• वि.सं २०८१ माघ २३ बुधबार
  • Wednesday, 05 February, 2025
पवन बराइली
२०८१ पौष २० शनिबार ११:०८:००
रिपाेर्ट

महिलालाई रंगमञ्चमा पनि दोस्रो दर्जामा राखिन्छ

रंगकर्मी पशुपति राईको प्रश्न, सरिता गिरीको उत्तर

२०८१ पौष २० शनिबार ११:०८:००
पवन बराइली

 

लामो समयदेखि रंगमञ्चमा सक्रिय हुनुहुन्छ । पछिल्लो समय नेपाली रंगमञ्चको अवस्था कस्तो देख्नुहुन्छ ?

 

हामी दुई दशकदेखि निरन्तर नाटकमा काम गरिरहेका छौँ । अहिले हरेक नाटक घरमा नाटक मञ्चन भइरहका छन् । दर्शक पनि आइरहनुभएको छ । हिजोआज मलाई नाटकले दर्शकलाई कस्तो प्रभाव पार्‍यो होला भन्ने चासो हुन्छ । त्यसैले म नाटक सकिएपछि दर्शकसँग भेटघाट गर्छु । तर, नाटक हेरेर निस्किएका दर्शकलाई निराश देख्छु । केही नाटकबाहेक अधिकांशले दर्शकलाई निराश बनाएको महसुस भयो । अहिले हामीले कस्तो नाटक गरिरहेका छौँ ? यो आफैँमा जटिल प्रश्न हो । दर्शकले हिजो गुरुकुल, मण्डला, शिल्पी वा अनुप बराल सरले गर्ने पुराना नाटकको स्वाद पनि खोज्नुभएको हो कि ? मलाई पनि अहिले दर्शक भएर नाटक हेर्दा हिजोका मण्डला, गुरुकुललगायत थिएटरका पुराना नाटक ‘मिस’ हुन्छ । हो, नाटकले अलिकति व्यावसायिक सोच राख्नुपर्छ, तर कलाको सुन्दरता हराउनुहुँदैन । अहिलेका नाटकमा कलाको सुन्दरता हराइरहेको छ । अहिले कला मिसिएको नाटक कम हेर्न पाइन्छ ।

 

अहिले रंगमञ्चमा खड्किरहेको मुख्य विषयचाहिँ तपाईंलाई के लाग्छ ? 

 

हिजोआज नाटक ‘हाउसफुल’ भएको सुनिन्छ । दर्शक नाटक हेर्नलाई आइरहनु पनि भएको छ । तर, नाटकको सही समीक्षा भएको देखिँदैन । साँच्चै भन्दा अहिले नाटकमा समीक्षा हराएको छ । नाटकको समीक्षा कथासारको रूपमा मात्रै आउँछ । यो नेपाली रंगमञ्चका लागि दुःखलाग्दो कुरा हो । यो आफैँमा गम्भीर प्रश्न हो ।

 

हिजो नाटकको गम्भीर समीक्षा हुन्थ्यो । नाटक भन्नेबित्तिकै सबैको चासो हुन्थ्यो । धेरैले नाटकको समीक्षा लेख्नुहुन्थ्यो । कुनै पनि नाटक फेस्टिभल जाने भन्नेबित्तिकै बेग्लै उत्साह हुन्थ्यो । पत्रपत्रिकामा रंगमञ्चमको कल्चरको लेखहरू छापिन्थ्यो । विदेशमा हुने नाटकमा फेस्टिलभलहरू पनि एक/दुई जना पत्रकारलाई लगेर गइन्छ । उहाँहरूले त्यहाँको रंगमञ्चको कल्चर देखेर लेख्नु हुन्थ्यो । हिजो पनि फिल्म फेस्टिभल हुन्थे । तर, पनि नाटक फेस्टिभलको बेग्लै महत्व दिइन्थ्यो । कताकता रंगकर्मीले मिडियालाई छोडिरहेका छौँ कि जस्तो लाग्छ ।

 

