७७ हजार मानिसलाई श्रमका लागि बन्दी बनाएका थिए । कति डोज दिँदा मानिस मर्छ भनेर प्रत्येक बन्दीउपर डेथ मेडिसिनको प्रयोग गरिएको थियो । सन् १९३७ मा स्थापना भएको यो बन्दीगृहमा सन् १९४५ सम्म ५६ हजार बन्दी मारिएका रहेछन् ।  दोस्रो विश्वयुद्धको विजेता अमेरिकी सैनिकले सन् १९४५ मा बाँचेका बन्दीलाई मुक्ति दिलाएको यो ठाउँ पछि रुसको अधीनमा पुग्यो, जसलाई १९५० मा जर्मन विभाजन भएपछि सोभियत सेनाले पूर्वी जर्मनीलाई सुम्पिएको थियो, जसमध्ये केही भागेर अमेरिका पुगेका थिए ।यो यातनागृहबाट मुक्त भएकामध्ये केहीले त नोबेल पुरस्कारसमेत पाएका रहेछन् । नोबेल पुरस्कार विजेता साहित्यकार एलिभिसेलले यहाँ पाएको यातनाबारे १० वर्षसम्म कसैलाई बताउन सकेनन् । यातनागृहको भ्रमणपछि अलिड फोर्सका कमान्डर जनरल ड्वाइट औइजनहावरले भनेका थिए, ‘यो स्थल यति त्रासदीपूर्ण होला भन्ने मैले कल्पना पनि गरेको थिइनँ ।’

त्यहाँबाट फर्कंदै गर्दा हामी कम बोलिरहेका थियौँ । केही थाकेजस्ता केही उदासिएजस्ता भएका थियौँ । बरू अनुकृत नै केही बोलिरहेका थिए । खेलकुद र विश्वको आर्थिक मोडलमा ध्यान दिने अनुकृतमा इतिहासप्रति पनि रुचि पलाउन थालेको कुरा उनको जानकारीबाट महसुस भयो । मैले उनलाई जर्मनी एकीकरणको इतिहास बताएको थिएँ । उनले त्यसलाई थप अध्ययन गरेर ऐतिहासिक तथ्यसहित मैले बिर्सेका कतिपय कुरा बताइरहेका थिए ।‘अँ साँच्ची, तपाईं त पूर्वी जर्मनीको अस्तित्व हुँदा पनि धेरैपटक यहाँ आउनुभयो है ?’ अलिकति यात्रा गरेपछि अमर एकाएक उत्साहित भए ।‘हो आएको थिएँ,’ मैले आफ्नो पुरानो यात्राको स्मरण गरेँ ।‘यो दुई घन्टाको यात्रामा तपाईंको पूर्वी जर्मनीको वृत्तान्त सुन्नुपर्ला,’ रवीन्द्रले थपे ।

‘हो हो, पापाको कुरा पनि ट्राभलग पढेझैँ लाइभ हुन्छ,’ अनुकृतले भने, ‘पापाले हामीलाई पुराना धेरै कुरा सुनाउनुभएको छ । जति सुने पनि रमाइलो लाग्छ ।’ मैले सोभियत संघ अध्ययन गर्दाका दिन सम्झिएँ, युवा उमेर सम्झिएँ । पुराना घर, समाजवादी शासन र बर्लिनको पर्खाल हुँदै यो सहर प्रवेश गर्दा स्टालिन शैलीमा बनेका सामूहिक घर देख्दा मैले त्यतिवेलाका सहपाठी साथीहरू शीतल गुप्ता र दीपक कंसाकारलाई सम्झिएँ, जोसँग मैले कयौँपटक सँगसँगै त्यस क्षेत्र घुमेको थिएँ । हामी कलेज छुट्टी हुँदा रुसबाट पोल्यान्ड, पूर्वी जर्मनी हुँदै पश्चिम जर्मनी जाने गथ्र्यौँ । निजी प्रयोजनका लागि विदेशबाट आउँदा विद्यार्थीले लिएर आउन मिल्ने सुविधाका सामग्री खरिद गरेर पुनः त्यही बाटो हुँदै रेलबाट हामी मस्को फर्कंन्थ्यौँ । हामीकहाँ झिटीगुन्टा सुविधामा समान ल्याएजस्तै ! 

