• वि.सं २०८१ माघ ३० बुधबार
  • Wednesday, 12 February, 2025
निर्मलकुमार आचार्य
२०८१ पौष २७ शनिबार १०:०४:००
यात्रा

५५ घण्टाको त्यो रेल सफर

२०८१ पौष २७ शनिबार १०:०४:००
निर्मलकुमार आचार्य

 

छोटो यात्रा रमणीय र लामो यात्राचाहिँ पट्यारलाग्दो हुन्छ भन्ने लाग्दथ्यो । लामो यात्रा पनि सुरम्य हुन सक्छ । यसपालि गरिएको लामो यात्राले यस्तै सुखद अनुभूति गरायो । 

 

गोरखपुरबाट लगातार ५५ घण्टा सफरपछि गन्तव्यमा पुगिने रेललाई विलम्ब भई ६५ घण्टा लागेको थियो । रेल आफ्नो क्षमताअनुरूप गुड्न नपाउँदाको परिणति थियो त्यो । 

 

बिहान साढे ६ बजे हिँड्नुपर्ने रेल साढे १० बजे त चलेको थियो । आन्ध्रप्रदेशको विजयवाडा भन्ने ठाउँमा कुनै रेल दुर्घटना भएकाले त्यसको असर ओहोरदोहोर गर्ने सबै रेललाई परेको रहेछ । 

 

एउटै रेलबाट त्यत्रो लामो यात्रा कहिल्यै गरिएको थिएन । छठलगत्तै भारतीय भूमिमा छिर्दाको परिणति थियो त्यो । बिहार तथा उत्तरप्रदेशबाट छठको बिदा मनाई फर्कनेको भिडले गर्दा टिकटको अभाव थियो । अन्तिम किनारबाटै भए पनि यात्रा थाल्नुको विकल्प हामीसित थिएन । 

 

पुस–माघ महिनामा त्यता जाँदा निकै घुइँचो हुने र गर्मीमा जान आँटै गर्न नसकिने भएपछि गोरखपुरबाट ‘कोचुवेली–त्रिवेन्द्रम्’सम्मको टिकट काठमाडौंमै लिइएको थियो ।

 

भैरहवासम्म हवाई यात्रा गरी गोरखपुर पुगेर भोलिपल्ट रेलको डिब्बामा छिरिएको हो । 

 

भैरहवासम्मको हवाई यात्रा पनि अलि फरक रह्यो । माछापुच्छ्रे हिमालको सौन्दर्यले सबैलाई लठ्याएको थियो । आँखाभरि, मनभरि र क्यामेराभरि नयनाभिराम दृश्य खिचिएका थिए । थोरैबेरसम्म त ठिकै हो, तर विमान जहाँको तहीँ अडिरहेको ख्याल हुनासाथ आसङ्काका बादल घेरिनुका साथै गर्जिन पनि थाले । धन्न, विमानस्थलको मौसम खुला भएछ र हामीले आकाशमा धेरैबेर सुर्ताइरहनुपरेन ।

 

सीमापारि पुग्नासाथ गोरखपुर जान बस वा भाडाका कार जत्ति पनि पाइने भएकाले टाउको दुखाइरहनुपरेन । रेलको लामो यात्राचाहिँ पट्यारलाग्दो होला कि भन्ठानिएको थियो, जुन असत्य साबित भयो । 

 

राप्तीदेखि सागरसम्म

 

‘राप्तीसागर एक्सप्रेस’ थियो त्यो । 

 

नामै हाम्रा लागि आत्मीय रह्यो । सुखद अनुभूतिका लागि मात्रै होइन, वरपर बसेकालाई समेत नेपालबाट प्रवाहित राप्ती नदी र सागरबिचको सुसम्बन्ध जनाउन पाउँदाको बेग्लै खुसी थियो । ‘गोरखपुर’ र ‘गोरखा’बिचको सांस्कृतिक सम्बन्धको पहिल्याइले सुखद तरंग पैदा गर्‍यो ।

 

कारुणिक यथार्थ

 

रेल एकनासले आफ्नो गतिमा हुइँकिरहेको थियो, डिब्बामा बसेका यात्रुहरूका मन आ–आफ्नै संसारमा कुदिरहेको भान हुन्थ्यो । ती मनमा धेरैजसो मन नेपाली पनि थिए । 

 

त्रिवेन्द्रम् जाने रेलमा यत्तिका नेपाली होलान् भन्ने लागेको थिएन । जताततै नेपाली भाषा गुञ्जायमान भइरहेका थिए । कोही किशोर थिए– पढ्न जान लागेका, कोही छोराछोरी भेट्न आतुर थिए । कसैलाई जतिसक्दो छिटो काममा फर्कनु थियो । 