अहिले फिल्मतिर मात्रै सबैको चासो छ । अहिले नाटक कतै छुटेको हो कि जस्तो महसुस हुन्छ । नाटक घरमा नाटक चलिरहेका पनि छन् । तर, रंगमञ्च अहिले कतै अड्किएको जस्तो हुन्छ । 

 

१०–१५ वर्षअघि पत्रिकामा छापिएको नाटकको समीक्षा वा समाचारले ठुलो महत्व राख्थ्यो । हामीले गरेका नाटकको समाचारको कटिङ राखिन्थ्यो । त्यो हाम्रो जीवनको महत्वपूर्ण दस्ताबेज हुन्थ्यो । अहिले रंगमञ्चमा पनि ‘भाइरल’ भन्ने शब्द छिरेको छ । अहिले मलाई ‘भारइल’ भन्ने शब्दले विचलित बनाइरहेको छ । मलाई चिन्नका लागि सामाजिक सञ्जालमा लाखौँ फलोअर्स चाहिन्छ । त्यसैको आधारमा काम पाइन्छ । तर, हिजो नाटक गर्दा वा फिल्म गर्दा लाखौँ भ्युज चाहिँदैनथ्यो । मेरा लागि पत्रिकामा आएको समीक्षा बढी महत्वपूर्ण थियो । हिजो मेरो सामाजिक सञ्जालमा कति भ्युअर्स छ ? भनेर कसैले सोच्दैनथ्यो । आज इस्टाग्राम, टिकटकमा कति भ्युज छ भनेर सोधिन्छ । कलाकारको क्षमताभन्दा भ्युअर्सबाट धेरै लेखाजोखा गरिन्छ । त्यसका आधारमा काम दिइन्छ ।

 

मैले फेसबुकमा लेखेको स्टाटस पनि भाइरल हुनुपर्छ । हामी अघिल्ला पुस्ताका कलाकारलाई भाइरलले छोपिरहेको छ । हिजो हामीलाई खोज्ने मिडियाले आज नदेखे जस्तो गर्छन् । मिडियाका लागि पनि सरिता गिरी, पशुपति राईहरू भाइरल हुनुपर्छ । मैले रंगमञ्चमा कति वर्ष काम  गरेँ भन्ने कुराले अर्थ नराख्ने रहेछ । हामीलाई समाजिक सञ्जालम भाइरल हुनुपर्छ भन्ने मानसिकताले गाँजेको छ ।

 

रंगमञ्चमा पनि भाइरल हुनुपर्छ भन्ने दृष्टिकोणबाट हेरिन थालिएको छ । जसले गर्दा हामीजस्ता कलाकार ‘डोमिनेटिङ’ भएका हौँ । मैले गरेको काम भाइरल हुन्छ कि हुँदैन । म भाइरल हुन्छु कि हुन्न भन्ने कुराले जटिलता सिर्जना गर्छ । नाटक निर्देशन नगर्नु र नखेल्नुको कारण यो पनि हो । मानौँ, अहिले कुनै एउटा नाटक बबाल चलिरहेको छ । तर, मैले नयाँ नाटक गर्नलाई १० पटक सोच्नुपर्छ । मैले गरेको नाटक ‘भाइरल’ होला कि नहोला भनेर सोच्नैपर्छ । अहिले हामी भाइरलको प्रतिस्पर्धामा छौँ । यसबारे हामी रंगकर्मीबिच समीक्षा गर्ने वेला भएको छ । 

 

तपाईं र मेरा धेरैजसो समकालीन साथीहरू रंगमञ्चबाट पलायन भइसके । नाटकमा भनेजस्तो काम पाइँदैन । फिल्ममा हामीजस्ता कलाकारले काम पाउँन गाह्रो हुन्छ । अब हामी सधैँ गुनासो गर्दै बसिरहने हो त ?