६ नोभेम्बेर १९८७ मा मस्कोको बेलारुस्की स्टेसनबाट पहिलोपटक बर्लिनको यात्रामा निस्क्यौँ । यात्रामा शीतल गुप्ता, दीपक कंसाकार र अरू केही अग्रज दाइहरू थिए । जर्मनीलगायत पश्चिमी मुलुकमा उत्पादन हुने उपभोग्य सामग्रीप्रति रुसी जनतामा ठूलो मोह थियो । सोभियत संघले अमेरिकासँग सैन्य होडबाजीमा प्रतिस्पर्धा गर्ने हैसियत राखे पनि नागरिकका दैनिक जीवनमा चाहिने उपभोग्य सामग्रीको त्यहाँ सधैँ अभाव हुन्थ्यो, जसलाई विदेशी विद्यार्थीले थोरै भए पनि पूरा गर्थे ।

पूर्वी बर्लिनको फ्रेइडरिखस्ट्रास्से स्टेसन पुगेपछि रेल रोकिन्थ्यो । यो स्टेसनमा कोपनहेगन, स्टकहोम, पेरिस र मस्को एक्सप्रेसको भेट हुन्थ्यो । दोस्रो विश्वयुद्ध हुनुअघि विशाल र शक्तिशाली जर्मनीका लागि चारैतिरबाट सामान ल्याउने र लैजाने यो स्टेसन महत्वपूर्ण  थियो । पश्चिम जर्मनी पूर्वी जर्मनीका लागि मात्र होइन, रुसी नागरिकका लागि पनि सपनाको देश थियो । साम्यवादी व्यवस्था सुरु भएको चार वर्षपछि नै सन् १९५३ मा पूर्वी जर्मनीमा विरोध प्रदर्शन सुरु हुन थालिसकेको थियो ।

आठ वर्षमा झन्डै ३५ लाख मानिस पूर्वी जर्मनीबाट भागेर पश्चिम जर्मनी पुगेका थिए । आफ्ना जनतालाई रोक्न सोभियत संघको सहयोगमा पूर्व जर्मन सरकारले सन् १९६१ मा रातारात बर्लिन पर्खाल बनाएको थियो । २८ वर्षसम्म यो पर्खालले बर्लिन सहरलाई विभाजन ग-यो । यो अवधिमा पर्खाल नाघेर पश्चिम बर्लिन जान खोज्ने झन्डै एक हजार मानिस मारिएका थिए । हजारौँ पक्राउ परेका थिए । हामी त्यही स्टेसनमा ओर्लिएर बर्लिन पर्खालछेउको सीमा नियन्त्रण केन्द्रमा राहदानी चेक गराएर पश्चिमबर्लिन पुग्थ्यौँ !

हामी कुरुक्षेत्रभन्दा पनि क्रूर अवशेष भएको भूमिमा थियौँ, जहाँ हिटलरले दुई लाख ७७ हजार मानिसलाई श्रमका लागि बन्दी बनाएका थिए । यहाँ कति डोज दिँदा मानिस मर्छ भनी प्रत्येक बन्दीउपर डेथ मेडिसिनको प्रयोग गरिएको थियो । 

सीमा पार गरेपछि पश्चिम बर्लिनको ‘जुलोजिकल गार्डेन’ स्टेसनमा पुग्यौँ । अनुभवी अग्रज दाइहरूले दिनभरि विभिन्न पसलमा दौडिँदै किनमेल गरे । हामी उनीहरूका पछिपछि लाग्यौँ । टोनी सप, बिल्का, सिएनएजस्ता पसल चहार्दै सामानको भारी बोकेर हामी साँझ अबेर पुनः त्यही स्टेसन आइपुग्यौँ । जाँदा खाली हात पुगेका हामीसँग फर्कंदा अनेकथरी सामानको ठूलो भारी भएको थियो । ‘फ्रेइडरिखस्ट्रास्से’ रेल स्टेसनसम्म भारी बोक्दा निधारको पसिनाले पैताला चिसो बनाइरहेको थियो । सोभियत संघमा पूर्वी युरोपका उत्पादित उपभोग्य सामग्री उपलब्ध हुन्थे । तर, पश्चिम जर्मनीका सामग्रीको आकर्षण पूर्वी जर्मनीमा उत्पादित सामग्रीको तुलनामा ज्यादा थियो ।

