• वि.सं २०८१ माघ ३० बुधबार
  • Wednesday, 12 February, 2025
सन्जोग ढकाल
२०८१ पौष २७ शनिबार ०८:०९:००
समाज

विराटनगरदेखि विश्वबजारसम्म

२०८१ पौष २७ शनिबार ०८:०९:००
सन्जोग ढकाल

 

धेरै देशले डिजिटलाइजेसन र प्रविधिलाई अपनाएर स्थानीय र राष्ट्रिय अर्थतन्त्रमा ठुलो सुधार ल्याएका छन् । नेपालका व्यवसायी प्रायः प्रविधिसँग परिचित नभएकै कारण प्रविधिको प्रयोग गर्न हिचकिचाउँछन्, जसकारण उनीहरूले अवसर पनि गुमाइरहेका छन् । 

 

एप डेभलपर कम्पनी सुसांख्य ग्लोबलले नेपाल, भारत, बंगलादेशसहित विभिन्न देशका एक हजार पाँच सय कम्पनीलाई सफ्टवेयर बेचिरहेको छ । कम्पनीमा ४८ जना नेपाली सफ्टवेयर डेभलपरसहितले रोजगारी पाएका छन् । तीन सहपाठी आदित्य शाह, अभिनव देव र मैले १७ वर्षको उमेरमा सुरु गरेको यो कम्पनीका सफ्टवेयर विश्वबजारमा पुर्‍याउन भोगेका आरोह–अवरोहका कथा ११ कक्षाबाट सुरु हुन्छ । 

 

सन् २०१४ मा विराटनगरको अरनिको स्कुलबाट एसएलसी उत्तीर्ण गरेपछि कक्षा ११ पढ्दै थियौँ । दसैँको वेला कोडिङ सिक्ने योजना बन्यो । आदित्यको घरमा कम्प्युटर र इन्टरनेट थियो । पिडिएफ डाउनलोड गरेर, किताब पल्टाएर पढ्दै, सिक्दै कोडिङ गर्‍यौँ । दिनभर टेबलमा कोडिङ गरेर हप्ताको एक दिन कम्प्युटरमा चलाएर हेर्थ्यौँ । सिक्दासिक्दै सन् २०१५ मा अरनिको कलेजका लागि ‘अरनिको फेदर’ एप बनायौँँ । कलेजभित्र कम्युनिकेट गर्न पाउने, लाइक–सेयर गर्न पाउने, रुटिन, रिजल्ट हेर्न पाउने एप बनाएपछि हामीलाई कलेजले छात्रवृत्ति दियो । अरनिको फेदर नै हाम्रा लागि टर्निङ प्वाइन्ट बन्यो ।

 

यहीँबाट कम्पनी खोल्न प्रेरित भयौँ । प्लसटु सकेपछि सन् २०१६ मा काठमाडौं आयौँ । कलेजका लागि एप बनाइसकेकाले नयाँ काम गर्न सकिन्छ भन्ने आशा थियो । एकभन्दा बढी कलेजले प्रयोग गर्न मिल्ने गरी ‘द नेक्सट’ एप बनायौँ । त्यो एपले काम नगरे पनि हामीलाई बजारमा जान बाटो खुल्यो, प्रेरणा दियो । प्लसटु सकेर विदेश जाने रहर नपलाएको पनि होइन, तर एप बनाएर कलेजले छात्रवृत्ति दिएको र फेलर भए पनि अर्काे पनि एप बनाएको अनुभवले नेपालमै गर्न सकिन्छ भन्ने थियो । 

 

हाम्रो अनुभवले पनि प्रोत्साहन निकै ठुलो कुरा हो भन्ने पुष्टि गर्छ । सन् २०१७ मा तीन–चार लाख जोहो गरेर बालकुमारीमा अफिस खोल्यौँ । त्यसपछि एजुकेसन कन्सल्टेन्सीका लागि ‘सिएमएसटी’ सफ्टवेयर बनायौँ । नेपालमा ६ हजारको संख्यामा कन्सलटेन्सी छन् । केहीले विदेशबाट आयातीत सफ्टवेर प्रयोग गर्थे । हाम्रो पहिलो ग्राहक नै ती कन्सलटेन्सी भए, जसले उनीहरूलाई बजारमा सजिलो बनायो । यसमा कुनै विद्यार्थी कन्सलटेन्सीमा आएर विदेश पुगुन्जेलसम्म के–के काम हुन्छ, सबै रेकर्ड राख्न मिल्छ । अहिले अधिकांश कन्सल्टेन्सीले हाम्रै एप प्रयोग गर्छन् । 

 

धेरै देशले डिजिटलाइजेसन र प्रविधिलाई अपनाएर स्थानीय र राष्ट्रिय अर्थतन्त्रमा ठुलो सुधार ल्याएका छन् । नेपालका व्यवसायले प्रायः प्रविधिसँग परिचित नभएकै कारण प्रविधिको प्रयोग गर्न हिचकिचाउँछन्, जसकारण उनीहरूले अवसर पनि गुमाइरहेका छन् । कुनै मेन्टर वा बाह्य मार्गनिर्देशनविना नै फ्लटर, ज्यांगो, सर्भरलेस फंक्सन्सजस्ता नवीनतम प्रविधि कार्यान्वयन गर्न सफल भएका छौँ । हामीले किविरिड (पिटिइ/स्याट मक तयारी प्लाटफर्म), अनलाइन भायब्रेन्ट (इलर्निङ एप) र जान्टोस (स्टक म्यानेजमेन्ट एप) पनि बनाएका छोँ । सफ्टवेयरमा आइडिया मात्र महत्वपूर्ण हुँदैन, उत्पादनको आवश्यकता पनि हुनुपर्छ । स्टिभ जब्सले भनेजस्तै, आफ्नो उत्पादनका लागि आवश्यकता सिर्जना गर्नुपर्छ । सही ग्राहक पत्ता लगाउनुपर्छ र उत्पादन सफल हुनका लागि ग्राहकलाई चाहिने उत्पादन बनाउनुपर्छ ।