 

मलाई फिल्ममा काम गर्ने इच्छा थिएन । गुरुकुल बन्द नभएको भए फिल्ममा काम गर्दिनथेँ होला । जीवनभर नाटकमा मात्रै अभिनय गर्थें होला । गुरुकुल बन्द भएपछि अब के गर्ने ? भन्ने विकल्प थिएन । मलाई जीवनमा अभिनयबाहेक अरू केही काम आउँदैन । अचानक गुरुकुल बन्द भयो । त्यसपछि जीवनमा संकट पैदा भयो । त्यसपछि मलाई फिल्ममा अभिनयन गर्नुको विकल्प भएन । मलाई बुढेसकालमा लौरो टेकेर पनि थिएटरमै अभिनय गर्ने इच्छा थियो । गुरुकुलमा हुँदा वर्षमा चार–पाँचवटा नाटक गरिन्थ्यो । मलाई वर्षमै चार–पाँचवटा नाटक गर्ने आदत बसिसकेको थियो । तर, अहिले वर्षमा मुस्किलले दुइटा नाटक गरिन्छ । नेपालमा ६–७ वटा थिएटर छन् । यहाँ नाटकको काम पनि भइरहेको छ । तर, तिमी र मजस्ता कलाकारले कहाँ काम गरिरहेका छौँ ? कुन थिएटरसँग सक्रिय रूपमा काम गरिरहेका छौँ ? भन्ने प्रश्न उब्जिन्छ । सायद, हामी कतै नअटाएका हौँ कि ? हामीले पो काम गर्न नसकेका हौँ कि ? भन्ने महसुस हुन्छ । 

 

नाटकमा काम गर्न नपाउँदा सबै चटक्कै छाडेर बसौँ जस्तो लाग्छ । मैले यतिका वर्ष रंगमञ्चमा काम गरेर के पाएँ ? भन्ने जस्तो पनि लाग्छ । मैले थिएटरमा काम गरेको २५ वर्ष भइसक्यो । तर, नाटकमा काम गर्न पाउँदिनँ । फिल्ममा पनि भनेकोजस्तो क्यारेक्टर पाइँदैन । तर, अहिले वर्षमा दुइटा नाटक गर्न त पाइरहेकी छु । यत्तिमै चित्त बुझाउनुपरेको छ । नाटक गरेर टिक्नु मात्रै ठुलो कुरा होइन, आत्मसन्तुष्टि महत्वपूर्ण कुरा रहेछ । आत्मसन्तुष्टिले नै आजसम्म रंगमञ्चमा अडिएर बसेकी छु । म विचलित भएको छैन । मलाई वर्षको दुइटा नाटक गर्दा बाँच्ने आधार बनेको छ । 

 

अहिले रंगमञ्चमा नयाँ पुस्ताका कलाकार धेरै आइरहेका छन् । तर, सिनियर कलाकार काम नपाएर बसेको अवस्था छ । अग्रज रंगकर्मीले नाटक निर्देशन गर्न पनि छोडिसक्नुभएको छ । रंगमञ्चमा आइरहेका यो अवस्था देख्दा कस्तो लाग्छ ?

 

अहिले रंगमञ्चमा हुर्किरहेको नयाँ पुस्ता देख्दा निराश हुनु स्वाभाविक हो । उनीहरू थिएटरमा तीन महिनादेखि एक वर्षसम्मको कोर्स गर्न आउँछन् । एकैचोटि ठुलो सपना देख्छन् । त्यसपछि उनीहरू काम पाइनँ भनेर दुःखी भएर बस्छन् । तर, हामी वर्षौंदेखि थिएटरमै टिकिरहेका छौैँ । थिएटरको अनुभवले पनि बाँच्न सकिन्छ । थिएटरमा तीन महिना काम गर्ने भाइबहिनीलाई स्टेजबाहेक अरू थाहा हुँदैन । उनीहरूलाई थिएटरको हाँगाहरू थाहा हुँदैन । दुई–चार वर्ष थिएटरमा बिताउनैपर्छ । त्यसपछि थिएटरमा काम गर्ने बाटोहरू देखिन्छ । तीन–चार महिना थिएटरको कोर्स गरेर ‘फ्रस्टेसन’ मात्रै हुने हो । थिएटरमा एउटा मात्रै काम गरेर बाँच्न सकिँदैन । थिएटरमा ज्ञान र अनुभव भयो भने विभिन्न संघसंस्थाका काम गर्न पाइन्छ । हामीले लामो समय थिएटरमा बिताएको अनुभव बाँडिरहेका छौँ । त्यसैले, हामी रंगमञ्चमा टिक्न सकिरहेका छौँ । नाटकमा आर्थिक अभाव हुन्छ । तर, अनुभव पनि संगाल्दै जानुपर्छ । दुई–तीनवटा नाटक गरेर भाैतारिनुहुँदैन ।