त्यसपछि त के थियो, कलेज छुट्टी भयो कि विद्यार्थीको समूह बर्लिन ताक्दै मस्कोको बेलारुस्की रेल स्टेसन पुगिहाल्थ्यो । कलेज अध्ययनक्रममा छुट्टीमा हामी धेरैपटक बर्लिन पुग्थ्यौँ र फर्कँदा भरियाझैँ पसिना चुहाउँदै लुगा–कपडा र अन्य सामग्री मस्कोसम्म ल्याउँथ्यौँ । यी यात्रामा मैले रुस मात्रै होइन, पूर्वी जर्मनीको समाजवादी शासन पनि मक्किएर ढल्न लागेको महसुस गर्दै थिएँ ।

‘त्यसपछि के भयो ?’ म त आफ्नो इतिहाससँग युरोपको इतिहास मिसाएर अनुभवी वाचकजस्तो पो भइरहेको रहेछु । आफ्नो पुरानो यात्रा संस्मरण सुनाइरहँदा ध्यानपूर्वक सबै मेरै मुख ताकिरहेको बल्ल महसुस भयो ।म भन्दै गएँ– ‘दुवै देशका जनता पूर्वी जर्मनी र पश्चिम जर्मनीबीच एकीकरण गर्नुपर्छ भन्नेमा एकमत थिए । सोभियत राष्ट्रपति मिखाइल गोर्वाचोभको सदासयता र अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनको दबाबका कारण सन् १९९० को अक्टुबर ३ तारिखका दिन दुवै देशबीच एकीकरण भएको घोषणा गरियो ।

जर्मनी एकीकरणपछि आवत–जावत पहिलेजति सहज रहेन । पहिले अनएराइभल भिसा उपलब्ध गराउने देश जर्मनीले हामीलाई त्यसपछि भिसा जारी गर्दा कडाइ सुरु गर्न थाल्यो ।
त्यसयता भने १५ वर्षपछि सन् २००८ मा सबैको छुट्टी मिलाएर सपरिवार बर्लिन सहर घुम्न आएका थियौँ । जर्मनीका तत्कालीन राजदूत मदन भट्टराई र अम्बिका दिदीले स्नेहपूर्वक अनुरोध गर्नुभएकाले तीन दिन हामी अथिति भएर उहाँकै निवासमा बसेका थियौँ । ‘तिमीलाई याद छ ?,’ मैले अनुकृततिर हेरेँ ।‘याद छ पापा । हामीले ती सबै ठाउँ घुमेका थियौँ र तपाईंका सबै पुराना कुरा पनि सुनेका थियौँ,’ उनी १० वर्षपछि पनि उस्तै उत्साहित देखिए ।

यी कुरा भन्दै गर्दा म पुनः रोमाञ्चित भएको थिएँ, जति १० वर्षअघि परिवारसँग घुम्दा भएको थिएँ । त्यतिवेला मैले उनीहरूलाई ती सबै ठाउँ लिएर गएको थिएँ, जहाँबाट मैले आफ्नो व्यावसायिक यात्राका लागि अलिकति भए पनि पुँजी जम्मा गरेको थिएँ । बर्लिनको त्यतिवेलाको प्रसिद्ध ‘बिल्का’ सपिङ मल भत्काएर नयाँ भवन बनिसकेको रहेछ ।‘चेक पोइन्ट चार्ली’मा शीतयुद्धकालीन समयको झझल्को दिने गरी दुई सैनिक पहरा दिइरहेका थिए । तर, ती सीमा नियन्त्रण गर्न नभई पर्यटकसँग केही रकम लिएर फोटो खिचाउने उद्देश्यले त्यहाँ उभिइरहेका थिए ।