 

प्रोत्साहनको अभाव 

 

हामीले सुरु गर्दा इन्टरनेटको पहुँच सबैतिर पुगिसकेको थिएन । आजका दिनमा इन्टरनेट, युट्युब छ । सन् १९९७ यताकालाई जेन–जी भनिए पनि नेपालका हकमा भने सन् २००० पछि जन्मिएकाहरू सूचना प्रविधिको युगसँगसँगै आए भन्न मिल्छ । भर्खर प्लसटु, स्नातक पढिरहेका युवाहरू इनोभेसनमा लागेको पाइन्छ । ललितपुरको युनिभर्सल कलेजमा पढ्ने २३ वर्षीय कर्णबहादुर बुढाले विदेशी कम्पनीलाई एप बेच्दै आएका छन् । उनले इजरायली कम्पनी राउन्ड्स एआई लिमिटेडलाई एन्ड्रोइड एप र त्यसअघि पिकअप लाइन्स–फ्लर्ट मेसेजेज एन्ड्रोइड एप बेचेका थिए । झापाको बिर्तामोडका उत्सव दाहाल, तेज मगर र राहुल विष्टले पनि ‘वाइफाई थिफ डिटेक्टर’ मोबाइल एप्लिकेसन बेचेका छन् । कक्षा ११–१२ पढ्दा नै विद्यार्थीमा कौतुहलता जाग्ने हो । यो उमेरमा नयाँ–नयाँ कुरा जान्ने क्षमता पनि हुन्छ । स्नातकमा पुगेपछि कमाइतिर लाग्छ । आवश्यकता परिपूर्ति भएको छ, पढ्नु मात्र छ भने क्रिएटिभ हुन, इनोभेसन, स्टार्टअपमा लाग्न सकिन्छ । नेपालमा ११–१२ पढेका विद्यार्थीलाई कलेज, अभिभावक र समाजले मेडिकल वा इन्जिनियरिङको तयारीमा लगाउँछन् वा विदेश जान उत्प्रेरित गरिन्छ । 

 

अहिले त च्याटजिपिटी, जेनेरेटिभ एआई छ । कोडिङ गर्न, लेख लेख्न मात्र होइन, सफ्टवेर नै बनाउन पनि एआई माध्यम बनेको छ । आइडिया बेचिरहेका युवालाई राज्यले प्रोत्साहन गर्नुपर्छ । गत वर्ष माघमा प्लसटु पढ्ने विद्यार्थीले त्रिवि, परीक्षा नियन्त्रण कार्यालय, बल्खुको वेबसाइट ह्याक गरे । वेबसाइटमा अट्याक सर्फेस बढेको र सुरक्षा चुनौती थपिएकाले ती युवाले ह्याक गरेर महत्वपूर्ण डकुमेन्ट लिक हुनबाट जोगाइदिए । झट्ट हेर्दा वेबसाइट ह्याक गर्नु गैरकानुनी हो, तर उनीहरूले त त्रुटि पत्ता लगाइदिका थिए । यही कुरा अमेरिकामा भएको भए गुगल वा माइक्रोसफ्टले उनीहरूलाई हायर गथ्र्याे । त्यस्ता युवालाई नेपाल टेकिलकम, एनसेल, इसेवालगायत देशका ठुला कम्पनीले बोलाउनुपर्थ्यो, सरकारले सम्मान गर्नुपर्थ्यो । मैले कलेजका लागि एप बनाउँदा छात्रवृत्ति नपाएको भए म अभिप्रेरित नहुन सक्थे । यसैले राज्यले युवालाई प्रेरित गर्न जरुरी छ । आफूले बनाएको एप, सफ्टवेयर प्रदर्शन गर्न जापानमा सन्डे मार्केट हुन्छ, अमेरिका पनि मेला आयोजना गरिन्छ । नेपालमा पनि यस्ता मेला हुनुपर्छ । 

 

टेक्नोलोजी, स्टार्टअप र इनोभेसनबाट अर्बपतिहरू उत्पादन भइरहेका छन् । भारतले सन् २००० मा आफैँले लगानीकर्ता बाहिरबाट ल्याएको हो । इनोभेसनका लागि भारत कतिसम्म चर्चित छ भने स्टार्टअपकै लागि भनेर नोयडा लगायत क्षेत्रमा सयतले भवन बनेका छन् । यस्तै प्रयासले भारत ग्लोबल लिडरसिपमा पुगेको छ । यसका लागि नेपालले कानुनमै संशोधन गर्नुपर्छ । आइटी, इनोभेसनमा सजिलै लगानी गर्न पाउनुपर्छ । अमेरिकामा बसेर जे बनाउन सकिन्छ, त्यो नेपालमा पनि बनाउन सकिन्छ । तर, अर्थतन्त्र खुला हुनुपर्छ । नेपालीले बाहिर लगानी गर्न नपाऊन्, तर कसैले इनोभेसन गरेको छ, विश्वबजारमा बेच्न खोज्छ भने उसले त्यो सहज रूपमै पाउनुपर्‍यो । यस्ता अनेक अड्चनले नेपाली युवालाई विदेशको पिआर, ग्रिनकार्ड लिन बाध्य पारिराखेका छन् ।

 

(२६ वर्षीय ढकाल सुसांख्य ग्लोबलका प्रबन्ध निर्देशक हुन्)