 

हामी पैसाका लागि फिल्मतिर जान खोजिरहेका छौँ । तर, फिल्मका चलेका कलाकार पनि राम्रो पारिश्रमिकमै नाटकमा काम गरिरहेका छन् । हामीले काम माग्न नजानेको हो कि, हाम्रो समय सकिएको हो ?

 

मैले केही समयअघि थिएटरकै एकजना अग्रज निर्देशकलाई यस्तै प्रश्न सोधेकी थिएँ । उहाँले भन्नुभयो, ‘तिमी थिएटरको सीमित घेराभित्र मात्रै छौ । तिमीलाई थिएटरको दर्शकले मात्रै हेर्न आउँछ । तिमीलाई चिन्ने मान्छे सीमित छन् । तर, फिल्मका कलाकारलाई चिन्ने मान्छे धेरै हुन्छन् । त्यसैले फिल्मका स्टार नाटकमा ल्याएको हो ।’ उहाँले त्यसोभन्दा मन चसक्क भयो । हिजोसम्म मैले नाटकमा काम गर्दा दर्शक आउने, तर आज मैले नाटक खेल्दा दर्शक किन नआउने ? मनमा प्रश्न उब्जियो । फिल्मका कलाकारले नाटकमा रोजेर क्यारेक्टर पाउँछन् । उनीहरूले पारिश्रमिक पनि राम्रै पाउँछन् । उनीहरूलाई चाहिँ किन बढी पारिश्रमिक दिएको होला ? मिहिनेत त उत्तिकै हुन्छ । मैले फिल्मको कलाकारले नाटकमा काम गर्न हुँदैन भन्न खोजेको होइन । तर, २० वर्षदेखि थिएटरमा काम गरेका कलाकारले २०–२५ हजारमा काम गर्नुपर्छ । तर, फिल्मका कलाकारले एउटा नाटकमा काम गर्दा दुई–तीन लाख रुपैयाँ पाउँछन् । थिएटरभित्रै विभेद भइरहेको छ । हामीलाई फिल्मका निर्देशक र निर्माताले दिल खोलेर पारिश्रमिक दिन सक्दैनन् । नाटकमा पनि भनेजस्तो पारिश्रमिक दिइँदैन । हामीलाई पारिश्रमिक दिन आलु–प्याज किन्दाजस्तै बार्गेनिङ गरिन्छ । तर, फिल्मका कलाकारलाई नाटकमा कुनै बार्गेनिङ गरिँदैन । हामी त आलु–प्याजजस्तै रहेछौँ । बजारमा आलु–प्याज जतिसक्दो घटाएर किनिन्छ । तर, आलु–प्याज जहाँ मिसाउँदा पनि मिठो हुन्छ । त्यस्तै हामी थिएटरका कलाकार जहाँ पनि फिट हुन्छौँ । अरूले भन्दा अभिनय राम्रो गर्न सक्छौँ । फिल्मका कलाकारले ५० रुपैयाँ पाउँछन् भने हामीले पाँच रुपैयाँ पाउँछौँ । नाटक र फिल्मका कलाकारको पारिश्रमिकमा आकाश–जमिनको फरक छ । हामी आफूलाई एक–अर्काको दुःखपीडा बुझ्छौँ भन्छौँ । तर, हामीबिच नै पारिश्रमिकमा विभेद गरिन्छ ।

 

अहिले नेपाली रंगमञ्चमा महिला कलाकारको स्थान कहाँ पाउनुहुन्छ ?