पोट्स ड्यामको सांससूची दरबार, ब्रान्देनबर्ग गेट सबै घुमिरहँदा निधारको पसिनाले पैताला भिजाउने गरी भारी बोकेका दिन मैले सम्झिएको थिएँ । ठाउँ–ठाउँमा फोरिएको पर्खालमा उभिएर यसको इतिहास बताउँदै गर्दा मैले देखेँ, हामीजस्ता धेरै पर्यटक बर्लिन पर्खालमा टाँसिएर नमुना सीमा प्रहरीसँग फोटो खिचिरहेका थिए । सायद साँझमा पर्यटकले पनि हामीलेझैँ सामाजिक सञ्जालमा इतिहासका ती काला दिनको सम्झना गर्दै तस्बिर अपलोड गर्नेछन् ।

कुनै वेलाको १५५ किलोमिटर लामो यो पर्खाल अब भने सानो खण्डमा खुम्चिएर ऐतिहासिक सम्पदा भएको छ । १३ फिट अग्लो यो मजबुत पर्खाल नाघेर आफन्त र स्वतन्त्रता खोज्न जाने सयौँ पूर्वी जर्मनहरूले ज्यान गुमाउनु परेको थियो । ‘सायद छिमेकी जनताप्रति जर्मन सरकारले देखाएका दर्जनौँ मानवीय सहयोग र आफ्नो देशको तुलनामा उच्च स्वतन्त्र जीवनप्रति मोहित भएर हुन सक्छ,’ मैले आफ्नो अनुभवका आधारमा भने, ‘पश्चिमको आकर्षण कति प्रबल थियो भने पूर्वी जर्मनीका नागरिकले पश्चिम जर्मनीसँग एकीकरण गर्ने इच्छा गर्दै बर्लिनको पर्खाल भत्काए । संसद्ले पनि बहुमतबाट पूर्वी जर्मनीसँग एकीकरण हुने विधेयक पारित ग-यो । देश एकीकरण हुँदा रक्तपात भएको इतिहास पढ्न पाइन्छ, तर जर्मन एकीकरण भने शान्तिपूर्ण रूपमा सम्पन्न भयो ।’

हामी हिटलरलाई अहिलेको समयमा उभ्याएर हेर्न खोजिरहेका थियौँ र अनेक प्रश्न गरिरहेका थियौँ– हिटलर नजन्मिएको भए ? जन्मिइहाले पनि जर्मनीको चान्सलर र फ्युरर नभएको भए ? चान्सलर भइहाले पनि ६० लाख यहुदीलाई ग्यास च्याम्बरमा नमारेको भए ?

दोस्रो विश्वयुद्धमा नाजी सेनालाई पराजय गर्न अमेरिका, बेलायत, फ्रान्स र सोभियत संघ एक भएका थिए । पोट्सड्याम सम्झौतामा शक्ति राष्ट्रहरूद्वारा जर्मनीलाई चार भागमा विभाजन गरियो– अमेरिकी, बेलायती, फ्रेन्च र सोभियत जोनमा ।सोभियत संघको स्याटेलाइट राज्यका रूपमा चार वर्ष रहेपछि उसको अधिनमा रहेको पूर्वी क्षेत्रमा सोभियत संघले जर्मन डेमोक्रेटिक रिपब्लिक (पूर्वी जर्मनी) स्थापना ग-यो, जहाँ साम्यवादी व्यवस्था सुरु भयो ।

अर्कोतर्फ अमेरिका, बेलायत र फ्रान्स अधिन क्षेत्रमा त्यसै वर्ष फेडरल रिपब्लिक अफ जर्मनी (पश्चिम जर्मनी) घोषणा गरियो । राजधानी बर्लिनमा भने चार देशकै सैनिकको नियन्त्रण रहने व्यवस्था भयो । पूर्वी जर्मनीले राज्य नियन्त्रित अर्थ व्यवस्था अवलम्बन ग-यो, यता पश्चिम जर्मनीले भने खुला बजार अर्थनीति । पूर्वी जर्मनीले आफ्नो राजधानी बर्लिनमै राख्यो भने पश्चिम जर्मनीको राजधानी बोन सहरमा सारियो ।