 

गोरखपुरको रेलवे प्लाटफर्ममा १४–१५ वर्षदेखि ६०–६५ वर्षसम्मका ३५ जनाजतिको समूहलाई एउटा ठिटो ढाढस दिइरहेको देखियो । निकै टाठोबाठो देखिने उसको बोलीचालीले ऊ नेपालबाट कामदार त्यता पुर्‍याउने ‘दलाल’ प्रतीत भइरहेको थियो । 

 

कलिला किशोरका आँखामा चमक थिए, मनमा दमक थियो, स्वप्निल जगत्को खोजीमा ती मुग्लानिँदै थिए । तीमध्ये केही अबोध किशोरी पनि थिए । 

 

बुढ्यौलीलाई पटक्कै वास्ता नगरी रहलपहल पाखुरी खियाउन तम्सिएका ‘६०–६५’ वर्षे जवानहरूलाई समेत देख्दा नेपाली विकासको कारुणिक यथार्थ यहाँ झल्किएझैँ के लागेको थियो, आँखा स्वतः छचल्किन पुगे । 

 

हामीसँगै यात्रामा थिए, भारतीय हवाई सेनाका प्राविधिक सैनिक । उनी विजयवाडासम्म सहयात्री बनेका थिए । उनको घर त्यतै रहेछ, गोरखपुरचाहिँ कार्यस्थल ।

 

वेंकटका स्वामी 

 

वेंकटेश, उनले यही नाम बताएका थिए । उनी तेलुगु मातृभाषी भए पनि राम्रै हिन्दी बोलिरहेका थिए । सेनाको जागिर, धेरैतिरका मानिससँगको सम्पर्कले उनलाई हिन्दी बोल्न सघाएको रहेछ । हुन पनि भाषा भन्नु आवश्यकताले सिकिने कुरो न हो । 

 

आफूलाई उनको नामको अर्थ मात्रै थाहा थियो, त्यति के बताइएका थिए, प्रभावित हुँदै आत्मीयता प्रकट गर्न थाले । तिरुमाला पर्वतको सातौँ पहाडलाई स्थानीय भाषामा ‘वेंकट’ भनिन्छ र त्यसका ईश अर्थात् स्वामी ‘वेंकटेश’ हुन् । तपाईंको परिवार तिरुपति बालाजीको अर्थात् वेंकटेश भगवान्को भक्त हुनुपर्छ भनिएको थियो, उनी प्रफुल्ल बनेका थिए । 

 

गोरखपुरबाट गुडेको रेल बस्ती, गोन्डा, कानपुर, भोपाल भई नागपुरमा केहीबेर रोकियो । 

 

‘नागपुरे सुन्तला निकै प्रसिद्ध छ नि !’ कुरोले मोड लिँदै थियो, स्थानीय बासिन्दा ‘सन्तरा, सन्तरा’ भन्दै बेच्न आइपुगे । एक झोला किनेर बाँडबुँड पारी खाइयो । मनकामनाको सुन्तला नजुर्नेका लागि नागपुरे सुन्तला पनि कम्ताको रहेनछ ।

 

अयप्पा

 

आन्ध्रप्रदेश छिरेदेखि ‘तान्त्रिक’जस्ता कालावस्त्रधारी देखिए । विजयवाडामा त रेल चढ्न आउने तिनको हुलै थियो । वेंकटेशका अनुसार यी ‘अयप्पा’ वाला कहलाउँदा रहेछन् । ससाना बच्चाबच्चीसमेत लिएर ‘सबरीमाला’को यात्रामा हिँडेका रहेछन् यी । 

 

‘सबरीमाला’को यात्रा जोसुकैबाट सम्भव हुने कुरो रहेनछ । ४१ दिनसम्म व्रत बस्नुपर्ने, त्यसबिच ब्रह्मचर्यमा रहनुपर्ने, माछामासु, मदिराबाट मुक्त हुनुपर्ने, वरिपरिका सारा तीर्थस्थल पुगी दर्शन गर्नुपर्ने, नांगै खुट्टा हिँड्नुपर्ने, नित्य स्नानलगायतका अनेक विधिविधान रहेछन् । धेरैतिर दर्शन गरेपछि अन्तिममा पहाड चढी व्रतालुहरू ‘सबरीमाला’ मन्दिर पुग्दा रहेछन् ।

 

रहस्यमयी ज्योति 

 

‘सबरीमाला’को मन्दिर श्रद्धा र भक्तिको केन्द्र हुनुका साथै रहस्यपूर्ण पनि रहेछ । मकर सङ्क्रान्तिको राति यहाँ ज्योति चम्कँदोरहेछ । दिव्यज्योतिसँगै अनौँठो आवाज पनि सुनिन्छ रे । यो अद्भूत दृश्य हेर्न लाखौँ ओइरिँदारहेछन् ।