 

हिजो महिलालाई कुनै कार्यक्रम वा वर्कसपमा सहभागी गराउन अघि सारिन्थ्यो । म सक्दिनँ भन्दा पनि तिमीले सक्छौ भनेर जबर्जस्त घचेडिन्थ्यो । त्यसैले हामी महिलालाई रंगमञ्चमा अघि बढ्न सजिलो भयो । तर, अहिले समय उल्टो भयो कि जस्तो लाग्छ । रंगमञ्चमा महिलालाई विश्वास गरिँदैन । महिलालाई जिम्मेवारी दिने कुरामा कम आँकिन्छ । महिलाले सक्दैनन् भनेको सुनिन्छ । कुनै वर्कसप महिलाले चलायो भने पारिश्रमिक कम दिन खोजिन्छ । त्यही ठाउँमा दुई–तीन वर्ष काम गरेका पुरुषलाई बढी विश्वास गरिन्छ । पारिश्रमिक पनि बढी नै दिइन्छ । वर्षौैंदेखि काम गर्दै आएका महिलाको क्षमतालाई अझै विश्वास गरिँदैन । रंगमञ्चमा पनि महिलालाई दोस्रो दर्जामा राखिन्छ ।

 

हिजो हामी भर्खर थिएटरमा आउँदा फिल्म खेल्ने छुट थिएन । आज उमेरसँगै कामको अनुभव पनि धेरै भइसकेको छ । तर, फिल्ममा उमेरका कारण भनेजस्तो क्यारेक्टरमा काम पाइँदैन । तपाईंलाई के लाग्छ ?

 

तिमीलाई कतिजना मान्छेले चिन्छ ? तिमीलाई फिल्ममा कसले लिँदै छ ? कुन समूहले लिँदै छ भन्ने कुराले फरक पार्छ । दयाहाङ राई, सौगात मल्लहरूसँग हाम्रो उमेरले दिँदैन भनिन्छ । तर, केही समयअघि एउटा फिल्ममा विपिन कार्कीको जोडी पूजा चन्द दिदी हुनुहुन्छ । उमेरको हदबन्दीले हुँदैन भने त्यो कसरी सम्भव भयो ? विपिन र पूजा दिदीको उमेर धेरै ग्याप छ । तर, त्यो फिल्ममा उनीहरूको जोडी मिल्यो । ‘फूलबारी’ फिल्ममा अरुणा कार्की र विपिन कार्की जोडी भएर काम गरे । उनीहरूको पनि जोडी मिलेको छ । उनीहरूलाई उमेरले छेकेन । अहिले दयाहाङ राई र सौगात मल्लहरूलाई राम्री हिरोइन चाहिन्छ भन्ने ट्याग लागेको छ । उहाँहरूसँग तिमी–हामीजस्ता हिरोइन मिल्दैनौँ । अहिले म विपिन कार्कीको आमा बनेर फिल्म खेल्दै छु ।

 

रंगमञ्च वा फिल्ममा महिला निर्देशक/लेखक नभएर पनि यस्तो समस्या भएको हो कि ?

 

नेपाली समाजमा लभ भन्नेबित्तिकै किशोर–किशोरी नै हुनुपर्छ भन्ने बुझाइ छ । के ४० कटेका मान्छेको चाहिँ प्रेम हुँदैन ? त्यो मान्छेको परिवेशको कथा किन नलेखिएको हो ? ४० कटेका महिलाको प्रेम कथालाई सिनेमामा ल्याउन निर्देशक र लेखक डराएको जस्तो लाग्छ । त्यसैले महिला कलाकारमा लागि उमेर हदबन्दी छ । ३० वर्षपछि महिला कलाकारलाई हिरोको काकी, दिदी, आमा बनाउनुपर्छ भन्ने बुझाइ छ । कुनै फिल्ममा हिरोको उमेर ४० वर्षको छ, हिरोइन ३५ वर्षको छ । तर, ३५ वर्षको हिरोइनलाई आमा क्यारेक्टरमा खेलाइन्छ । यहाँ यस्तो खालको बाध्यता सिर्जना गरिन्छ ।