सन् १९८९ सम्म आइपुग्दा पूर्वीयाहरू त्यहाँको राज्य व्यवस्थाबाट पूर्ण रूपमा निराश भइसकेका थिए । दैनिक उपभोग्य सामग्रीको अभाव, बेरोजगारी आदिले जनताको जीवनस्तर निकै खस्किएको थियो । हंगेरीको सीमा पार गरेर पूर्वी जर्मनीबाट हजारौँ मानिस पश्चिमतर्फ ओइरिन थाले । पूर्वी युरोपका अन्य मुलुकमा साम्यवादी व्यवस्थाविरुद्ध नागरिक आन्दोलन गर्दै थिए ।

यता विरोधको स्वर उर्लनु र सोभियत संघमा मिखाइल गोर्वाचोभले राजनीतिक व्यवस्था खुकुलो पार्नु एकैपटक हुनपुग्यो, जसलाई अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले जर्मनी भ्रमणका क्रममा अझ मलजल गरे । उनले ब्रान्डेनबर्ग गेटमा गरेको भाषणको एक अंश, ‘मिस्टर गोर्वाचोभ ! टियर डाउन दिस् वाल’ अझै पनि चर्चित छ ! त्यही पृष्ठभूमिमा लोकप्रिय बेलायती पप गायक बिल्ली ओसियनले गाएको ‘टियर डाउन दिस् वाल’ त्यति वेलाको बेस्ट सेलर अडियो डिस्क मानिन्थ्यो ।

जर्मनी एक भएको ३० वर्ष भइसक्दा पनि पश्चिम जर्मनीको तुलनामा पूर्वी जर्मनी विकासका दृष्टिले पछि नै परेको देखिन्छ । पूर्वी जर्मनी पुनर्निर्माणका लागि जर्मन नागरिकले अतिरिक्त कर (सोलिडारिटी सरचार्ज) तिर्न थालेको ३० वर्ष भइसकेको छ । कतिले त यसरी अतिरिक्त कर तिर्नुपरेकोमा विरोध पनि गर्दै आएका छन् । गएको निर्वाचनमा यो एउटा चुनावी मुद्दा भएको थियो । एक तथ्यांकअनुसार, एकीकरणपछि पूर्वी क्षेत्रको विकास निर्माणमा संघीय सरकारले दुई ट्रिलियन युरो (बीस खर्ब युरो)भन्दा बढी रकम खर्च गरिसकेको छ । तर, पनि पश्चिमी भागको तुलनामा उनीहरू पछि नै छन् । 

कुराकानी हुँदा दुवैतर्फका मानिस समान रूपमा असन्तुष्ट रहेको म पाउँछु । पश्चिमाको गुनासो छ, ३० वर्षदेखि हामीले तिरेको करबाट उनीहरू मस्ती गर्दैछन् । पूर्वीयाहरू सोच्छन्, हामीलाई भेदभाव गरियो । न पूर्वी भागमा बस्नेहरूले आफूहरू एकै देशका नागरिक हौँ भन्ने सोच्न सके, न त पश्चिमीहरूले उनीहरूलाई सगोत्री सम्झेर आत्मसात् गर्न सकेका छन् ।
विभाजनको त्यो घाउमा खाटो बस्न अझ कति समय लाग्ने हो, थाहा छैन । उनीहरूबीचको सम्बन्ध देख्दा ‘सन्त रहिमदास’को ‘चुँडिएको धागो जोड्न त सकिएला, तर त्यसमा गाँठो भने सधैँ रहिरहन्छ’ भन्ने मर्मस्पर्शी भनाइ सम्झना भइरहन्छ– 
रहिमन धागा प्रेमका मत तोडो चटकाये
टुटे से फिर ना जुटे जुटे गाँठ पर जाये । 

 

प्रतिकृया दिनुहोस