 

केरल प्रदेशमा ज्यादै पुजिने ‘अयप्पा’ शिव र ‘मोहिनी’का पुत्र हुन् । विष्णुको अवतार हो– मोहिनी । पुराणमा समुद्र मन्थनका बखत मोहिनी अवतारको प्रसंग आउँछ । 

 

मोहिनीको सौन्दर्यबाट मोहित शिवबाट जन्मिएको भनिएका अयप्पाबारे फरक किंवदन्ती पनि रहेछ । यसअनुसार यिनलाई आमाबाबुले घाँटीमा घण्टी बाँधी वनमा छाडेका रहेछन् । त्यो देखी पन्डालम्का राजा राजशेखरले पुत्र बनाई घर लगेछन् । तर, वैराग्य जागी उनी फेरि वनतिरै फर्किए । यी बालकलाई उनै हरिहरपुत्र ‘शास्ता’को अवतार मानिँदोरहेछ । 

 

‘सबरीमाला’को मन्दिरमा दशदेखि तलका र ५० वर्षदेखि माथिका महिलाले मात्रै प्रवेश पाउने पुरानो नियम रहेछ । रजस्वला हुने महिलाका सम्बन्धमा यस्तो प्रतिबन्ध लगाइएकामा सबै महिलालाई प्रवेश खुला गर्ने आदेश ‘सुप्रिम कोर्ट’ले २०७५ सालको माघमै गरेको भए पनि प्रचलनविरुद्ध जाने आँट कमैले गरेको थाहा पाइयो । 

 

त्रिवेन्द्रम्बाट १७५ किलोमिटर दूरीमा रहेको ‘सबरीमाला’को जानकारीले बेग्लैखाले भावना उब्जाइरहेको थियो, रेल तमिलनाडुको चेन्नई, सेलम हुँदै कोयम्बटुर पुग्यो। 

 

रेलमा चढेका अधिकांश नेपाली यात्रु यहीँ ओर्लिएको देख्दा सुरुमा त अचम्म लाग्यो । तमिलनाडुको दोस्रो ठुलो सहर कोयम्बटुरबारे जानकारी बटुल्दै जाँदा कुनै अस्वाभाविक लागेन ।

 

प्रगतिको बहुआयामिक फाँटमा द्रुतगतिमा लम्किरहेको कोयम्बटुर र त्यसको नजिकै ‘ईशा फाउन्डेसन’का सद्गुरु जग्गी वासुदेवको थलो भएकाले पनि यसको महत्ता थपिएकोरहेछ ।

 

द्राविड सौरभ

 

हाम्रो यात्रा हिन्दी, मराठी, तेलुगु, तमिल हुँदै मलयालम्भाषी (मलयाली) क्षेत्रतर्फ अगाडि बढिरहेको थियो । उच्चारणमा भेद नरहे पनि सीता रोमन लिपिमा सीथा, गीता ‘गीथा’, शक्ति ‘शक्थि’, ममता ‘ममथा’ र अजित ‘अजिथ’ बनेका देखिए । 

 

भाषाविज्ञानका विद्यार्थीलाई राम्ररी थाहा छ– कन्नड, तेलुगु, तमिल र मलयालम् द्रविड परिवारका भाषा हुन् । हाम्रै नेपालमा पनि झाँगड समुदाय ‘द्रविड परिवार’का भाषा बोल्छन्, त्यही कारणले पो हो कि द्रविडहरू पराई लागेनन् । कर्नाटकमा कन्नड, आन्ध्रप्रदेशमा तेलुगु, केरलमा मलयाली र तमिलनाडुमा तमिल भाषा बोलिँदोरहेछ । 

 

यी द्राविड क्षेत्रमा ठ्याम्मै हिन्दी नजान्ने पनि भेटिए । भारतीय भूमिमा आर्यभन्दा पहिल्यै पूर्वी अफ्रिकाबाट द्रविडहरू आएको र जलवायु परिवर्तन आदिका कारण रूपरङ फेरिएको एकथरी भनाइ रहेछ । ‘आनुवंशिक अनुसन्धानबाट दुवैको मूलमा अन्तर नरहेकाले आर्य–द्रविड एकै हुन्’ भन्ने अर्का थरी पनि रहेछन् । 

 

भाषाकै कारण दक्षिणी र उत्तरी भारत ठिक विपरीत ध्रुवमा रहेको आभास हुन्छ । यात्रामा भेटिएका एक प्राध्यापक एस. गणेशनका भनाइअनुसार ‘प्रस्ट सीमारेखा’जस्तो रहेको छ । जानेर पनि हिन्दी नबोल्ने वा हिन्दी पढ्न–पढाउन निषेध गर्ने संकुचित प्रवृत्तिचाहिँ ठिक नरहेको ती प्राध्यापकको निष्कर्ष सुनियो । 

 

वेदमा प्रयुक्त ‘गुँ’ द्रविड शब्द भएको कतै पढिएको थियो । वैदिककालभन्दा अगावैको भाषा भएकाले वेदमा ‘गुँ’ प्रयुक्त भएको लेखनको ठहर थियो । वैष्णव समाजमा प्रचलित ‘अडियन’ शब्द पनि द्रविडकै भएको त्यसमा उल्लेख थियो । कालान्तरमा द्रविड परिवारभित्र संस्कृत भाषाको ज्यादै प्रभाव परेकाले हुन सक्छ, द्रविडभाषीलाई कुनै कुरो बुझाउनुपर्दा संस्कृत शब्द औधि सहयोगी हुनेरहेछन् ।

 

मुरुगन, पेरुमल 

 

हिन्दु धर्म, दर्शनलाई व्यापकता दिन द्रविडभाषी क्षेत्रले अपूर्व योगदान गरेको प्रमाण बगे्रल्ती रहेछन् । नेपाल तथा उत्तरी भारतमा पुजिँदै आएका देवता यहाँ फरक नामले चिनिँदारहेछन् । ‘मुरुगन’लाई नै लिँदा हुन्छ, द्रविडभाषीबाहेक अरूले नबुझ्न सक्छन् । ‘मुरुगन’ शिवपुत्र कार्तिकेय रहेछन्, यिनका अनेक नाम छन्– षडानन, कुमार आदि । दक्षिण भारतमा यिनलाई ‘सुब्रह्मण्यम्’ तथा ‘सेयोन’ पनि भनिन्छ । वेंकटेश वा विष्णुको नाम ‘पेरुमल’ रहेछ । अन्य कतिपय देवी–देवताका नाम तथा स्तुतिगायनमा पनि अन्तर अनुभव गरियो । 

 

पालघाट पनि भनिने ‘पालक्काड’ले हामी चढेको रेल ‘केरल’ क्षेत्रमा प्रवेश गरिसकेको जनायो । अनि, ओट्टापालम्, वडकंचेरी, तृश्शुर, इरिन्जालाकुडा, चलाकुडी, अर्नाकुलम्, हरिप्पादु आदि स्टेसन हुँदै निकै ढिलिएर रेल कोल्लम् भई अन्ततः कोचुभेली पुग्यो । 

 

केराको पातमा 

 

‘साद्या’को स्वाद नचाख्ने हो भने केरल पुग्नुको अर्थै नरहने सुनिएकाले सार्थकताको खोजी हुने नै भयो । ‘साद्या’ केरलको परम्परागत भोजन, अहिले पनि चाडबाडमा कतै छुटाइँदैन रे ।

 

केराको पातमा थरीथरीका व्यञ्जन ! कताबाट सुरु गर्ने र कसरी सिध्याउने ? अलमल जोसुकैलाई हुँदोरहेछ । आँप, कागती, इमली आदिका अमिलो, पिरो, गुलियो थरीथरीका अचार, चटनी, विभिन्न प्रकारका तरकारी र भात, दाल, साम्बर, रसम, दही, हलुवा, पायसम, पापड आदि के–के ! परिकारका नाम पनि पचडी, अवियल, कुटुकरी, कालान, नेइचोरु, ओलन आदि । अनि, जडीबुटीयुक्त पानीको त झन् कुरै के गर्नु ! 

 

हामीकहाँ पनि यस्तै खाले ‘नेपाली थाली’ सिँगारेर आगन्तुकलाई देशैभरिका स्वाद पस्कन सके, कस्तो हुँदो हो ? कल्पना मात्रले पनि खुब आनन्दित भइयो ।खाइसकेपछि पातपट्याइमा पनि ध्यान दिनुपर्दाेरहेछ बा ! आफूतिर पात पल्ट्याइयो भने भोजन स्वादिष्ट रहेको र आफूतिरबाट पल्लोतिर पात पट्याइदिँदा खाना मन नपरेको अर्थ लाग्दोरहेछ । 

 

धन्न, पल्लोपट्टि बसेका सहृदयीले वेलैमा अथ्र्याइदिए र अन्यथा भएन, नत्र त्यस्तो स्वादिलो भोजनलाई हामीले अनाहकमै गलत प्रतिक्रिया दिने थियौँ ।